अब संविधान बनाऊ!
२४ मंसिर २०७०
•
१८ मिनेट पाठ
अब संविधान बनाऊ!
'हामी साना मानिसहरू असाधारण उद्देश्यका लागि यहाँ जम्मा भएका छौँ। किनभने हामीलाई असाधारण कार्य गर्नुछ। तसर्थ हामी सबैले आफूलाई सामान्यभन्दा माथि उठाउन जरुरी छ।' पं. जवाहरलाल नेहरू

आजभन्दा ६७ वर्ष पहिले भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले भारतको संविधान लेख्ने जिम्मेवारी पाएका ३ सय सभासद् सामु माथिको उद्गार व्यक्त गरेका थिए। डिसेम्बर १९४६ देखि डिसेम्बर १९४९ बीच भारतीय संविधान सभाका ती साना मानिस असाधारण थिए होलान् र तिनले विश्वको सबैभन्दा लामो लोकतान्त्रिक संविधान तीन वर्षभित्र तयार गर्नसके। नेहरूले आफ्नो पहिलो भाषणबाट सभासद्हरूलाई जिम्मेवारी बोध गराउनुका साथै पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताप्रति सचेत र जिम्मेवार रहन आग्रह गरेका थिए।

भारतको संविधान विश्व इतिहासकै सबैभन्दा असहज र उथलपुथलबीच लेखिएको मानिन्छ। धार्मिक हिंसाले लाखौं मानिस मरिरहेका थिए। देश विभाजनका कारण दसांै लाख शरणार्थी सहर, गाँउ जताततै पाल टाँगेर बसेका थिए। धर्मशाला, सडक, रेल्वे स्टेसन, पार्क, खुला मैदान र स्कुल कलेजका कोठा शरणार्थीको वासस्थान भएका थिए। खाद्यान्न अभावले देशमा अकाल र भोकमरी थियो। भारतको दक्षिणी भाग खासगरी तेलंगाना क्षेत्रमा कम्युनिस्टले कब्जा गर्ने खतरा बढिरहेको थियो। अनि देशभित्रका राजा, महाराजा र नबाबहरू स्वतन्त्र भारतको राष्ट्रिय अखण्डताका लागि चुनौती हुनपुगेका थिए।

त्यस्तो विषम परिस्थिति र राष्ट्रिय सार्वभौमिकतामाथि आएको भयावह संकटलाई सम्बोधन र संयोजन गर्दै भारतको संविधान सभाका ३ सयेमध्ये बीस जना प्रभावशाली सदस्यले नेहरू, बल्लभभाई पटेल र राजेन्द्रप्रसादको नेतृत्वमा असाधारण राजनीतिक कौशल प्रदर्शन गरे। लोकतान्त्रिक मूल्यमान्यता स्थापित गर्दै देशमात्र जोगाएनन् भारतलाई विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक राष्ट्र बनाउन सफल भए। त्यही संविधानले वर्तमान पुस्तालाई विश्व शक्ति बन्ने मार्ग फराकिलो पारेको छ। पश्चिमा देश र पत्रकारले भारतको संविधानमा स्वतन्त्रता र अधिकारका कुरा धार्मिक, जातीय र वर्गीय नरसंहारबीच लेखिएकाले भारतको संविधान र त्यहाँको लोकतन्त्र टिक्तैन भन्थे। तर पश्चिमाले भारतको इतिहास बुझेका थिएनन् र भारतीय नेताको क्षमतामाथि विश्वास गर्न चाहेनन्। कालान्तरमा यस्ता विदेशी टिप्पणी गलत प्रमाणित भए र भारतको लोकतन्त्र स्थिर र संस्थागत भएर गयो।

भारतको संविधान सभामा ८० प्रतिशत बढी सहभागिता भारतीय कांग्रेसको थियो। तर एउटै पार्टीको भए पनि त्यहाँ हिन्दु राष्ट्रवादी थिए, धर्म निरपेक्षताको वकालत गर्ने पनि थिए, धर्मै नमान्ने पनि कम थिएनन्। अझ मुस्लिम लिग अलग भएर अर्कै देश पाकिस्तान बनेपछि हिन्दु वर्णाश्रम व्यवस्थामा आधारित संविधान बनाउनुपर्छ भन्ने सशक्त आवाज उठाउने पनि थुप्रै थिए। तर ती सबै बहस र छलफललाई ध्यानपूर्वक सुनेर अनेकौं माध्यम र उपायबाट सन्तुलित संविधान बनाउन भारतीय नेता सक्षम थिए। सफल गराए।

भारतको उदाहरण प्रस्तुत गर्नुको कारण नेपालका नेताहरूको क्षमता पनि परीक्षणमा छ भन्ने सम्झाउनु नै। यस्तै परीक्षणबाट भारतीय नेताहरू सफल भएका थिए। अहिलेका नेपाली नेता भारत भ्रमणमा सत्ता स्वार्थका लागि मात्र गएका हैनन् भने भारतको संविधान सभाबाट संविधान निर्माण भएको परिस्थिति र परिवेश पनि बुझ्ने कोसिस गरुन्। भारत बेलायतको औपनिवेशिक शासनबाट मुक्त भएर स्वराज चलाउने समयलाई इतिहासकै कठिन र जटिल समय भन्ने गरिन्छ। तर पनि आधुनिक औद्योगिक राष्ट्रका रूपमा भारतको जग हाल्ने काम भने संक्रमणकाल भनेर रोकिएन। नेपालमा दुवै संविधान सभा निर्वाचनपूर्वको पृष्ठभूमि र अवस्था तुलनात्मकरूपमा विश्वका अन्य द्वन्द्वग्रस्त राष्ट्रभन्दा धेरै सहज र अनुकूल थियो र छ। भारतमा छ दशक अगाडि ३ सय जनाले ३ वर्षमा लेख्न सम्भव भएको संविधान नेपालमा ५ वर्षमा ६ सय एकजनाले लेख्न सकेनन्। त्यसैले गर्दा संविधान सभाकै दोस्रो निर्वाचन भर्खरै सम्पन्न भएको छ।

हालैको संविधान सभा निर्वाचन परिणामपछि केही पश्चिमा पत्रपत्रिकामा नेपाली कांग्रेसलाई भारतपरस्त दक्षिणपन्थी र नेकपा (एमाले)लाई वामपन्थीको खोलमा मध्यमार्गी सम्झौतापरस्त पार्टी भएको भन्ने छापिएको छ। दी न्युयोर्क टाइम्सलगायत पत्रपत्रिकामा समेत यस्तै प्रकारका टिप्पणी आएका छन्। कांग्रेस र एमालेबाट पश्चिमा राष्ट्रले नेपालमा चाहेको स्वार्थ पूरा नहुने भएकोले आक्रोशमा मात्र यस्ता टिप्पणी गरिएका होलान् भनी ठान्नु हुँदैन। नेपालको आर्थिक सामाजिक क्षेत्रमा कांग्रेस र एमाले यथास्थितिवादी हुनसक्छन् भनेर पनि यस्ता टिप्पणी गरिएको हुनसक्छ।

अझ संसदीयकालमा सत्ता स्वार्थमा लाग्ने यी दुई पार्टीको विगत सम्झेर पनि यिनबाट नेपालको आर्थिक सामाजिक रूपान्तरण नहुने अडकल धेरैले गर्छन्। विदेशीहरू माझमात्र होइन नेपाली जनताबीच पनि कांग्रेस र एमालेको विगत खासै सुन्दर र सफा छैन। तर बिर्सन नहुने कुरा के छ भने संविधान सभाको दोस्रो निर्वाचन अगावै 'भावी सरकार कस्को : कांग्रेस र एमालेको' भनी जनस्तरबाटै आवाज उठेको सुनिन्थ्यो। कांग्रेस र एमालेबीच यो संविधान सभा निर्वाचनमा अघोषित चुनावी तालमेल, समझदारी र समभाव प्रष्टै देखिएको थियो । त्यसैले कैयौं ठाउँमा सूर्यमा छाप नलगाई एमाले कार्यकर्ताले रुखमा भोट हाले, अनि कांग्रेसका कार्यकर्ताले पनि त्यस्तै गरे। निर्वाचन परिणामपछि राजधानी आउनेबित्तिकै एमालेका केही नेताले राष्ट्रपतिलाई पद छाड्न दिएको दबाबले जनतामा देशव्यापी निराशा व्याप्त भयो। तिनले भनेको सुनियो – हाम्रा नेता कहिल्यै नसुधि्रने भए! कांग्रेस र एमालेबीच सम्बन्धको सामान्य कटुताले पनि साधारण जनता मर्माहत हुने परिस्थिति छ। यसलाई नेताहरूले बुझ्नु जरुरी छ।

नेपाली जनताले संविधान सभाको यस निर्वाचनबाट कांग्रेस र एमालेलाई पुनःस्थापित हुने अवसर दिएका छन्। खासगरी एमाओवादी र मधेसवादीले पहिलो संविधान सभा निर्वाचनमा विजयी भएपछि देखाएको अराजनीतिक क्रियाकलाप र अराजक व्यवहारबाट कांग्रेस र एमालेका कार्यकर्ता तथा मतदाता यसपटक आफ्नो भोट खेर जान दिने पक्षमा थिएनन्। र, भयो पनि त्यस्तै। कांग्रेस र एमालेका शीर्षस्थ नेताले अपवादबाहेक आआफ्नो निर्वाचन क्षेत्रमा लेनदेन गरे। यी दुवै पार्टीका मतदाताले देशभरी लेनदेन गरिदिए। कांग्रेस र एमालेबीच कैयौं ठाउँमा प्रतिस्पर्धा भयो तर तेस्रो पार्टी शक्तिशाली भएर आएको ठाउँमा त्यसलाई हराउन यी दुई दलमा जो बलियो प्रतिस्पर्धी छ त्यसैलाई दुवै पार्टीका मतदाता मिलेर भोट हाली विजयी बनाए।

झन्डै अढाई दशकको लोकतान्त्रिक अभ्यासपछि संविधान सभाको दोस्रो निर्वाचनबाट कांग्रेस र एमालेबीचको राजनीतिक कटुता समाप्त भएर गएको देखिएको छ । यी दुई दलबीच राष्ट्रिय राजनीतिका कतिपय सबालमा साझा दृष्टिकोण रहेकोले पनि यस्तो अवस्था सिर्जना भएको हो। कांग्रेस र एमालेलाई राजनीतिकरूपले नगिच ल्याउनमा एमाओवादी र मधेसवादीको भूमिकालाई भने अस्वीकार गर्न सकिन्न। एमाओवादी र मधेसवादीले पहिलो संविधान सभापछि कांग्रेस एवं एमालेलाई रक्षात्मक अवस्थामा पुर्‍याएका थिए। कांग्रेस र एमालेको सातो गएको थियो। अहिले एमाओवादी र मधेसवादी दलको त्यस्तै अवस्था छ।

कांग्रेस र एमालेबारे विदेशी टिप्पणीकारले जे भने पनि नेपाली समाजमा भने कांग्रेस मध्यमार्गी र एमाले सुधारवादी वामपन्थी भनेर चिनिएका छन्। कांग्रेसभन्दा एमाले समाजमा बहिष्कृत र वञ्चनामा परेका समुदायलाई राज्यद्वारा सेवा र सुविधा पुर्‍याउने विषयमा फराकिलो देखिएको छ। विगतमा सरकार चलाउने अवसर पाउँदा एमालेद्वारा बृद्ध भत्ता, विधुवा भत्ताजस्ता कार्यक्रम अगाडि आएका थिए। कांग्रेस नेपालको धर्म संस्कृतिलगायत लोकतन्त्रको अविभावक भनी जनताबीच स्थापित भएको छ। विभिन्न जाति , धर्म र संस्कृतिप्रति कांग्रेस उदात्तभाव राख्छ भन्ने ठोस आधारभूमि मधेसी, आदिवासी र जनजाति आन्दोलनप्रति कांग्रेसले देखाएको सद्भावबाट नेपाली समाजमा बुझियो।

कांग्रेस र एमाले सरकार निर्माणको चरणमा प्रवेश गर्दैछन्। समाज रूपान्तरणका कार्यसूचीलगायत पहिचान, अधिकार, अवसरका कुराहरूको संयोजन गर्ने जिम्मेवारी अब यिनैको काँधमा छ। त्यस्तै एमाओवादी र मधेसवादी दलको निरन्तर सहयोग र समर्थन जुटाउने राजनीतिक कला र कौशल पनि यिनै दुई पार्टीको नेताको काँधमा छ। भनिन्छ, भारतमा संविधान निर्माणका जटिलता सुल्झाउन पटेल र नेहरू असहमत पक्षसँग 'मर्निङ वाक'मा जान्थे र ठंडा हावामा गरम विवाद सुल्झाउँथे। नेपालका नेताहरूबाट त्यस्तो अपेक्षा त गर्न सकिन्न तर पनि लामो स्थिर यात्रामा देशलाई संस्थागतरूपले लैजानु छ भन्ने उद्देश्यबाट प्रेरित कांग्रेस र एमालेका नेताले असहमत पक्षसँग निरन्तर छोटो छोटो 'मर्निङ वाक' गर्न भने चुक्नु भएन।

एमाओवादी र मधेसवादीले पनि निर्वाचनमा पराजय बेहोर्दा कुशल खेलाडीजस्तो व्यवहार देखाउन सक्नुपर्ने हो। कमसेकम भारतको चार राज्यमा भर्खरै भएको विधानसभा चुनावको परिणाममा भारतीय कांग्रेसले पराजयपछि देखाएको व्यवहारबाट पनि तिनले प्रेरणा लिनसक्छन्। केन्द्रमा सत्तारुढ भारतीय कांग्रेसले राज्यमा पराजय बेहोरे पनि तिनका नेताले पराजयमा आफ्नो क्षमतालाई दोष दिए र विजयीलाई बधाई ज्ञापन गरे। खै, एमाओवादी र केही मधेसवादी दलले भारत भ्रमणबाट शिक्षा ग्रहण गरेको?

संविधान सभाको दोस्रा निर्वाचनवाट नेपाली जनताले एमाओवादी र मधेसवादीलाई पहिलो संविधान सभाले संविधान नलेखेकोमा दोषी ठहर गरे र सजाय दिए। पुष्पकमल दाहाल र उपेन्द्र यादवको नेतृत्व कौशल तथा क्षमताको अभावमा पहिलो संविधान सभाबाट संविधान बन्न सकेन।

निर्वाचनमा पराजय हुँदैमा सबैथोक गुम्दैन। त्यस्तै निर्वाचनमा विजयी भएर सबैकुरा सहज नहुने अवस्था कांग्रेस एमाले सामु अहिले छ। फेरि पनि भारतका संविधान निर्मातामध्येका अम्वेडकरको अभिव्यक्ति एमाओवादी र मधेसवादीका लागि सान्दर्भिक हुन आउँछ। अम्बेडकर बम्बै सहरको दलित बाहुल्य निर्वाचन क्षेत्रबाट भारतको संसदीय इतिहासको पहिलो निर्वाचनमा प्रत्याशी भए र हारे। आज पनि भारतीय संविधान निर्मातामा अम्बेडकरको नाउँ अग्रपंक्तिमा आउँछ। तिनै अम्बेडकरले निर्वाचनमा पराजित भएपछि भनेका थिए – 'संविधान निर्माणसँगै भारतमा राजनीतिकरूपले एकव्यक्ति एक मूल्य स्थापित भएको छ तर सामाजिक र आर्थिकरूपले व्यक्तिव्यक्तिबीच विभेद र असमानता छ, यस्तो अवस्था राज्यका कारण भएको हो। यस अवस्थाविरुद्ध लड्न मलाई निर्वाचनमा भएको पराजयले छेक्न सक्तैन।'

संविधान समयमा लेख्ने, सुशासनप्रति प्रतिबद्ध रहने अनि जनताको विश्वासमा आघात नगर्ने काम प्रतिपक्षका रूपमा एमाओवादीले गर्नसक्छ, गर्नुपर्छ। अब संविधान सभाको तेस्रो निर्वाचन त एमाओवादी र मधेसवादीले कल्पना पानि गर्न नक्लान्। त्यस्तै नेपालमा सधैँ संविधानविहीनताको पनि कल्पना गर्न सकिन्न। जतिखेर स्वतन्त्र भारतसँगै त्यहाँ संविधान लेखन कार्य अगाडि बढ्दै थियो, त्यही समय जापानको संविधान अमेरिकी जर्नेलहरूले बन्दुकको नालमा लेख्दै थिए। जापानमा अझै त्यही संविधान छ र अमेरिकी सेना पनि छ। नेपालमा जनताका प्रतिनिधिबीच संविधान लेखन कार्य अगाडि बढाउने कि विदेशी सैनिक जर्नेलले बन्दुकको नाल तानी जापानमा संविधान लेखेजस्तो अवस्था निम्त्याउने? पक्षविपक्षमा रहेका सबै नेताले हेक्का राखून्। र तिनको चेत खुलोस्!
अर्को समाचार
‘संविधान बनाऊँ, १५ दिनमै छाडिदिन्छु'
१६ जेष्ठ २०७२
•
७ मिनेट पाठ
‘संविधान बनाऊँ, १५ दिनमै छाडिदिन्छु'
काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले संविधान बने आफू एकछिन पनि कुर्सीमा नबस्ने बताएका छन्। सत्तारूढ एमाले र प्रमुख प्रतिपक्षी एकीकृत माओवादी नेतृत्वसँग शुक्रबारको छलफलबारे शनिबार बालुवाटारमा पार्टी पदाधिकारी र मन्त्रीहरू सम्मिलित बैठकमा जानकारी दिँदै कांग्रेस सभापतिसमेत रहेका कोइरालाले आफू प्रधानमन्त्री पद त्याग्न आतुर रहेको जनाउ दिएका हुन्। संविधान नबनी पद नछाड्ने पनि उनले प्रस्ट पारेका छन्।‘असारसम्म किन कुर्ने?,' कोइरालाले दुई दलका प्रमुखलाई स्पष्ट पार्दै भनेको बैठकमा सुनाएका थिए, ‘१५ दिनभित्रै संविधान बनाऊँ, त्यसपछि म प्रधानमन्त्री पदमा रहन्नँ।'

शुक्रबारको भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले कोइरालालाई असारभित्र संविधान बनाउने प्रस्ताव गर्दै त्यसपछि राष्ट्रिय सहमति सरकार गठनका लागि बाटो छाडिदिन आग्रह गरेका थिए।
दलीय सहमतिमा छोटो बाटोबाट, छिटो संविधान निर्माण गर्नुपर्ने आफूले सुझाएको कोइरालाले पदाधिकारीसमक्ष राखे। उनले समयमै संविधान निर्माण गर्ने साझा संकल्पलाई पूर्णता दिन एमाले र एमाओवादी नेतृत्वसँग आग्रह गरेको पनि बैठकमा सुनाए। 
शुक्रबारको बैठकमा ओली र दाहालले असारभित्र संविधान जारी गर्ने मिति तोक्न कोइरालालाई दबाब दिएका थिए।
‘असारभित्र संविधान जारी गर्ने गरी मिति तोक्न उहाँहरू (एमाले र माओवादी अध्यक्ष) ले आग्रह गर्नुभएको थियो,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा सहभागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले नागरिकसँग भने, ‘संविधान निर्माण गरेपछि सरकार छाड्ने बताउँदै आएको छु, १५ दिनभित्रै संविधान बनाऊँ, असार किन कुर्ने भनँे, उहाँहरू संविधान निर्माणमा सकारात्मक हुनुहन्छ।'
प्रमुख दलबीच माघ ८ भित्रै संविधान जारी गर्ने सहमति यसअघि पालना नभएको स्मरण गराउँदै कोइरालाले दुई नेतालाई पुनः संविधान जारी गर्ने मिति तोकेर दोष आफू लिन तयार नरहेको जनाउ दिएका थिए। 
संविधान निर्माण र पुनर्निर्माणलाई प्राथमिकतासाथ अघि बढाउन एमाले र एमाओवादी पनि सकारात्मक रहेको कोइरालाको भनाइ थियो। संविधान निर्माणपछि मात्र राष्ट्रिय सरकार र पुनर्निर्माणको काम अघि बढाउने विषयमा ओली र दाहालसँगको छलफल सकारात्मक रहेको पनि प्रधानमन्त्री कोइरालाले सुनाए। 
विपत सामना गर्न सबै दललाई सँगसँगै लिएर अघि बढ्न कांग्रेस बाधक नहुने बताउँदै प्रधानमन्त्री कोइरालाले संविधानका विवादित विषयमा दलीय सहमति जुटेका विषयलाई मस्यौदा समितिमा पठाउन र बाँकी विषयमा सहमति खोज्न आग्रह गरेको पनि पार्टी पदाधिकारी र मन्त्रीलाई सुनाएका थिए। 
संविधान जारी हुँदासम्म कांग्रेस नेतृत्वमा सरकार रहने एमालेसँग प्रारम्भिक रूपमै सहमति भएको जनाउँदै निधिले भने, ‘संविधान जारी भइसकेपछि नेतृत्व छाड्न तयार रहेको प्रधानमन्त्रीले बताउँदै आउनुभएको छ।'
समयमै संविधान निर्माण गर्नु राष्ट्रिय साझा संकल्प भएको भन्दै पार्टी पदाधिकारी र मन्त्रीहरूको शनिबारको बैठकले त्यसका लागि सम्पूर्ण प्रयत्न गर्ने निष्कर्षसमेत निकालेको छ। 
तत्काल संविधान निर्माणलाई निष्कर्षमा पुर्यानउन संविधानसभाभित्र र बाहिर पनि अग्रसरता लिने बैठकको मत छ। कांग्रेसले छोटो बाटोबाट छिटो संविधान निर्माणका लागि अग्रसरता लिने निचोडसमेत निकालेको छ।
‘संविधान निर्माणका लागि सहमतिसाथ जानुपर्छ, यसका निम्ति आवश्यक पर्छ भने सहमतीय सरकार गठन गर्ने हाम्रो पार्टीले पहिलेदेखि नै भनेको हो,' कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने, ‘तर संविधान निर्माण आधारभूत र प्राथमिक कुरा हो।'
संविधान निर्माण गरेर जारी संक्रमणकाल छोट्याउँदै सम्पूर्ण शक्ति पुनर्निर्माण र पुनःस्थापनामा लगाउनुपर्ने बताउँदै बडूले भने, ‘फास्ट ट्र्याकबाट संविधान निर्माण गर्न सम्पूर्ण प्रयत्न गर्नेछांै।'
प्रमुख प्रतिपक्षी एकीकृत माओवादीसहितका दलहरूसँग संविधान निर्माणको विषयलाई नै केन्द्रमा राखेर छलफल अघि बढाउने जानकारी दिँदै बडूले भने, ‘सम्पूर्ण प्रयत्न संविधान निर्माणमा केन्द्रित गर्नेतर्फ सबै पार्टी एक ठाउँमा पुग्नेमा हामी आशावादी छौं।'
प्रमुख दलहरूबीच नयाँ संविधानमा शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणाली कस्तो हुने भन्नेमा मोटामोटी सहमति जुटे पनि संघीयताको विषयमा सहमति भइसकेको छैन। प्रदेश संख्या, सीमांकन र नामांकनमा प्रमुख दल आ–आफ्नै अडानमा छन्।
प्रमुख दल बैठक स्थगित
संविधानका विवादित र संविधानसभा बैठक सञ्चालनका विषयमा छलफल गर्न शनिबार साँझ डाकिएको बैठक आइतबारसम्म स्थगित भएको छ। आइतबार बस्ने प्रमुख दलको बैठकले संविधानका अन्तर्वस्तुमा दलीय सहमति जुट्न बाँकी विषय र संविधानसभा बैठक सञ्चालनबारे सहमति प्रयास गर्ने जनाइएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस