गुल्मी-गुल्मीका स्थानीयले प्रधानमन्त्री वा राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुने गरी संविधान ल्याउन माग गरेका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारीले मात्रै जनताको भावना प्रतिनिधित्व गर्न सक्ने उनीहरूको सुझाव छ।
सांसद, मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति छानिने व्यक्ति कम्तीमा स्नातक उत्तीर्ण हुनैपर्ने गरी संविधानमा व्यवस्था गर्न पनि गुल्मीबासीले जोड दिएका छन्।
जिल्लाको घमिरबाट मंगलबार संविधान मस्यौदामाथि सुझाव दिन मरभुङ केन्द्र आएका वेदप्रसाद पन्थीले भने, 'संसदीय राजनीतिको जोड–घटाउमा प्रधानमन्त्री संसदप्रति मात्रै उत्तरदायी भए पुग्छ, त्यसैले ऊ सरकार जोगाउने प्रपञ्चमा मात्र लागिरहन्छ, प्रत्यक्ष निर्वाचित हुने हो भने ऊ जनताप्रति उत्तरदायी हुन्छ।'
दुई घन्टा हिँडेर सुझाव संकलन केन्द्र आएकी वाग्लाकी सीता गिरीले गाविसअध्यक्ष र वडाध्यक्षको पनि प्रत्यक्ष चुनाव माग गर्दै हरेक निकायमा पुरुष अध्यक्ष भए उपाध्यक्ष अनिवार्य महिला हुने गरी संविधान बनाउन सुझाइन्। 'महिलाहिंसा व्यवहारमै अन्त्य गर्न उनीहरूलाई राज्यका निकायमा अवसर दिनुपर्छ,' उनले भनिन्, 'हाम्रा दुःखपीडा सुन्दिने वडाध्यक्ष घुमाउरो तरिकाले मनोनीत हुनु जनताको अधिकार कुण्ठित हुनु हो।'
सर्वसाधारणले शासकीय स्वरूप, स्थानीय तथा संसदीय निर्वाचनलाई जनताको प्रत्यक्ष सम्पर्कबाट विच्छेद गर्न नहुने बताउँदै सांसद, प्रधानमन्त्री, मन्त्री वा राष्ट्रपतिको प्रत्याशी कम्तीमा स्नातक उत्तीर्ण हुनैपर्नेमा जोड दिए। 'एउटा स्कुल चलाउने मास्टरलाई योग्यता चाहिने, देशै चलाउने नेतालाई चाहिँ किन नचाहिने?,' मरभुङमा केन्द्रमा एक सर्वसाधारणले भने।
प्रदेश सीमांकन टुंग्याएर मात्र संविधान जारी गर्न सुझाएका स्थानीयले नेपालमा आठ प्रदेश सान्दर्भिक नहुने बताएका छन्। 'नेपालमा तीनदेखि पाँच प्रदेशभन्दा माथिको संघीय संरचना हुन हुँदैन,' मरभुङकी सावित्रा अर्यालले भनिन्, 'संघीयताको विषय राम्रोसँग टुंग्याउनुपर्छ, भोलि कसैले गुल्मी राज्य मागेे दिने कि नदिने?'
संघीय संरचनामा जाँदा राष्ट्रिय सम्पत्ति केन्द्रीय राज्यको नियन्त्रणमा र सुरक्षानिकाय सिधै केन्द्रीय राज्यप्रति उत्तरदायी हुनुपर्ने आवाज बलियो देखिएको छ। राज्यका निकायमा निश्चित समयलाई आरक्षण व्यवस्था गरेर अन्ततः प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रियामा जान उनीहरूको सुझाव छ। निर्वाचनमा न्यूनतम तीनदेखि पाँच प्रतिशत 'थ्रेसहोल्ड' व्यवस्था गरेर राजनीतिक दललाई उत्तरदायी बनाउनुपर्नेमा सबैको एकमत छ। जघन्य अपराधीलाई मृत्युदण्डै दिनुपर्ने कतिपयको धारणा छ। गुल्मीलाई लुम्बिनीबाट नछुट्ट्याई हिमाल, पहाड र तराईसहितको संघीय राज्यमा समावेश गर्न स्थानीयको आग्रह छ।
मस्यौदामाथि सुझाव संकलनपछि सभासद गोकर्णराज विष्टले केन्द्रमा ठूलो महत्व दिइएको विषयभन्दा जनजीवनसँग जोडिएका विषय प्रमुखतासाथ आएको बताए। 'सरकार वा स्थानीय निकायका कार्यकारी जनताबाटै निर्वाचित हुनुपर्ने धेरैको सुझाव छ,' उनले भने।