नेपालमा राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्थामाथि उठेको प्रश्नचिन्ह
१४ भदौ २०८१
•
१२ मिनेट पाठ
नेपालमा राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्थामाथि उठेको प्रश्नचिन्ह
आफ्नो श्रीमानको हत्यारालाई दिइएको कैद मिनाहाका विरुद्धमा भोक हडताल गर्न जाँदै गरेकी भारती शेर्पा र कैद मिनाहा बदर गर्न माग गर्दै काठमाडौँस्थित सर्वोच्च अदालतमा रिट दायर गरेकी शारदा कडायत । तस्बिर : सुनिता न्यौपाने, जिपिजे नेपाल
नोभेम्बर २०२३ को कुरा हो, सर्वोच्च अदालतको भवनबाहिर भारती शेर्पाले लामो सास फेरिन् । नेपाली कांग्रेसको पूर्व कार्यकर्तासमेत रहेका उनको श्रीमानका हत्यारालाई राष्ट्रपतिले कैद मिनाहा गरेपछि त्यसको विरुद्धमा उनी अहिले आमरण अनशनमा छिन् । हत्यारालाई रिहा गर्ने निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट पनि दायर गरेकी छिन् । अदालतले अहिले उक्त रिटको फैसला सुनाउन लागेको छ ।




शेर्पाको मुद्दाले नेपालमा राष्ट्रपतिले कैद सजाय माफी मिनाहा दिने व्यवस्थाको पुनरावलोकन सुरु भएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सरकारले अहिले कैद मिनाहा गर्ने नियमहरूका बारेमा पुनर्विचार गरिरहेको छ । नेपालमा शक्तिशाली नेताले आफ्नो नजिकका व्यक्तिलाई गम्भीर फौजदारी अभियोग लागेको भए पनि कारागारमुक्त गर्ने गरेको लामो इतिहास भएको मानव अधिकार आयोग, अधिवक्ता र राजनीतिक विश्लेषकहरूको भनाइ छ । नेपालको कानुनमा भ्रष्टाचार, जबरजस्ती करणी, यातना वा हत्याको अभियोग पुष्टि भएका अपराधीलाई आममाफी दिने कुनै प्रावधान नभएकाले यस्ता किसिमका अपराधमा कैद मिनाहाको आदेश गैरकानुनी मानिन्छ ।

शेर्पाको श्रीमानका हत्यारालाई राष्ट्रपतिले कैद मिनाहा गरे लगतै राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्रीलाई एक पत्र काटेर राजनीतिक रूपमा कैद सजाय माफी मिनाहा दिने यस्तो प्रचलनले गर्दा समाजमा अराजकता निम्त्याउने कुरातर्फ ध्यानाकर्षण गराएको थियो ।

आयोगका अध्यक्ष टोपबहादुर मगरले लेखेको उक्त पत्रमा यसरी राजनीतिक पहुँचकै आधारमा कैद सजाय माफी मिनाहा पाउने अवस्थाले 'आपराधिक प्रवृत्ति बढ्दै जाने, दण्डहीनताले प्रश्रय पाउने, सर्वसाधारणमा राज्यप्रति वितृष्णा उत्पन्न भई शासन व्यवस्थामाथि नै प्रश्न खडा हुने र राज्यका निकायहरूप्रति नागरिकको विश्वास खस्कन गई त्यस्ता संस्थाहरू विवादित हुँदै जाने सम्भावना रहने' उल्लेख गरिएको थियो ।

आफ्नो श्रीमानको हत्याराको कैद मिनाहाका विरुद्धमा दायर गरेको रिटको सुनुवाइका लागि समर्थकहरूसँग सर्वोच्च अदालत जाँदै गरेकी भारती शेर्पा (बायाँबाट दोस्रो) । तस्बिर : सुनिता न्यौपाने, जिपिजे नेपाल
शेर्पाका श्रीमान् चेतन मानन्धरको बाँके जिल्लाको नेपालगंजमा एउटा पसल थियो । यसै क्रममा उनको ‘रिगल’ उर्फ योगराज ढकालसँग विवाद भयो ।

सन् २०१५ को एक बिहान ढकालले उनको श्रीमानलाई बजार आउन भन्दै फोन गरेको घटना अझै शेर्पाको स्मृतिमा ताजै छ । अदालतको कागजातअनुसार ढकालसहित एक हुल मानिस मिलेर मानन्धरलाई खुँडा हानेर हत्या गरेका थिए । एक जना आरोपितले उक्त हत्याको योजना ढकालले नै बनाएका थिए भनेर अदालतमा बयान दिएका थिए ।

सन् २०१८ मा बाँके जिल्ला अदालतले ढकाललाई हत्यामा दोषी ठहर गर्दै उनले पुर्पक्षका लागि थुनामा बिताएको समयसमेत गरेर जम्मा २० वर्ष कारावास सजाय सुनाएको थियो ।

तर त्यसको पाँच वर्षपछि नै संविधान दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको कैद मिनाहा गरेका थिए । अझै १२ वर्ष कारागार सजाय बाँकी रहेका उनी राष्ट्रपतिले सजाय माफी दिए लगतै रिहा भएका थिए ।

सामाजिक सञ्जालमा ढकाल कारागारबाट रिहा भएको देख्दा शेर्पा छाँगाबाट खसेको जस्तो भएकी थिइन् । श्रीमानको मृत्युपश्चात् उनले निकै पीडा भोगेकी थिइन् । एक्लो जीवन बिताइरहेकी उनले कयौँ पटक त आत्महत्या प्रयास समेत गरेको बताउँछिन् । अहिले उनको श्रीमान्को हत्यारा उन्मुक्त भएर हिँडिरहेको थियो ।

त्यसैले शेर्पाले सर्वोच्चको ढोका ढक्ढक्याइन र नेपालगंजबाट काठमाडौँ गएर अक्टोबर ३ तारिखका दिन प्रेस कन्फ्रेन्स गरिन् ।

आफूले आमरण अनशन बस्ने घोषणा गर्दै उनले भनिन्, 'उहाँ (श्रीमान्को) मृत्युपछि म मरिरहेकी थिएँ । अहिले आममाफीको कारणले म फेरि मरेँ ।'

सर्वोच्च अदालतका न्यायाधीशहरूले फैसला सुनाउने तयारी गरिरहँदा शेर्पा माइतीघर मण्डलामा पानी मात्र पिएर आमरण अनशनमा बसिरहेकी थिइन् ।

गम्भीर अपराधका दोषीलाई आममाफी दिने लामो इतिहास

नेपालमा शेर्पाको कथा कुनै नौलो कथा होइन । विगतका सरकार र राष्ट्रपतिले पनि गम्भीर अपराधमा दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिएको कानुनविद्हरू स्मरण गर्छन् । राष्ट्रपति कार्यालयका अनुसार सन् २०२३ मा कम्तीमा कारागार सजायको आधा अवधि पूरा गरेका र असल आचरण देखाएका १,५६६ दोषीले राष्ट्रपतिबाट सजाय माफी पाएका थिए । यसरी कैद मिनाहा पाउने कैदीमध्ये नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम लाल चौधरी पनि एक हुन् । उनलाई सन् २०१५ को झडपमा नौ जना मानिसको हत्या अभियोगमा दोषी ठहर गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घ र नेपाल मानव अधिकार आयोगले सन् २०११ देखि नै गम्भीर अपराधमा मुद्दामा सजाय सुनाइएका कयौँ अपराधीहरूको कैद मिनाहा गरिएको वा मुद्दा नै फिर्ता लिइएको टिपोट गरेका छन् । यसरी मुद्दा फिर्ता लिने प्रवृत्तिले राजनीतिक पहुँच भएका व्यक्तिलाई फौजदारी अभियोग र दण्डसजायबाट जोगाउने र यसले गर्दा सयौँ गम्भीर अपराधका दोषीहरूका लागि दण्डहीनताको नीतिले प्रश्रय पाउने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह भन्छन्, 'सरकारले पहुँचको आधारमा अपराधीलाई कैद मिनाहा गरेको छ । यो हरेक दिवस र हरेक सरकारको समयमा देखिन्छ ।'

कैद मिनाहा गरिएका केही कैदीबन्दीहरूको राजनीतिक पहुँच भएको विज्ञहरू बताउँछन् ।

सन् २०१८ मा हत्याको मुद्दामा आजीवन कारावासको सजाय काटिरहेका नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का नेता बालकृष्ण ढुङ्गेलको कैद मिनाहा गरिएको थियो ।

त्यस्तै, सन् २०१५ मा भ्रष्टाचारको मुद्दामा तीन वर्ष कारागार सजाय सुनाइएका नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेको कैद मिनाहा गरिएको थियो ।

ढुङ्गेलको कैद मिनाहा गर्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार सुशील प्याकुरेलले आफूले राष्ट्रपतिलाई त्यसो नगर्न सल्लाह दिएको बताउँछन् । सन् २००० र २००५ का बिचमा मानव अधिकार आयोगको आयुक्त भएर काम गरेका प्याकुरेल भन्छन्, 'म राष्ट्रपतिको सल्लाहकार भएको बेला पनि राजनीतिक पहुँचमा कैद मिनाहा गरियो । मैले आवाज उठाएको थिएँ ।'

अन्य कसुरदारहरूलाई रिहा गरिएको कुरामा कुनै विरोध नभएका बेला आफ्नो क्लाइन्टलाई मात्र अनुचित रूपमा लक्षित गरिएको अधिवक्ता लव कुमार मैनालीको तर्क छ । ढकालका तर्फबाट बहस गरिरहेका उनी भन्छन् “'आ-आफ्नो पार्टी सरकारमा रहुँदा लागुऔषध, शरीर बन्धक र अदालतमा विचाराधीन हजारौँ मुद्दाहरूमा कैद मिनाहा दिएको छ । त्यसमा कसैले विरोध जनाएका छैनन् ।'

ढकाललाई कैद मिनाहा दिँदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका बागडोर सम्हालेका पूर्व मन्त्री धनराज गुरुङका अनुसार कसलाई कैद मिहाना दिने भन्ने कुरा एक जना व्यक्ति वा कार्यालयको हातमा मात्र हुँदैन । उनी भन्छन्, 'कैद कट्टा वा कैद मिनाहको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, कारागार व्यवस्थापन विभाग हुँदै गृह मन्त्रालय जान्छ र गृह मन्त्रालयले मन्त्रीपरिषद्सम्म पुर्‍याउँछ ।' उनका अनुसार मन्त्रीपरिषद्ले कैद मिनाहा रोक्न सक्छ तर त्यो तहसम्म पुगेपछि 'तल्लो निकायले छानबिन गरेको छ भन्ने विश्वास हामीलाई हुन्छ ।' कैद मिनाहाका लागि सयौँ मानिसका नामहरू आउने भएकाले एक एक गरेर पल्टाउन सम्भव नहुने उनी बताउँछन् । विवादित मुद्दा कैद मिनाह भएपछि मात्रै थाहा हुने र त्यो भन्दाअघि को मान्छे हो भन्ने थाहा नहुने उनको तर्क छ ।

कैद मिनाहाको व्यवस्था

नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था रहेको छ । त्यसका लागि दोषी ठहर भएका कैदीले कारागार व्यवस्थापन विभागमा निवेदन दिन सक्छन् । त्यसपछि विभागले गृह मन्त्रालयसमक्ष आफ्नो सिफारिस पेस गर्छ । मन्त्रालयले अपराधको प्रकृति र पुराना रेकर्डहरू, कैदीको उमेर र सजायको पुनर्विचार गर्छ र कैद मिनाहा दिन सकिने खालका कैदीहरूको सूची मन्त्रीपरिषदमा पेस गर्छ । त्यस उपर आवश्यक छलफल गरेपछि मन्त्रालयले उक्त सूची राष्ट्रपतीसमक्ष पठाउँछ ।

राष्ट्रपतिका कानुनी सल्लाहाकार बाबुराम कुवँरका अनुसार संविधानमा राष्ट्रपतिबाट सम्पादन हुने जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुने छ भनिएको छ । राष्ट्रपतिको काम मन्त्रिपरिषदले गरेको निर्णयमा औपचारिकता पूरा गर्ने मात्र हो । उनी भन्छन्, 'निर्णय गर्ने अधिकार राष्ट्रपतिको होइन । मन्त्रिपरिषदले निर्णय गरेर सो बमोजिम सिफारिस गरेको कुरा राष्ट्रपतिले संविधानबमोजिम इन्कार गर्ने अवस्था रहदैँन ।'

तर कस्ता कैदीलाई कैद सजाय माफी मिनाहा दिन मिल्छ भन्ने सम्बन्धमा विभिन्न कानुनले अंकुश लगाएका छन् । अझै अदालतमा मुद्दा चलिरहेका अभियुक्तको कैद मिनाहा गर्न मिल्दैन । भ्रष्टाचार, यातना, जर्बजस्ती करणी वा क्रुर तथा अमानविय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको अपराधमा आममाफी दिएर कैद मिनाहा गर्न मिल्दैन ।

विवाह लगतै खिचिएको शारदा कडायत (बायाँ) र उनको श्रीमान्को फोटो । तस्बिर : सुनिता न्यौपाने, जिपिजे नेपाल
सरकारबाट भर्खरै बाहिरिएको राष्ट्रिय स्वतन्त पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य चन्दा कार्की आममाफी दिँदा सरकारले ध्यान पुर्‍याउनु पर्ने जिकिर गर्छिन् । उनी भन्छिन्, 'क्रुरतापूर्वक हत्या गरेको मानिस जेलबाट छुट्नै हुँदैन । छुटे पनि नीति निर्माण गर्ने ठाउँमा बस्न पाउनु हुँदैन ।'

रेशम लाल चौधरीको मुद्दा

सन् २०१५ मा नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीको नेतृत्वको प्रदर्शनकारी समूह र प्रहरीको बिचमा भएको झडपमा परेर शारदा कडायतका श्रीमान् मारिएका थिए । यस मुद्दामा अदालतले दोषी ठहर गरेको चौधरीलाई आममाफी दिएर रिहा गरिएपछि उनले गत वर्ष सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

मानव अधिकार आयोगका पूर्व आयुक्त प्याकुरेल नेपालको दक्षिणपश्चिमी भेगका थारु जातिको प्रतिनिधित्व गर्ने चौधरी आफ्नो राजनीतिक पहुँचकै कारण रिहा भएको आरोप लगाउँछन् । राष्ट्रपति पौडेलले राष्ट्रपति निर्वाचन जित्नुभन्दा १८ दिन पहिले मात्र संसदमा चार सिट भएका चौधरीलाई कारागारमै गएर भेटेका थिए । नेपालमा संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलले राष्ट्रपतिका लागि मतदान गर्ने व्यवस्था छ ।

'चौधरीको कैद मिनाहा राजनीतिक पहुँचको आधारमा भएको त्यो क्लासिक उदाहरण हो ।' प्याकुरेल भन्छन्, 'राष्ट्रपतिको चुनावमा अहिलेका राष्ट्रपति जेलमा उनीसँग भोट माग्न गए । लिंकेज हेर्दा त्यहाँ डिल भयो भन्नेमा पुगिन्छ ।

राष्ट्रपति पौडेलले मे २९ मा चौधरीलाई आममाफी दिएका थिए । राष्ट्रपतिका कानुनी सल्लाहकार कुँवर भन्छन्, 'राष्ट्रपति रेशम चौधरीलाई भोटको लागि भेट्न जानुभयो भन्ने कुरा सम्पूर्ण रूपमा गलत र औचित्यहीन कुरा हो । रेशम चौधरीको केसमा राष्ट्रपतिको टाढा टाढासम्म भूमिका छैन ।'

तर गृह मन्त्रालयका प्रवक्ता भट्टराई यो कुरामा सहमत हुन सकेनन् । चौधरीले कारागारमा देखाएको असल आचरणको मूल्याङ्कन गर्दै उनलाई कैद मिनाहा गरिएको उनले दाबी गरे । उनी भन्छन्, 'विगतदेखि कैदीको चालचलन अवलोकन गरेर सुध्रिएका र तोकिएको कैद भुक्तान गरेका कैदीहरूलाई कैद मिनाहा दिएको अभ्यास छ । यही बमोजिम चौधरीको पनि कैद मिनाहा गरिएको हो ।'

नेपाल कानुन क्याम्पसका सहायक क्याम्पस प्रमुख तेजमान श्रेष्ठका अनुसार कैदीले सुध्रिने चाहना राख्छ भने समाजमा केही योगदान होस् भनेर कैद मिनाहा र आममाफीको व्यवस्था गरिएको हुन्छ । कानुनअनुसार कुनै कैदीले जेलमा हुँदा आफ्नो आचरण सुधार गरेको छ र कम्तीमा ४० प्रतिशत सजाय भुक्तानी गरिसकेको छ भने कैद मिनाह गर्न सकिने उनी बताउँछन् ।

आफ्नो रिटको सुनुवाइको मिति विना कुनै कारण आठ पटक सारिसकिएको कडायत बताउँछिन् । अहिले उनको रिटको सुनुवाइको मिति ११ सेप्टेम्बर, २०२४ का लागि तोकिएको छ । चौधरी स्वतन्त्र हिँडिरहेका छन् तर कडायतलाई अदालतले आफ्नै पक्षमा फैसला गर्छ भन्ने दह्रो विश्वास छ ।

उनी भन्छिन्, 'म लडिरहन्छु । ढिलो होला ।'

अदालतको फैसला

यसैबीच सर्वोच्चले नोभेम्बर २ तारिखमा राष्ट्रपतिले मानन्धरका हत्यारा ढकाललाई दिएको कैद सजाय माफी मिनाहाको निर्णय बदर गरेको छ ।

अदालत नजिकै बसेर फैसलाको प्रतीक्षा गरिरहेकी शेर्पाले यो खबर सुन्ने बित्तिकै उनको आँखा खुसीको आँशुले भरिएको थियो । उनी भावविह्लल भइन् र अदालतको आँगनमा आएर झुकेर ढोगिन् । त्यसपछि उनले जुस पिएर आफ्नो भोक हडताल अन्त्य गरिन् ।

सर्वोच्च अदालतको फैसलामा ढकालले नै मानन्धरको ज्यान मार्ने योजना बनाएको र हत्या गरेको उल्लेख गरिएको छ । फैसलामा कैद मिनाहा दिँदा उचित प्रक्रियाको अवलम्बन नगरिएको पनि उल्लेख गरिएको छ ।

आफ्नो श्रीमानको हत्यारालाई दिइएको कैद मिनाहा बदर हुने फैसला भएपछि सर्वोच्च अदालत परिषर अगाडि भारती शेर्पा । तस्बिर : सुनिता न्यौपाने, जिपिजे नेपाल
मानन्धरको हत्याकाण्डमा दोषी ठहर भएका अन्य कैदीहरूको कैद सजाय माफी मिनाहा नगरिएकाले ढकाललाई मात्र विशेष व्यवहार गरिएको अदालतको जिकिर छ ।

गृह मन्त्रालयले ढकाललाई रिहा गर्न उचित हुने कुरा पुष्टि गर्नका लागि राष्ट्रपतिसमक्ष ढकालको असल आचरण पुष्टि गर्ने कुनै ठोस प्रमाण पनि पेस नगरिएको अदालतले टिप्पणी गरेको छ । यसरी अनुचित रूपमा गरिएको कैद मिनाहाले अपराधी बचाउनका लागि राजनीतिक शक्तिको दुरुपयोग गरिएको देखिएको न्यायाधीशले उल्लेख गरेका छन् ।

न्यायधीशले दोषी ढकाललाई तुरुन्तै पुनः चेल चलान गर्न आदेश दिएका छन् भने सरकारलाई कैद सजाय माफी मिनाहा गर्ने प्रक्रियाका बारेमा पुनर्विचार गर्न सिफारिस गरेका छन् । कैद मिनाहा दिने जस्तो निर्णय गर्दा पिडीतको हक संरक्षित रहने गरी निजको सहमति मञ्जुरीसमेत लिई पीडितलाई सामाजिक पुनस्स्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्थाको सुनिश्चित गर्नु पर्ने भनेर फैसलामा भनिएको छ ।

मानव अधिकार आयोगका पूर्व आयुक्त प्याकुरेल भन्छन्, 'पिडीत केन्द्रित दृष्टिकोणमा अदालत बोलेको छ । यो सह्रानीय छ ।'

गृह मन्त्रालयका प्रवक्ता भट्टराईका अनुसार सरकारले अहिले कैद मिनाहा गर्ने व्यवस्थाका बारेमा पुनर्विचार गरिरहेको छ । शेर्पाको मुद्दाको फैसलापछि सरकारले कसैको पनि कैद मिनाहा नगरेको उनले जानकारी दिए ।

उनले कैद मिनाहाका लागि सिफारिस गर्दा कैदीबन्दीहरूको आचरण कसरी व्यवस्थित तरिकाले मूल्याङ्कन गर्ने भन्ने विषयमा मन्त्रालयले छलफल गरिरहेको बताए । उनी भन्छन्, 'सर्वोच्च अदालतको पूर्ण पाठ आएपछि आदेशमा उल्लेख भएका विषयलाई समेटिने छ । कारागारभित्र कैदीले देखाएको व्यवहार र कैदबाट बाहिर आएपछिको व्यवहार नमिलेको अवस्थामा के गर्ने भनेर हामीले अध्ययन गरिरहेका छौँ ।'

तर सांसद सिंह भने संसदमा कानुन संसोधन गर्ने सम्बन्धमा कुनै छलफल नभएको बताउँछन् । उनी भन्छन्, 'कानुन परिमार्जनको विषयमा संसदमा कुनै छलफल भएको छैन । सरकारले संसदमा कुनै विधेयक ल्याएको छैन ।'

सर्वोच्चको फैसलापछि शेर्पा नेपालगंज फर्किएकी छिन् । आफू अब न्याय प्रणालीप्रति आशावादी भएको उनी बताउँछिन् ।

उनी भन्छिन्, 'सर्वोच्च अदालतको फैसलासँगै म जस्ता थुप्रै मानिसहरूले न्याय पाउने छन् । अदालतले मेरो पक्षमा फैसला गरेसँगै अदालतप्रतिको विश्वास बढेको छ ।'

(सुनिता न्यौपाने ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्। यो स्टोरी सुरुमा ग्लोबल प्रेस जर्नलद्वारा प्रकाशन गरिएको थियो।) 

यो पनि पढ्नुहोस्

'नागरिकताका लागि नाङ्गिएर भिख माग्दै हिंड्नुपर्ने यो कस्तो व्यवस्था हो?' 

यो पनि पढ्नुहोस्

नेपाली शिविरमा रहेका शरणार्थीहरू अझै भुटान फर्कने आशमा 

यो पनि पढ्नुहोस्

लोप हुने अवस्थामा नेपाली जोगीहरूको परम्परा 

यो पनि पढ्नुहोस्

जसले आँखा खोस्यो उसैको संरक्षणमा तल्लिन भदै थारू
अर्को समाचार
हिमाल-पहाडले ढाकेको नेपालको उत्तरी भागमा भोकमरीको खतरा
१७ कार्तिक २०८१
•
७ मिनेट पाठ
हिमाल-पहाडले ढाकेको नेपालको उत्तरी भागमा भोकमरीको खतरा
वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामबाट पुनः बिक्री गर्नका लागि चामलका बोरा लोड गर्दै स्थानीय व्यापारीहरू । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
चीनको सिमानासँग जोडिएको माथिल्लो डोल्पामा नेपाल सरकारले तीन वर्षदेखि चामल वितरण गर्न सकेको छैन । यहाँका मानिसहरू चारदेखि नौ दिनसम्मको पैदल यात्रा गरेर बजारमा चामल किन्न जान्छन् । तर बजारमा चामलको मूल्य यति धेरै महँगो छ कि अधिकांश मानिसहरू त्यो मूल्य जुटाउन सक्दैनन् । 




सरकारले यस क्षेत्रमा वितरण गर्दा प्रति किलो ५८ देखि ८७ रुपैयाँ मात्र पर्ने चामल बजारमा दोब्बरभन्दा बढी १५० रुपैयाँ पर्छ ।  तर माथिल्लो डोल्पासम्म चामल लैजान एकदमै कठिन छ ।

स्थानीयबासी दोर्जे गुरुङ भन्छन्,'हामीले अथवा ठेकेदारले पनि चामल पुर्‍याउने भनेको कि खच्चड वा चौरीमार्फत हो कि त हेलिकप्टरमार्फत पुर्‍याउनुपर्छ । सरकारले कुनै माध्यमबाट पुर्‍याइदेला भन्ने आश त अब मरिसक्यो ।'

सरकारले हरेक वर्ष माथिल्लो डोल्पासम्म खाद्यान्न ढुवानी गर्न भनेर एक कम्पनीसँग करार सम्झौता गर्छ । यस्तो हुँदा यो क्षेत्रमा चामल वितरण हुनु पर्ने हो तर सरकारसँग करार सम्झौता गरे पनि माथिल्लो डोल्पामा यातायातको सुविधा नभएको जस्ता विभिन्न कारणहरू देखाएर ठेकेदारले चामल पुर्‍याउन अस्वीकार गर्छन् । सरकारको स्वामित्वमा रहेको र खाद्यान्न खरिद गरी देशका विकट जिल्लाहरूमा पुर्‍याउने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय डोल्पाका कार्यालय प्रमुख विष्णु घिमिरे चालू आर्थिक वर्षमा ठेक्का भएपछि माथिल्लो डोल्पामा पनि खाद्यान्न पुग्ने आश्वासन दिन्छन् । उनी भन्छन्,'हामीले यो वर्षको टेन्डर गरिसकेका छौँ । विगतका वर्षमा ठेकेदारले धेरै बाहना बनाए तर यस पटक त्यस्तो हुने छैन । उपल्लो डोल्पाबासीले यस पटक खाद्यान्न पाउँछन्, हिउँ पर्ने मौसम सुरु नहुँदै डोल्पामा खाद्यान्न पुग्छ ।'

सन् २०२० मा सुरु गरिएको सरकारी कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरमा स्थित यो जमिनमा मकै खेली गरिन्थ्यो । तर आज यो जमिन बाँझो छ । यो ठाउँमा प्रदेश सरकारको भवन निर्माण गर्ने योजना बनाइएको छ ।  तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
तर दोर्जे गुरुङ भने यो वर्ष पनि खाद्यान्न नपुग्ने कुरामा ढुक्क छन् । 'खाद्यान्न आए पनि हामीलाई एक महिनासम्म पुग्ने पनि आउँदैन,' उनी भन्छन् ।

यो कर्णाली प्रदेशको हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा बस्ने अधिकांश नागरिकको साझा समस्या हो । त्यसैले धेरै मानिसहरू यो क्षेत्र छाडेर रोजगारीका लागि सहर वा विदेश पलायन भइसकेका छन् र यहाँको उब्जाउ जमिन पनि बाँझै छन् ।

झन्डै ३० हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको कर्णाली नेपालकै सबैभन्दा ठुलो प्रदेश हो र यसले देशको कुल क्षेत्रफलको झन्डै २१५ भूभाग ओगटेको छ । तर यस प्रदेशको जनसङ्ख्या सबैभन्दा कम अर्थात् १६ लाख मात्र छ । सन् २०२१ को जनगणनाअनुसार माथिल्लो डोल्पामा झन्डै ४२,७०० मानिस बसोबास गर्छन् । 

यो पनि पढ्नुहोस्

नेपाली शिविरमा रहेका शरणार्थीहरू अझै भुटान फर्कने आशमा

यो क्षेत्र भौगोलिक हिसाबले अत्यन्तै विकट भएको हुँदा यहाँ पहिरो गइरहने भएकाले र सडकको अवस्था खराब रहने भएकाले यहाँका सडकहरू पार गर्न असम्भवप्रायः हुन्छ । २३२ किलोमिटर लम्बाइ भएको कर्णाली राजमार्गको दुर्गति देखेर यसलाई 'मृत्यु मार्ग' समेत भन्ने गरिन्छ । आधिकारिक तथ्याङ्कअनुसार सडकमार्फत यात्रा गर्दा हरेक वर्ष औसतमा १०० जना व्यक्तिले ज्यान गुमाउँछन् । 

माथिल्लो डोल्पा क्षेत्रमा आवतजावत गर्न चुनौतीपूर्ण भएको कुरा सर्वविदितै हुँदा पनि र यो क्षेत्रमा कृषिको सम्भावना राम्रो भए पनि सन् २०२० को तथ्याङ्कअनुसार यहाँको एक चौथाइभन्दा बढी जमिन बाँझै छ । यसलाई सम्बोधन गर्न सरकारले यहाँको कृषि उत्पादन बढाउनका निम्ति अनुदान दिने, बीउ वितरण गर्ने र अन्य सहायता प्रदान गर्ने भन्दै कार्यक्रम ल्याएको थियो । यसबाट रोजगारीका हजारौँ नयाँ अवसर सिर्जना गर्ने र सहर पलायन भएका मानिसहरूलाई गाउँमा आकर्षित गर्ने अपेक्षा राखिएको थियो । तर प्रादेशिक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिपोर्टअनुसार अहिले यो कार्यक्रमको अपेक्षा विपरीत पहिलेभन्दा अझ धेरै उब्जाउ जमिन ९३०५० बाँझो भएको छ ।

खेती गर्ने जनशक्ति सहरी क्षेत्रतर्फ बसाइँ सरेकाले र गाउँमा पर्याप्त जनशक्ति नभएकाले कार्यक्रम सफल हुन नसकेको मन्त्रालयका कृषि प्रसार अधिकृत एवम् सूचना अधिकारी रमेश खड्का बताउँछन् ।

यो पनि पढ्नुहोस्

मिस युनिभर्स नेपालसँगै खासै नसुनिएको डिस्अर्डरको चर्चा पनि चुलिंदै

लेकाली क्षेत्रमा कृषिखेती गर्न बढी समय लाग्छ र अन्य क्षेत्रमा भन्दा बढी लागत लाग्छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवम् कृषि प्रसार अधिकृत धनबहादुर कठायत भन्छन्, 'उनीहरू अरू नै पेशा गरेर जीविकोपार्जन गरिरहेका छन् ।'

वीरेन्द्रनगरस्थित पोषण सुधार केन्द्रमा राखिएका अन्य बच्चाका आमाहरूसँग कुरा गर्दै उर्मिला बुढाथोकी (बीचमा) । यहाँ कुपोषण भएका बालबालिकालाई पौष्टिक खानेकुरा खुवाइन्छ । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
कर्णाली प्रदेशमा राम्रो कृषि सम्भाव्यता छ । यहाँ दाल, जौ र जुम्ली मार्सी चामललगायतका नौ वटा विभिन्न अन्न र धानका प्रजातिहरूको खेती हुन्छ । तर पनि १० मध्ये ६ जिल्ला आयातित खाद्यान्नमा निर्भर रहेको कठायतको भनाइ छ ।

तथ्याङ्कअनुसार कर्णालीका नागरिकलाई ३,४४,३२४ मेट्रिक टन खाद्यान्न चाहिन्छ । तर अझै पनि कर्णालीमा २३,४३४ मेट्रिक टन खाद्यान्न अपुग रहेको तथ्याङ्कले देखाउँछ ।

यसले गर्दा मानिसहरूमा भोकमरीको समस्या छ । एक तिहाइभन्दा बढी जनसङ्ख्यामा पुड्कोपना तथा ख्याउटेपनाको समस्या छ । कुपोषणका कारण यस्तो समस्या देखिन सक्छ । त्यस्तै चालिस प्रतिशत बालबालिकामा रक्तअल्पता छ । विश्व खाद्य कार्यक्रम र नेपाल सरकारले सन् २०१९ मा गरेको एक अध्ययनअनुसार झन्डै एक चौथाइ परिवारमा खाद्यान्न अपुग रहेको र जम्मा ८५ परिवारले मात्र आफूलाई आवश्यक पर्ने खाद्यान्न खपत गरिरहेको देखिएको छ । भोकमरीले मानव स्वास्थ्यमा दीर्घकालीन असर गर्छ।

स्थानीय बालरोग विशेषज्ञ नवराज केसी कर्णालीमै उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न सके कुपोषणको ग्राफलाई घटाउन सकिने बताउँछन् ।  

यो पनि पढ्नुहोस्

'नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि समुदाय एक क्लिक टाढा छ'

उनी भन्छन्, 'कर्णालीमा उत्पादन हुने पौष्टिक तत्त्व भएका खाद्यान्न नेपालका अन्य ठाउँमा उत्पादन हुँदैन । यदि यी बालीहरूको संरक्षण गर्न सकेर उत्पादन बढाउन सके हामी आत्मनिर्भर पनि बन्न सक्छौँ र भविष्यमा स्वस्थ जनशक्ति उत्पादन पनि गर्न सक्छौँ ।'

सन् २०१५ मा नेपाल सङ्घीय गणतन्त्रात्मक राष्ट्र बनेको थियो । कृषि उत्पादनमा सुधार गर्ने महत्त्वपूर्ण योजना बोकेर कर्णाली प्रादेशिक सरकार गठन भएको पनि सात वर्ष भइसकेको छ र यसबिचमा कयौँ पटक सरकार फेरिइसेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोदकुमार शाहका अनुसार यस बिचमा अर्गानिक खेती, युवा लक्षित कृषि कार्यक्रम, उत्पादनमा आधारित अनुदान, चक्लाबन्दी खेती अभियान, कृषि कर्जालगायतका विभिन्न सुधारका लागि पहल गरिएका छन् ।

तर अहिले भने सरकारले यसका लागि दण्डसजायको व्यवस्था गर्ने योजना अघि सारेको छ । यसअन्तर्गत आफ्नो जमिन बाँझो छाड्ने मानिसहरूलाई बढी कर लगाइने छ ।

कर्णालीमा लामो समय काम गरेका कृषि विज्ञ लीलाराम पौडेल यहाँको कृषियोग्य जमिन जङ्गलमा रूपान्तरण भइरहेको बताउँछन् ।

वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा भण्डारण गरेर राखिएका चामलका बोरा । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
उनी भन्छन्, 'त्यसैले पहिले कहाँबाट आम्दानी हुन्छ भन्ने पनि सोच्न आवश्यक छ । जस्तै, जडीबुटीबाट आम्दानी गरेर खाद्यान्नमा कर्णालीलाई आत्मनिर्भर बनाउन सकिन्छ ।'

तर डिलकुमारी धिमाल जस्ता स्थानीयबासीलाई भने यो कुरामा रत्तिभर विश्वास छैन । चाडबाडको सिजनमा चामलको माग झन् बढी हुने भएकाले त्यस बेला झन् चामलको चरम अभाव हुने गर्छ । अक्टोबर र नोभेम्बर महिनामा नेपालका सबैभन्दा महत्त्वपूर्ण चाडहरू दशैं र तिहार पर्छन् ।

“यो वर्ष पनि चामल लिनका लागि खाद्य डिपोअगाडि कति दिन पो लाइन लाग्नु पर्ने हो थाहा छैन ।”

अघिल्ला वर्षहरूमा डिपोमा गएर लाइन लाग्दा पनि अन्त्यमा रित्तो हात घर फर्किएर बजारबाट महँगो चामल किनेर खानु परेको सम्झिँदै उनी यो वर्ष पनि यही अवस्था आउने हो कि भन्ने चिन्तामा छिन् ।

(चाँदनी कठायत ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्। यो लेख पहिला ग्लोबल जर्नलमा प्रकाशित भएको हो। )  

यो पनि पढ्नुहोस्

नेपालका सामुदायिक वनका खोरभित्र वन्यजन्तु
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस