लोप हुने अवस्थामा नेपाली जोगीहरूको परम्परा
१३ साउन २०८१
•
९ मिनेट पाठ
लोप हुने अवस्थामा नेपाली जोगीहरूको परम्परा
झापा जिल्लाको मेचीनगर नगरपालिकास्थित अनु कार्कीको घरमा कृष्णसारको सिङबाट बनेको फेरी बजाउँदै गोपालकुमार जोगी । तस्बिर : मायामितु न्याैपाने, जिपिजे नेपाल
झापा, नेपाल — झापा जिल्लाको भद्रपुर नगरपालिकाका गणेश कुमार जोगीले ११ वर्षको कलिलै उमेरदेखि मानिसहरूलाई दुष्ट आत्मा, भूतप्रेत र ग्रहदशाबाट बचाउनका लागि भनेर बुवासँगै फेरी लगाउन थालेका थिए । उनी मानिसहरूको घर घरमा पुगेर मन्त्र जप्दै कृष्णसारको सिङबाट बनेको फेरी बजाउने गर्छन् ।




अक्टोबर र नोभेम्बर महिनाको ठण्डीमा निद्राको माया मारेर यसरी रातिराति हिँड्नु सजिलो छैन । तर उनलाई यसले भन्दा बढी आफ्नै भाइले चार वर्षअघि फर्काएको कठोर वचनले धेरै पोल्ने गर्छ ।

उनी सन् २०२० को नोभेम्बर महिनाको चिसो रातमा फेरी लगाएर सिदा सङ्कलन गरेर घर फर्कदै थिएँ । त्यही बेला उनका भाइ बाइकमा हुँइकिएर आइपुगे र उनले बोलाउँदा रिसाउँदै भने, “को हो मलाई भाइ भन्ने? मलाई भाइ भन्ने को जोगी हो?

'मेरो कोही दाजु छैन । म तँलाई चिन्दिनँ ।' त्यस दिन भाइको आवाजमा प्रकट भएको आफूप्रतिको क्रोध र घृणाका कारण उनले त्यसपछि फेरि कहिल्यै भाइसँग बोल्ने आँट गरेका छैनन् । आफ्नो मनको बह पोख्दै गणेश भन्छन्, 'एउटै आमाको कोखबाट जन्मिएको आफ्नै भाइले त नचिनेपछि हामीलाई कसले चिन्छ?' 

यो पनि पढ्नुहोस्

मिस युनिभर्स नेपालसँगै खासै नसुनिएको डिस्अर्डरको चर्चा पनि चुलिंदै

गणेशका छोराले पनि उनलाई आफ्नो परम्परागत पेशा त्याग्न अनुरोध गर्दै आएका छन् । तर गणेशले सानैदेखि लगाउँदै आएको फेरी लगाउन छाडेका छैनन् । ग्रीष्म ऋतु र वसन्त ऋतुको बाली लगाउने सिजनमा राति घरघरमा मन्त्र जप्दै र सिङ बजाउँदै हिँड्ने परम्परालाई फेरी लगाउने भनिन्छ । उनले यसरी फेरी लगाउँदै हिँड्नु आफ्नो दायित्व मानेका छन् ।

झापा जिल्लाको अर्जुनधारा नगरपालिका नजिकैको खुदुनबारी गाउँमा सिदा संकलन गर्दै जोगीहरु । तस्बिर : मायामितु न्याैपाने, जिपिजे नेपाल
नेपालको पूर्वी क्षेत्रमा फेरी लगाउने चलन इशा पूर्व आठौँ शताब्दीदेखि नै चलेको हो । यो परम्परालाई मुख्य गरी नेपालको कोशी प्रदेशमा बसोबास गर्ने अल्पसङ्ख्यक फ्री जातिका जोगी समुदायले धान्दै आएका छन् । फेरी लगाएमा भूतप्रेत र दुष्ट आत्मा टाढा रहने, प्रशस्त अन्नबाली फल्ने र वर्षभरि नै खुसी र समृद्धिले बास बस्ने धार्मिक तथा सांस्कृतिक विश्वास रहँदै आएको छ । 

यो पनि पढ्नुहोस्

नेपालका सामुदायिक वनका खोरभित्र वन्यजन्तु

तर जोगी समुदायको प्रमुख दायित्वका रूपमा मानिँदै आएको यो काम अहिले भने लोप हुने क्रममा छ । फेरी लगाएर दान सङ्कलन गर्दै हिँड्ने भएकाले अरू समुदायले जोगीहरूलाई भिखारी ठानेर घृणाको दृष्टिले हेर्ने गरेको पुराना पुस्ताका जोगीहरू बताउँछन् । तर जोगी समुदायका नयाँ पुस्तालाई भने आफ्नो परम्परा सिक्न वा त्यसलाई जोगाएर राख्न कुनै चासो छैन । गणेश भन्छन्, 'यसरी घरघरको सुरक्षा गर्दै हिँड्दा आफन्तबाट तिरस्कृत पनि हुनु पर्ने रहेछ ।'

जोगी समुदायको संक्षिप्त परिचय

राष्ट्रिय तथ्याङ्क कार्यालयले २०२१ को राष्ट्रिय जनगणनाको जातजातिसम्बन्धी विवरणमा पहिलो पटक “फ्री” जाति पनि समेटेको छ । नेपालमा फ्री जातिको जनसङ्ख्या ९२१ मात्र रहेको छ । यसअघि दशनामी सन्यासी समुदायमा गणना गरिँदै आएका जोगीहरूलाई अहिले फ्री जातिअन्तर्गत गणना गरिन्छ । जोगी समुदायको परम्परागत र मौलिक संस्कृति “फेरी” सँग जोडिएर नै “फ्री” जाती नामाङ्कित भएको हुन सक्ने संस्कृतिविद जगमान गुरुङ बताउँछन् । घरको सुरक्षाका लागि जोगीहरूले घरको चारै कुनामा गएर कृष्णसारको सिङ बजाउने मौलिक परम्परा थियो । फेरी लगाउने परम्परा खास गरी पूर्वी नेपालमा विद्यमान छ र चैत्र र कार्तिक महिनामा मध्यरातदेखि बिहान ३ बजेसम्म फेरी लगाउने गरिन्छ ।

नेपालको पूर्वी जिल्ला झापाको मेचीनगर नगरपालिकामा हाल ५० जोगी परिवारहरू बसोबास गर्छन् । तर अहिले तीमध्ये पाँच परिवारले मात्र फेरी लगाउँछन् ।

झापा जिल्लाको अर्जुनधारा नगरपालिका नजिकैको खुदुनबारी गाउँमा नरमाया खड्काको घरमा सिदा लिँदै ओमनाथ जोगी (बिचमा) । तस्बिर : मायामितु न्याैपाने, जिपिजे नेपाल
'फेरी' भनेको कृष्णसारको सिङलाई जोगीहरूले दिएको नाम हो । १० रुपैयाँको नेपाली नोटमा समेत फोटो राखिएको कृष्णसार नेपालको लोपोन्मुख र संरक्षित जनावर हो । यो जनावर नदी किनारका घाँसले भरिएका खुला क्षेत्रमा बसोबास गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दफा ३६ ले संरक्षित वन्यजन्तुलाई आफूसँग राख्न, बिक्री गर्न र ओसारपसार गर्न प्रतिबन्ध लगाएको छ । यो कानुनले गर्दा कृष्णसारको सिङ पाउन एकदमै कठिन छ । जोगी समुदायमा हजुरबुवा र बुवाले आफ्ना छोरालाई कृष्णसारको सिङ हस्तान्तरण गर्ने परम्परा नै रहेको छ ।

ब्रह्माण्डको सन्तुलन कायम गर्ने भूमिका

जोगीहरू आफूले फेरी फुक्दा र मन्त्र जप्दा आफूमा आफ्नो पुर्खाहरूको शक्ति आउने विश्वास गर्छन् । उनीहरू प्रकृतिलाई मानव जातिको संरक्षकका रूपमा लिन्छन् र प्रकृतिको पुजा गर्छन् ।

उनीहरू राति घरघरमा गएर फेरी लगाउँछन् र भोलिपल्ट बिहानै आफूले फेरी लगाएको मानिसहरूको घरमा जान्छन् । घरका मानिसहरूले उनीहरूलाई टिका लगाइदिन्छन् र दक्षिणा र सिदा पनि दिन्छन् । जोगीलाई धान, चामल, नुन, तेल, बेसार र कालो कपडा दान गर्नाले ग्रहदशा राम्रो हुने र घरमा हर्ष, शान्ति र समृद्धिले बास बस्ने आम जनमानसमा विश्वास रहेको छ । 

यसरी फेरी लगाउँदै जोगी आए घरमा कुनै किसिमको भूतप्रेत नलाग्ने, सबै ग्रहदशा काटिने र एक पटक बजाएपछि छ महिनासम्मा ढुक्क हुने विर्तामोडकी तुलासा कार्कीको विश्वास छ ।

त्यस्तै, अर्जुनधारा नगरपालिकाकी भगवती खड्काले आफूहरूले आफ्नो गाउँका जोगीलाई पहिले आफ्नै गाउँमा फेरी लगाएर मात्र अन्य गाउँमा जान अनुरोध गरेको बताउँछिन् । 'पहिले आफ्नो गाउँको सुरक्षा गर्नु पर्यो नि!' उनको तर्क छ । 

यो पनि पढ्नुहोस्

झोलुङ्गे पुलको अभावमा आफ्नै देशबाट टाढिएर जिउन बाध्य मेचीपारीका बासिन्दा

आफ्नो गाउँमा फेरी लगाएर बिहान सिदा लिन आउँदा छिमेकी र गाउँलेहरूले चिन्ने भएकाले र यसो गर्दा लाज हुने भएकाले पहिले पहिले जोगीहरूले आफ्नो गाउँमा फेरी लगाउँदैनथे ।

रात्रिकालीन जीवन

मेचीनगरका ५८ वर्षीय शेर बहादुर जोगीले १४ वर्षको उमेरदेखि नै फेरी लगाउन थालेका थिए । फेरी लगाउँदै देशका विभिन्न ठाउँमा यात्रा गरेका उनी फेरी लगाउन भनेर भारतको दार्जलिङ र सिक्किमसम्म पनि पुगेका छन् । २२ वर्ष फेरी लगाएर बिताएका उनले यो काम छाडेको पनि अहिले २२ वर्ष भइसकेको छ ।

झापा जिल्लाको अर्जुनधारा नगरपालिका नजिकैको खुदुनबारी गाउँमा फेरी बजाउँदै ओमनाथ जोगी । तस्बिर : मायामितु न्याैपाने, जिपिजे नेपाल
अहिले उनी सुपारी उद्योगमा काम गर्छन् । पुराना दिन सम्झदै उनी भन्छन्, 'केटाकेटी मान्छे, राति सुतेपछि उठ्नै मन लाग्दैनथ्यो । बुवाले गाली गर्दै उठाउनुहुन्थ्यो । मन नलागी नलागी गयो । बिहान पनि कस्तो भोक लागेको हुन्थ्यो । तर दान नउठाएसम्म खान हुँदैन थियो । भोकले बोल्नै नसक्ने हुन्थेँ ।'

त्यति बेला अहिलेको जस्तो राम्रो बाटो थिएन र उनी अँध्यारोमा छामछुम गरेर हिँड्दा धेरै पटक बाटोमा चिप्लिने गर्थे र चोट पनि लागिरहन्थ्यो । शीतले खाएर खुट्टा कक्रक्क हुन्थ्यो । विगतलाई सम्झदै उनी भन्छन्, 'त्यस्तो हुँदा पनि तँ आराम गर् भन्दैनथे । हिँड्नै पर्थ्यो ।'

त्यस बेला बिहे ब्रतबन्ध जस्ता कार्यक्रमहरू राति हुने गर्थे र मानिसहरू रातभर जाग्राम बस्ने चलन थियो । उनलाई त्यस्ता कार्यक्रममा आएका केटीहरूसँग जम्काभेट हुँदा साह्रै लाज लाग्थ्यो । फेरी लगाउँदा लगाउँदा उनको ओठ र गाला फुल्थ्यो र २२ वर्षे उमेरका उनलाई केटीहरूले त्यस्तो अवस्थामा देख्दा झन् धेरै लाज लागेर आउँथ्यो । त्यसैले उनी फेरी बजाइसकेपछि कसैको अनुहारमा नहेरी कुलेलम ठोक्थे । 

यो पनि पढ्नुहोस्

जसले आँखा खोस्यो उसैको संरक्षणमा तल्लिन भदै थारू

फेरी लगाएर बिहान सिदा सङ्कलन गर्दा छुट्टाछुट्टै थैलो भएको झोला र अनिवार्य लौरो बोक्नु पर्ने भएकाले बाटोमा माग्न हिँडेको भिखारी जस्तै देखिने भएकाले युवापुस्ता यसतर्फ आर्कषित नभएको २९ वर्षीय राजेश कुमार जोगी बताउँछन् । उनलाई आफ्नो परम्परा जोगाउनु पर्छ भन्ने लागेको छ । त्यसैले उनी अहिले बुवासँग फेरी बजाउन सिक्दै छन् तर उनलाई यो काम गर्न पटक्कै मन छैन । उनी कहिलेकाहीँ फेरी लगाउन टाढाका गाउँमा जाने गर्छन् । तर उनी अरूको अगाडि म फेरी लगाउँदै हिँड्छु भनेर खुलेर भन्न सक्दैनन् । उनी पहिले स्कुल पढ्दा शिक्षकले यो जाबो जोगी त हो नि भनेर होच्याउने गरेकाले उनलाई आफू जोगी भएको कुरा स्वीकार गर्न दिगमिग लाग्छ । अहिले पनि उनलाई कतिपय मानिसले यो उमेरमा काम गरेर खान अल्छी भएर किन माग्दै हिँडेको भन्दै गाली गर्छन् ।

जोगीहरूको काम रातिका समयमा हुने भएकाले उनीहरूको कला र संस्कृतिलाई अन्य समुदायको जस्तो गरी प्रदर्शन गर्न कठिन हुने संस्कृतिविद गुरुङ बताउँछन् । आफूसँग विशेष मन्त्र हुने भएकाले आफूलाई कसैले केही गर्न नसक्ने जोगीहरूको विश्वास छ । तर चोर-डाँका र जाँडरक्सी खाएर रातिराति हिँड्नेहरूले भने उनीहरूलाई रातिराति कहाँ हिडिस् भन्दै धम्क्याउने भएकाले राति हिँड्न त्यति सुरक्षित छैन ।

झापा जिल्लाको अर्जुनधारा नगरपालिका नजिकैको खुदुनबारी गाउँमा कयौँ जोगीहरूलाई सिदा दिँदै गरेको दृश्य ।
केही मानिसहरू भने जोगीको कामलाई अन्धविश्वास मात्र ठान्छन् । बिर्तामोडका सन्जु थापालाई जोगीले घर वा समुदाय सुरक्षित राख्छन् भन्ने रत्तिभर विश्वास लाग्दैन । उनी भन्छन्, ” जोगीले राति राति फेरि लगाउँदा भूतप्रेत भाग्छ, घरको सुरक्षा हुन्छ भन्छन् । तर मलाई भूतप्रेत हुन्छ भन्नेमा नै विश्वास लाग्दैन” । उनी विगतमा फेरीको आवाजले गर्दा गाउँमा चोर आएका भए भाग्न सक्ने र चोरी हुनबाट चाहिँ जोगिन सक्ने स्वीकार गर्छन् । तर अहिले खास गरी सहरी क्षेत्रमा घरहरू जोडेर बनाइने भएकाले राम्रोसँग फेरी लगाउन पनि मिल्दैन ।

अर्जुनधारा नगरपालिकाका ६२ वर्षीय ओमनाथ जोगीलाई पनि सुरुसुरुमा फेरी लगाउँदा राति नै बजाउँदा बजाउँदै छाडेर अन्तै कतै हिँडौं जस्तो लाग्थ्यो । तर यसको महत्त्व बुझेपछि अहिले उनलाई आफूले महत्त्वपूर्ण काम गरिएहको छु भन्ने विश्वास छ । 

यो पनि पढ्नुहोस्

'नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि समुदाय एक क्लिक टाढा छ'

ओमनाथ जोगी अहिले फेरी लगाउँदै आफ्नो गाउँ नजिकैको खुदुनाबारी गाउँमा आइपुगेका छन् । चुक पोखिएझैँ गाउँ चकमन्न अँध्यारोले ढाकेको छ । उनी धर्तीमा कुनै सङ्कट नआओस भनेर आकाश र पाताल दुवैलाई आफ्नो वशमा राख्नका लागि 'आकाशै बाँधू, पातालै बाँधू' मन्त्र जपिरहेका छन् ।

एकलास सडकमा फेरी बोकेको उनको एक्लो आकृति मात्र सलबलाइरहेको छ । सबै घर सुनसान छन् । उनको फेरीबाट एउटा चर्को ध्वनि गुञ्जन्छ । अचानक एउटा कुकुर भुक्छ र त्यसलाई पछ्याउँदै अरू कुकुर पनि बेस्मारी भुक्न थाल्छन् । कुकुर भुकेको आवाज सुनेर केही घरका मानिसहरूले बत्ती बाल्छन् । ओमनाथ भन्छन्, 'कुकुरले घर धनीलाई जोगी आयो, उठेर घरको ढोका खोलिदेऊ भनेर सङ्केत दिएको होला ।'

(मायामितु न्यौपाने ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्। यो स्टोरी सुरुमा ग्लोबल प्रेस जर्नलद्वारा प्रकाशन गरिएको थियो।)
अर्को समाचार
हिमाल-पहाडले ढाकेको नेपालको उत्तरी भागमा भोकमरीको खतरा
१७ कार्तिक २०८१
•
७ मिनेट पाठ
हिमाल-पहाडले ढाकेको नेपालको उत्तरी भागमा भोकमरीको खतरा
वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामबाट पुनः बिक्री गर्नका लागि चामलका बोरा लोड गर्दै स्थानीय व्यापारीहरू । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
चीनको सिमानासँग जोडिएको माथिल्लो डोल्पामा नेपाल सरकारले तीन वर्षदेखि चामल वितरण गर्न सकेको छैन । यहाँका मानिसहरू चारदेखि नौ दिनसम्मको पैदल यात्रा गरेर बजारमा चामल किन्न जान्छन् । तर बजारमा चामलको मूल्य यति धेरै महँगो छ कि अधिकांश मानिसहरू त्यो मूल्य जुटाउन सक्दैनन् । 




सरकारले यस क्षेत्रमा वितरण गर्दा प्रति किलो ५८ देखि ८७ रुपैयाँ मात्र पर्ने चामल बजारमा दोब्बरभन्दा बढी १५० रुपैयाँ पर्छ ।  तर माथिल्लो डोल्पासम्म चामल लैजान एकदमै कठिन छ ।

स्थानीयबासी दोर्जे गुरुङ भन्छन्,'हामीले अथवा ठेकेदारले पनि चामल पुर्‍याउने भनेको कि खच्चड वा चौरीमार्फत हो कि त हेलिकप्टरमार्फत पुर्‍याउनुपर्छ । सरकारले कुनै माध्यमबाट पुर्‍याइदेला भन्ने आश त अब मरिसक्यो ।'

सरकारले हरेक वर्ष माथिल्लो डोल्पासम्म खाद्यान्न ढुवानी गर्न भनेर एक कम्पनीसँग करार सम्झौता गर्छ । यस्तो हुँदा यो क्षेत्रमा चामल वितरण हुनु पर्ने हो तर सरकारसँग करार सम्झौता गरे पनि माथिल्लो डोल्पामा यातायातको सुविधा नभएको जस्ता विभिन्न कारणहरू देखाएर ठेकेदारले चामल पुर्‍याउन अस्वीकार गर्छन् । सरकारको स्वामित्वमा रहेको र खाद्यान्न खरिद गरी देशका विकट जिल्लाहरूमा पुर्‍याउने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय डोल्पाका कार्यालय प्रमुख विष्णु घिमिरे चालू आर्थिक वर्षमा ठेक्का भएपछि माथिल्लो डोल्पामा पनि खाद्यान्न पुग्ने आश्वासन दिन्छन् । उनी भन्छन्,'हामीले यो वर्षको टेन्डर गरिसकेका छौँ । विगतका वर्षमा ठेकेदारले धेरै बाहना बनाए तर यस पटक त्यस्तो हुने छैन । उपल्लो डोल्पाबासीले यस पटक खाद्यान्न पाउँछन्, हिउँ पर्ने मौसम सुरु नहुँदै डोल्पामा खाद्यान्न पुग्छ ।'

सन् २०२० मा सुरु गरिएको सरकारी कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरमा स्थित यो जमिनमा मकै खेली गरिन्थ्यो । तर आज यो जमिन बाँझो छ । यो ठाउँमा प्रदेश सरकारको भवन निर्माण गर्ने योजना बनाइएको छ ।  तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
तर दोर्जे गुरुङ भने यो वर्ष पनि खाद्यान्न नपुग्ने कुरामा ढुक्क छन् । 'खाद्यान्न आए पनि हामीलाई एक महिनासम्म पुग्ने पनि आउँदैन,' उनी भन्छन् ।

यो कर्णाली प्रदेशको हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा बस्ने अधिकांश नागरिकको साझा समस्या हो । त्यसैले धेरै मानिसहरू यो क्षेत्र छाडेर रोजगारीका लागि सहर वा विदेश पलायन भइसकेका छन् र यहाँको उब्जाउ जमिन पनि बाँझै छन् ।

झन्डै ३० हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको कर्णाली नेपालकै सबैभन्दा ठुलो प्रदेश हो र यसले देशको कुल क्षेत्रफलको झन्डै २१५ भूभाग ओगटेको छ । तर यस प्रदेशको जनसङ्ख्या सबैभन्दा कम अर्थात् १६ लाख मात्र छ । सन् २०२१ को जनगणनाअनुसार माथिल्लो डोल्पामा झन्डै ४२,७०० मानिस बसोबास गर्छन् । 

यो पनि पढ्नुहोस्

नेपाली शिविरमा रहेका शरणार्थीहरू अझै भुटान फर्कने आशमा

यो क्षेत्र भौगोलिक हिसाबले अत्यन्तै विकट भएको हुँदा यहाँ पहिरो गइरहने भएकाले र सडकको अवस्था खराब रहने भएकाले यहाँका सडकहरू पार गर्न असम्भवप्रायः हुन्छ । २३२ किलोमिटर लम्बाइ भएको कर्णाली राजमार्गको दुर्गति देखेर यसलाई 'मृत्यु मार्ग' समेत भन्ने गरिन्छ । आधिकारिक तथ्याङ्कअनुसार सडकमार्फत यात्रा गर्दा हरेक वर्ष औसतमा १०० जना व्यक्तिले ज्यान गुमाउँछन् । 

माथिल्लो डोल्पा क्षेत्रमा आवतजावत गर्न चुनौतीपूर्ण भएको कुरा सर्वविदितै हुँदा पनि र यो क्षेत्रमा कृषिको सम्भावना राम्रो भए पनि सन् २०२० को तथ्याङ्कअनुसार यहाँको एक चौथाइभन्दा बढी जमिन बाँझै छ । यसलाई सम्बोधन गर्न सरकारले यहाँको कृषि उत्पादन बढाउनका निम्ति अनुदान दिने, बीउ वितरण गर्ने र अन्य सहायता प्रदान गर्ने भन्दै कार्यक्रम ल्याएको थियो । यसबाट रोजगारीका हजारौँ नयाँ अवसर सिर्जना गर्ने र सहर पलायन भएका मानिसहरूलाई गाउँमा आकर्षित गर्ने अपेक्षा राखिएको थियो । तर प्रादेशिक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिपोर्टअनुसार अहिले यो कार्यक्रमको अपेक्षा विपरीत पहिलेभन्दा अझ धेरै उब्जाउ जमिन ९३०५० बाँझो भएको छ ।

खेती गर्ने जनशक्ति सहरी क्षेत्रतर्फ बसाइँ सरेकाले र गाउँमा पर्याप्त जनशक्ति नभएकाले कार्यक्रम सफल हुन नसकेको मन्त्रालयका कृषि प्रसार अधिकृत एवम् सूचना अधिकारी रमेश खड्का बताउँछन् ।

यो पनि पढ्नुहोस्

मिस युनिभर्स नेपालसँगै खासै नसुनिएको डिस्अर्डरको चर्चा पनि चुलिंदै

लेकाली क्षेत्रमा कृषिखेती गर्न बढी समय लाग्छ र अन्य क्षेत्रमा भन्दा बढी लागत लाग्छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवम् कृषि प्रसार अधिकृत धनबहादुर कठायत भन्छन्, 'उनीहरू अरू नै पेशा गरेर जीविकोपार्जन गरिरहेका छन् ।'

वीरेन्द्रनगरस्थित पोषण सुधार केन्द्रमा राखिएका अन्य बच्चाका आमाहरूसँग कुरा गर्दै उर्मिला बुढाथोकी (बीचमा) । यहाँ कुपोषण भएका बालबालिकालाई पौष्टिक खानेकुरा खुवाइन्छ । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
कर्णाली प्रदेशमा राम्रो कृषि सम्भाव्यता छ । यहाँ दाल, जौ र जुम्ली मार्सी चामललगायतका नौ वटा विभिन्न अन्न र धानका प्रजातिहरूको खेती हुन्छ । तर पनि १० मध्ये ६ जिल्ला आयातित खाद्यान्नमा निर्भर रहेको कठायतको भनाइ छ ।

तथ्याङ्कअनुसार कर्णालीका नागरिकलाई ३,४४,३२४ मेट्रिक टन खाद्यान्न चाहिन्छ । तर अझै पनि कर्णालीमा २३,४३४ मेट्रिक टन खाद्यान्न अपुग रहेको तथ्याङ्कले देखाउँछ ।

यसले गर्दा मानिसहरूमा भोकमरीको समस्या छ । एक तिहाइभन्दा बढी जनसङ्ख्यामा पुड्कोपना तथा ख्याउटेपनाको समस्या छ । कुपोषणका कारण यस्तो समस्या देखिन सक्छ । त्यस्तै चालिस प्रतिशत बालबालिकामा रक्तअल्पता छ । विश्व खाद्य कार्यक्रम र नेपाल सरकारले सन् २०१९ मा गरेको एक अध्ययनअनुसार झन्डै एक चौथाइ परिवारमा खाद्यान्न अपुग रहेको र जम्मा ८५ परिवारले मात्र आफूलाई आवश्यक पर्ने खाद्यान्न खपत गरिरहेको देखिएको छ । भोकमरीले मानव स्वास्थ्यमा दीर्घकालीन असर गर्छ।

स्थानीय बालरोग विशेषज्ञ नवराज केसी कर्णालीमै उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न सके कुपोषणको ग्राफलाई घटाउन सकिने बताउँछन् ।  

यो पनि पढ्नुहोस्

'नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि समुदाय एक क्लिक टाढा छ'

उनी भन्छन्, 'कर्णालीमा उत्पादन हुने पौष्टिक तत्त्व भएका खाद्यान्न नेपालका अन्य ठाउँमा उत्पादन हुँदैन । यदि यी बालीहरूको संरक्षण गर्न सकेर उत्पादन बढाउन सके हामी आत्मनिर्भर पनि बन्न सक्छौँ र भविष्यमा स्वस्थ जनशक्ति उत्पादन पनि गर्न सक्छौँ ।'

सन् २०१५ मा नेपाल सङ्घीय गणतन्त्रात्मक राष्ट्र बनेको थियो । कृषि उत्पादनमा सुधार गर्ने महत्त्वपूर्ण योजना बोकेर कर्णाली प्रादेशिक सरकार गठन भएको पनि सात वर्ष भइसकेको छ र यसबिचमा कयौँ पटक सरकार फेरिइसेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोदकुमार शाहका अनुसार यस बिचमा अर्गानिक खेती, युवा लक्षित कृषि कार्यक्रम, उत्पादनमा आधारित अनुदान, चक्लाबन्दी खेती अभियान, कृषि कर्जालगायतका विभिन्न सुधारका लागि पहल गरिएका छन् ।

तर अहिले भने सरकारले यसका लागि दण्डसजायको व्यवस्था गर्ने योजना अघि सारेको छ । यसअन्तर्गत आफ्नो जमिन बाँझो छाड्ने मानिसहरूलाई बढी कर लगाइने छ ।

कर्णालीमा लामो समय काम गरेका कृषि विज्ञ लीलाराम पौडेल यहाँको कृषियोग्य जमिन जङ्गलमा रूपान्तरण भइरहेको बताउँछन् ।

वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा भण्डारण गरेर राखिएका चामलका बोरा । तस्बिर : चाँदनी कठायत/जिपिजे नेपाल
उनी भन्छन्, 'त्यसैले पहिले कहाँबाट आम्दानी हुन्छ भन्ने पनि सोच्न आवश्यक छ । जस्तै, जडीबुटीबाट आम्दानी गरेर खाद्यान्नमा कर्णालीलाई आत्मनिर्भर बनाउन सकिन्छ ।'

तर डिलकुमारी धिमाल जस्ता स्थानीयबासीलाई भने यो कुरामा रत्तिभर विश्वास छैन । चाडबाडको सिजनमा चामलको माग झन् बढी हुने भएकाले त्यस बेला झन् चामलको चरम अभाव हुने गर्छ । अक्टोबर र नोभेम्बर महिनामा नेपालका सबैभन्दा महत्त्वपूर्ण चाडहरू दशैं र तिहार पर्छन् ।

“यो वर्ष पनि चामल लिनका लागि खाद्य डिपोअगाडि कति दिन पो लाइन लाग्नु पर्ने हो थाहा छैन ।”

अघिल्ला वर्षहरूमा डिपोमा गएर लाइन लाग्दा पनि अन्त्यमा रित्तो हात घर फर्किएर बजारबाट महँगो चामल किनेर खानु परेको सम्झिँदै उनी यो वर्ष पनि यही अवस्था आउने हो कि भन्ने चिन्तामा छिन् ।

(चाँदनी कठायत ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्। यो लेख पहिला ग्लोबल जर्नलमा प्रकाशित भएको हो। )  

यो पनि पढ्नुहोस्

नेपालका सामुदायिक वनका खोरभित्र वन्यजन्तु
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस