भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो-गुरुङ सम्पदा पदमार्ग!
१५ साउन २०८१
•
७ मिनेट पाठ
भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो-गुरुङ सम्पदा पदमार्ग!
पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेको बेला कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा भएको छ।




सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेका बेला गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र कास्कीको मादी गाउँपालिका, लमजुङको क्होलासोथर र मर्स्याङ्दी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा स्थलगत अध्ययन अनुसन्धानपछि पदमार्गको औपचारिक रूपमा घोषणा गरिएको हो।

पदमार्गको अध्ययन एवं अनुसन्धानका लागि गुरुङ पर्यटन व्यवसायी सङ्घ, नेपाल गण्डकी प्रदेशको आयोजनामा यही जेठ २१ देखि ३० गतेसम्म उक्त पदमार्गको खोज तथा अनुसन्धान कार्य सम्पन्न गरिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले बताइन्। “हामीले पदमार्ग योजनामा काम गरिरहेका इन्जिनियर, अन्वेषक, जिपिएस एक्सपर्ट सञ्चारकर्मी, सङ्घका पदाधिकारी, पर्यटक पथप्रदर्शक तथा सहयोगीसहित ३७ जनाको समूहले यस पदमार्गको स्थलगत रूपमा नै खोज तथा अनुसन्धान गरेका हौँ”, उनले भनिन्।

अध्ययनले यो पदमार्ग सफल हुने सम्भावना उच्च रहेको निष्कर्ष निकालेको उल्लेख गर्दै उनले यस पदमार्गमा गर्नुपर्ने सुधार तथा निर्माण कार्यहरूको विस्तृत परियोजना प्रतिवेदन पनि तयार पारिएको बताइन्।

उनका अनुसार प्रकृति, संस्कृति र इतिहासको सङ्गमका रूपमा रहेको यो पदमार्ग पदयात्रामा जाने जो कोहीलाई पनि मोहित बनाउन सक्नेछ। यहाँको ऐतिहासिक तथा पुरातात्विक महत्त्वलाई असर नपर्ने गरी प्राकृतिक सुन्दरता र जैविक विविधतालाई हानी नपुग्ने गरी यस पटकीय पदमार्गको विकास र प्रवर्द्धन गर्नुपर्ने सङ्घको जोड रहेको उनले बताइन्।

यस पदमार्गले दुई ऐतिहासिक विरासत बोकेको सङ्घका संस्थापक अध्यक्ष बोरबजङ्ग गुरुङ बताउँछन्। यसै पदमार्गको बाटो भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमु (गुरुङ) का पुर्खाहरू अहिलेका बस्तीहरूमा फैलिएको भनाइ रहेको उनले बताए।

“गुरुङ समुदायको प्ये ल्हु ताँ मा मात्रै नभई क्होलासोँथरमा विभिन्न चरणमा स्वदेशी, विदेशी विशेषज्ञहरूले गरेको पुरातात्विक अध्ययनले पनि यहाँको ऐतिहासिकता पुष्टि गरेको छ”, उनले भने। क्होलासोँथरको पुरातात्विक महत्त्वका भग्नावशेषहरूको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने उनको भनाइ छ।

दोस्रो ऐतिहासिक विरासतका रूपमा कास्की र लमजुङका गाउँहरूमा अझै पनि मनाङ भोटको नुन बोक्दाका कथा व्यथा सुन्न पाइने उनले बताए। “अहिले खोज गरिएको यो पदमार्ग नै तत्कालीन समयको नुनको व्यापारिक बाटो भएको उजागर भएको छ”, उनले भने, “वर्तमानमा पनि पदमार्गमा भेटिने बिसौनी तथा चौतारीहरू नुनको व्यापारिक मार्गको जीवन्त साक्षी बनेका छन्।”

खोज तथा अनुसन्धानका क्रममा एउटा मूल पदमार्गसहित एक दर्जनभन्दा बढी आवश्यकता र चाहना अनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्गहरू पहिचान गरिएको उनले बताए। यी पदमार्गहरूमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउन सक्ने उनको भनाइ छ।

पोखराबाट मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङतिङ हुँदै क्रपु डाँडा, तप्रो, क्होलोसोंथर, ठूलेक, थुर्जु, दूधपोखरी, गुरुङ देउराली (नामुन पास) डाँफेखर्क हुँदै मनाङको चामे गाउँ पालिकाको तिमाङसम्म पुग्न सकिने गरी पदमार्गको पहिचान गरिएको हो।

यही पदमार्गमा कास्कीका सिक्लेस, याङजाकोट, नागिधार, थाक लगायत गाउँका साथै लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, सिङ्दी, पसगाउँ, गिलुङ, घाम्राड, टक्सार, सिउरुङ लगायत गाउँहरूबाट सुरु गरेर यिनैमध्येका विभिन्न गाउँमा आवश्यकता र चाहना अनुसार छोटो तथा लामो दूरीका पदमार्गलाई प्रयोगमा ल्याउन सकिने उनले बताए।

एक हजार ६ सय मिटरदेखि चार हजार नौ सय १० मिटर उचाइमा पदमार्ग

भौगोलिक अवस्थितिका दृष्टिले यो पदमार्ग समुद्री सतहबाट एक हजार ६ सय मिटर उचाइको ताङतिङदेखि सुरु भई पदयात्राको उच्चविन्दु चार हजार नौ सय १० मिटर उचाइको गुरुङ देउराली (नामुन भञ्ज्याङ) सम्म रहेको छ।

ताङतिङदेखि पछि पदयात्रीहरूको बास तीन हजारभन्दा माथिको उचाइमा हुन्छ। ताङतिङबाट माथि गइसकेपछि तीन हजार मिटर उचाइको कर्पुडाँडादेखि पदयात्रीहरूले धेरै उकालो र ओरालो नगरी तिमाङसम्म पुग्ने संस्थापक अध्यक्ष गुरुङले बताए।

पदमार्ग क्षेत्रमा नै पर्ने चार हजार पाँच सय ८५ मिटर उचाइको धार्मिक महत्त्वको दूधपोखरी यहाँको विशिष्ट धार्मिक गन्तव्य पनि हो। यहाँको दर्शन गरे चिताएको पुग्ने विश्वासका कारण यसको महत्त्व अझै चुलिएको छ।

प्रशस्त खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटनहरू रहेको पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लु जस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिनु यहाँको विशिष्टता हो।

प्रकृतिसँगै संस्कृतिलाई पनि जोड्ने यस पदमार्गको प्रवेश गर्नेदेखि पदयात्रा समाप्त गर्ने स्थानमा गुरुङ गाउँ पर्दछन्। ती गाउँहरूमा घरवास सञ्चालनमा छन् भने घाँटु, सोरठी, कृष्ण चरित्र, आमा समूहका नाच प्रचलनमा रहेका छन्। साथै गुरुङ समुदायको गाउँ, बसोबास तथा रहनसहन पनि यहाँका पर्यटकीय आकर्षण हुन्।

प्राचीन नुन व्यापारको मार्ग, क्होलासोंथरको ऐतिहासिकतासँगै तत्कालीन समयमा धर्मशाला र बिसौनीका भग्नावशेषले यहाँको प्राचीन गरिमा र महत्त्वलाई अझै उजागर गरेका छन्। त्यस्तै, कास्की, लमजुङ मनाङका भेडा, गाई, भैँसी तथा चौँरीको गोठ बस्ने खर्क, गोठाले जीवनको रहनसहनलाई पनि प्रत्यक्ष देख्न र अनुुभव लिन पाइन्छ।

जैविक विविधताले सम्पन्न

यो पदमार्ग जैविक विविधताको अध्ययन अवलोकन गर्न चाहनेका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रको हावापानीमा पाइने औषधीजन्य वनस्पति, जीवजन्तु र चराचुरुङ्गीले पनि यहाँको महत्त्व अझै बढाएको छ।

यस पदमार्गमा यार्सागुम्बा, जटामसी, सतुवा, पाँचऔंले, वन लसुन जस्ता धेरै प्रजातिका जडीबुटी पाइन्छ भने ठाउँठाउँमा हावापानी अनुसारका लालीगुराँस तथा विभिन्न लेकाली फूलहरू अवलोकन गर्दै हिंड्न सकिन्छ। डाँफे, मुनाल लगायत चराचुरुङ्गीको चिरविराहट सुन्दै पदयात्रा गर्न पाइनुले यहाँको महत्वलाई अझै बढाएको छ।

यस पदमार्गमा पदयात्रासँगै कर्पुडाँडामा प्याराग्लाइडिङ, ठूलेकमा स्की खेलका साथै यससँग जोडिएका छ हजार मिटरभन्दा कम उचाइका हिमालहरूमा आरोहण तालिम समेत सञ्चालन गर्न सकिने संस्थापक अध्यक्ष गुरुङले बताए।

गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले स्थलगत रूपमा गरेको खोज तथा अनुसन्धानसँगै तीनै तहका सरकार एवम् पर्यटनसम्बद्ध क्षेत्रका लागि यस पदमार्गको प्रवर्द्धन र विकासका लागि केही सुझाव समेत प्रस्तुत गरेको सङ्घका महासचिव तुल गुरुङले बताए।

उनका अनुसार पदमार्गमा ऐतिहासिक तथा पुरातात्विक महत्त्वका क्षेत्रहरूको रहेको तथा जैविक विविधताको भरिपूर्ण रहेकाले ती ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूमा पर्न सक्ने नकारात्मक असरहरूलाई दृष्टिगत गरी विस्तृत गुरुयोजना बनाएर त्यसैअनुसार पदमार्गको विकास तथा प्रवर्द्धन गर्नुपर्ने सिफारिस गरिएको छ।

तीनै तहका सरकारले यस पदमार्गमा भविष्यमा सडक सञ्जालको विस्तार नगरी पदमार्गकै रूपमा विकास गर्नुपर्ने उनले बताए। पदमार्गको केही स्थानमा बाटो मर्मत गर्नुपर्ने, केही खोलामा झुलुङ्गे पुल हाल्नुपर्ने, केही स्थानका बाटोमा रेलिङ हाल्नुपर्ने उल्लेख गर्दै सङ्घले यसतर्फ यथाशीघ्र स्रोतको व्यवस्थापन गर्नुपर्ने र पदमार्गमा होटलहरूको व्यवस्था नभएको कारण हावापानी र स्थानीय संस्कृतिअनुरूपका सेल्टर हाउस बनाउनुपर्ने सुझाइएको छ।

त्यस्तै, पदमार्गको सूचनापाटी कतिपय बिग्रिए भत्किएको  तथा कतिपयमा गलत सूचना समेत रहेको भेटिएको हुँदा सूचना पाटीहरू, पथप्रदर्शन गर्ने पोललाई मर्मत तथा नयाँ स्थापना गर्नुपर्ने भनिएको छ।

जलवायु परिवर्तन लगायत विभिन्न कारणले पानीका मुहान सुक्ने तथा भएको मूल पनि सानो भएको हुँदा ती मुलको संरक्षण तथा आवश्यक स्थानमा पानीको स्थायी व्यवस्था गर्नुपर्ने, पदमार्गमा रहेका क्होलासाेंथर लगायत पुरातात्विक महत्वका क्षेत्रको उत्खनन र संरक्षणका लागि विशेष ध्यान दिइनुपर्ने सङ्घले सुझाव दिएको छ।

पदमार्ग क्षेत्रका पुरातात्त्विक वस्तुको सुरक्षाका लागि विशेष पहल गरिनुपर्ने, पदमार्गको प्रवेशविन्दुका रूपमा रहेका गाउँमा रहेको सांस्कृतिक अवयवहरू लोप हुने अवस्थामा रहेको हुनाले तिनीहरूको संरक्षण र पुनः स्थापनाका लागि विशेष पहल गर्नुपर्ने, भिर मौरीको मह काढ्ने, राडीपाखी बुन्ने तथा पशुपालन लायत परम्परागत पेसा र जनजीवनलाई पर्यटकीय गतिविधिसँग जोडेर विकास गर्न पहल थाल्नुपर्ने सुझावमा उल्लेख छ। पदमार्गमा पशुचौपाया हिँडेमा त्यसले पदमार्गलाई चाँडो बिगार्ने भएकाले पशुचौपायाका लागि छुट्टै बाटोको व्यवस्था गर्नुपर्ने भनिएको छ।

गुरुङ सम्पदा पदमार्ग पदयात्रा पर्यटनमा महत्त्वपूर्ण सम्भावना रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेल बताउँछन्। “पदमार्गको खोज र अन्वेषणको सुरुआतमा पनि बोर्डले प्रवर्द्धनका लागि सहयोग गरेको हो”, उनले भने, “यसको प्रवर्द्धन र विकासका लागि आगामी दिनमा पनि पर्यटन सम्बद्ध सङ्घसंस्थाको सहकार्यमा हामीले अघि बढाउँछौँ।”

स्थानीय संस्कृति र सम्पदाको संरक्षणका लागि प्रथमतः स्थानीयको नै जागरुकता आवश्यक रहेको उनको भनाइ छ।

-वासुदेव पाैडेल, रासस  
अर्को समाचार
अन्तर्राष्ट्रिय अदालतले भन्यो: ‘जलवायु परिवर्तन पृथ्वीको भविष्यलाई जोखिममा पार्ने संकट’
०८ साउन २०८२
•
४ मिनेट पाठ
अन्तर्राष्ट्रिय अदालतले भन्यो: ‘जलवायु परिवर्तन पृथ्वीको भविष्यलाई जोखिममा पार्ने संकट’
नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे)ले जलवायु परिवर्तनलाई पृथ्वीको भविष्यलाई जोखिममा पार्ने संकट भनेको छ । जलवायु परिवर्तनले ‘पृथ्वीको आफ्नै स्वास्थ्य र यहाँ रहेका सबै किसिमका जीवन’ लाई खतरामा पारेको उक्त अदालतको ठहर छ ।  




जलवायु परिवर्तन र यसले निम्ताएको संकटमा राज्यहरूको दायित्व के हुने र जलवायु परिवर्तन न्यायिक तथा मानवअधिकारको विषय हुने-नहुने भन्ने विषयमा गतवर्ष संयुक्त राष्ट्र संघीय महासभाले उक्त अदालतसँग सल्लाहकार मत (एभाइजरी ओपिनियन) लिने निर्णय गरेको थियो । सोही अनुरुप उक्त न्यायीक निकायका १५ न्यायाधीशले बुधबार अबेर आफ्नो सामूहिक निर्णय सुनाएका हुन् ।  

जलवायु परिवर्तन सम्बन्धी विद्यमान  सम्झौताहरुको कार्यान्वयनमा सबै राष्ट्रले आफ्नो लक्ष्य तथा दायित्व पूरा गर्नुपर्ने कानुनी जिम्मेवारीलाई अदालतको निर्णयले पुष्टि गरेको छ र ती प्रावाधनलाई थप बलियो बनाएको छ । जलवायु अभियान्ताहरुले यो निर्णयलाई जलवायु न्यायको इतिहासमा एक महत्वपूर्ण कोषेढुगा भनेका छन् ।  

जलवायु परिवर्तन सम्बन्धी पेरीस  सम्झौताको मुख्य लक्ष्य पृथ्वीको तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्ने रहेको प्रसंग उदृत गर्दे अदालतले भनेको छ, ‘यो सम्झौताले सबै देशहरूलाई उच्चतम  महत्वाकांक्षा सहितको लक्ष्य हासिल गर्न सहकार्य गर्दै तापमान वृद्धिलाई १.५ डिग्री सेन्टिगे्रडमा सीमित गर्न आह्वान गर्दछ । ’

अदालतले उत्सर्जन न्यूनीकरण गर्न सबै राष्ट्रले आफ्ना राष्ट्रिय रुपमा निर्धारित योगदान (एनडीसी)लाई झन् धेरै महत्वाकांक्षी पार्नुपर्न र यसअघिका एनडीसी भन्दा प्रष्ट प्रगति देखिने गरी पेश गर्नुपर्नेमा जोड दिएको छ ।  

‘कमजोर एनडीसीले तापमान वृद्धिको १.५ डिग्री लक्ष्यसँग मेल खाँदैन, यो स्वीकार्य छैन,’ अदालतले भनेको छ।  

यसबाहेक अदालतले ‘आपसी सहकार्य गर्न र जलवायु वित्त परिचालन गर्न राज्यहरू कानुनी रूपमा बाध्य रहेको र विशेषगरी विकासशील देशहरूलाई उत्सर्जन न्यूनीकरण, जलवायु अनुकूलन र जलवायुजन्य क्षति तथा नोक्सानीको क्षतिपूर्तिमा सहयोग पु¥याउन सवैको सहकार्य हुनुपर्दछ’ भनेको छ ।  

अदालतको ऐतिहासिक निर्णयले ‘जलवायु सम्बन्धी कार्यविधिहरु वैकल्पिक मात्रै नभै विद्यमान सन्धि, प्रचलित कानुन, मानव अधिकार तथा वातावरणीय कानुनमा आधारित एक बाध्यकारी कानुनी दायित्व हुन’ भनेर पुष्टि गरेको छ । अदालतले ‘राज्यहरूले वातावरणीय क्षति रोक्न, वर्तमान तथा भावी पुस्तालाई जलवायु संकटको बढ्दो प्रभावबाट जोगाउन र अन्तर्राष्ट्रिय रूपमा सहकार्य गर्न दायित्व राख्छन्’ भनेको छ । यसैगरी अदालतले जलवायु परिवर्तनको जिम्मेवार मानिने जीवाश्म इन्धनको उत्पादन, इजाजत र अनुदानलाई ‘अन्तर्राष्ट्रिय रूपमा गैरकानुनी कार्य’ मान्न सकिने बताएको छ ।  

अदालतले आफ्ना ऐतिहासिक मतमा जलवायुसम्बन्धी दायित्वहरूलाई आधारभूत मानव अधिकारको संरक्षणसँग जोडेको छ र जसअन्तर्गत जीवन, स्वास्थ्य, र स्वस्थ वातावरणको अधिकार समावेश गरिएका छन् । यसैगरी आगामी पुस्ताका लागि समान अवसर र सुरक्षित वातावरणको लागि उनीहरुको अधिकार र स्रोतको सम्मान गर्नुपर्नेमा अदालतको जोड छ ।  

विद्यमान जलवायु संकटको समाधानको बाटो देखाउदै अदालतले भनेकोछ, ‘राज्यहरूबीचको सहकार्य नै जलवायु परिवर्तनप्रति सार्थक अन्तर्राष्ट्रिय प्रयासहरूको आधार हो र सन्धिहरू तथा त्यसका समन्वित कार्यान्वयनहरू यस्तो सहकार्यको प्रमुख अभिव्यक्ति हुन्।’

‘यो एक साँच्चिकै ऐतिहासिक निर्णय हो,’ कानुन व्यवसायी तथा जलवायु न्यायका लागि विश्व युवा अभियानका सदस्य प्रज्वलविक्रम राणाले भने । नेपाल जस्ता जलवायुजन्य जोखीममा रहेको राष्ट्रको जलवायु न्यायको आवाजलाई अदालतले सुनेको बताउँदै सयुक्त राष्ट्र संघका आगामी महासभामा यो बिषयलाई नेपालले अझ शसक्त पार्नुपर्ने उनको भनाई छ ।  

अदालतले निर्णयमा पुग्नुअघि विभिन्न राष्ट्र तथा निकायसँग सुरुमा लिखित र त्यसपछि मौखिक धारणा लिएको थियो । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेतृत्व गरेको टोलीले नेपालको तर्फबाट अदालतमा गत डिसेम्बरमा आफ्ना भनाई राखेको थियो । मन्त्री राणाले उक्त अदालतमा ‘जलवायु परिवर्तनको असर नेपालले असमान हिसाबले भोग्नुपरेको र आफू जिम्मेवार नरहेको खराब कर्मको मूल्य चुकाउन नेपाल वाध्य रहेको’ बताएकी थिइन् ।  

जलवायु परिवर्तनको विषयलाई न्यायिक विषय बनाउनुपर्ने अभियानको सुरुवात सन् २०१९ मा भएको थियो । सोही वर्ष फिजीमा रहेको साउथ प्यासिफिक विश्वविद्यालयका २७ जना कानुनका युवा विद्यार्थीले जलवायु परिवर्तन र मानवअधिकारको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा पु¥याउन प्रशान्त क्षेत्रका राष्ट्रलाई दबाब दिएका थिए। सो अभियानलाई समर्थन गर्दै प्रशान्त महासागरमा रहेको टापु राष्ट्र भानुवाटुले सन् २०२३ को मार्चमा संयुक्त राष्ट्रसंघको महासभामा यो विषयमा प्रस्ताव नै प्रस्तुत गरेको थियो र अन्तर्राष्ट्रिय अदालतको राय लिन माग गरेको थियो । महासभाले सर्वसम्मतिबाट उक्त प्रस्तावलाई अनुमोदन गर्दै आवश्यक परामर्शका लागि न्यायालयलाई अनुरोध गरेको थियो।  

संयुक्त राष्ट्रसंघको न्यायिक निकायका रूपमा रहेको यो अदालतले समसायिक विवादास्पद मुद्दाको निरूपण र खास विषयमा परामर्श दिने कार्य गर्दै आएको छ । अदालतको सोही जिम्मेवारीअनुरूप जलवायु परिवर्तनको विषयको कानुनी निरूपण हुनुपर्ने अथवा नपर्ने भनेर निक्र्योल गर्ने क्रममा अदालतले विश्वव्यापी परामर्श लिएको थियो ।  
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस