२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

‘क्यान इन्फोटेक २०२३’ सुरु

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा मंगलबारदेखि क्यान इन्फोटेक २०२३ सुरु भएको छ। यो क्यान इन्फोटेकको २८ औं संस्करण हो। राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मंगलबारदेखि सुरु भएको यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ६ दिनसम्म सञ्चालन हुने भएको छ।  

मोबाइल एपमार्फत पानसमा बत्ति बालेर सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले २८ औं संस्करणको क्यान इन्फोटेक औपचारिक रूपमा उद्घाटन गरिरहँदा ड्रोनबाट पुष्पवृष्टि समेत गरिएको थियो।

मन्त्री शर्माले प्रविधिको प्रयोगले अहिले सेवा लिन र दिन सहज भएको बताइन्।‘सेवा क्षेत्रमा प्रविधिको प्रयोग बढाउन सके विभिन्न ठाउँमा हुने गरेको अनियमितता कम हुन्छ’ मन्त्री शर्माले भनिन्, ‘यसकारण सरकार र मन्त्रालय यो क्षेत्रको विकासका लागि निरन्तर लाग्ने छ।’

प्रदर्शनी उद्घाटनका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमै तयार भएका वस्तु एवं सेवालाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। महासंघले भिजन २०२० मा आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले स्वदेशमा दक्ष जनशक्ति तयार पारेर उनीहरूलाई यहीँ अवसर दिन सरकारसँग सहज वातावरण उपलब्ध गराइदिन माग गरे। त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा सूचना प्रविधि सम्बन्धी स्पष्ट नीति र एकद्वार प्रणाली नहुँदा यो क्षेत्र पछि परेको औंल्याए।  

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले सूचना प्रविधि क्षेत्रमा विदेशी कम्पनी एवं वैदेशिक लगानी भित्र्याउन सके देशले लाभ उठाउने बताए। साथै उनले आईटी शिक्षामा कोटा प्रणाली अन्त्य गर्न पनि माग गरे।  

क्यान महासंघका अध्यक्ष रणजीत पोदारले विश्वमा आर्थिक मन्दीको त्रास र नेपालमा वैदेशिक मुद्रा सञ्चितीमा देखिएको समस्याका बीच सूचना प्रविधि व्यवसाय अगाडि बढिरहेको सन्दर्भ राख्दै सरकारले सहज नीति र कार्यक्रम ल्याउने हो भने आईटी क्षेत्रबाट मनग्गे वैदेशिक मुद्रा भित्र्याउन र लाखौंको रोजगारी सिर्जना गर्न सकिने बताए।  

डिजिटल नेपालको फ्रेमवर्कले लिएको सार्वजनिक निजी साझेदारीको माध्यमबाट विश्वसनीय सूचना तथा सञ्चार प्रविधि पूर्वाधार स्थापना र यसैसँग सम्बन्धित पछिल्लो समय विद्युत् पोल भाडाको विषयमा देखिएको समस्याको समाधानका लागि अध्यक्ष पोदारले मन्त्री शर्मासँग अभिभावकीय भूमिकाको अपेक्षा राखिएको बताए।

इन्फोडेभर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले नेपाली पुँजी, सीप र मेहनतलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। स्वदेशमै उत्पादित उत्पादनको प्रवद्र्धनका लागि नेपाल सरकारको प्रेरणादायी भूमिका आवश्यक रहेको पनि उनले बताए।  

प्रकाशित: २५ माघ २०७९ ००:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App