७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

आरन पेसा गर्ने घटे

जुम्लाको पातारासी गाउँपालिक-५ लासी बजार छेउमा काठले बार लगाएको एउटा सानो छाप्रो छ। त्यहीँ छाप्रोमा बिहानदेखि साँझसम्म दैनिक जसो भेटिन्छन् ५६ वर्षीय निलो कामी। उनी एक हातले घन र अर्को हातले पङ्खा घुमाइ रहन्छन्। उनको दैनिकी कोइला र हथौडाबाट सुरु हुन्छ। उनको आम्दानीको स्रोत त्यहीँ मेसिन हो।

उनको स्थायीको घर उक्त गाउँपालिका-३ तल्फी गाउँमा हो। उनी गाउँपालिकाको सदरमुकाम लासी बजारमा छाप्रोको भाडा तिरेर बस्छन्। कामी कृषि ओजार र घरायसी ओैजारका विभिन्न भाँडाकुँडा बनाउँछन्। बुबा बाजेबाट भाँडाकुँडा बनाउन सिक्केका उनले आरन व्यवसाय सञ्चालन गरेको ४२ देखि ४३ वर्ष पुरानो भयो।

एक दशक अघिसम्म उनलाई कामले फुर्सद हुँदैनथ्यो। अहिले ग्राहक आउन छाडे। किसानहरू फाट्टफुट्ट फलामे सामान मर्मत र नयाँ बनाउन आउँछन्। ग्राहक नै घटेपछि पछिल्लो समय कतिपयले आरन पेसा नै छाडेका छन् । ‘यसै पेसाबाट जसोतासो घरखर्च चल्दै आएको छ’, निलोले भने। आरन पेसा अपनाउँदै आएका कामीले बिगतमा निकै दुःख खेप्नु परेको बताउँछन्।

केही वर्ष अघिसम्म फलामको काम गर्दा अन्न मात्र दिने गरेकामा पछिल्लो समय त्यसवापत उनले नगद पाउँछन्। यहीँ पैसोले उनले छोराछोरीको लत्ताकपडा किन्ने गरेका छन्। ‘छोराहरुले यो पेसालाई अपनाउन चाहँदैनन्, अब पेशा सङ्कटमा पर्ने चिन्ता छ’, उनी भन्छन्। आरन व्यवसाय सङ्कटमा परेको छ। ‘बजार अभाव छ, त्यसैले आरन व्यवशाय गाउँघरबाटै हराउँदै गएको छ’, स्थानीय भक्तबहादुर बुढाले भने। परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनत गरे अनुसारको मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको छ।

अर्का आरन व्यवसायी तुला कामी यही पेसालाई आधुनिक ढङ्गले व्यावसायिक रुपमा अघि बढाउन सके स्थानीय स्रोतसाधनको प्रयोगबाटै गाउँघरमा रोजगारी सिर्जना गर्न सकिने बताउँछन्। ‘अहिलेका युवाको यो पेसाप्रति चासो छैन’, उनले भने। पहिलापहिला गाउँघरमा आरन व्यवसाय गर्नेको सङ्ख्या उल्लेख्य थियो। भाँडाकुँडा बनाउन कोइलाको प्रयोग गरिन्छ। अहिले दाउराको पनि अभाव हुन थालेको छ।

स्थानीय जोर कामी भन्छन्,‘मैले सानै उमेरदेखि बुबा र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्न चाहँदैनन्, सिकेर खेर जाँदैन, यसबाट पनि पैसो कमाउन सकिन्छ।’

‘दस जनाको परिवारको खर्च आरन पेसाबाटै चलाएको हौँ। सुरुका दिनमा बन्चरो, कोदालो, हँसिया, साबेल,कुटा,फालो लगायत बनाउन बिहानदेखि किसानको लाइन लाथ्यो। अहिले कुरेर बस्नुपर्छ। किसानले बजारका रेडिमेड सामानहरू किन्न थाले,’ उनले भने।

यही कारण गाउँघरमा परम्परागत रूपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको उनी बताउँछन्। गाउँघरमा बिग्रिएको मेसिनरी सामानको फलाम आरनमा त्यतिकै दिन्थे। अहिले फलामहरू कवाडमा बिक्री हुन थालेपछि आरनलाई अभाव हुन थालेको उनले सुनाए।

धेरै मिहिनेतमा कम आम्दानी हुन थालेपछि बिस्तारै यो पेसा गर्ने घटेको उनको भनाइ छ। आरनमा कुनै पनि फलामे सामानको धार लगाउँदा वा नयाँ मर्मत गर्दा ४ सयदेखि १ हजार सम्म लिने गरेको व्यवसायीहरू बताउँछन्। स्थानीय सरकारले आरन पेसा लोप हुन नदिन विभिन्न कार्यक्रम ल्याउनुपर्ने उनको माग छ। 

प्रकाशित: २८ वैशाख २०८१ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App