२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

दुवै पुलिस भलिबलको फाइनलमा

नेपाल पुलिस र एपिएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।

चार टोली सहभागी प्रतियोगिताको लिगमा एपिएफ अपराजित रहँदै फाइनलमा पुगेको हो भने पुलिसले दुई खेल जित्यो। लिगमा न्यु डायमन्ड तेस्रो र त्रिभुवन आर्मी चौथो स्थानमा रहे। अब यी दुईले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनल र तेस्रो स्थानका खेल शनिबार नै हुनेछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा पुलिसले आर्मीलाई ३–१ र एपिएफले न्यु डायमन्ड एकेडेमीलाई ३–२ ले हराए। लिगको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ हराउँदै तीन खेलबाट ६ अंक बटुल्यो।

पुलिसले आर्मीको चुनौती २५–१९, १७–२५, २५–१५ र २५–१३ ले समाप्त पार्‍यो। पहिलो खेलमा एपिएफसँग हार बेहोरेको पुलिसले दोस्रो खेलमा न्यु डायमन्डलाई हराउँदै फाइनल पुग्ने सम्भावना कायमै राखेको थियो। शुक्रबार लिगको तेस्रो खेल पनि जितेपछि पुलिस फाइनलमा पुगेको हो।

लिगको अन्तिम खेलमा न्यु डायमन्ड एपिएफसँग ३–२ ले पराजित भएपछि फाइनलमा पुग्न असफल भयो। समान तीन खेलबाट एपिएफले सात अंक बटुल्दा न्यु डायमन्डले चार अंक प्राप्त गर्‍यो। यससँगै एपिएफ लिग विजेता र पुलिस उपविजेताका रूपमा फाइनलमा पुगे।

एपिएफले न्यु डायमन्डलाई २५–१६, २५–१८, १९–२५,१३–२५ र १५–११ ले हराउँदै अपराजित यात्रा कायमै राख्यो। चारै टोलीले नगद पुरस्कार पाउने छन्। विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्नेछन्।

तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचले १५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: १५ वैशाख २०८१ ०७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App