नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अवाञ्छित स्वार्थी र कम्युनिष्ट विरोधीहरूले पार्टी विभाजन गर्ने हल्ला चलाएको बताएका छन्। बुधबार एक विज्ञप्ती सार्वजनिक गर्दै नेता खनालले उक्त हल्लालाई सुनयोजित र निराधार रहेको प्रतिक्रिया दिएका हुन्।
केही दिनअघि जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि त्यसको पराकम्पस्वरूप नेता खनालको अगुवाइमा नेकपा एस विभाजित भइरहेको हल्ला चलेको थियो। सोही कुराको खण्डन गर्दै उनले विज्ञप्ति जारी गरेका हुन्।
‘केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउदै छन भन्ने हल्ला बडो तीव्र रुपले फैलाइएको छ,’ उनले लेखेका छन्, ‘केही अवाञ्छित स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन।’
नेकपा एस नवोदित क्रान्तिकारी पार्टी रहेको उल्लेख गर्दै विज्ञप्तीमा पार्टी १० औं राष्ट्रिय महाअधिवेशनको सम्मुखमा रहँदा कम्युनिस्ट आन्दोलनको पुनर्गठन पछिका अनुभवहरूको सार संकलन भइरहेको भनिएको छ।
‘प्रतिक्रियावादीहरूका मक्किसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियारहरू लिएर हाम्रो पार्टीका विरुद्ध आइलाग्न कोशिस गर्दैछन्,’ विज्ञप्तीमा भनिएको छ।
प्रकाशित: २६ वैशाख २०८१ १२:१० बुधबार