१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भुवन र सद्भावको संयुक्त अग्रता

प्रोफेसनल गल्फर भुवन नगरकोटी र एमेच्योर सद्भाव आचार्यले मंगलबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा संयुक्त रूपमा शीर्ष स्थानका लागि अग्रता लिएका छन्।

पार–७२ को गोकर्ण गल्फ कोर्समा दोस्रो दिनको खेल सकिँदा भुवन र सद्भाव समग्रमा ९ अन्डर १३५ को स्कोरसहित संयुक्त रूपमा अग्रता लिन सफल भएका हुन्। यो सूर्य नेपाल गल्फ टुर २०२३–२४ को छैटौं प्रतियोगिता हो।

यी दुईले मंगलबार ३६ होलको खेल सकिँदा एमेच्योर गल्फर विजय श्रेष्ठ आइनहसमाथि पाँच स्ट्रोकको अग्रता लिएका छन्। नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भावले मंगलबार ८ अन्डर ६४ को उत्कृष्ट प्रदर्शन गरे। यो प्रदर्शनपछि उनी सातौं स्थानबाट शीर्ष होडमा उभिएका हुन्।

भुवनले पहिलो दिनका अग्रता लिएका थिए। उनले दोस्रो दिन ६ अन्डर ६६ को प्रदर्शन गरे। यद्यपि, यो नतिजाले उनलाई शीर्ष स्थानमा नै कायम राख्यो। तेस्रो स्थानका विजय समग्रमा चार अन्डर १४० को कार्डमा छन्। उनले दुई अन्डर ७० को प्रदर्शन गर्दै दोस्रो दिनको खेल पूरा गरे।

युवराज भुजेल, रवि खड्का र नीरज तामाङले संयुक्त रूपमा चौथो स्थान बाँडेका छन्। यी तीनै समग्रमा एक अन्डर १४३ को स्कोर कार्डमा छन्। संयुक्त रूपमा सातौं स्थानमा रहेका भुवनकुमार रोक्का र बलभद्र राई समग्र इभन पार १४४ को स्कोरमा रहे।

दिनेश प्रजापति नवौं र सञ्जय लामा दशौं स्थानमा रहे। समग्रमा दिनेश एक ओभर १४५ र सञ्जय दुई ओभर १४६ को स्कोर कार्डमा छन्। ३६ होलको समाप्तिमा २३ प्रोफेसनल र ६ एमेच्योर गरी कुल २९ गल्फरले कट बनाएका छन्। १३ ओभर १५७ सम्म स्कोर गर्नेले कट बनाएका हुन्।

प्रतियोगिताको विजेताले एक लाख ४० हजार र दोस्रो र तेस्रो हुने गल्फरले क्रमशः ९६ हजार र ७२ हजार रूपैयाँ नगद हात पार्नेछन्। कट बनाएका २३ प्रोफेसनल गल्फरमध्ये उत्कृष्ट २१ ले नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: १४ चैत्र २०८० ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App