१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ :मन्सुब र पुरनको सुखद सुरुआत

लुम्बिनीकी सुजनकुमारी कुमालविरुद्ध जित निकालेपछि आर्मीकी ललिता महर्जन। तस्बिर सौजन्य : विशाल पन्थ

लुम्बिनी प्रदेशका मन्सुब बस्नेत र एपिएफका पुरन राईले छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सुखद सुरुआत गरेका छन्।

मंगलबारदेखि सुरु प्रतियोगिताको पुरुष ५७ केजी तौल समूहमा पुरन र मन्सुबले सुखद सुरुआत गरेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुरनले मधेस प्रदेशका रबन अलीलाई हराउँदा मन्सुबले गण्डकी प्रदेशका चन्द्रबहादुर थापाबाट वाकओभर पाए।

गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा लुम्बिनीका भरत पुन र एपिएफका प्रदीपले पनि जित निकालेका छन्।

भरतले गण्डकीका रोकी गुरुङ र प्रदीपले सुदूरपश्चिम प्रदेशका सन्दीप नाथलाई हराए। पुरुष ६३ केजीमा सुदूरपश्चिमका महेन्द्र चन्दले बाग्मती प्रदेशका सोहन राई तथा कोसी प्रदेशका एक्लिस शाहीले कर्णाली प्रदेशका रिजन गुरुङलाई पाखा लगाए।

पुरुषकै ७१ केजीमा एपिएफका विक्रम चौधरीले कोसीका प्रशान्त दाहालको चुनौती समाप्त पारे। पुरुष ८० केजीमा नेपाल पुलिस क्लबका प्रदीप पार्कीले मधेसका सरोजकुमार श्रेष्ठ र बाग्मतीका पासाङ शेर्पाले लुम्बिनीका अमर पल्लीलाई पराजित गरे।

महिला ५७ केजीमा त्रिभुवन आर्मीकी वर्षा श्रेष्ठले बाग्मतीकी पेमा शेर्पा र ६० केजीमा आर्मीकी ललिता महर्जनले लुम्बिनीकी सुजनकुमारी कुमाललाई हराए। प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे। 

प्रतियोगिताको पुरुषमा सात र महिलामा ६ गरी कुल १३ स्पर्धामा १०५ बक्सरले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जानकारी दिए।

प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले २५ हजार, १५ हजार ७.५÷७.५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५० हजार नगदबाट पुरस्कृत गरिनेछ। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।

प्रकाशित: १४ चैत्र २०८० ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App