१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालद्वारा शृंखला क्लिन स्विप

आयरल्यान्ड ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपालका कुशल मल्ल। तस्बिर : क्यान

अलराउन्डर कुशल मल्ल चम्किएपछि नेपालले पाहुना टोली आयरल्यान्ड ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० मा रबाफिलो जित निकाल्दै दुई खेलको शृंखला क्लिन स्विप गरेको छ।

ब्याटिङसँगै बलिङमा पनि कुशल चम्किएपछि नेपालले मंगलबार आयरल्यान्ड ‘ए’ माथि ७१ रनको फराकिलो जित निकालेको हो। यस क्रममा कुशलले ३४ रनका साथै तीन विकेट लिँदै बलिङमा पनि योगदान दिए। यसअघि सोमबार पहिलो खेलमा पनि नेपालले पाहुना टोलीमाथि ६ विकेटको जित निकालेको थियो।

लगातार दोस्रो हार बेहोरेको पाहुना टोलीले अब नेपालकै ‘ए’ टोलीसँग पनि समान तीन ट्वान्टी–२० र एकदिवसीय शृंखला खेल्दै छ। यो शृंखला मार्च २८ देखि सुरु हुँदै छ।

यो शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले विनोद भण्डारीको कप्तानी दुवै फरम्याटको टोली घोषणा गरिसकेको छ। नेपाली टोली भने भारतको बरोडा र गुजरातसँग फ्रेन्डसिप कप खेल्न जाँदै छ। घरेलु मैदानमा सुखद नतिजासहित नेपाल त्यसतर्फ प्रस्थान गर्दै छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १९९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा १२७ रनमै समेटियो। आयरल्यान्डले राम्रो सुरुआत पाएको थियो। तर, ड्रिङ्स ब्रेकपछि पाहुना टोलीको इनिङ धराशयी बन्यो। १४ ओभरसम्म आयरल्यान्ड १००÷३ को स्थितिमा थियो।

खातामा थप २७ रन जोड्दा पाहुना टोलीको नाटकीय रूपमा सात विकेट गुम्यो। विकेटकिपर तथा ओपनर स्टेफन डोहेनीको २६ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। उनले १३ बलमा चार चौका र एक छक्का प्रहार गरे। अर्का ओपनर रोस एडेरले १७ रन जोडे। पावर प्लेको पाँचौं र छैटौं ओभरमा दुई ओपनर आउट भए।

तर, पनि पाहुना टोलीले आक्रामक ब्याटिङ जारी राख्यो। आयरल्यान्डले ४३ रनमा पहिलो विकेट गुमाएको हो। सोमपाल कामीले स्टेफनलाई आउट गर्दै पहिलो सफलता दिलाए।

थप रन नजोड्दै रोस पनि आउट भए। उनलाई कुशल मल्लले गुल्सन झाबाट क्याच गराए। त्यसपछि केड कार्मिकेलले इनिङ सम्हाल्न खोजे। तर, १२औं ओभरमा केड १८ रनमा पभेलियन फर्किए। केडलाई कुशल भुर्तेलले आउट गरे। त्यसपछि मोर्गन टोपिङले २१ रन, कप्तान निल रकले १७ रन र ग्यारेथ डिलेनीले १५ रनको योगदान दिए। करण केसीले १४.१ ओभरमा कप्तान निललाई आउट गरेपछि आयरल्यान्ड समालिनै सकेन। नेपालको बलिङमा कुशल मल्ल र सोमपाल कामीले समान तीन विकेट लिए।

१९औं ओभरमा सोमपाल ह्याट्रिक गर्न चुके। करण, कुशल भुर्तेल र विवेक यादवले समान एक विकेट लिए र पाहुना टोली सस्तैमा रोकियो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९८ रनको विशाल योगफल बनायो। नेपालले राम्रो सुरुआत पायो।

अन्तिम ओभरसम्म त्यो जारी राख्दा विशाल लक्ष्य प्रस्तुत गर्‍यो। गुल्सन झाले ३२ बलमा ४६ रन बनाए। उनले चार छक्का र एक चौका हिर्काए। गुल्सनले चौथो विकेटका लागि कप्तान रोहितकुमार पौडेलसँग ७१ रनको साझेदारी गरे। रोहितले २४ बलमा पाँच चौकासहित ३३ रन बनाए।

गुल्सन १४औं ओभर र रोहित १६औं ओभरमा आउट भए। यी दुई आउट हुँदा नेपाल १५.६ ओभरमा १५७÷५ को अवस्थामा थियो। त्यसपछि मल्लले आक्रामक सट खेले र विशाल योगफलतर्फ  अग्रसर गराए। छैंटौं नम्बरमा आएका कुशलले १३ बलमा ३४ रन जोडे। उनको इनिङमा एक चौका र चार छक्का रह्यो।

सन्दीप जोराले १० बलमा २१ रन जोडे। उनको इनिङमा तीन चौका र एक छक्का रह्यो। त्यसअघि ओपनरद्वय कुशल भुर्तेलले २५ रन, आसिफ सेखले ११ रन र अनिल साहले १२ रन जोड्दा नेपालले राम्रो सुरुआत गर्‍यो। आयरल्यान्डको बलिङमा म्याथ्यु फोस्टरले तीन विकेट तथा बेन ह्वाइट, गाभिन होइ र फिओन हान्डले समान एक विकेट निकाले।

प्रकाशित: १४ चैत्र २०८० ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App