२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एउटा उत्कृष्ट खेलको व्यग्रता

युइएफएले युरोपियन च्याम्पियनसिपमा यसैपटकबाट २४ राष्ट्रलाई समावेश गराएको थियो। युरोपको नम्बर एक खेल फुटबल भएकाले यसमा बढीभन्दा बढी राष्ट्र सहभागी गराउने युइएफएको निर्णय सही देखिन्छ।

युरोपकै साना भनिएका र विगतमा खासै उल्लेख्य इतिहास नभएका टोलीले पनि यसपटक खेल्ने अवसर पाएका छन्। आइसल्यान्ड जस्तो कम जनसंख्या भएको टोलीले यसपटक इङ्ल्यान्डलाई हराएर विश्वको ध्यान तान्न सफल भयो। सन् १९५८ पछि पहिलोपटक ठूलो प्रतियोगितामा भाग लिएको वेल्सले फिफा वरीयताको दोस्रो स्थानमा बेल्जियमलाई क्वार्टरफाइनलमा हराएर दमदार उपस्थिति देखाएको छ।

विगतमा जस्तै १६ टोलीको प्रतिस्पर्धा हुन्थ्यो भने अन्डर डग मानिने टोलीहरू कतिपयले च्याम्पियनसिपको फाइनल राउन्ड खेल्ने अवसर पाउने थिएनन्। फुटबलमार्फत विश्वमा परिचित हुन युरोपियन च्याम्पियनसिप एउटा सशक्त माध्यम बनेको छ। त्यसअर्थमा पनि युइएफएले आफ्ना सदस्य राष्ट्रको एक्सपोजरका लागि संख्या बढाउने निर्णय सही देखिएको छ। तथापि बढी राष्ट्र सहभागी गराउँदा केही आलोचना पनि भएको छ। यति ठूलो प्रयोगमा सामान्य आलोचना स्वाभाविक हुन आउँछ। बढी राष्ट्र खेलाउने निर्णयले युरोपमा फुटबलको लोकप्रियता अझै बढाएको छ। आइसल्यान्ड र वेल्सका जनताले खुसी मनाएबाट फुटबल टोलीको सफलतालाई हरेकले आफ्नो राष्ट्रियतासँग जोडेर हेरेको पाइयो।

धेरै राष्ट्र सम्मिलित भए पनि यसपटक ठूला भनिएका टोलीबीच कमै प्रतिस्पर्धा भएको छ। जारी च्यामिपयनसिपमा विश्वकप र युरो जितिसकेका टोलीबीच दुईवटा खेलमात्र भएको छ। इटाली र स्पेनबीचको प्रिक्वार्टरफाइनल र त्यसपछि इटाली र जर्मनीबीच 'हाइप्रोफाइल' प्रतिस्पर्धा भएको थियो। च्याम्पियनसिप अन्त्यतिर आइपुग्दा विश्वकप  र युरो विजेता रहिसकेका जर्मनी र फ्रान्सबीच दोस्रो सेमिफाइनलमा भेट हुँदैछ। च्याम्पियनसिपमा  यो तेस्रो हाइप्रोफाइनल खेल हो। जर्मनी र फ्रान्सको इतिहास मात्र हेर्ने हो भने यी दुई टोलीले गरेर आठपटक फाइनल खेलेका छन्। अघिल्ला १४ औं संस्करण समाप्तिसम्म जर्मनीले छपटक फाइनल खेल्दा तीनपटक जितेको थियो। दुईपटक फाइनल खेल्दा फ्रान्सले दुवैपटक जितेको थियो। यी दुई टोलीको सफलता हेर्दा पनि यसपटक युरोपियन च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल फाइनलसरह हो। दुवै टोलीले केही बेग्लाबेग्लै खाले सफल इतिहास बोकेका छन्। सेमिफाइनलअघि दुवैले एकअर्काको उच्च सम्मान पनि गरेका छन् । स्वभाविक छ, कमजोरी पनि केलाएकै छन्।

सेमिफाइनलसम्म यात्रा तय गर्दा यसपटक दुवै टोलीमा केही समनाता छ। दुवै अपराजित छन्। समूह चरणमा २ जित र १ बराबरीपछि ७ अंक लिएर दुवै टोली आ–आफ्नो समूहको विजेता बनेका थिए। स्लोभाकियाविरुद्धको प्रिक्वार्टर खेल जर्मनीलाई निकै सहज रह्यो भने फ्रान्सले त्यही चरणमा आयरल्यान्डलाई हराउन संघर्ष गर्नुपर्‍यो। क्वार्टरफाइनल पुग्दा फ्रान्सले आइसल्यान्डमाथि सहज जित निकाल्यो भने जर्मनीले ठूलो चुनौती पार लगाउनुपर्‍यो। इटालीलाई पेनाल्टी सुटआउटमा हराएर जर्मनीले सेमिफाइनलमा स्थान बनाएको थियो।

जर्मनी अहिलेको विश्व च्याम्पियन हो भने फ्रान्स घरेलु मैदानमा उच्च प्रदर्शन गरिरहेको टोली हो। विश्वकप उपाधि जितेको दुई वर्षपछि पनि आफ्नो पुरानो छवि कायम राख्न जर्मनीले हरसम्भव प्रयास गर्नेछ। युरोपियन च्याम्पियनसिप जित्न नसक्ने हुने आलोचनाबारे जर्मनी टोलीले पक्कै अनुमान गरेको हुनुपर्छ । विश्व च्याम्पियनका रूपमा विपक्षी टोलीमाथि मनोवैज्ञानिक प्रभाव पार्न त सकिन्छ तर, त्यही सफलता आफ्नो लागि पनि दबाब हुनसक्छ। सफलता प्राप्त गर्नु र सफलता जोगाउनु दुई फरक विषय हुन्। जर्मनीलाई अहिले विश्व च्याम्पियनको छवि जोगाउने चुनौती छ। विश्वकप पछि टोलीको प्रदर्शनमा उतारचढाव देखिएको थियो। यद्यपि यो च्याम्पियनसिपमा टोली लयमा फर्केको संकेत गरेको छ।

अर्कोतिर फ्रान्सलाई घरेलु दर्शक, मैदान र इतिहासले साथ दिएको छ। टोलीले घरेलु मैदानमा ठूलो प्रतियोगितामा हारेको छैन। त्यतिमात्र होइन जारी च्याम्पियनसिपमा पनि टोलीले उच्च प्रदर्शन गर्नु फाइनल पुग्न बलियो आधार हो। त्यस्तै टोलीका एक दुई खेलाडीमात्र होइन, पुरै टोली यतिखेर फर्ममा छ। हरेक खेलमा फ्रान्सको सामूहिक प्रदर्शन देखिन्छ। त्यति हुँदाहुँदै पनि फ्रान्सले दुई वर्षअघि जर्मनीले विश्वकपको सेमिफाइनलमा ब्राजिललाई ७–१ ले हराएको बिर्सने छैन। उच्च प्रदर्शन गर्दा घरेलु समर्थकको साथले हौसला मिल्छ भने खराब प्रदर्शन गरेमा त्यही हौसला दबाबमा परिणत हुन्छ। टोलीको प्रदर्शनका आधारमा हौसलाले पनि सकारात्मक वा नकारात्मक दबाब पर्न सक्छ। त्यसमा पक्कै फ्रान्स सचेत रहनेछ। विश्वकै फुटबल समर्थकले जर्मनी र फ्रान्सबीच हुने सेमिफाइनललाई च्याम्पियनसिपकै उत्कृष्ट खेलमध्ये एक हुने अनुमान गरेका छन्।

जर्मनीका नियमित तीन खेलाडी फ्रान्सविरुद्ध उत्रने छैनन्। मारियो गोमेजले चोटका कारण च्याम्पियनसिप गुमाएका छन् भने सामी खेडिरा चोटग्रस्त छन्। म्याट हुमेल्स प्रतिबन्धमा छन्। कप्तान बास्टियन स्वास्टाइगर प्रशिक्षणमा फर्के पनि पहिलो रोजाइमा पर्न कठिन छ। पहिलो रोजाइका तीन खेलाडी नहँुदा त्यसको फाइदा फ्रान्सलाई पुग्न सक्छ। तथापि जर्मनीको बेन्च पनि कमजोर भने छैन।

ठूला प्रतियोगिताअघि प्रशिक्षक र खेलाडीको बीचमा माइन्ड गेम पनि चल्ने गर्छ। त्यसले टोलीमाथि मनोवैज्ञानिक दबाब पर्ने विश्वास गरिन्छ। फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पसले विपक्षीलाई सम्मान दिएका छन्। 'जर्मनी विश्व च्याम्प्यिन टोली हो, सधैँ आक्रामक खेल्छ र खेल नियन्त्रणमा राख्ने प्रयास गर्छ,' उनले भनेका छन्, 'तर, हामी उनीहरूलाई सहजै खेल्न दिँदैनौं। हामी चाहनाले मात्र होइन, मिहिनेतले यहाँसम्म आइपुगेका छौं। त्यसले अब पनि हामी त्यही मिहिनेतलाई जारी राख्छौं र जर्मनीसँग खेल्नेछौं। त्यसको अर्थ हामीलाई कमजोर नठान भन्ने नै हो।'

अर्कोतर्फ जर्मनका प्रशिक्षक जोचिम लोउले अनुभवीभन्दा पनि शतप्रतिशत खेलाडीमात्र खेलाउने भन्दै विपक्षी टोलीलाई अलमलमा पार्ने प्रयास गरेका छन्। उनले आफ्नोभन्दा फ्रान्सेली फरवार्डको प्रशंसा गरिरहेका छन्। माइन्ड गेमको मैदानमा धेरै अर्थ नभए पनि खेलअघि रणनीति बनाउने क्रमका लागि पनि त्यो महŒव हुनसक्छ। फ्रान्सलाई आदर गर्दै जर्मनीले ४–४–२ खेल्न सक्छ। फ्रान्सले भने अघिल्लो खेलमा जस्नै ४–२–३–१ पद्धतिमा खेल्ने सम्भावना छ।

क्वार्टरफाइनलमा जर्मनी र फ्रान्स दुवैले अहिले लापरबाही गरेर खेलेको भान हुन्थ्यो। त्यो गल्ती सायद सेमिफाइनल दोहोर्‍याउने छैन। त्यस्तो गल्ती ती ठूला टोलीका लागि क्षम्य हुने छैन।

प्रकाशित: २३ असार २०७३ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App