२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अपेक्षित नतिजा

युरोपियन च्याम्पियनसिपको नकआउट चरणका चार खेल सकिँदा अप्रत्यासित नतिजा आएका छैनन्। अपेक्षा गरिएकै टोलीले जितेका छन्।  युरोपियन टोलीहरुको स्तरमा धेरै ठूलो अन्तर छैन। अहिलेको फुटबल एकदमै तीब्र गतिमा हुने भएकाले ठूला भनिएका टोलीले पनि गोलका लागि संघर्ष गर्नुपरेको छ। आक्रमणमा जति खेलाडी जान्छन्, त्यो भन्दा बढी विपक्षी खेलाडीको संख्या रक्षापक्तिमा तैनाथ हुन्छ।  तीब्र गतिको फुटबलमा सेकेन्ड सेकेन्डमा खेलको परिस्थिति बदलिन्छ।

जारी युरोपियन च्याम्प्यिनसिपमा पनि अधिकांश टोलीले विपक्षी पोस्टमा आक्रमण गर्ने भन्दा मुख्य जोड रक्षापक्तिमा देखाएका छन्। आफ्नो जोन सुरक्षित गरेर विपक्षीको जोनमा आक्रमण गर्ने, काउन्टर एट्याकमा गोल गर्ने रणनीतिलाई सबै टोलीले प्राथमिकतामा राखेका छन्। गोल खाइसकेपछि बराबरी गर्न र त्यसपछि फेरी अर्को गोल गरेर जित्न स्तरीय मानिएका टोलीलाई पनि कठिन छ। त्यसैले जोखिम मोलेर भन्दा आफ्नो जोनलाई सुरक्षित गर्ने र मौका पाउँदा गोल हान्ने प्रयासमा जाने गरेको देखिएको छ। समूह चरणमा साना भनिएका टोलीले ठूलालाई पनि हराएका छन्। जसले हरेक टोली सचेत भएर खेलिरहेका छन्। नकआउट चरणमा यस्तो रणनीति स्वभाविक हो।  नकआउट चरणमा हार्दा समूह चरणको जस्तो पुनरागमन जनाउने सम्भावना हुदैन। गोल खाइसकेपछि त्यसै पनि दबाब हुन्छ, हरेक टोली त्यो दबाबबाट मुक्त रहन चाहन्छ। निर्धारित समय भित्र गोल गर्न नसकेपछि थप समयमा जाने त्यसमा पनि जित्न नसके टाइब्रेकरमा पुगेर पनि आफ्नो पक्षमा नतिजा ल्याउन सक्ने आशा हुन्छ। तर, गोल खाइसकेपछि दबाब दोब्बर हुन्छ।

आयोजक फ्रान्स दाबेदार मध्येको एक हो। आयरल्यान्डविरुद्धको खेलमा स्टार खेलाडीले भरिएको फ्रान्स जित्ने धेरैको अनुमान थियो। आयरल्यान्डले सुरुमै पेनाल्टी गोलबाट अग्रता लिएपछि फ्रान्स केही दबाबमा पर्नु स्वभाविक थियो। जति स्तरीय टोलीलाई पनि गोल खाएपछि दबाब हुन्छ। तर, खेल सुरु हुनेवित्तिकै खाएको गोलबाट फ्रान्स जस्तो टोली आत्तिनुपर्ने अवस्था थिएन। आत्तिएन पनि। गोल गर्ने हातारमा टोलीले खेल विगारेन, वेल्सविरुद्ध इङ्ल्यान्डले जस्तो र्‍यान्डम पनि खेलेन। आफ्नो शैली अनुरुप नै खेल्यो।  पहिलो हाफमा पटक–पटक गोल गर्ने प्रयास सफल भएनन्। त्यसबाट फ्रान्सेली टोली निराश बनेन्। कुनै पनि समय गोल फर्काउनेमा फ्रान्स दृढ देखिन्थ्यो। त्यही आत्मविश्वासका कारण आयरल्यान्ड फ्रान्समाथि हावी हुन सकेन। दोस्रो हाफमा सुरुवाटै खेल नियन्त्रणमा राख्न फ्रान्स सफल भयो। दास्रो हाफ फ्रेस मुडमा सुरु गर्‍यो। राम्रो टोलीलाई धेरै समय रोक्न कठिन हुन्छ। दास्रो हाफमा फ्रान्सका फरवार्ड र मिडफिल्डरहरु अत्यन्तै चलायमान भएन। स्तरीय टोलीले खेल नियन्त्रणमा राख्दा गोल गर्ने सम्भावना बढी हुन्छ। स्टार खेलाडी छन्। लामो पासमा आएको बलमा एन्टोनी ग्रिजम्यानले हेड गोल गरेपछि फ्रान्सले खेल जित्ने सम्भवना बढेको थियो। बराबरी नहुँदा सम्म ठूलो टोली पनि दबाबमा आउछ। जब बराबरी गोल निस्किन्छ। टोलीको मनोबल फेरी बेग्लै हुन्छ। राम्रो टोली जति बेला पनि गोल गर्ने क्षमता राख्छ। आयरल्यान्डले खेलको अन्त्यतिर गोल गरेको भए कथा अर्को हुन सक्थ्यो। सुरुको गोलले फ्रान्सलाई धेरै दबाब परेन। समय पर्याप्त भएपछि स्वभाविक खेल खेल्न पायो। फ्रान्समा स्टार खेलाडीको लामै सुची छ। एउटा खेलाडी नचल्दा अर्को खेलाडीले चमत्कार गर्न सक्छ। यसअघि राम्रो प्रभाव छोडेका दिमेत्री पायेट चलेनन् तर ग्रिजम्यान दोस्रो हाफमा निकै छाए। स्टार खेलाडी हुनुको फाइदा फ्रान्सलाई भयो।

बराबरी गोलपछि आयरल्यान्डले जित्नका लागि अर्को गोल गर्न रक्षापक्तिमा भन्दा आक्रमणमा बढी जोड दियो। त्यसले पनि फ्रान्सलाई नै फाइदा पुग्यो। एक गोलले पछाडी परेको अवस्थाभन्दा फ्रान्सलाई बराबरीपछि खेल्न सहज भयो। पहिलो गोल गरेको तीन मिनेटपछि नै ग्रिजम्यानले अर्को गोल थपेपछि आयरल्यान्डको सबै सम्भावना सकियो। ६६ औं मिनेटमा आयरल्यान्डका साने डुफीले रातो कार्ड सामना गरेपछि फ्रान्सलाई त्यसको पनि फाइदा पुग्यो।

अघिल्लो दिन वेल्स र पोचुर्गलले पनि जितका लागि निकै संघर्ष गर्नुपर्‍यो। लगातार दबाबमा राख्दा गोलको सम्भावना रहन्छ। नकआउट चरणमा बाहिरिने डर सबैलाई रहने हुँदा वेल्स र पोर्चुगलमा पनि त्यो डर देखिन्थ्यो। पोर्चुगलले संघर्ष गरेर अघि बढेकोले त्यसको असर नकआउट चरणमा देखिनु स्वभाविक थियो।

बराबर हैसियतको टोलीले खेल्दा जित्ने पनि नसक्ने, हार्न पनि नचाहने देखियो। सबै टोलीले डिफेन्सलाई प्याक गरेर खेलेको छन्। उत्तरी आयरल्यान्डविरुद्ध वेल्सले दबाब दिएर खेल्न सकेन। तर वेल्सलाई गारेथ बेल हुनुको फाइदा थियो। समुह चरणमा जस्तै उनको प्रदर्शन राम्रो रह्यो। उनकै मिहिनेतमा विपक्षीले आत्मघाती गोल गर्ने परिस्थित बन्यो।

क्रोएसियाविरुद्ध क्रिस्यिानो रोनाल्डो हुनु नै पोर्चुगलका लागि फाइदा थियो। पोर्चुगलको पछिल्ला दुई खेल रोनाल्डोकै वरिपरि घुमेको छ। उनकै कारण थप समयको अन्त्यतिर पोर्चुगल गोल गर्न सफल भयो। बेल र रोनाल्डो जस्ता खेलाडी हुनुले टोलीको मनोबलमा प्रभाव पारी राखेको हुन्छ।

प्रकाशित: १३ असार २०७३ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App