काठमाडौं- नेपाल पुलिस क्लब र एपिएफ क्लब शनिबार दोस्रो एनभिए कप क्लब भलिबल प्रतियोगिताको च्याम्पियन भएका छन्। पुलिस पुरुषतर्फ र एपिएफ महिलातर्फ विजेता बनेका हुन्।
कुलबहादुर थापा, चन्द्र कुँवर र सञ्जय अर्यालले उत्कृष्ट प्रदर्शन गरेपछि पुरुष फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई प्रतिस्पर्धात्मक खेलमा २५–२२, २५–२३, २५–१९ को सोझो सेटमा हरायो।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा ओपन स्पाइकर कुलबहादुरले स्पाइकबाट १५ अंक, अर्का ओपन स्पाइकर चन्द्रले १३ र क्विक स्पाइकर सञ्जय अर्यालले १० अंक जोडेपछि पुलिसले हरेक सेटमा दबाब बनायो। ब्लकमा सञ्जयले २ अंक, कुलबहादुरले १ र चन्द्रले सर्भिसबाट २ अंक लिए।
पुलिस प्रशिक्षक सुदेशकुमार रिमालले एट्याकिङ रणनीति सफल हुँदा च्याम्पियन भएको बताए। उनले भने, 'सञ्जय पूर्ण फिट थिएनन्। उनी मुख्य स्पाइकर र ब्लकर हुन्। सञ्जयभन्दा हामीले फाइनलमा कुल र चन्द्रलाई बढी खेलाउने रणनीति बनायौं। उनीहरू दुवैले स्कोरिङ स्पाइक गर्दा हरेक सेटमा हामी अगाडि भयौं।'
रिमालले डिफेन्समा विपक्षीले कमजोर प्रदर्शन गरेको बताए। उनले थपे, 'हाम्रो डिफेन्स र रिसिभको समन्वय मिल्दा एट्याकिङ बलियो भयो।'
एपिएफका महेन्द्र श्रेष्ठले पुलिसका ४ स्पाइकरलाई ब्लक गरे पनि अन्य खेलाडी ब्लकमा जम्न सकेनन्। महेन्द्रले स्पाइकबाट ३ र ब्लकबाट ४ अंक जोडे। राजबहादुर चौधरीले स्पाइकबाट ११ अंक, डायमन्ड बस्नेतले ८ र वैकल्पिक खेलाडी मिलन मल्लले ६ स्कोर गरे। प्रशिक्षक कपिलकिशोर श्रेष्ठले मिलनलाई दोस्रो सेटमा धनबहादुर भट्टको स्थानमा कोर्टमा पठाएका थिए।
प्रशिक्षक श्रेष्ठले ब्लकको कमजोरीले गर्दा पराजित हुनुपरेको स्विकारे। उनले भने, 'पुलिसले सुरुआतदेखि एट्याकिङ खेल्दा हामीले उनीहरूलाई रोक्न सकेनौं। उनीहरू स्पाइकमा सफल हँुदै जाँदा डिफेन्सले खेल नियन्त्रण गर्न अप्ठेरो भयो। त्यति बेला ब्लकरले नै उनीहरूलाई रोक्न सक्नुपर्थ्यो। तर हामी त्यसमा सफल भएनौं।'
महिलाको फाइनलमा एपिएफले पश्चिमाञ्चललाई २५–२२, २५–२०, २५–१९ को सोझो सेटमा हरायो। एपिएफकी नेबिका चौधरीले स्पाइकबाट १२, सर्भिसबाट २ र ब्लकबाट १ गरी १५ अंक लिँदै एपिएफको स्कोर बढाउन मुख्य भूमिका खेलिन्। फाइनलमा सरस्वती चौधरीले स्पाइकबाट १४ र ब्लकबाट १ अंक लिइन्। निमा श्रेष्ठले १३ अंक जोडिन्। पश्चिमाञ्चलबाट चुनौती बनेकी उषा विष्टले ब्लकबाट ५ र स्पाइकबाट १ अंक लिइन्। पश्चिमाञ्चलबाट पहिलोपल्ट खेलेकी मनिषा चौधरीले स्पाइकमा ६, ब्लक र सर्भिसमा २–२ अंक लिएर स्कोर बढाइन्। पश्चिमाञ्चलकी अरुणा शाहीले १३, परीक्षा गुरुङले ६ र कप्तान मन्जु गुरुङले ८ स्कोर गरे।
एक वर्षपछि फाइनल खेलेको पश्चिमाञ्चलले तीनै सेटमा एपिएफलाई कडा चुनौती दिए पनि हरेक सेटको अन्त्यतिर कमजोर देखियो। गत वर्ष नेपालगन्जमा सम्पन्न आमन्त्रित महिला भलिबलमा पश्चिमाञ्चल पुलिससँग हारेको थियो। कप्तान मञ्जु गुरुङले फाइनलमा स्पाइकिङ कमजोर भएको बताइन्। उनले भनिन, 'हामीले फाइनल जित्न स्पाइकिङ र ब्लकमा राम्रो गर्नुपर्ने थियो। तर हामीले एपिएफलाई ब्लकमा पनि रोक्न सकेनौं। हाम्रो स्पाइकिङ सोचेजस्तो भएन '।
एपिएफ आफ्नो टोलीभन्दा सबै पक्षमा बलियो भएको पश्चिमाञ्चलकी प्रशिक्षक कौशिला श्रेष्ठले बताइन्। उनले थपिन्, ' फाइनलको प्रदर्शनबाट सन्तुष्ट छु। एपिएफ नियमित प्रशिक्षणमा रहने टोली हो। हाम्रो टोलीमा नयाँ खेलाडी छन्। पछिल्लो समय हामी फाइनल नै पुग्न सकेको थिएनौं। फाइनलमा एपिएफलाई हामीले राम्रो चुनौती दियो। अब आगामी खेलमा राम्रो गर्नेछौं।'
प्रतियोगितामा पुलिसका कुलबहादुर थापा र एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी भए। नकआउट चरण आधारमा छनोट सर्वोत्कृष्ट खेलाडी कुलले स्पाइकबाट ३४ अंक र सरस्वतीले ३७ अंक लिएका थिए।
उत्कृष्ट स्पाइकरमा पुलिसका चन्द्र कुँवर र एपिएफकी कप्तान निमा श्रेष्ठ भए। चन्द्रले २५ र निमाले ३४ अंक जोडेका थिए। उत्कृष्ट ब्लकरबाट एपिएफका महेन्द्र श्रेष्ठ र उषा बिष्ट (महिला) पुरस्कृत भए। महेन्द्रले ९ र उषाले ११ अंक ब्लकबाट लिए। सर्भरमा आर्मीका मानबहादुर श्रेष्ठ र महिलामा पश्चिमाञ्चलकी अरुणा शाही भए। उत्कृष्ट लिबरोमा एपिएफका पुष्पजंग मल्ल र न्यु डायमन्ड एकेडेमीकी सलिना श्रेष्ठ पुरस्कृत भए। पुलिसका इम राना र एपिएफकी बिनिता बुढाथोकी उत्कृष्ट सेटर भए।
शनिबारै तेस्रो स्थानमा पुरुषतर्फ आर्मीले हेल्प नेपाल स्पोर्टस क्लबलाई २५–१७, २५–२७, २५–९ ले र महिलामा डायमन्डले पुलिसलाई २५–२०,२५–२१,२५–२३ ले पराजित गरे।
विजेता पुरुष तथा महिला टोलीले समान १ लाख, उपविजेताले ६० हजार र तेस्रो टोलीले ४० हजार पुरस्कार पाए। सर्वोत्कृष्ट खेलाडीले १५ हजार र विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए।
विजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्री पुरुषोक्तम पौडेलले पुरस्कृत गरेका थिए। असोज २८ देखी सुरु भएको एनभीए क्लब च्याम्पियनसिपमा सहभागि टोलीले राष्ट्रिय भलिबल लिगमा खेल्न पाउने आयोजक नेपाल भलिबल संघले बताएको छ। च्याम्पियनसिपमा ८ पुरुष टोली र ६ महिला टोलीले प्रतिस्पर्धा गरेका थिए।