अनशन र आन्दोलन
०५ माघ २०७०
•
१४ मिनेट पाठ
अनशन र आन्दोलन
छोराका हत्यारालाई कारबाहीको माग गरेर अनशन बसेका अधिकारी दम्पतीको चर्चै हराइसकेको छ। हत्यालाई राजनीतिक आवरण दिएर न्याय खोस्नेहरूको हुँकारसामु निरीह नन्दप्रसादको चित्कार दबिनु अन्याय हो तर नेपाली समाजको 'बलेको आगो ताप्ने’ प्रवृत्ति सम्झने हो भने आश्चर्य मान्नु पर्दैन। तिनको हेरविचारमा खटिएका वीर अस्पतालका डाक्टर र केही आफन्तबाहेक सायद अरू धेरैले अधिकारी दम्पती अझै अनशन गर्दैछन् भन्ने नै बिर्सिसके। नबिर्से पनि तिनको सम्झना आक्कलझुक्कल गरिने लहडमा सीमित भएको छ।
सामाजिक सञ्जाल समाजको ऐना हो भने अनशनकारीलाई नेपाली समाजमा उपहासको पात्रसमेत बनाइएको देखिन्छ। मोहनदास करमचन्द गान्धीले 'स्वराज’का लागि भारतमा अगिल्लो शताब्दीको पूर्वार्धमा अहिंसात्मक आन्दोलनको एउटा विधिका रूपमा अनशनको प्रयोग सुरु गरेका थिए। त्यति बेलाका अंग्रेज शासक र तिनका मतियारले पनि अहिंसात्मक सत्याग्रहको यसरी नै उपहास गरेका थिए। त्यस्तै मानसिकता अझै पनि रहेछ नेपाली समाजमा। सायद, हाम्रो समाज अहिले पनि अगिल्लो शताब्दीको सुरुतिरै छ विशेषगरी सोच र संस्कारमा। 
डा. गोविन्द केसीको अनशनप्रति चाहिँ धेरैले अलिकति चासो लिएको देखियो। ती 'साधु' डाक्टरलाई चिन्ने र नचिन्ने धेरै जना भावनात्मकरूपमै मात्र भए पनि उनको संघर्षको समर्थक हुन पुगेका छन्। स्वार्थमै प्रत्यक्ष प्रभाव पर्ने र पटक्कै संवेदनशीलता नभएको उर्बौलो जमातबाहेक अरू धेरैले डा. केसीको समर्थन गरेका छन्। नेपाली समाजमा आउन लागेकेा परिवर्तनको संकेत हुनसक्छ यो। लाग्छ, नेपाली समाज सामन्ती थिचाइबाट मुक्त हुन छटपटाइरहेको छ। राजनीतिक 'आवरण’ अब सामन्ती छैन। यस्तै राजनीतिक 'आभूषण’मा पनि सामन्ती छवि त्याग गर्न खोजिएको छ। विडम्बना, सामन्ती संस्कार र पद्धतिको सबैभन्दा चर्को विरोध गर्नेहरू भने आचरणबाट सबैभन्दा विलासी सामन्त हुनपुगे। 
लोकतन्त्रको उज्यालो छिर्नै नदिने गरी लागेको सामन्ती कुहिरोबाट समाजलाई मुक्त गर्न प्रकाश छर्ने काममा मूलतः राजनीतिकर्मीले अगुवाइ गर्नुपर्थ्यो। नेपाली राजनीतिमा यतिखेर त्यस्तो अग्रगामी नेतृत्वको अभाव छ। समाजका अरू क्षेत्रमा पनि स्वार्थको खेती नगरी सामन्ती संस्कारविरुद्ध उभिने अगुवाको खडेरी छ। आक्कलझुक्कल केही सज्जन अगाडि सर्छन्। अहिले डा. गोविन्द केसीजस्तै। त्यसले अँध्यारो सुरुङमा आशाको किरण देखाएको छ। 
धेरैलाई लाग्दो हो डा. केसीको अनशन चिकित्साशास्त्र अध्ययन संस्थानभित्रको किचलोमात्रै हो। हुनत, डा. केसीलाई आफ्नै संस्थाको मायाले उद्वेलित बनाएको पनि हो तर उनले रोजेको विधिले शक्तिशालीको तजबिजमा जे गरे पनि हुने अभ्यासलाई चुनौती दिएको छ। यस्ता चुनौती शासकहरूलाई रुच्दैन। शासकहरू राज्यलाई बपौती ठान्छन्। लोकतान्त्रिक मान्यता स्वीकार गर्ने हो भने निर्णय पारदर्शी हुनुपर्छ। पारदर्शिता भनेको निर्णय गरेपछि त्यसको विधि र प्रक्रियाका बारेमा जानकारी दिनुमात्र हैन। त्यस्तो निर्णयको औचित्य र निर्णयकर्ताको नैतिक वैधता पनि त्यसमा जोडिएको हुन्छ।
डा. केसीको अगिल्लो पटकको अनशनपछि डा. प्रकाश सायमी चिकित्सा शास्त्रका डिन नियुक्त गरिएका थिए। त्रिवि पदाधिकारीले बाध्य भएर डा. सायमीलाई स्वीकार गरेका थिए। मौका पाउनेबित्तिकै तिनले उनलाई असहयोग गर्न थाले। असहयोगमात्र हैन जे हुनुहुँदैन भन्ने मान्यता राखेर उनलाई नियुक्त गरिएको थियो त्यही काम गर्न दबाब पनि दिन थाले। डा. केसीजस्तै जुझारु स्वभावका भएका भए डा. सायमीले दबाब दिनेहरूको पोल खोलेर पदमा बसिरहने दृढता देखाउनु पर्थ्यो। डा. सायमीले इमानमा अडिन पद छाड्ने उपाय रोजे। तर, उनको पद त्यागले मेडिकल कलेजहरूलाई सम्बन्धन दिएर पैसा कमाउने गिरोहलाई पो सजिलो बनायो। अर्थशास्त्रको नियम लागु भयो। असल मुद्रा बजारबाट हराएपछि खराब मुद्रा चलनमा आयो। यसले संस्कार परिवर्तनका लागि भएको संघर्ष समाजका एकाध असल व्यक्तिले मात्र गरेर पुग्दैन भन्ने पनि सिद्ध भएको छ। परिवर्तनको रथ अगाडि बढ्दै जाँदा कुनै एउटा चुकुलमात्रै पनि फुस्क्यो भने दुर्घटना हुन्छ। त्यस्तो अवस्थामा रथमा चुकुलको साटो परेका बेला औँला हालेर पनि गुडाउन मद्दत गर्ने कैकेयीहरू आवश्यक हुन्छन्। ( तिनै कैकेयीले पनि जब साँच्चै नै क्रयविक्रयको बेला हुन्छ मन्थराले कान फुकेको निहुँ बहाना बनाएर भनिहाल्छिन् — 'रामलाई वनवास भरतकन त राज माग्छु म चाँडो गई।’ )
संस्कार परिवर्तन साँच्चै नै कठिन कार्य हो भन्ने त नेपाल मेडिकल एसोसियसनको निर्णयले पनि प्रमाणित गरेको छ। डा. केसीको समर्थनमा मेडिकल एसोसियसन पहिलो दिनदेखि नै संघर्षमा उत्रनुपर्थ्यो। सही र गलतका बीचमा पक्ष लिन पटक्कै ढिलो गर्नु हुँदैन। सत्यको पक्ष लिँदा पनि गलत बाटो समाउनु हुँदैन। मेडिकल एसोसियनका पदाधिकारीले डा. शशि शर्मालाई दबाब दिन देशभरका बिरामीलाई सजाय दिने बाटो अपनाए। आफ्नो शक्तिको प्रयोग गर्दा अरूलाई पर्ने मर्काको बेवास्ता गरे। अर्थात्, सामन्ती संस्कारलाई नै पछ्याए। डाक्टरहरूको यो छनोट अश्वत्थामाले उत्तराको गर्भमा अस्त्र प्रयोग गरेजस्तै धर्मयुद्धको नीतिविरुद्ध छ। यसले डाक्टरहरूको पेसामाथि नै अश्वत्थामाको शिरमा लागेको कहिल्यै निको नहुने घाउजस्तै कलंक लाग्नसक्छ। उपचार बन्द गर्ने निर्णयले डाक्टरहरूलाई त्रिविका पदाधिकारीजस्तै तजबिजी बनाएको छ। मोर्चा जुन भए पनि पात्र र प्रवृत्ति उस्तै देखिएको छ।
सबै डाक्टरलाई उपचारै बन्द गर्न आह्वान गर्नुको साटो मेडिकल एसोसियनका पदाधिकारीले डा. शशि शर्माको कार्यालय अगाडि अनशन थालेका भए सायद बढी नैतिक दबाब सिर्जना हुन्थ्यो। कालो पट्टी बाँधेर बिरामीको उपचार गर्दै डा. गोविन्द केसीको बचाउन दबाब दिन आग्रह गरेको भए सायद सरकार र त्रिवि पदाधिकारीमाथि बढी दबाब पर्थ्यो। बिरामीहरू स्टे्रचरमै बसेर पनि आन्दोलनमा निस्कने थिए। त्यो संसारले देख्ने थियो। झट्ट हेर्दा यो विधि उति आकर्षक र प्रभावकारी नदेखिएला। मामुली ज्वरो आउँदासमेत कडा मात्राको एन्टिबायोटिक खुवाउने बानी परेका डाक्टरहरूलाई मन पनि नपर्ला तर यसले चिकित्सा शास्त्रको रोग सधैँका लागि साँच्चै नै निको बनाउन सहयोग गर्ने थियो। दुर्भाग्य, डाक्टरहरूले राम्रो काम गर्न पनि नराम्रो विधि अपनाए। कस्तो विडम्बना! सत्याग्रहीको समर्थनमा चिकित्सकहरूले आफ्नो मूल धर्मविरुद्ध बिरामीको सेवा रोकेर आन्दोलन गर्ने रे। डाक्टर केसीले आफ्नो धर्म राम्ररी पालन गरेकाले उनीप्रति जनसमर्थन र सहानुभूति बढेको हो। बिरामीलाई अलपत्र पारेर आन्दोलनमा उत्रने डाक्टरहरूले भने आफ्नो मूल धर्मको रक्षा गरेनन्। भनिन्छ— 'धर्मो रक्षति रक्षितः ’। अर्थात्, धर्मको रक्षा गरेमात्र धर्मले पनि रक्षा गर्छ। बिरामीको उपचार रोक्नेबित्तिकै डाक्टरहरू धर्म च्युत भएका छन्। तिनको रक्षा अब डा. केसीको समर्थनले मात्र गर्न कठिन छ। अहिले डा. केसीको संघर्ष एकल आन्दोलनजस्तो देखिएको छ। अगिल्लो पटकका उपलब्धि रक्षा नहुनुको कारण आन्दोलनको स्वामित्व लिने उनी एक्लै हुनाले पनि हो। अहिले डा. केसीको पक्षमा देखिएको समर्थन यथार्थमा उनको मागभन्दा पात्रताको सम्मान हो। मेडिकल एसोसियसन आन्दोलनमा सरिक भएपछि यसको स्वामित्व पनि लिने बाटो बनाउनुपर्छ। अनि उपलब्धि खोस्ने आँट सहजै कसैले गर्नेछैन। 
डा. शशि शर्मालाई उनकै अन्तरात्माले पनि धिक्कारेको हुनुपर्छ। सहयोगीको मृत्युको कारण बन्नु पर्योस भने उनको आत्माले पनि पक्कै धान्न सक्नेछैन। शर्माका परिवारजनमा पनि यसको दबाब परेको होला। आफन्तका लागि ग्लानिको विषय बन्ने कि गर्वको? डा. शर्माले राजीनामा दिँदैमा समस्या समाधान नहोला तर कम्तीमा उनले डा. केसीको जीवन रक्षा गरेको जस त पाउनेछन्। डा. शर्माको हठ 'चोरी मारिलियौ न यश हुन गयो न मासु खानु भयो।’ भनेजस्तो नहोस्! 
उपचार रोकेर आन्दोलनमा उत्रने डाक्टरहरूको निर्णय यथार्थमा समसामयिक राजनीतिकै एउटा अनुहार हो। नेपाली राजनीतिमा साध्य असल भए साधनजस्तो भए पनि हुन्छ भन्ने मध्ययुगीन चिन्तनकै प्रभाव बलियो छ। शसस्त्र संघर्ष र त्यसको महिमा गायन त्यसैको उदाहरण हो। पछिल्ला दिनमा देखिएको सहमतिका नाममा शासन गर्ने प्रवृत्ति पनि त्यसैको सहउत्पादन हो। यथार्थमा यो शक्ति भयो भने कसैप्रति पनि जवाफदेही हुनुपर्दैन भन्ने सामन्ती संस्कारकै अर्को रूप न हो। दण्डहीनताको कारक यही हो। भ्रष्टाचारको मूल कारण पनि यही हो। डा. केसीको अनशनले सायद उनले सोच्दै नसोचेका विषयलाई सतहमा ल्याएको छ। अब नेपाली समाजले कुन बाटो समाउने हो रोज्ने बेला भएको छ। संसारका धेरै मुलुक अहिले पनि हिंसाकै बाटामा छन्। लोकतन्त्र शासन पद्धतिका रूपमा स्थापित भएकै समाजमा समेत जीवन शैलीमा सामन्ती प्रवृत्ति बलियोसँग जमेको छ। हाम्रो त झन् यसै पनि लोकतन्त्रको अभ्यासै नगरेको समाज। लोकतान्त्रिक अप्ठेरो बाटो हिँडेर ढिलै भए पनि सुरक्षितरूपमा गन्तव्यमा पुग्ने कि हतार छ भनेर सहज तर गलत बाटो लाग्ने? अगुवाले बाटो बिराएका बेला रोजाइ सजिलो हुँदैन। तर, गलत बाटोबाट गन्तव्यमा पुग्नै सकिँदैन। यत्ति हेका राखौँ।


अर्को समाचार
१५३ दिनमा रिले अनशन स्थगित, सशक्त आन्दोलन गर्ने
०२ मंसिर २०६९
•
६ मिनेट पाठ
१५३ दिनमा रिले अनशन स्थगित, सशक्त आन्दोलन गर्ने
मनोज अधिकारी, पोखरा, मंसिर ३ - अनशन बस्दा सरकारले बेवास्ता गरेको भन्दै पोखरेलीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दवाब दिन अब सशक्त आन्दोलन गर्ने भएका छन्।




पोखरा विमानस्थल अगाडि तीन महिनायता जारी रिले अनशन शनिबार अन्त्य गरी विमानस्थल निर्माण सरोकार समितिले केन्द्रलाई धक्का दिने सशक्त आन्दोलन गर्ने जनाएको हो।
सशक्त आन्दोलनको कार्यक्रम छिट्टै ल्याउने गरी शनिबार अपराह्न ३ बजे प्रमुख राजनीतिक दलका जिल्लास्तरका नेताहरुबाट जुस खुवाएर रिले अनशन अन्त्य गरिएको सरोकार समितिले जनाएको छ। गत भदौ ७ गते सुरु भएको रिले अनशनमा शनिबार १ सय ५३ औं दिनसम्म २ हजार ४ सय २ जनाले सहभागिता जनाए। यसमा विभिन्न पेसा, व्यवसाय, कर्मचारी, मजदुर, आमा समूह, युवा समूह, विभिन्न जातजातिका संघ/संगठनले साथ दिएका थिए।
रिलेअनशनबाट सरकारले दबाब महसुस नगरेपछि बाध्य भएर सशक्त आन्दोलनमा जानुपरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिए। उनले सरकारलाई दवाब दिन सशक्त आन्दोलनकै लागि हालसम्म जारी रिले अनशनको अन्त्य गरिएको बताए।
'क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको दवाबमा थालिएको आन्दोलन सकिएको होइन,' सरोकार समितिका संयोजक श्रेष्ठले शनिबार रिले अनशन अन्त्यका क्रममा भने, 'आन्दोलनको स्वरुप परिवर्तन गरी झन् सशक्त रुपमा आउन लागेको हौं। त्यसका लागि आमपोखरेली र पश्चिमाञ्चलबासी तयार भएर बस्नुहोस्।'
श्रेष्ठले अबको आन्दोलनमा सरोकार समितिले विगतमा गरेको विमानस्थल बन्द र सिंहदरबार घेराउभन्दा पनि सशक्त हुने चेतावनी दिए। उनले समितिले त्यसकै तयारीमा जुटेको र केही दिनभित्रै नयाँ आन्दोलनको घोषणा हुने बताए।
रिले अनशन स्थगितका क्रममा सरोकार समितिका सदस्यहरु बासु त्रिपाठी, विश्वशंकर पालिखे, पोखरा पर्यटन परिषद्का अध्यक्ष टीकाराम सापकोटा, टानका पूर्वअध्यक्ष सोम थापा लगायतले पोखरेलीको मागलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोश पोखे। उनीहरुले विमानस्थल बनाएरै छाड्ने दृढतासहित थप सशक्त आन्दोलनले साकार रुप लिएरै छाड्ने उद्घोष गरे।
तत्कालिन सरकारले वि.सं.२०३१ सालमा पोखराको छिनेडाँडामा क्षेत्रीय विमानस्थल निर्माणका लागि ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो। चीनको एक्जिम बैंकको सहयोगमा पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निमार्णका लागि ठेक्का दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बेलामा राजनीतिक र कूटनीतिक षड्यन्त्रका कारण अनेक बहानाबाजीमा यो योजना अन्योलमा पर्दै आएको छ। मुख्यतः सरकारी उदासिनताले विमानस्थल निर्माणले मूर्तरुप लिन नपाएपछि पोखरेलीले स्थानीय र केन्द्रीय तहमा आन्दोलन गर्र्दै आएका छन्। यसअघि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल माग्दै आन्दोलित बनेका पोखरेलीले सिहंदबार घेराउ, पोखरा विमानस्थल ठप्प पार्नुका साथै बृहत जनप्रदर्शन लगायतका कार्यक्रम गरिसकेका छन्।
आन्दोलनकै पछिल्लो चरणअन्तर्गत अहिलेसम्म रिले अनशन चल्दै आएको थियो। शनिबार नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् सरोकार समितिका सदस्य आनन्दराज मुल्मी, एकीकृत माओवादीका जिल्ला इन्जार्च झलकपाणि तिवारी, नेपाली कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा, नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसी, नेकपा-माओवादीका कास्कीका इन्चार्ज सावित्री दुराले शनिबार अपरान्ह अनशनकारीलाई जुस दिएर यसको अन्त्य गरेका थिए। सरोकार समितिले यसअवधिसम्म अनसन बसेर साथ दिने अनशनकारीलाई प्रशंसा-पत्र प्रदान गरेको छ।
विमानस्थल निर्माणको आन्दोलनलाई सशक्त बनाउन विभिन्न संघ/संस्था र व्यक्तिबाट ८ लाख ६३ हजार रुपैयाँ सहयोग स्वरुप संकलन भएको छ। त्यसमा अहिलेसम्म ८ लाख १० हजार रुपैयाँ खर्च भएको आर्थिक संकलन उपसमितिका संयोजक वसन्त प्रधानले जानकारी दिएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस