जनमतको सम्मान
१७ मंसिर २०७०
•
१५ मिनेट पाठ
जनमतको सम्मान
संविधान सभा निर्वाचन, २०७० कसैलाई हँसाउँदै र कसैलाई रुवाउँदै सम्पन्न भएको छ। नेकपा – माओवादीसहित ३३ दलीय बहिष्कार, अलिअलि हिंसा, भय, त्रास र अनिश्चितताका बीचमा पनि संविधान सभा निर्वाचन सफल भयो।निर्वाचनमा जनताको फैसला पनि गजब कै आयो। राजनीतिक विश्लेषक र दलहरूको अनुमानभन्दा फरक नतिजा आयो। निर्वाचनका माध्यमले जनताले शान्ति, राजनीतिक स्थिरता र संवृद्धिका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)लाई अग्रता दिएर मिलेर काम गर, मिलेर संविधान बनाऊ भनेर स्पष्ट जनादेश दिए। पहिलो संविधान सभामा सबैभन्दा ठूलो दलका रूपमा प्रकट भएको एनेकपा(माओवादी)लाई विगत ५ वर्षमा खेलेको राजनीतिक भूमिकाको मूल्याङ्कन गरी तेस्रो दल बनाएर सदनको अघिल्लो बेञ्चबाट पछिल्लोमा पुर्याई दिए।

निर्वाचनको नतिजाले कांग्रेस र एमाले मिले भने स्थिर सरकार दिनसक्ने बनाएको छ। त्यतिमात्र होइन, अन्य साना केही दललाई मिलाएमा दुईतिहाइ बहुमत पुग्ने हँुदा जनअपेक्षाअनुसारको प्रजातान्त्रिक संविधान दिन समर्थ हुनेछन्। तर निर्वाचनमा जनताद्वारा व्यक्त अभिमतलाई यी दुई ठूला दलले कसरी सम्मान गर्छन् भन्ने राजनीतिक यथार्थमै यो संविधान सभाको सफलता–असफलता र राजनीतिक स्थिरता निर्भर हुनेछ।

पहिलो संविधान सभा निर्वाचनका तुलनामा यस पटक मतदाताको सहभागिता, व्यवस्थापन र सुरक्षाका दृष्टिले सफल निर्वाचन भएको मान्न सकिन्छ। तर, सफल निर्वाचनले मात्र संविधान बन्ने होइन। निर्वाचनमा जितेर आएका दलहरूले खेल्ने भूमिकामा नै संविधान बन्ने नबन्ने वा संविधान सभाको सफलता र असफलता अन्तरनिहित हुनेछ। पछिल्लो संविधान सभा निर्वाचन नै यसको उदाहरण हो। सफलतापूर्वक निर्वाचन हुँदा पनि संविधान सभा संविधान निर्माण गर्न असफल हुन पुग्यो।

विघटित संविधान सभामा माओवादी सबैभन्दा ठूलो दलका रूपमा प्रकट भएको र उसले स्वतन्त्र प्रेस, स्वतन्त्र न्याय प्रणालीलगायतका प्रजातान्त्रिक मूल्यमान्यता र पद्धतिलाई स्वीकार नगर्दा नै त्यो संविधान सभा संविधान दिन असफल हुन पुगेको थियो। तर यो नवगठित सदनमा भने कागे्रस, एमालेसहितका प्रजातान्त्रिक प्रणालीलाई आत्मसात् गरेका राजनीतिक दलहरूको दुई तिहाई बहुमत पुग्नसक्ने अवस्था रहेकाले अन्यथा भएमा बाहेक यस संविधान सभाले संविधान दिने आशा गर्न सकिन्छ।

संविधान सभा निर्वाचन जति नै सफलतापूर्वक सम्पन्न भए पनि यो निर्वाचन पहिलोजस्तो सहमतिको निर्वाचन भने हुन सकेन। पहिलो संविधान सभा निर्वाचनको विरोध वा बहिष्कार गर्ने राजनीतिक शक्ति वा दल थिएनन् । त्यो आम सहमति र सहभागितामा भएको निर्वाचन थियो। हलुवामा बालुवा भएजस्तै हालै सम्पन्न संविधान सभा निर्वाचन भने सहमति र सहभागिताको निर्वाचन बन्न सकेन। यो निर्वाचनमा भने १० वर्ष सशस्त्र द्वन्द्वरत दलको एउटा समूह नेकपा – माओवादीसहित ३३ दलले निर्वाचनलाई बहिष्कार गरे। निर्वाचन गराउन राजनीतिक नेतृत्व गरेको पहिलो संविधान सभाको सबैभन्दा ठूलो दल एनेकपा (माओवादी) निर्वाचन परिणाम आफ्नो पक्षमा नदेखिएपछि नाटकीय ढङ्गले 'यु टर्न' गर्दै निर्वाचनको नतिजालाई अस्वीकार गरेर समग्र निर्वाचनको पुनरावलोकनसहित उच्चस्तरीय छानबिन आयोगको माग गर्दै अन्यथा संविधान सभामा सहभागी नहुने घुर्की लगाएर बसेको छ। यसबाट संविधान सभा निर्वाचनसँगै नेपाली राजनीतिमा नयाँ संस्करणको राजनीतिक द्वन्द्व भित्रिएको आशंका बढेको छ।

त्यसैगरी निर्वाचन परिणामलाई सहजतापूर्वक स्वीकार गर्न नसकेको एमाओवादीको भूमिकाका कारण भोलि संविधान सभा भित्र र बाहिरको नेपाली राजनीतिलाई प्रभावित पार्ने सन्देह पनि उत्पन्न भएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको व्यवहार हेर्दा उनलाई प्रजातान्त्रिक पद्धतिलाई स्वीकार गर्न कठिन भएको देखिन्छ। उनी संविधान सभामा तेस्रो मोर्चाको नेतृत्व सम्हाल्न जानेभन्दा आफ्ना गुरु मोहन वैद्यको शरणमा गल्ती भयो भन्दै आत्मालोचित भएर एकीकरण गर्न जाने संभावना नै ज्यादा देखिन्छ। त्यस अवस्थामा संविधान सभाबाट संविधान नै बन्यो भने पनि नेपाली राजनीतिले स्थायित्व पाउन कठिन हुनेछ। नेपाली राजनीतिमा नयाँ अस्थिरता र द्वन्द्व चलिरहन सक्छ।

निश्चय पनि दोस्रो संविधान सभा निर्वाचन स्वाभाविक रूपमा भन्दा छिमेकीलगायतको अन्तराष्ट्रिय शक्तिको दबाबमैै भएको थियो भन्दा अन्यथा हुँदैन। आन्तरिक कारण जे सुकै रहे पनि जनताले बुझ्ने र देखिने कुरा के हो भने यो निर्वाचन एमाओवादी र त्यसका सुप्रिमो प्रचण्ड कै इच्छामा भएको थियो। बहालवाला प्रधानन्याधीशलाई चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाएर निर्वाचन गराउने योजना प्रचण्डकै थियो। उनले नै यो प्रस्तावलाई आफ्नो पार्टीको हेटौँडा महाधिवेशनमा आफैले प्रस्तुत गरेर अनुमोदन गराएका थिए। सुरूमा कांग्रेस र एमालेले यस प्रस्तावको खुलेरै विरोध गरेका हुन्। तर, कालान्तरमा तिनले पनि यसैलाई समर्थन गर्न पुगे। त्यही मार्गचित्रमा यो निर्वाचन सम्पन्न भयो। जसरी आएको भए तापनि यो प्रस्ताव प्रचण्ड वा उनको दलको मौलिक योजना होइन भन्ने सबैले बुझेकै तथ्य हो। प्रचण्ड विदेशी गुप्तचर निकाय, सरकार र सरकारी सुरक्षा यन्त्रको सुझावलगायतमा भर परेर आफ्नो दलले नै भारी बहुमतका साथ निर्वाचनमा जित्छ भन्ने भ्रममा पर्दा धोका खाइयो भन्दै अहिले पछुतो मानेर हिँडेका छन्। एनेकपा (माओवादी)को निर्वाचनमा यस्तो लज्जास्पद पराजय हुँदैछ भन्ने अलिकति पनि कतैबाट भेउ पाएका भए सके प्रचण्ड आँफैले निर्वाचन रोक्ने थिए त्यो संभव नभए वैद्यसँगै बहिष्कारमा जाने थिए। आचारसंहितालाई उल्लंघन गरी हेलिकप्टरमा धेरै उडेका प्रचण्डले निर्वाचनमा धरातलीय यथार्थ के छ भन्ने भेउ नै पाएनन्। त्यस कारणले पनि बिना व्यवधान सफलतापूर्वक निर्वाचन सम्पन्न भयो । एनेकपा (माओवादी) नै सबैभन्दा ठूलो दलका रूपमा आउँछ भन्ने विश्वासमा परेर नै संविधान सभा निर्वाचन गराउन प्रचण्ड मरिमेटेर लागेका हुन्। अन्यथा, यो निर्वाचन हुँदैन थियो। प्रचण्ड, छिमेकी राष्ट्रहरू, अन्तर्राष्ट्रिय समुदाय जस जसको जे जे उद्देश्यले निर्वाचन गराएको भए तापनि जनताले भने निर्वाचनमा विवेकपूर्ण फैसला गरिदिए।

विघटित संविधान सभामा सबैभन्दा ठुलो दलको नेताका हैसियतमा बसेका प्रचण्डलाई यो संविधान सभामा तेस्रो सानो दलको नेताको हैसियतमा बस्न निकै कठिन हुने देखिन्छ। प्रजातन्त्रलाई स्वीकार गर्दै पहिलो संविधान सभाबाट संविधान निर्माण गर्न भूमिका खेलेका भए उनको यो अवस्था हुँदैन थियो। एमाओवादीले प्रजातन्त्रलाई आत्मसात गर्न नसकेको परिणाम हो उसको पराजय। विसं २०६४ को निर्वाचनमा गिरिजाप्रसाद कोइरालाका ठाउँमा प्रचण्ड हुन्थे भने त्यो निर्वाचनको परिणामलाई स्वीकार गर्न तयार हुँदैन थिए। अहिले पनि कल्पना गरौँ एमाओवादीकै नेतृत्वमा भएको भए चुनाव कस्तो हुन्थ्यो होला ?, उसकै नेतृत्वमा चुनाव भएर यस्तै नतिजा आएको भए उसले निर्वाचन नै रद्द गर्ने निश्चित थियो। किनभने एमाओवादीले प्रजातान्त्रिक पद्धतिलाई आत्मसात् गर्न कहिल्यै चाहेन।

प्रजातन्त्र र शान्तिका पक्षधरका लागि दोस्रो संविधान सभाको निर्वाचनको नतिजा सुखद रह्यो तर नतिजा प्रकाशनसँगै जुन ढङ्गले राजनीतिक घटनाक्रम सुरु भएको देखिएको छ, त्यसले मतदातालाई खुसीभन्दा दुःखी बनाउने काम गरिरहेको छ। संविधान सभामा पराजय भोगेकाहरू नै सबैभन्दा ठूलो स्वरमा सबै काम छोडेर बेमौसमी राग अलाप्दै राष्ट्रपति परिवर्तन गर्नुपर्ने माग गरिरहेका छन्।

के अहिलेको नेपाली राजनीतिको पहिलो प्राथमिकता राष्ट्रपति परिवर्तन हो? निश्चय नै होइन। सामान्य रूपमा हेर्दा ताजा जनादेश प्राप्त भइसकेपछि सरकार प्रमुख, राष्ट्रप्रमुखलगायतको निर्वाचन सामान्य हो तर मुलुकको राजनीति सामान्य स्थितिबाट चलेको अवस्था होइन। पहिलो संविधान सभाको असफलताको जगमा दोस्रो संविधान सभा निर्वाचन भएको र अन्तरिम संविधानले नै स्वतः संविधान जारी भइसकेपछि नयाँ संविधानबमोजिम नयाँ राष्ट्रपति निर्वाचन गर्ने प्रावधान राखेको छ। राजनीतिक दलहरूले एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा राष्ट्रपति परिवर्तनको बखेडातर्फ लाग्नुभन्दा स्थिर सरकार निर्माण र जनताभावना अनुसार एक वर्षभित्र संविधान दिन कांग्रेस र एमालेसहितको राजनीतिक दलले सम्पूर्ण ध्यान केन्द्रित गर्नु जरुरी छ। अन्यथा विगतमा जस्तै सत्ताको तानातानीमा व्यस्त रहेर स्थिर सरकार दिने र संविधान जारी गर्ने प्रमुख दायित्वबाट चुके भने कांग्रेस र एमालेको अवस्था पनि अहिलेको एमाओवादीको जस्तै हुने निश्चित छ।

निर्वाचनमा जनताले जातिवादी दलहरूलाई पनि किनारामा लगाई दिए। यसबाट जनता जातीय आधारमा राज्यको पुनःसंरचना गर्ने पक्षमा छैनन् भन्ने स्पष्ट हुन्छ। संविधानको पहिलो प्रावधानअनुसार सहमतिको सरकार बन्यो र त्यसले स्थिर सरकार दिन र दलहरूको प्रतिबद्धताबमोजिम संविधान जारी गर्न सहजता हुन्छ भने त्यसलाई स्वीकार गर्नु नै उचित हुन्छ। तर,कांग्रेस र एमालेले जनादेशविपरीत सहमतिका नाममा निर्वाचनमा जनताले तिरस्कार गरेका विषयमा सम्झौता गर्दै जान थाले भने जनमतको अपमान गरेको ठहरिनेछ। निर्वाचनमा जनताले दिएको मतको हैसियतअनुसार जनमतको सम्मान गर्दै शान्ति, राजनीतिक स्थायित्व कायम गरेर स्थिर सरकार दिन र यथाशक्य छिटो संविधान बनाउनेतर्फ सबैको सकारात्मक भूमिका हुन सकेमात्र देश र जनताको कल्याण हुन्छ। अन्यथा फेरि राजनीतिक अस्थिरता लम्मिने र देश नयाँ प्रकारको राजनीतिक द्वन्द्वमा फस्ने जोखिम रहन्छ।
अर्को समाचार
जनमतको कदर गर्ने निर्वाचन पद्धति
२६ जेष्ठ २०७२
•
८ मिनेट पाठ
जनमतको कदर गर्ने निर्वाचन पद्धति
राज्य व्यवस्थाको सुसञ्चालनमा जनमतको उचित सम्मान गरिनुपर्छ भन्ने मान्यता वर्षौंदेखि चलिआएको छ। रामायणमा एउटा धोबीको भावनाको कदर गरेर राज्यप्रशासनमा जनमतको प्रभाव कायम राख्न राजा रामले अत्यन्त पतिव्रता पत्नी सीतालाई गर्भवती अवस्थामा त्याग गरेको अवस्था होस् वा ग्रिक सिटी स्टेटहरूमा प्रत्यक्ष मतदानबाट राज्य सञ्चालन गरिएको व्यवस्था होस्, जनमतको उच्च सम्मान गरिनुपर्छ भन्ने सिद्धान्त सधैं मान्य रहिआएको छ। हुकुमी शासन वा अन्य कुनै अधिनायकवादी व्यवस्थामा समेत जनता र जनमतको चर्चा भइरहेको हुन्छ।आधुनिक प्रजातान्त्रिक व्यवस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष निर्वाचनद्वारा छानिएका जनप्रतिनिधिबाट राज्यव्यवस्थाको सुसञ्चालन हुने सर्वविदितै छ। यसमा पनि जनताबाट प्रत्यक्ष निर्वाचनका माध्यमद्वारा छानिएका जनप्रतिनिधिहरूबाट राज्यव्यवस्थाको सुसञ्चालन हुनुलाई नै सही प्रजातान्त्रिक व्यवस्था भनिन्छ। गत वैशाख १२ गते र २९ गते गएको महाभूकम्पपछि तुरून्त गर्नुपर्ने व्यापक उद्धार र राहत कार्य सम्पन्न भएपछि सरकारले पुनर्निमाण र पुनर्स्थापनाको योजना कार्यान्वयन गर्नेतर्फ लाग्ने प्रतिवद्धता जनाएको छ। पुनर्निमाण र पुनर्स्थापना कार्य व्यापक र दीर्घकालीन लक्ष्य राखी सम्पन्न गर्नुपर्छ। अर्बौं रुपैयाँको योजना भएकाले सरकारले बहुआयामिक सोच राखी योजना तयार गर्नुपर्छ। यसका निम्ति राष्ट्रभक्त, सक्षम, अनुभवी, इमानदार व्यक्ति ( भागबण्डाको आधारमा होइन ) सम्मिलित प्राधिकरण गठन गरेर स्वदेशी–विदेशी मित्र सबैलाई विश्वस्त पार्दै पारदर्शी ढंगमा काम सम्पन्न गर्नुपर्छ। 
साथै, महाभूकम्पले ल्याएको राजनीतिक दलबीचको सामिप्यको लाभ उठाउँदै अब नयाँ नेपाल बनाउन नयाँ संविधान निर्माणतर्फ पनि सक्रिय हुनुपर्ने भएको छ। प्रजातान्त्रिक राष्ट्रको संविधान निर्माण गर्दा जनमतको बढीभन्दा बढी सम्मान हुने निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्छ भन्ने कुरा निर्विवाद छ। हाम्रोजस्तो धेरै जाति, भेषभुषा, संस्कृति भएको राष्ट्रमा जनप्रतिनिधि सभा समावेशी हुनुपर्छ। यही महŒवपूर्ण कुरालाई ध्यानमा राखी वर्तमान संविधान सभामा ४० प्रतिशत प्रत्यक्ष निर्वाचनबाट र ६० प्रतिशत समावेशीअन्तर्गत विभिन्न राजनीतिक दलले निर्वाचनअगावै लिंग, जातजाति, समुदाय सबै विचार गरी लगत बनाएर निर्वाचन आयोगमा पठाउनुपर्ने परिपाटीअन्तर्गत सदस्य पठाएका हुन्। अघिल्लो संविधान सभामा पनि यस्तै भएको थियो। नेपालको अघिल्लो संविधान सभा समावेशी भएको भनेर सर्वत्र प्रशंसा पनि गरिएको हो। 
परन्तु, प्रत्यक्ष निर्वाचनद्वारा पनि यत्तिकै समावेशी स्वरूपको संविधान सभा निर्माण हुनसक्छ भन्नेतर्फ उचित ध्यान गएको छैन। प्रजातान्त्रिक प्रणालीमा जनताद्वारा प्रत्यक्ष निर्वाचित भएर आएका जनप्रतिनिधिहरूभन्दा दलीय नेतृत्वबाट मनोनित सदस्यको संख्या बढी हुनुलाई उचित मान्न सकिन्न भन्ने कुरा त दलहरू स्वयंले नै महसुस गरेर अहिले ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समावेशी गर्ने कुरा भइरहेको छ। तर, यो प्रणाली पनि उचित होइन। शतप्रतिशत प्रत्यक्ष निर्वाचनत्रित्रै समावेशी प्रतिनिधित्व पनि चित्तबुझ्दो तरिकाले सम्पन्न गर्न सकिन्छ।
संसद्को निर्वाचित सदस्य संख्या जति राख्ने हो त्यति नै निर्वाचन क्षेत्र त भई नै हाल्छ। ती निर्वाचन क्षेत्रमा महिला, दलित, जनजाति, मधेसीहरूको प्रतिनिधित्व कतिकति संख्यामा गर्ने हो त्यो निर्णय गरेर राज्यभरिका निर्वाचन क्षेत्रमा आरक्षण गरिनुपर्छ। जस्तैः महिला प्रतिनिधित्व ३३ प्रतिशत ( पछि त ५० प्रतिशत हुनैपर्छ ) गर्ने हो भने मुलुकभरका विभिन्न निर्वाचन क्षेत्रमा छरेर ३३ प्रतिशत क्षेत्र महिला उम्मेदवारका निम्ति आरक्षण गरिनुपर्छ। यी निर्वाचन क्षेत्रमा सबै दलले महिला उम्मेदवारमात्रै उठाउनुपर्छ। अर्को पटकको निर्वाचनमा अरू नै निर्वाचन क्षेत्रहरू छान्नुपर्छ। यसो भएमा पालैपालो गरी प्रत्येक निर्वाचन क्षेत्रमा महिलाको राजनीतिक सशक्तिकरण क्रमशः सुदुढ हुँदै जानेछ। 
त्यस्तै, धेरै लामो समयदेखि तिरष्कृत र अपहेलित हुँदै आएका दलित समुदायबाट उचित प्रतिनिधित्व गराउन जनसंख्याको आधारमा १४ प्रतिशत निर्वाचन क्षेत्र राष्ट्रभरिबाट आरक्षण गरिनुपर्छ। यस्तै तरिकाले जनजाति र मधेसीहरूका निमित्त पनि निर्वाचन क्षेत्र आरक्षण गरिनुपर्छ। बाँकी निर्वाचन क्षेत्रबाट खुला तरिकाले उम्मेदवार उठ्न पाउने त छँदैछ। 
यसो भएमा सबै समावेशी संसद् पनि प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनेछन् र प्रजातान्त्रिक व्यवस्थाअनुरूप जनमतको सम्मान पनि हुनेछ। जननिर्वाचित संसद्मा विशेष योग्यता भएका निर्वाचनमा भाग लिन नचाहने, तर राष्ट्रको सेवामा महŒवपूर्ण योगदान पुर्यााउन सक्ने व्यक्तिहरूमध्येबाट ३० वा ४० जनासम्म मनोनित संासद पनि संसद्मा समावेश गराउन सकिन्छ। यसबाट विभिन्न दलका नेताले आफ्ना कार्यकर्तालाई संसद्को सदस्यता बाँडेर स्वतन्त्ररूपमा पुरष्कृत गर्ने छुट पाउने छैनन्। आखिर निर्वाचित सदस्यहरू सबैजसो (स्वतन्त्र उम्मेदवारबाहेक ) विभिन्न राजनीतिक दलबाट ‘टिकट' दिइएका व्यक्ति नै हुने हुनाले नेतृत्ववर्ग असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन। हो, दलका उम्मेदवारहरू छनौट गर्दा भने निर्वाचनमा विजयी हुन सक्ने जनमुखी, जनसेवामा समर्पित कार्यकर्ताको चयन गर्नमा विशेष ध्यान दिनुपर्ने हुन्छ। यसबाट वर्तमान प्रणालीमा महसुस गरिरएका विकृति र विसंगतिहरू क्रमशः हराएर जानेछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस