राउटे समुदाय : कल्याल धेरै, स्वबंशी र रास्कोटी कम हुँदा समस्या
२७ साउन २०७८
•
४ मिनेट पाठ
राउटे समुदाय : कल्याल धेरै, स्वबंशी र रास्कोटी कम हुँदा समस्या
लोपोन्मुख राउटे समुदायकी १४ वर्षीया मयोका श्रीमान दलबहादुर शाहीको साउन १८ गते मृत्यु भयो। १२ वर्षको उमेरमा मयोको ३२ वर्षका दलबहादुरसँग विवाह भएको थियो। १३ वर्षको हुँदा उनले छोरीलाई जन्म दिइन्। केही महिनामै जन्मिएकी छोरीको मृत्यु भयो। राउटे संस्कार अनुसार अव उनले अर्को विवाह गर्न पाउँदिनन्।  




१८ वर्षीया किताव शाहीका श्रीमान मानसिंह शाहीको पनि साउन २९ गते मृत्यु भयो। किताव १४ वर्षकी हुँदा २५ वर्षका मानसिंहसँग विवाह भएको थियो। दुई वर्षअघि कितावले पनि छोरीलाई जन्म दिएकी थिइन्। केही महिनामै छोरीको मृत्यु भयो। कितावले पनि अव विवाह गर्न पाउँदिनन्। राउटे समुदायमा श्रीमान गुमाएका महिलालाई विवाह गर्न बर्जित छ। बस्ती एउटै भएपनि ‘विधवा’लाई छेउतिर छुट्टै घरमा राख्ने चलन यो समुदायमा छ।

लोपोन्मुख घुमन्ते समुदाय राउटे समुदायको जनसंख्या घट्दो क्रममा छ। तत्कालीन जिल्ला विकास समिति सुर्खेतले २०७१ चैतमा राउटे समुदायका नागरिकहरुको फोटोसहितको गणना गरेको थियो। उतिबेला राउटेको संख्या १८४ थियो। अहिले त्यो संख्या घटेर १४२ मा झरिसक्यो। राउटे समुदाय अस्थायी साधनको प्रयोग गदैनन्। एउटै महिलाले १८ वटासम्म बच्चालाई जन्म दिएका उदाहरणहरु छन्। यति हुँदाहुँदै पनि राउटेको संख्या किन घट्दै गएको छ त? धेरैले मदिरालाई मुख्य कारण मान्छन्। मदिरासँगै राउटे समुदायको संख्या घट्नुको अर्को कारण गोत्रसँग जोडिएको छ।  

राउटे समुदायका तीन वटा गोत्र छन्। उनीहरुको आफ्नै गोत्रभित्र विहेवारी चल्दैन्। रास्कोटी, स्वबंशी र कल्याल गोत्रबीच एक–अर्कासँग विवाह हुन्छ। यो समुदायमा कल्यालको संख्या अधिक छ। स्वबंशी र रास्कोटीको संख्या न्यून छन्। कल्यालको संख्या धेरै हुँदा यो गोत्रका उमेर पुगेका युवा–युवतीको पनि विवाह हुन मुस्किल हुन्छ। स्वबंशी र रास्कोटी गोत्रका छोराछोरीको उमेर नपुग्दै विवाह हुन्छ।

‘कल्याल गोत्रका छोराछोरी धेरै भए, अरु दुई गोत्रको संख्या अत्यन्तै न्यून भयो,’ राउटे समुदायसँग काम गर्दै आएका सामाजिक परिचालक लालबहादुरर खत्रीले भने, ‘अनमेल विवाह, बाल विवाह र कलिलैमा श्रीमान गुमाएपनि दोस्रो विवाह गर्न नपाउने परम्पराका कारण पनि राउटे समुदायको जनसंख्या घट्दै गएको हो।’ उनले भनेजस्तै राउटे समुदायका कोहीको १२ वर्ष नपुग्दै विवाह भइसक्छ। कसैको ३० वर्ष उमेर पुगिसक्दा पनि विवाह भएको छैन। यसको मुख्य कारण एउटा गोत्रको संख्या धेरै हुनु र अरु गोत्रको संख्या कम हुँदै जानु हो।

साउन १८ गते मृत्यु भएका दलबहादुर र २९ गते मृत्यु भएका मानसिंह कल्याल गोत्रका हुन्। दुवैले स्वबंशी र रास्कोटीकी छोरीसँग विवाह गरे। अर्को गोत्रकी छोरी १२ वर्ष नपुग्दासम्म विवाह गर्न मिल्दैन्। त्यसैले दुबैले आफूभन्दा करिव आधा उमेरकी केटीसँग विवाह गरे। पछिल्लो समय राउटे समुदायमा मदिराको अत्याधिक प्रयोग हुन्छ। त्यसैको कारण धेरैले युवा अवस्थामै ज्यान गुमाइरहेका छन्।

राउटे मुखिया सूर्यनारायण शाही कल्यालको संख्या स्थिर रहे पनि स्वबंशी र रास्कोटीको संख्या धेरै घटेको बताउँछन्। ‘हाम्रोमा एउटै गोत्रभित्र विवाह हुँदैन्, कल्यालका छोराछोरी धेरै छन्, रास्कोटी र स्वबंशी कम छौं,’ रास्कोटी गोत्रबाट मुखिया बनेका शाहीले भने, ‘हाम्रा छोरी सानैमा कल्यालले लैजान्छन्।’ सूर्यनारायणका अनुसार श्रीमानको मृत्यु भएमा एकल महिलाले विवाह गर्नु संस्कार अनुसार अपराध मानिन्छ।  

राउटे समुदाय एकल महिलालाई तुच्छ भाषाको प्रयोग गर्छ। श्रीमान परेकी महिलालाई बस्तीकै छेउमा घर बनाउन लगाइन्छ। उल्टो ढोका राख्न लगाइन्। राउटे समुदाय बाह्य समुदायसँग नजिक छैन्। बाह्य समुदायसँग उनीहरुको बिहेवारी चल्दैन्।  

१४२ राउटे मध्ये कल्यालको संख्या ८१ छ। रास्कोटी ४० र स्वबंशीको संख्या २१ मात्रै छ। राउटे समुदायमा ७५ जना महिला छन् भने पुरुषको संख्या ६८ छ। कल्यालमा महिलाको संख्या ४६ छ भने पुरुषको संख्या ३५ छ। स्वबंशीमा पुरुषको संख्या आठ मात्रै छ। महिलाको संख्या १३ छ। रास्कोटीमा महिलाको संख्या २१ छ भने पुरुषको संख्या १९ छ। कल्याल गोत्रका युवा–युवतीहरुले रास्कोटी र स्वबंशीका छोरी र छोराहरु नहुँदा उमेर ढल्कँदा पनि विवाह गर्न पाएका छैनन्।  

कल्याल गोत्रका विवाह गर्ने उमेरका युवाहरुको संख्या १७ जना छ। २८ वर्ष पुगेका सुविराम, २७ वर्ष पुगेका बबाल, २३ वर्ष पुगेका सोविन, २२ वर्ष पुगेका दीपक, २४ वर्ष पुगेकी गाजली, २० वर्ष पुगेकी बाटुली, सिस्नेरीलगायतको विवाह हुन सकेको छैन्।  
अर्को समाचार
मुख्यमन्त्रीज्यू ! पेटभरी खान कहिले दिन्छौँ ?
२३ चैत्र २०८०
•
४ मिनेट पाठ
मुख्यमन्त्रीज्यू ! पेटभरी खान कहिले दिन्छौँ ?
मुख्यमन्त्रीज्यू ! भाँडा वर्तन बनाउनलाई जङ्गलमा काठ काट्न दिँदैनन्। बस्तीमा खानलाई अन्न छैन। हामी राउटे पेटभरी खाएर आनन्दसँग कहिले बस्न पाउने हो? नेपाल युवा परिषद्ले आयोजना गरेको युवासँग मुख्यमन्त्री कार्यक्रममा राउटे युवा दीपक शाहीले फेरि प्रश्न गरे, हामी जाने ठाउँमा बाँदर पाइँदैन, सिकार खान नपाएको पनि धेरै भइसक्यो?




राउटे समुदायका स्पष्ट तीन वटा मान्यता छन्, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने। तर, पछिल्लो समय समुदाय नजिक बस्न थालेपछि भने उनीहरु आफ्ना मान्यतालाई भुल्दै गएका देखिन्छन्। पैसा छोए पाप लाग्छ भन्ने यो समुदाय अहिले सरकारले मासिक रुपमा दिने सामाजिक सुरक्षा भत्तामा निर्भर हुन थालेको छ।

सशस्त्र द्वन्द्व देखिनै राउटे समुदायसँग परिचित मुख्यमन्त्री शर्माले राउटे समुदायको छुट्टै गाउँ निर्माण गर्ने योजना प्रदेश सरकारको रहेको सुनाए। ‘छुट्टै ठाउँ होस्, सिकार गर्नका लागि छुट्टै जङ्गल होस्, जहाँ बाह्य मानिसहरूको प्रवेश नहोस्, राउटे हेर्नका लागि टिकट काटेर जानुपर्ने होस् हामी त्यस्तो राउटे गाउँ निर्माणको कल्पना गरिरहेका छौँ,’ उनले भने, ‘प्रदेश सरकारले देखेको सपना पूरा भए राउटेले माग्दै हिँड्नुपर्ने छैन, तपाईँलाई हेर्न आउनेहरूले काटेको टिकटबाटै तपाईँहरूको पेट भरिन्छ।’

राउटे समुदाय पछिल्लो समय कर्णालीको सेरोफेरोमा घुमन्ते जीवन बिताउँदै आएको छ। काठका भाँडा वर्तन बनाएर आफ्नो दैनिकी चलाउने यो समुदाय पछिल्लो वन संरक्षणको जिम्मेवारी स्थानीय समुदायले लिएपछि काठ काट्न पाउँदैनन्। २०६४ सालदेखि सामाजिक सुरक्षा भत्ता पाउन थालेदेखि भने यो समुदायको नयाँ पुस्ता परम्परागत सिपबाट विमुख हुँदै गएको छ।

मुख्यमन्त्री शर्मा घुमन्ते समुदाय भएकाले राउटे अहिले बस्ने कोरिडोरभित्रै तीन–चार ठाउँमा राउटे समुदायका लागि निश्चित स्थान तोकेर परम्परागत घरहरू निर्माण गरिदिने योजना सुनाउँछन्। ‘जहाँ जङ्गल पनि राउटेकै हुन्छ, त्यहाँभित्रका बाँदर गुनालगायतका जङ्गली जनावर पनि उनीहरूकै हुन्छन्,’ उनले भने, ‘जङ्गलभित्र अहिले उनीहरु बस्ने गरेका परम्परागत घरहरू पनि बनाएर दिन्छौँ।’ उनले राउटेको परम्परागत सिप र संस्कृतिलाई जोगाउँदै उनीहरुलाई शिक्षित बनाउने योजना पनि सरकारको रहेको बताए।

मुख्यमन्त्री शर्माले तत्कालका लागि राउटे समुदायलाई आवश्यक खाद्यान्नको जोहो प्रदेश सरकारले गर्ने बताए। ‘सामाजिक विकास मन्त्रालयका सचिवलाई यहीँ कार्यक्रममार्फत राउटे समुदायको माग अनुसार खाद्यान्न उपलब्ध गराउन निर्देशन दिन्छु,’ उनले भने, ‘राउटे समुदायको संरक्षणमा प्रदेश सरकार पूर्ण प्रतिबद्ध छ।’

युवासँग मुख्यमन्त्री कार्यक्रममा कर्णालीका विभिन्न जिल्लाका ४० भन्दा बढी युवाहरुले प्रश्न सोधेका थिए। ती मध्येका एक जाजरकोटका सुरेन्द्र बस्नेतले पहिलो पञ्चवर्षीय योजना कत्तिको सफल भयो भनेर प्रश्न गरेका थिए। उनको प्रश्नको जवाफमा मुख्यमन्त्री शर्माले पहिलो पञ्चपर्षीय योजनाको समीक्षा भइरहेको बताउँदै दोस्रो पञ्चवर्षीय योजनामा डिजिटल कर्णाली बनाउने विषयलाई प्राथमिकतामा राख्ने जानकारी दिए।

सल्यानका गणेश वलीले कर्णाली अर्ग्यानिक कृषि उत्पादन र त्यसको बजारीकरणमा सरकारको नीति के छ? भनेर सोधेका थिए। जवाफमा मुख्यमन्त्री शाहीले कर्णालीका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि मूल्यवान् लोगो तयार भएको बताए। उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग भएको सम्झौता अनुसार कर्णालीका सबै स्थानीय तहबाट उत्पादनहरू खरिद गरेर प्याकेजिङ र विक्री–वितरण गर्न लागिएको बताए।

‘कर्णालीको उत्पादनलाई कर्णालीमै प्रशोधन र प्याकेजिङ गर्नका लागि कम्पनीसँग सम्झौता भएको छ, कर्णालीका जिल्लाबाट खरिद गरिएका उत्पादनलाई सुर्खेतमा स्थापना हुन लागेको उद्योगमा प्रशोधन र प्याकेजिङ हुन्छ,’ उनले भने, ‘त्यसपछि मूल्यवान् लोगो राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विक्री–वितरण गछौं।’

मुगुकी सम्झना नेपालीले आफ्नो जिल्लामा उत्पादन हुने कोदो, फापर, जौ लगायतका खाद्य बस्तुहरूको बजारीकरण नहुँदा पशु चौपायाका लागि कुडोका रुपमा प्रयोग भइरहेको बताइन्। जाजरकोटकी विमला बुढाले कर्णालीमा अझै अपाङ्गमैत्री संरचना निर्माण नभएको बताउँदै प्रदेश सरकार यसतर्फ गम्भीर हुनुपर्ने बताइन्। दैलेखका हिक्मत खनालले कर्णालीमा रोजगार नहुँदा लाखौँ युवाहरू काला पहाड र खाडीमा गइरहेको बताउँदै त्यसलाई रोक्ने योजना सरकारसँग के छ? भनेर प्रश्न गरेका थिए।

जवाफमा मुख्यमन्त्री शर्माले कर्णालीको विकास नहुँदासम्म देशको विकास हुन नसक्ने बताए। उनले युवाहरूलाई स्वरोजगार बनाउन आफू मुख्यमन्त्री भएकै दिन हरेक वर्ष १० हजार युवाहरूलाई रोजगार दिने निर्णय गरेपनि त्यसमा आफू सफल हुन नसकेको बताए। ‘१० हजार युवालाई स्वरोजगार बनाउने गरेर निर्णय गरेँ, कार्यान्वयन धेरै जटिल भयो, राज्य प्रक्रियामुखी हुँदा यस्तो भएको हो,’ उनले भने, ‘युवाहरूलाई रोजगार दिनका लागि ३ अरब ६५ करोड छुट्याउन खोजेको थिएँ, अर्थले कानुन बनाउन भन्यो, प्रक्रिया लामो हुँदा काम गर्न सकिएन।’
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस