१४ दिनअघि भएको भयानक हवाई दुर्घटनाको घाउ बल्झाउने गरी बुधबार भएको हेलिकोप्टर दुर्घटनाले मुलुकको नागरिक उड्डयन क्षेत्रका कमजोरीलाई पुनः उजागर गरेको छ।
रसुवाको स्याफ्रुबेंसीका लागि उडेको एअर डाइनेस्टीको डेल्टा हेलिकोप्टरका पाइलटसहित पाँचैजनाको निधनले बारम्बार हुने दुर्घटनाका केही समान कारण सामुन्ने ल्याएको छ।
यो हेलिकोप्टर दुर्घटनास्थल राजधानी काठमाडौंको उत्तरपश्चिममा रहेको सूर्यचौर करिब दुई हजार मिटरको उचाइमा रहेको छ। रसुवा जाने सबैजसो हेलिकोप्टरले यो डाँडाको उचाइ र अन्य सम्भावित अवरोधको पूर्व आँकलन गरेका हुन्छन्।
सामान्यतः हेलिकोप्टर वा हवाइजहाज स्थानीय रूपमा उत्पन्न हुने कुहिरोलाई छल्ने पहाडको उचाइभन्दा माथिबाट उड्छन्, जसले गर्दा तिनलाई कुनै अवरोध आउँदैन।
शिवपुरी र सूर्यचौरभन्दा उता गोसाइकुण्ड उपत्यका र यता काठमाडौं उपत्यका रहेका छन्। यो ठाउँमा प्रत्येक क्षण बादल उठ्ने र हराउने गर्छ। यस्तो भौगोलिक अवस्था भएको ठाउँमा उडान गर्ने अनुभवी पाइलट र उडान कम्पनीलाई मौसम र सम्भावित अवरोधबारे जानकारी हुन्छ।
उडानमा संलग्न हुने व्यक्तिले यसलाई जानकारीमा लिनैपर्छ। कुन पहाड कति उचाइको छ र कहाँकहाँ कस्तो अवरोध आउँछ भनेर जानकारीमा लिने काम उडान व्यवस्थापनकै अंग हो।
नागरिक न्युजले सम्पर्क गरेका उडान क्षेत्रका जानकारहरूका अनुसार यस्तो दुर्घटना ‘असामान्य’ हो। काठमाडौंबाट उत्तरपश्चिम उडान गर्ने हेलिकोप्टरका लागि टोखा हेलिलेन प्रवेश र गन्तव्यबिन्दु हो।
पूर्वतिर लुक्ला जानेआउने हेलिकोप्टरले भक्तनाला हेलिलेन प्रयोग गर्छन्। ‘डाइनेस्टीको हेलिकोप्टर लैजाँदा सामान्य सुरक्षा पूर्वाधारलाई समेत ध्यान दिएको देखिँदैन,’ एक जानकार भन्छन्, ‘घरको भर्याङ उक्लिँदा ओर्लिंदासमेत तपाईंले कस्तो अवस्था छ भन्ने विचार गर्नुपर्छ। हेलिकोप्टर उडान गर्ने पाइलटसँग आफ्नो रुट, नक्सा र जिपिएस हुन्छ। त्यसलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्छ।’
सूर्यचौरभन्दा तल नेपाली सेनाको शिवपुरी आरक्षणको ढाटनजिकै यो दुर्घटना भएको हो। वास्तवमा यो हेलिकोप्टर सूर्यचौरभन्दा माथिको उचाइ लिएर उड्नुपर्ने थियो। यस क्षेत्रमा छिनछिनमा बदलिइरहने मौसमलाई छल्न उचाइ लिने वा काठमाडौंमै फर्किने रणनीति अपनाएको देखिएन।
यस्ता दुर्घटना हुनासाथ हेलिकोप्टर चालक, हवाई कम्पनीलाई मात्र दोषी देखाएर नागरिक उड्डयन प्राधिकरण उम्किने गर्छ। प्रत्येक उडानमा मौसमसम्बन्धी जानकारी दिने भनेर उड्डयनले १० अमेरिकी डलर शुल्क लिने गर्छ।
तर, विमानस्थलवरपरको जानकारीबाहेक बाटामा पर्ने मौसमी विवरण दिँदैन। वायुको चाप र भिजिबिलिटी विमानस्थलवरिपरिको मात्र दिएर पुग्दैन। उडान, पार्किङ, नेभिगेसन र मौसमसम्मको रकम असुल गर्ने प्राधिकरणको आफ्नै जिम्मेवारीबारे कमै चर्चा हुन्छ।
काठमाडौंबाट उडिसकेपछि अगाडि बाटोको मौसमबारे जानकारी दिन सक्ने गरी उपकरण जडान गर्ने र सेवा प्रदान गर्ने काम नभएको तर्फ धेरैले चर्चा गर्ने गरेका छन्।
नेपालमा हवाई दुर्घटना गराइसकेका पाइलटले दोहोर्याएर र तेहेर्याएर पनि दुर्घटना गराउने गरेका छन्। एउटा दुर्घटना भइसकेपछि उपचार र तोकिएको अवधि उडान रोकिएपछि चाँडै काममा फर्काउन हवाई कम्पनीहरूको बाध्यता हुने गरेको छ।
किनभने नेपालको हवाई क्षेत्रमा पाइलट र हवाई इन्जिनियरहरूको चरम अभाव छ। यस्तो जनशक्तिको उत्पादनलाई कडा उत्पादन नियमका कारण लामो समय लाग्छ। त्यसो भएकाले दुर्घटना गराएका पाइलट सहजै काममा फर्किन्छन्।
अहिले सिम्रिक एअरका एक वर्षअघि दुर्घटनामा परी बाँचेका क्याप्टेन सुरेन्द्र पौडेल मात्र उडानमा फर्काइएका छैनन्। तर, उनीजस्तै दुर्घटना गराएकी हेली एभरेस्टकी क्याप्टेन प्रिया अधिकारी भने निश्चित समयपछि उडानमा फर्किसकेकी छिन्।
यसरी दुर्घटना गराइसकेपछि निलम्बन अवधि पूरा गरी तोकिएको तालिम गराउने चलन छ। तर, एक पटक दुर्घटना गराइसकेका पाइलटको अभिलेख नागरिक उड्डयनले अद्यावधिक गरे पनि तिनका कुनै कमीकमजोरी पाइएको छ भने त्यसमा न प्राधिकरणले न कम्पनीले नै सुधारात्मक निगरानी गर्ने गरेका छन्।
एक विज्ञका अनुसार हेलिकोप्टर दुर्घटनाको मुख्य कारण यो हो। र, यसलाई व्यावसायिक एवम् नियमन दुवैको चरम गल्ती र असफलता मान्न सकिन्छ।
डाइनेस्टीका चालक अरुण मल्लले २०७० साल असोजमा लुक्ला विमानस्थलमा डाइनेस्टीकै हेलिकोप्टर दुर्घटना गराएका थिए। जसमा डायनेस्टीकै सञ्चालक लाक्पा सोनाम शेर्पा र उनकी पत्नीसमेत घाइते भएका थिए। उक्त दुर्घटनामा एक यात्रुको निधन भएको थियो।
‘नागरिक उड्डयनको नियमनले पाइलटको दुर्घटनाको गल्ती वा कमजोरीको अभिलेख नराख्ने भएकाले तिनलाई चिन्दैन,’ एक हवाईविज्ञ भन्छन्, ‘प्रतिबन्ध अवधि सकिएपछि सजिलै उड्न दिन्छ। कम्तीमा एकपटक दुर्घटना गराइसकेका पाइलटको उडानमा थप ध्यान दिनुपर्ने हो।’
यस्ता दुर्घटनामा निधन भएका पाइलटहरूमध्ये ८० प्रतिशतले कुनै न कुनै रुपमा विगतमा दुर्घटना गराएको अभिलेख छ। नागरिक उड्डयनको काम भने प्रत्येक पटक दुर्घटना भएपछि नियममाथि नियम थप्ने गर्छ। वास्तवमा एउटा सशक्त नियामक त्यही हुन्छ, जसले पहिल्यै सम्भावित स्थिति आंकलन गरी नियमनलाई प्रभावकारी बनाउँछ।
प्राधिकरणले दुर्घटनाको एक दिनअघि मंगलबार मात्रै सेफ्टी मेनेज्मेन्ट सिस्टम (एसएमएस) को न्यूनतम स्वीकार्य तह ६० प्रतिशत हुने भन्दै हाई लेभल सेफ्टी कोअर्डिनेसन कमिटी (एचएलएससिसी) को निर्णय विभिन्न हवाई कम्पनीलाई निर्देशनका रूपमा पठाएको थियो।
न्यूनतम स्वीकार्य तह ६० प्रतिशत नभई उडान गर्न नपाउने भन्ने निर्णय कसरी कार्यान्वयन हुन्छ ? एसएमएस हरेक हवाई कम्पनीको जिम्मेवारी हो भने त्यसको अनुगमन नागरिक उड्डयनले गर्नुपर्ने हुन्छ।
अहिलेसम्म भएका दुर्घटनामा एसएमएसको न्यूनतम स्वीकार्य तह पूरा भएको छैन भने त्यसको जिम्मेवारी नागरिक उड्डयनले लिनुपर्दैन ? सुरक्षा ६० प्रतिशत होइन शतप्रतिशत हुनुपर्ने हुन्छ।
हवाई सुरक्षाको एउटा अजेन्डाका रूपमा सेवाप्रदायक र नागरिक उड्डयनलाई छुट्याउनुपर्छ भन्ने माग पनि एक हो। यसलाई पहिल्यै संसदीय समितिले स्वीकार गरी विधेयक राष्ट्रियसभामा लगे पनि कार्यान्वयनमा ल्याइएन। यसमा कर्मचारीतन्त्र र राजनीतिक व्यक्तिको स्वार्थले अड्किएको हो।
यी दुई निकाय छुट्याउन भनेर एसियाली विकास बैंकबाट अनुदान दिइए पनि काम भएको छैन। दुर्घटना हवाई कम्पनीले मात्र गराउँछन् तर नागरिक उड्डयन प्राधिकरणको जिम्मेवारी यसमा हुन्छ भन्ने देखाउने गरिएको छैन।
‘नागरिक उड्डयनको अहिलेसम्मको नियमन एक्सपेरिमेन्टल (प्रयोगात्मक) मात्र छ,’ एक विज्ञले भने, ‘यो ट्रायल एन्ड इरर (परीक्षण र त्रुटि) को हिसाबले मात्र चलेको छ। त्यसैकारण प्रत्येक पटक दुर्घटना भएपछि त्यसलाई हेरेर नियम बनाउने, निर्देशन दिनेजस्ता काम हुने गरेको छ।’
सबैभन्दा हास्यास्पद काम सरकारले पछिल्लो दुर्घटनामा छानबिन समिति गठन पनि गरेको छ। यसको संयोजकमा नेपाली सेनाका पाइलट क्याप्टेन सुवास थापा, सिम्रिक एअरका इन्जिनियर विष्णु बस्नेत र पर्यटन मन्त्रालयका उपसचिव तनुजा पोखरेल रहेका छन्। जसरी नियमनकारी निकायका कार्य फितलो देखिएको छ, त्यसरी नै दुर्घटना छानबिन समिति पनि त्यत्तिकै लापरबाहीपूर्ण छ।
नागरिक उड्डयन क्षेत्रमा सेनाका कर्मचारीको नेतृत्वमा छानबिन हुनु आफैंमा प्रश्नवाचक छ। त्यसलाई अन्तर्राष्ट्रिय नियामक निकाय आइकाओले समेत मान्यता नदिन सक्छ। स्मरण रहोस्, नेपालको हवाई सुरक्षामा आइकाओ र युरोपेली युनियनजस्ता अन्तर्राष्ट्रिय नियामक निकायले दुर्घटनापछि गठन हुने छानबिन समितिबारे मुख्य प्रश्न उठाउने गरेका छन्।
सेनाको हवाई विभागलाई नागरिक उड्डयनका कुनै पनि नियमकानुन लाग्दैनन् त्यहाँ काम गर्ने जनशक्तिलाई सैद्धान्तिक रुपमा नागरिक उड्डयनबारे आधिकारिक जानकारी हुँदैन। यतिसम्मको पनि ज्ञानको मेलोमेसो नहुनुले मन्त्री, सचिव र तिनका सहयोगीमा समेत हवाई सुरक्षाको वास्तविक ज्ञान प्रस्ट हुन्छ।
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्धता गरेका छन्।
शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापनमा एकरूपता, शिक्षकको पेसागत क्षमता विकास तथा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले सामूहिक प्रतिबद्धता-पत्र जारी गरिएको हो।
प्रतिबद्धता-पत्रमा सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा र शिक्षक महासंघलगायत सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।
जिल्लास्तरमा परीक्षा अनुगमन प्रणालीमा एकरूपता कायम गरिनेछ। एउटा तहको शिक्षा शाखा प्रमुखले अर्को पालिकामा परीक्षा अनुगमन गर्ने तथा कक्षा ६ देखि ९ सम्मका परीक्षा एकैपटक एउटै समयमा सञ्चालन र व्यवस्थापन गर्ने व्यवस्था गरिनेछ। त्यस्तै, जिल्लाका सबै स्थानीय तहमा विद्यालय मर्जर तथा दरबन्दी मिलानको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएको छ।
माध्यमिक तहका विषयगत शिक्षकबिच सिकाइ आदानप्रदानका लागि जिल्लास्तरीय विषयगत शिक्षक गोष्ठी सञ्चालन गर्ने, शिक्षकको पेसागत तथा नेतृत्व विकासका लागि तालिम सञ्चालन गर्ने र शिक्षकको व्यावसायिकता, नैतिकता, अनुशासन तथा जवाफदेहिता अभिवृद्धि गर्ने योजना पनि बनाइएको छ। सामुदायिक विद्यालयप्रति अभिभावकको अपनत्व बढाउन पालिकास्तरमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको क्षमता विकास तथा विद्यालयमा बालमैत्री, समावेशी र गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक संरचना निर्माण र शैक्षिक गतिविधि सञ्चालन गर्ने सहमति भएको सामाजिक विकास कार्यालय कालीकोटका कार्यालय प्रमुख अविराज शाहीले जानकारी दिए।
त्यसैगरी, विद्यालयका भौतिक संरचनाको गुणस्तर कायम गर्न अनुगमन गर्ने, शिक्षा नियमावलीको दशौँ संशोधनअनुसार कार्यविधि निर्माण गरी आर्थिक वर्षभित्र विद्यालयको आन्तरिक व्यवस्थापनसम्बन्धी काम अनिवार्य रूपमा अघि बढाउने बताए।
स्थानीय तहले बजेट विनियोजन गर्दा अनुदान शिक्षकको तलबबाहेक १० प्रतिशत बजेट सुनिश्चित गर्ने, पालिका अनुदानअन्तर्गत नियुक्त शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा एकरूपता कायम गर्ने र न्यूनतम पारिश्रमिक नघट्ने गरी उपयुक्त स्केल निर्धारण गर्ने विषय पनि प्रतिबद्धतामा समेटिएको छ।
खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रपति रनिङ सिल्डलगायत जिल्लास्तरीय प्रतियोगिता सम्बन्धित पालिका र खेलकुद विकास समितिको समन्वयमा सञ्चालन गर्ने, सामुदायिक बालविकास केन्द्रलाई मातृ विद्यालयबाट सञ्चालन तथा व्यवस्थापन गर्ने र जिल्लास्तरमा सूचना प्रविधि (आईसीटी) सम्बन्धी बृहत् तालिम सञ्चालन गर्ने सहमति भएको छ।
जिल्लाका नौ वटै पालिकाको लागत साझेदारीमा शैक्षिक रूपान्तरण, शैक्षिक समस्या तथा पहिचानका विषयमा अन्तरपालिका स्तरीय शैक्षिक सम्मेलन तथा गोष्ठी आयोजना गरिनेछ। पहिलो सम्मेलन महावै गाउँपालिकामा सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ।
यसका साथै बालविवाह, सामाजिक कुरीति, लागुऔषध दुरुपयोग तथा डिजिटल प्रविधिको दुरुपयोग रोक्न सरोकारवालाहरूले प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अवलम्बन गर्ने सहमति गरेका छन्।
सामूहिक प्रतिबद्धता-पत्रमा उल्लेखित १९ बुँदालाई कार्यान्वयन गर्दै जिल्लाको शैक्षिक अवस्थामा सुधार ल्याउन सम्बन्धित निकायबिच समन्वय, सहकार्य र साझा जिम्मेवारीलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...