राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षणपछि आसपासका बस्तीमा एक्लै पुगेर नागरिकसँग कुराकानी गर्ने बताएका हुन्।
लामिछानेले आफू जनतासँग भेट्न जाँदा पार्टीका कुनै पनि नेता तथा कार्यकर्ता साथमा नआउन आग्रह गरे।
‘म नेताहरूबाट घेरिएर होइन, जनताहरूबाट घेरिन चाहन्छु। म एक्लै जान्छु, तपाईंहरू प्रशिक्षणमा बस्नुस्,’ उनले भने।
उनले विमानस्थलदेखि विमानस्थलसम्म पुग्दा नेता तथा कार्यकर्ताले घेरिने र तिनै व्यक्तिहरू तस्बिरमा देखिने गरेको बताए।
‘धेरै भयो जनतासँग नबसेको। एयरपोर्टदेखि एयरपोर्टसम्म पुग्दा नेताहरू र कार्यकर्ताबाट घेरिन्छु। तिनै साथीहरू वरिपरि फोटोमा देखिन्छन्,’ उनले भने।
लामिछानेले यसपटक फोटो र भिडियो खिचाउनेभन्दा नागरिकका समस्या सुन्ने उद्देश्यले बस्तीमा जान चाहेको बताए।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो भ्रमणको तस्बिर देखाएर आफू सभापतिसँग नजिक रहेको वा उम्मेदवारको टिकट पाउने दाबी नगर्न पनि आग्रह गरे।
‘त्यो फोटो देखाएर म निकै नजिक छु, मैले नै टिकट पाउने हो भनेर बेच्न त पाइन्न,’ उनले भने।
लामिछानेले नागरिकसँगको भेटलाई राजनीतिक प्रचारभन्दा पनि आत्मीय सम्बन्धका रूपमा लिनुपर्ने बताए।
उनले आफू कहाँ जाने भन्ने ठाउँसमेत तय नगरेको उल्लेख गर्दै आसपासका बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने बताए।
२१ मिनेट अघि
•
१ मिनेट पाठ