न्यायपूर्ण भूमि वितरणको अवसर
०४ माघ २०८१
•
१० मिनेट पाठ
न्यायपूर्ण भूमि वितरणको अवसर
मौलिक हकको व्यवस्था




आवासको अधिकारलाई संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ। धारा ३७  ‘आवासको हक’ अन्तर्गत उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भनिएको छ। दोस्रोमा कानुनबमोजिमबाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको बासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन भन्ने उल्लेख छ। यसले आफ्नो स्वामित्वमा रहेको जमिनमा बनेको घरमा बसोबास गर्नेहरूलाई मात्र जबर्जस्ती निष्काशनविरुद्वको संवैधानिक संरक्षण प्रदान गरेको छ। आफ्नो निजी रैकर जमिन नभई सरकारी वा जग्गा लिजमा लिएर बस्नेहरूको जबर्जस्ती निष्काशनविरुद्वको हक संरक्षण गरिएको छैन।

उपधारा १ जो उक्त व्यवस्था सारमा कार्यान्वयनमा आएको छैन। सरकारले सञ्चालन गरेको भनिएको आवास कार्यक्रमले आवासविहीनलाई फाइदा पुग्न सकेको छैन। सुरक्षित आवासविहीनको गतिलो तथ्याङ्क पनि उपलव्ध छैन। उपदफा २ आवासविहीन, जो कुनै विकल्प नभएर सरकारी जग्गामा दशकौँदेखि बसोबास गरेका छन्, उनीहरूको विपरीत छ। र, यो उपदफा भने निरन्तर प्रयोग भइरहेको छ, आवासविहीनको अहितमा।

यसरी हेर्दा संविधानको मौलिक हकमा व्यवस्था गरिएको हक नै गरिब र आवासविहीनहरूको उठिबासका लागि आधार बनेको छ। मौलिक हकको व्यवस्थाले धनीहरूको हक संरक्षण गरेको छ भने गरिबहरूलाई उठिबास लाउने आधार दिएको छ। खासमा राज्यले संरक्षण त कमजोर वर्गको गर्नुपर्ने हो।

२०७२ सालमा संविधान जारी भएयता विभिन्न जिल्लामा सयौँ बस्ती जबर्जस्ती भत्काइएको वा आगलागी गरिएको छ। गरिब सुकुमबासीहरू अमानवीय जीवन जिउन बाध्य बनाइएका छन्। यसबीचमा आवाससम्बन्धी ऐन पनि आएको छ। यसले पनि आवासविहीनको हित संरक्षण गर्न सकेको छैन। ऐनको कार्यान्वयनमा पनि कुनै प्रभावकारी कदम उठाइएको छैन।

उदाहरण हेरौँ– २०८० असारमा धनगढी उपमहानगरपालिकाको पुरानो एयरपोर्ट क्षेत्रको सरकारी जग्गामा दशकौँदेखि बसोबास गर्दै आएका १३ परिवारलाई नगरपालिका प्रशासनले जबर्जस्ती निष्काशन ग¥यो। उक्त घटनाकै सेरोफेरोमा कैलालीकै भजनीमा करिब सय परिवार भूमिहीनलाई डिभिजन वन कार्यालय, सामुदायिक वन समितिले डोजर लगाएर घरहरू भत्कायो। वर्षात्को समयमा गरिबको बिचल्ली बनायो। यी भूमिहीनको अहिलेसम्म पनि बासको ठेगान हुन सकेको छैन। यस्ता उठिबासका कार्य अन्य जिल्लामा पनि भइरहेका छन्।

सवाल भूमि आयोगको

भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने भनेर २०७७ सालमा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भएको थियो। उक्त आयोग १६ महिनामा विघटन गरियो। फेरि लगत्तै राष्ट्रिय भूमि आयोग बन्यो। उक्त आयोग  २४ महिनामा विघटन गरियो। २०८० चैत ८ गते आयोग विघटनपछि मुस्किलले २०८१ कात्तिकमा फेरि भूमि समस्या समाधान आयोग बनेको छ। जिल्ला समितिका अध्यक्षहरूले पुसको २९ गते सपथ लिएका छन्। तर जिल्ला समितिहरूले अझै पूर्णता पाएका छैनन्।

आयोगमा भूमिसम्बन्धी अनुभव भएका कम र अनुभव नभएका बढी छन्। अनुभव त हासिल गर्न सकिन्छ तर केही पात्रहरू ठेकेदार, उद्योगी व्यवसायीबाट पनि पर्नुचाहिँ चिन्ताको विषय छ। काम गर्न आएको हो कि बराल्न आएको हो ? पार्टीले किन त्यस्तो व्यक्तिलाई बोक्नुपर्ने हो ? जे होस्, जिम्मेवारी लिएपछि इमानदारीपूर्वक काम भएन भने खबरदारी गर्नैपर्छ। भूमिहीनको विषयमा घात गर्ने अधिकार कसैलाई हुनु हुँदैन।

लागु नहुने कानुन

कानुनहरू गरिबमुखी छैनन्। भएका पनि लागु हुँदैनन्। यसका लागि संविधानको धारा ४० हेरौँ। जसमा दलितको हकअन्तर्गत राज्यले भूमिहीन दलितलाई कानुनबमोजिम एक पटक जमिन उपलब्ध गराउने र राज्यले आवासविहीन दलितलाई कानुनबमोजिम बसोबासको व्यवस्था गर्ने भन्ने व्यवस्था छ। यसको मर्म भनेको आवासविहीन दलितलाई आवास र भूमिहीन दलितलाई खेतीका लागि पनि जमिन उपलब्ध गराउने भन्ने हो। तर भूमिसम्बन्धी ऐन, २०२१ को आठौँ संशोधनले पनि भूमिहीन र अव्यवस्थित बसोबासीलाई पूर्णरूपमा न्यायिक व्यवस्था गर्न सकेको छैन। भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई आवास वा कृषिमध्ये एक प्रकारको मात्र जमिन दिन सकिने व्यवस्था गरेको छ भने अव्यवस्थित बसोबासीलाई भने आवास र कृषि दुवै जमिन उपलब्ध गराउने व्यवस्था छ।

यो त भयो काननुमै रहेको विभेदको कुरा। त्यही कानुन र त्यसअन्तर्गत नियमावलीमा रहेको व्यवस्थालाई पनि व्यावहारिकरूपमा कार्यान्वयनमा लगेर भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई केही हदसम्म न्याय गर्न सकिने ठाउँ नभएको होइन। तर यसका लागि जुन तत्परता चाहिने हो त्यो अझै कमी नै छ। भूमिहीन दलित र भूमिहीन सुकुमबासीको पनि एउटै स्थिति छैन। कसैले सरकारी जमिन नै भए पनि पाँच कठ्ठादेखि माथि जमिन उपयोग गर्दै आएका छन्।

कसैको १० वा पाँच धुरभन्दा कम जमिन छ। खासगरी भूमिहीन दलित परिवारले उपयोग गर्दै आएको जग्गा अधिकांशको अति न्यून, एउटा सुरक्षित घर बनाउन पनि नपुग्ने अवस्थाको छ। उनीहरूलाई अहिले जति जमिन छ, त्यति मात्र दिने हो भने उनीहरूको भूमिहीनको रेकर्ड मात्र कट्टी हुन्छ। उनीहरूको जीवनमा कुनै परिवर्तन आउँदैन।

जीवनमा के परिवर्तन आउनु ? साँच्चै भन्ने हो भने एउटा घर बनाउने जमिन पनि उनीहरूले प्राप्त गर्दैनन्। यसो भयो भने भूमि समस्या समाधान आयोग बनाएर जे गर्न खोजिएको हो त्यो उद्देश्य हासिल हुँदैन। यसले त ऐतिहासिकरूपमा अन्यायमा परेका वर्गलाई थप अन्याय हुनेछ।

दलित भूमिहीन र भूमिहीन सुकुमबासी जसले दुई कठ्ठा, तीन कठ्ठा वा चार कठ्ठा जमिन भोगिरहेको छ, उसलाई त त्यति जमिन दिए हुन्थ्यो नि तर दिइएको छैन। सप्तरीको एक पालिकामा यस्तै गरिएको छ। करिब तीन कठ्ठाको दरले जमिन उपयोग गर्दै आएका परिवारलाई कानुन र नियमअनुसार त्यति नै जमिनको जग्गा धनी प्रमाण पुर्जा दिन सकिने हो तर उनीहरूलाई दिइएको छैन। उनीहरूलाई केवल १५ धुर मात्र जमिन उपलब्ध गराइएको छ। यसमा स्थानीय जमिनदार र त्यसको प्रतिनिधित्व गर्ने वडा अध्यक्षहरूको कपट देखिएको छ।

यस्तो स्थिति नहोस् भन्नाको लागि भूमि समस्या समाधान आयोगले कार्यविधि बनाउँदा भूमिहीन दलित र भूमिहीन सुकुमबासीले कानुन र नियमले पाउने जग्गाको हदसम्म उपयोग गर्दै आइरहेकामा सोभन्दा घटाएर दिन नमिल्ने प्रावधान राख्न खोज्दा त्यसमा सहमति हुन सकेन। केहीको असहयोगले मस्यौदामा राखिसकिएको व्यवस्था हटाइयो। गरिब भूमिहीनको हक संरक्षण गर्न खोज्दा त्यो जमिनदार वर्गका केही कर्मचारीलाई सह्य भएन।

संविधानकै धारा ५१ (ञ) मा एउटा महत्त्वपूर्ण व्यवस्था छ। जसमा मुक्त कमैया, कमलरी, हरूवा÷चरुवा, हलिया, भूमिहीन, सुकुमबासीहरूको पहिचान गरी बसोबासका लागि घर घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुनस्र्थापना गर्ने उल्लेख छ।

यो व्यवस्था कार्यान्वयन हुन सके गरिबी निवारण र सामाजिक न्याय स्थापनामा कति योगदान हुन्थ्यो। यसतर्फ सरकारले आयोगमार्फत् जे गर्न खोजेको छ, यसलाई खेलाँची ठान्ने र एकापसमा द्वन्द्व सिर्जना गरेर असफल बनाउन खोज्ने प्रपञ्च सुरु भइसकेको छ। यसबाट जोगिएर काम गर्न आवश्यक छ।

भूमिहीनताको असर

जमिन प्रकृतिले नै उपलब्ध गराएको सुन्दर उपहार हो जसले पृथ्वीमा प्राणीलाई बाँच्न र गरिखान सम्भव तुल्याएको छ। जमिन सबैका लागि आवश्यक पर्ने विषय हो, जीविकोपार्जनको मूल आधार हो, संविधानद्वारा सुनिश्चित गरिएको मौलिक अधिकार हो तर स्थिति यस्तो छैन। भूमिहीनले जमिनको उपयोग गर्न पाएका छैनन्।

हुनेखाने र ठूलाठालुले यसको ठूलो हिस्सा ओगटेका छन्। जमिनलाई वस्तुसरह बेचबिखन गरेका छन्। नाफा कमाउने साधनका रूपमा उपभोग गर्दै आइरहेका छन्। सीमित मानिसले थुप्रै जमिनमाथि स्वामित्व कायम गर्नाले मानवको ठूलो जमात भूमिहीन बन्न पुगेको छ। भूमिबाट वञ्चित रहनुपर्ने अवस्थाले उनीहरूको चौतर्फी विकास र अधिकारमा आघात पुगिरहेको छ।

भूमि वितरणको काम ख्यालख्याल, प्रयोगको विषय होइन। सके गर्ने, नसके पनि के जान्छ र भनेर गर्ने काम होइन। हजारौँ भूमिहीन, गरिबहरू जमिन प्राप्तिका लागि दशकौँदेखि कुरिरहेका छन्। अन्याय, विभेद र असमानतामा बाँच्न विवश लाखौँ गरिब जनताका निम्ति भूमि जीविका, पहिचान र न्यायको विषय हो। उनीहरूको जीवनमा परिवर्तन नआएसम्म आमजनतासम्म लोकतन्त्रले दिएको अवसर पुग्न सक्दैन।

नेपालमा लाखौँ गरिब, भूमिहीनहरूको समस्याको उपयुक्त सम्बोधन लामो समयदेखि इतिहासको लामो कालखण्डमा हुन सकेन। सुकुमबासीलाई उल्टै खिसिट्युरीको विषय बनाइएको छ। समस्यालाई समाधान गर्नेभन्दा पनि राजनीतिक लाभ र हानिको दाउपेचका रूपमा यसलाई लिइएको छ।

अहिले गठन भएको आयोगले काम गर्न सकेन भने यो आयोगको मात्र असफलता हुँदैन। भूमि व्यवस्था मन्त्रालय, यसका मातहतका नापी विभाग, नापी कार्यालय, भूमि व्यवस्था तथा अभिलेख विभाग र यसअन्तर्गतका मालपोत कार्यालय र सिङ्गो सरकारकै असफलता हुन्छ। हामी भूमि अधिकारकर्मीहरूको पनि एक हिसावले असफलता हुन्छ।

एकथरीलाई मात्र दोष लगाएर उम्किन मिल्ने अवस्था छैन। यो समस्या समाधान भएन भने यसले सबभन्दा बढी भूमिहीन दलित र सुकुमबासीलाई अनि अव्यवस्थित बसोबासीलाई अन्याय हुन पुग्छ। धैर्यको बाँध टुट्न खोजेको अवस्था छ। अन्तिम आसमा भूमिहीन र अव्यवस्थित बसोबासी रहेका छन्। यस आसलाई निराशामा बदल्न दिनु हुँदैन।

किन आवश्यक छ भूमिहीनता अन्त्य ?

लोकतन्त्रले उपलब्ध गराउने अवसरमा सबैको नागरिकको उत्तिकै हक रहनुपर्छ। त्यसका निम्ति विगतले गरेको विभेद र असमानताहरूको अन्त्य अपरिहार्य छ। नेपालमा लाखौँ गरिब, भूमिहीनहरूको समस्याको उपयुक्त सम्बोधन अपरिहार्य छ। न्यायपूर्ण भूमि वितरणबाट त्यो विभेदको अन्त्य र सामाजिक न्याय सुनिश्चितताका निम्ति महत्त्वपूर्ण अवसर समयले अहिलेको राजनीतिक नेतृत्वलाई दिएको छ। समयले सुम्पेको यो कार्यभार पूरा हुनैपर्छ।

भूमिहीनलाई हेप्नेहरू हदबन्दी किन कार्यान्वयन हुँदैन भनेर प्रश्न गर्दैनन्। मोहीले किन जग्गा पाएन भनेर सोध्दैनन्। बिर्ता अझै किन बाँकी छ भनेर प्रश्न उठाउँदैनन्। खेती भइरहेको गुठी जग्गा किसानलाई दिनु न्यायपूर्ण कदम हो भन्दैनन्। भूमिहीन किसानको मुद्दा भनेको निम्छराहरूको, आवाज नभएकाहरूको आवाजसँग सम्बन्धित मुद्दा हो। सदैव लोकप्रिय कदमभन्दा पनि आवाजबिहीनहरूको न्याय गर्ने एक न्यायोचित कदमका रूपमा यसलाई लिएर काम गर्नुपर्छ।

दलितहरू ऐतिहासिकरूपमा अन्यायमा परेका छन्। विगतमा पनि जग्गा पाउनबाट चुकेका छन्। संविधानमा लेखिएको छ– दलितलाई आवास र खेतीका लागि जमिन उपलब्ध गराउने तर व्यवहारमा दलितले घडेरीका लागि पनि पर्याप्त जमिन नपाउने स्थिति छ। जमिन कहाँ छ ? कहाँबाट दिने ? नाम मात्रको जमिन दिएर लगत कट्टा गराउनु ऐतिहासिक भुल हुनेछ। जग्गा खोज्नुपर्छ। यसका लागि विशेष र सचेत पहल हुन आवश्यक छ। भइरहेको जग्गाको नक्शांकन हरेक वार्डले गरेर जमिन उपयोग नगरेकालाई पनि निश्चित जमिन दिएर न्याय गर्नुपर्छ।

दलित भूमिहीनका लागि न्यूनतम जमिन कति हुनुपर्छ भनेर अध्ययन भइरहेको छैन। १० धुर होइन, कम्तीमा दुई कठ्ठा त जमिन उपलब्ध गराउनै पर्छ। होइन भने हामीले चाहेको परिवर्तन ल्याउन सक्दैनौँ। यो दया र मायाको विषय होइन। यो नागरिकको आफ्नो अधिकारको विषय हो।

भूमिहीन दलित र सुकुमबासीका लागि काम गर्ने तर फाइदा ठुला–बडा र जमिनदार वा ठेकेदार वर्गले पाउने भन्ने कुरा अन्यायपूर्ण हुन्छ। ऐतिहासिकरूपमा अन्यायमा परेका वर्गलाई भूमि वितरण कार्य पहिलो प्राथमिकतामा राख्नुपर्छ। र, उनीहरूलाई छुनेखालका कार्यक्रम चाहिन्छ। होइन भने दलित भूमिहीनले फाइदा पाउने छैनन्।

लाभग्राही पहिचानको प्रश्न

सरकारसँग अहिले भएको तथ्याङ्कमा प्रविधि प्रयोग गरेर ‘को भूमिहीन हो, को होइन ?’ भनेर  छुट्याउन पहिलेको जस्तो गाह्रो छैन। फेरि अहिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको लगत लिने काममा स्थानीय तह र वडाहरू नै संलग्न हुने र व्यवस्थित प्रणाली अपनाउने हुँदा यसमा त्यति अप्ठेरो पनि छैन। यस्तो अवस्थामा सुकुमबासी र हुकुमबासी भनेर गरिबको उछितो काटेर के फाइदा ?

जग्गा वितरण गर्नुभन्दा पहिले प्रत्येक पालिकाले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको लगत लिनैपर्छ। जग्गाहरूको लगत पनि लिनैपर्छ। भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई न्यूनतम पनि जमिन दिन नपुग्ने अवस्था छ भने निजी जमिन धेरै भएका अव्यवस्थित बसोबासीलाई सबै जमिन नदिएर निश्चित जमिन भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई दिने नीति लिनुपर्छ।

लगत प्रमाणीकरण नगरीकन जग्गा नापीको काम सुरु नगर्ने र सबै जग्गा ननापी किस्ताबन्दीको हिसाबले जमिन वितरण गर्नुहुँदैन। अर्को विषय भनेको यस्तो जग्गा उपलब्ध गराउँदा पनि जहाँ/जे/जसरी भोग गरेको छ, त्यसैगरी उपलब्ध गराउनेभन्दा पनि कच्ची बस्तीहरूका जग्गा योजनाबद्ध ढङ्गले विकसित गरी उपलब्ध गराउनुपर्दछ।

सुकुमबासीहरू पनि एकै छैनन्। र, अव्यवस्थित बसोबासीहरू पनि एकैसमान छैनन्। अव्यवस्थित बसोबासीहरूलाई जमिन दिने भन्नासाथ रिंगटा लगाउनेहरू पनि छन्। यो पनि गलत हो। ऐतिहासिकरूपमा पछि परेका जाति र उच्च जातका सुकुमबासीहरू पनि एकै होइनन्।

अन्त्यमा,

भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जमिन उपलब्ध गराउँदा उनीहरूलाई त फाइदा हुन्छ नै, साथै सिङ्गो समाज र देशलाई पनि यसबाट फाइदा हुन्छ। जमिनको सदुपयोगबाट समृद्ध हुन सक्ने अनन्त सम्भावना हुँदाहुँदै बहुसङ्ख्यक जनता विपन्नतामा बाँचिरहनु बेठिक हो। मान्छे तथा पृथ्वीका सबै जीवका लागि प्रकृतिको अनुपम उपहार हो जमिन। प्रकृतिका यावत् जीवजन्तुको आश्रयस्थल र जीवन निर्वाहको आधार पनि हो जमिन। त्यसैले जमिनको अधिकतम उपयोग हुनुपर्छ। जमिनमाथिको अधिकार तिनैको हुन्छ र हुनुपर्छ जसले जमिनको दोहन गर्दैनन्। उत्पादन गर्छन्। सदुपयोग गर्छन्।

– देउजा भूमिविज्ञ हुन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
२२ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ६ सेकेन्ड अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस