अन्तल्या अडचनपछि अब के ?
०८ मंसिर २०८३
•
६ मिनेट पाठ
अन्तल्या अडचनपछि अब के ?
गत साता मात्र मैले कोप–३१ मा सहभागी हुन हजारौं मानिस रेल र बसमा खचाखच यात्रा गरिरहेको देखेको थिएँ। इतिहासमै सबैभन्दा धेरै सहभागी आकर्षित गर्न सफल अन्तल्या जलवायु सम्मेलनको हलका करिडोर, विभिन्न देशका पेभिलियन र सभाकक्षहरूमा हजारौं मानिसको भिड थियो। तोकिएको समयभन्दा लम्बिएर भए पनि अन्ततः जलवायु संकट सम्बोधन गर्ने एउटा ठोस सम्झौता हुने उनीहरूमा आशा थियो।




विश्वका झन्डै २०० देशका ती अनुहार आ–आफ्ना देश र संस्थाका प्रतिनिधित्व गर्दै जलवायु संकट समाधानका लागि कुनै ठोस सहमति र उपलब्धि हासिल हुने आशा बोकेर अन्तल्या पुगेका थिए। यसरी विज्ञान, राजनीति र सामूहिक कार्यको संगम टर्कीको अन्तल्या बन्ने अपेक्षा थियो। प्रक्रिया जटिल भए पनि वैज्ञानिक चेतावनीको गम्भीरता राजनीतिक प्रतिबद्धतामा रूपान्तरण हुने झिनो विश्वास यी सहभागीमा थियो। तर निर्धारित समय भन्दा ५० घण्टा बढी तन्किएको सम्मेलन निराशाजनक परिणामका साथ टुंगियो। सहभागीहरूमा केही दिनअघि मैले देखेको त्यो आशा अहिले निराशामा बदलिएको छ।

विज्ञानले दिनानुदिन स्पष्ट संकेत गरिरहेको छ– जलवायु संकट झन् गम्भीर बन्दै छ। पृथ्वीको तापक्रम तीव्र गतिमा बढिरहेको छ र त्यसका असर विश्वभर देखिन थालेका छन्। विनाशकारी बाढी, पहिरो, प्रचण्ड गर्मी, खडेरी, डढेलो र समुद्री सतहको वृद्धिले मानवजीवन र प्रकृतिमाथि गम्भीर संकट निम्त्याइरहेका छन्।

गत भदौ दोस्रो साता निम्तिएको भोटेकोसी विपद् यसको एउटा पीडादायी उदाहरण थियो। हुन पनि अब जलवायुजन्य जोखिमहरू कुनै विज्ञान कथामा सीमित छैनन्, यिनले हाम्रै आँखाअगाडि जनधन, जीविकोपार्जन र पूर्वाधार नष्ट गर्दै छन्, मानव अस्तित्वलाई समेत संकटमा धकेल्दै छन्। यो संकटको घडीमा विश्वलाई अझ बलियो सामूहिक कदमको आवश्यकता थियो।

त्यति नै बेला कोप–३१ राजनीतिक सहमति जुटाउन असफल भएको छ। यो नेपालजस्तो जलवायु जोखिममा रहेका देशका लागि मात्र होइन, अन्तल्यामा ठोस प्रगतिको अपेक्षा लिएर आएका जलवायु सचेत मुलुक र सबैका लागि निराशा र चिन्ताको विषय हो। कोप–३१ को असफलतासँगै कैयन् प्रश्न उठेका छन् र समीक्षा पनि हुन थालिसकेको छ। कोप–३१ किन असफल भयो र जलवायु कार्यलाई अगाडि बढाउन विश्वले अब के गर्नुपर्छ ?

मूल कारणलाई छल्ने प्रयास

कोप–३१ मा सबैभन्दा विवादित विषय जीवाश्म इन्धन रह्यो। अध्यक्षका तर्फबाट प्रस्तावित अन्तिम आवरण निर्णयमा दुबईमा भएको जीवाश्म इन्धनबाट क्रमशः बाहिरिने सहमतिलाई केवल स्मरण मात्र गरिएको थियो। त्यसलाई कार्यान्वयन गर्ने कुनै ठोस मार्ग वा थप प्रतिबद्धता प्रस्तुत गरिएको थिएन। यो त आगलागी भएको घरमा आगो निभाउन दमकल पठाउने तर आगो के कारणले लागेको हो भन्न नचाहने अवस्थाजस्तै थियो। यो क्यान्सरको उपचारबारे छलफल गर्ने तर त्यसको एउटा प्रमुख कारण धूमपान हो भन्ने कुरा स्वीकार नगर्ने धृष्टता थियो। कोइला, तेल र ग्यास विश्व तापमान वृद्धिका प्रमुख कारण हुन्। संयुक्त राष्ट्रसंघका अनुसार विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा करिब ६८ प्रतिशत र कार्बनडाइअक्साइड उत्सर्जनको झन्डै ९० प्रतिशत जीवाश्म इन्धनको हात छ तर प्रस्तावित अन्तिम निर्णयमा ‘जीवाश्म इन्धन’ भन्ने शब्दसमेत समावेश हुन सकेन।

युरोपेली संघ, पानामा र जलवायु जोखिममा रहेका केही मुलुकले जीवाश्म इन्धनबाट बाहिरिने विषयमा स्पष्ट र बलियो भाषा राख्नुपर्ने माग गरेका थिए तर साउदी अरब, इरान र रुसलगायत तेल उत्पादक मुलुकको विरोधका कारण सहमति जुट्न सकेन। वार्तामा जीवाश्म इन्धन उत्पादक राष्ट्रहरूको प्रभाव हाबी भएको र सम्मेलन नै उनीहरूको स्वार्थको बन्धक बनेको देखियो।

अचम्मनै मान्नुपर्छ, विश्वले एकातिर जलवायु आपत्काल स्वीकार त गरेको छ तर त्यसको प्रमुख कारण सम्बोधन गर्ने विषयमा सहमत हुन सकेको छैन। यसले विश्व जलवायु कूटनीतिको एउटा आधारभूत विरोधाभास उजागर भएको छ।

जलवायु वित्त: अधुरो प्रतिबद्धता

कोप–३१ लाई कार्यान्वयनको सम्मेलन भनिएको थियो। अर्थात् विगतका सम्मेलनमा गरिएका प्रतिबद्धता र सहमतिलाई व्यवहारमा उतार्ने सम्मेलनका रूपमा यसलाई हेरिएको थियो। विशेषगरी जलवायु वित्तको विषय यसपटक झन् महत्त्वपूर्ण थियो।

हुन पनि जलवायु वित्त विकासोन्मुख र अल्पविकसित देशका लागि कुनै सैद्धान्तिक वार्ताको विषय मात्र होइन। यो जलवायु उत्थानशील पूर्वाधार निर्माण, समुदायको सुरक्षा, बदलिँदो जलवायुमा अनुकूलन, उत्सर्जन न्यूनीकरण तथा हानि र नोक्सानीको सम्बोधन गर्ने आधार हो। तर यही जलवायु वित्त अर्को प्रमुख विवादको विषय बन्यो।

अति कम विकसित मुलुकहरूको समूहले प्रस्तावित मस्यौदाले अनुकूलनका लागि आवश्यक वित्तीय सहयोग सुनिश्चित गर्न नसकेको भनिरह्यो। अफ्रिकी वार्ताकार समूहले पनि प्रस्तावित वित्तीय मार्गचित्रले वास्तवमै आवश्यक रकम उपलब्ध गराउन सक्छ कि सक्दैन भन्ने प्रश्न उठायो। सम्मेलनका क्रममा प्रस्तावित अनुकूलन तथा उत्थानशीलताका लागि वित्त परिचालन गर्ने अन्तल्यादेखि अदिस अबाबासम्मको मार्गचित्रले आगामी छलफलका लागि बाटो देखाउन सक्छ तर मार्गचित्रले मात्र बाढी, खडेरी, पहिरो र अन्य जलवायु विपद्को सामना गरिरहेका समुदायको सुरक्षा गर्न सक्दैन।

जलवायु संकटमा अग्रपंक्तिमा रहेका देशहरूलाई अर्को अनिश्चित प्रतिबद्धता होइन, पूर्वानुमान गर्न सकिने, सहज पहुँचयोग्य र पर्याप्त वित्त चाहिन्छ। विश्वव्यापी उत्सर्जनमा नगण्य योगदान हुँदाहुँदै पनि जलवायु परिवर्तनको असमानुपातिक असर भोगिरहेका नेपालका यो असफलता झन् निराशाजनक छ।

सहमतिको सिद्धान्त नै अवरोध

संयुक्त राष्ट्रसंघीय जलवायु वार्ता सहमतिमा आधारित छ। करिब २०० पक्ष राष्ट्रको सहभागिता रहने यस प्रक्रियामा प्रत्येक देशको आवाज महत्त्वपूर्ण हुन्छ। विशेषगरी साना तथा जलवायु जोखिममा रहेका मुलुकका लागि यो बहुपक्षीय प्रणाली महत्त्वपूर्ण छ तर केही सिमित देशको असहमतिले बाँकी विश्वको हितलाई रोक्न सक्ने अवस्था सिर्जना हुनु यही प्रणालीको कमजोरी बन्दै गएको छ। फरकफरक स्वार्थबिच सहमति जुटाउन कति कठिन हुँदै गएको छ भन्ने कोप–३१ ले देखाएको छ। यो सन्दर्भमा अब हाम्रा अगाडि प्रश्न छ– के केही देशको स्वार्थका कारण बहुसंख्यक राष्ट्रले चाहेको प्रगतिलाई रोकिराख्न मिल्छ, सकिन्छ ?

अहिले सहमति हुन नसक्ने अवस्थामा मतदान वा अन्य वैकल्पिक प्रक्रियाबाट निर्णय अघि बढाउन सकिन्छ कि सकिन्न भन्ने बहस पनि चर्किन थालेको छ तर यस्तो सुधार गर्दा जलवायु जोखिममा रहेका देशहरूको आवाज र अधिकार कमजोर हुनु हुँदैन। सँगसँगै, शक्तिशाली राष्ट्रको प्रभावलाई थप बढाउने अवस्था पनि आउन दिनुहुँदैन तर अहिलेको निर्णय प्रक्रियाको इमानदार समीक्षा गर्ने समय भइसकेको छ। सहमतिको उद्देश्य सामूहिक कार्यलाई सहज बनाउनु हो, निर्णयहीनताको अवस्था सिर्जना गर्नु होइन।

अन्तल्या अडचनपछि अब के ?

कोप–३१ को असफलता जलवायु कार्यकै असफलता बन्नुहुँदैन। संयुक्त राष्ट्रसंघीय जलवायु प्रक्रियालाई नै परित्याग गर्ने अवस्था सिर्जना हुनु हँुदैन। विश्वव्यापी सहकार्य, जवाफदेहिता, जलवायु वित्त र वार्ताका लागि कोप अझै महत्त्वपूर्ण मञ्च हो तर अब प्रत्येक महत्त्वपूर्ण जलवायु मुद्दामा प्रगति गर्न कोप सम्मेलनकै भर परेर बस्न सकिँदैन र हुँदैन पनि।

संयुक्त राष्ट्रसंघीय वार्ताबाहिर जीवाश्म इन्धनबाट बाहिरिने प्रयासलाई अगाडि गरिने पहल महत्त्वपूर्ण विकल्प देखिएका छन्। यसै वर्ष कोलम्बियाको सान्ता मार्तामा भएको सम्मेलनमा जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा अघि बढ्न चाहने देशहरू सहभागी थिए। आगामी वर्ष टुभालु र आयरल्यान्डको सहआयोजनामा अर्को सम्मेलन गर्ने तयारी छ।

यसैगरी कानुनी बाटो पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ। गत वर्ष अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) ले दिएको परामर्शात्मक रायले जलवायु प्रणालीको संरक्षण गर्न राष्ट्रहरूको कानुनी दायित्वलाई थप स्पष्ट पारेको छ। वार्ताबाट अपेक्षित परिणाम आउन नसकेपछि देश तथा प्रभावित समुदायले अन्तर्राष्ट्रिय र राष्ट्रिय अदालतमार्फत जवाफदेहिता खोज्ने क्रम बढ्न सक्छ। तर यी पहल कोप सम्मेलनका विकल्प होइनन्, बरु यी पूरक बाटो हुन सक्छन्। सबै देशबिच सहमति नजुटे पनि इच्छुक राष्ट्रहरूको गठबन्धन बनाएर जलवायु कार्यलाई अगाडि बढाउन सकिन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
१८ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस