‘दाग लुकाउँदा अपराधीले जित्छ भनेर अघि बढें’
१४ वैशाख २०७८
•
६ मिनेट पाठ
‘दाग लुकाउँदा अपराधीले जित्छ भनेर अघि बढें’
२०७६ भदौ २० गते बिहान करिब ६ बजे विद्यालय जाँदै गरेकी किशोरी मुस्कान खातुनमाथि आपराधिक सोचाइ भएका केही युवाले एसिड अक्रमण गरे। अपराधीहरूले उनको मुस्कान (खुसी) खोस्ने हेतुले अनुहारमा तेजाब खन्याइदिएका थिए। तर त्यो घटनाले पीडा दिए पनि उनको मुस्कान भने खोस्न सकेन। 




बरु मुस्कान आफू मात्र नभई आफूजस्तै पीडा भोगिरहेका अन्य पीडितहरूको पनि सशक्त आवाज बनेर निस्किन्। अपराधीमाथि कडा सजायको व्यवस्था गर्न आवाज उठाइन् र सफल पनि भइन्। उनै मुस्कान साहसिक कदम र आत्मबलका कारण यो वर्षको ‘नागरिक नायक’ बन्न सफल भएकी छन्। मुस्कानसँग नागरिक नायक घोषणा कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले गरेको अन्तरक्रियाको सम्पादित अंश:  

तपाईंले पहिले पनि भनिसक्नुभएको छ, अपराधीहरूले मुस्कान खोस्नका लागि आक्रमण गरेका थिए। तर अपराधीहरूलाई मुस्कानले पराजित गर्नुपर्छ भन्ने साहस कसरी जुटाउनुभयो ?

म एसिडको आक्रमणमा पर्दा एसिडको जलनले छटपटिइरहेकी थिएँ। अस्पतालको बेडमा पुग्दा म आफ्नो अनुहार पनि हेर्न सकिरहेकी थिइन्। तीन/चार महिनापछि मात्र मैले आफ्नो अनुहार हेर्न सकें र जलन र पीडासँगै अत्यन्तै दुःखसमेत लागेको थियो। त्यो पीडा म यहाँ भन्न पनि सक्दिनँ। मलाई एउटा कुराले निकै सताइरहेको थियो। अपराधीले एसिड आक्रमण गरेर यति ठूलो दाग (अनुहारमा) बनायो। यो दाग लुकाएर हिँडे भने त्यो अपराधीको जित हुन्छ भन्ने लाग्यो। तर मलाई अपराधीलाई जोगाउनु थिएन। आफूले जितेर देखाउनु थियो। किनभने मेरो के गल्ती थियो र मैले समाजमा अनुहार लुकाएर हिड्नु ? यो प्रश्न मेरो मनमा उठ्यो। म कहिले पनि लुकेर बस्दिन। त्यो अपराधीको सपना म कहिले पनि पूरा हुन दिँदैन भनेर अघि बढेकी हुँ।

तपाईंमाथि जुन प्रकारको घटना भयो त्यसबाट धेरै अघि आइसक्नुभएको छ। २०७६ भदौ २० गते बिहान ६ बजे स्कुल जाने बेलामा तपाईंमाथि एसिड आक्रमण भएको थियो। अहिले पनि त्यो क्षण सम्झनुहुन्छ कि त्यो बिर्सन चाहनुहुन्छ ?  त्यो पीडालाई म सम्झन चाहन्नँ। किनभने त्यो दिन मेरो लागि कालो दिन थियो। म स्कुल जाँदा तेजाब आक्रमण भएको थियो। त्यतिबेला म आफैलाई थाहा थिएन कि म माथि एसिड आक्रमण भएको थियो भनेर। म अस्पतालको बेडमा पुगेपछि मात्रै एसिड आक्रमण भएको थाहा भयो। तर अहिले म त्यो घटनालाई बिर्सेर अघि बढ्न चाहन्छु। अहिले मभित्र आत्मबल र विश्वास आएको छ। यो विश्वास सबैको साथ सहयोग र हौसलाका कारण आएको हो। जसले गर्दा म यहाँसम्म आएकी छु।

त्यसबेला तपाईले भोग्नुपरेको पीडा त छँदैछ। अहिले पनि तपाईले एसिडले जलेको ठाउँमा पीडा महसुस गर्नुहुन्छ ? हो, अहिले पनि म हप्तामा एक पटक अस्पताल जानुपर्छ। तीन/तीन महिनामा सल्यक्रिया गर्नुपर्छ। छालाको सुरक्षाका लागि दिनमा पाँचपटक फिजियोथेरापी गर्नुपर्छ। अहिले पनि एसिडले जलेको ठाउँमा दुखाइ र पीडा हुन्छ। दुखाइ सहेर पनि फिजियोथेरापी गराउनुपर्छ। यो गरेन भने छाला खुम्चिँदै जान्छ। त्यसैले अहिले पनि म उपचाररत नै छु र लामो समयसम्म पनि उपचार चलिरहन्छ।

तपाइँ आफूले भोगेको समस्याबाट अघि बढेर साहसिक काम गर्नुभयो। यसको मूल्यांकन गर्दै यो वर्ष अमेरिकाले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार समेत प्राप्त गर्नुभयो। कोरोना संक्रमण नभएको भए अमेरिकी प्रथम महिलाबाट उक्त पुरस्कार ग्रहण गर्नुहुन्थ्यो होला। तपाईंले उहाँहरूसँग भर्चुअल माध्यमबाट कुरा गर्नुभयो। त्यतिबेला कस्तो महसुस भएको थियो ?  

त्यतिबेला मलाई अत्यन्तै खुसी लागेको थियो। मेरा लागि त्यो जीवनकै सबैभन्दा ठूलो खुसी थियो। त्यो खुसी यहाँहरूकै हौसला र सहयोगका कारण सम्भव भएको हो। त्यो सम्मान मैले मात्र होइन सिंगो नेपालले पाएको हो। यो एकजना चेलीले मात्रै होइन, हरेक चेलीले पाएको हो। यो सम्मानले मेरो आत्मबल र विश्वास थप बढेको छ। मैले अझै धेरै काम गर्नेछु। मेरो अझै धेरै सपना थपिएको छ। यो घटना नभएको भएदेखि तपाईं ११ कक्षामा पढ्दै गरेको हुन्थ्यो होला, यसै कारणले गर्दा तपाईंको दुई वर्ष ‘लस्ट’ भयो। छुटेको पढाइलाई अहिले कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?  

मेरो बाबाले भन्ने गर्नुहुन्छ, अलिकति ग्याप भयो भने केही फरक पर्दैन। किनभने जीवन आफ्नो हातमा हुन्छ। जीवनलाई राम्रो र नराम्रो पार्ने हाम्रै हातमा हुन्छ। दुई वर्ष ‘लस्ट’ भएर केही पनि हुँदैन, तिमीले अहिले पनि पढाइलाई निरन्तरता दिनुपर्छ भनेर मेरो बाबाले आत्मबल दिने गर्नुहुन्छ। मम्मीले पनि मेरो आत्मबल बढाइरहनुभएको छ। त्यसैले मैले अहिले ९ कक्षामा दोहोर्‍याएर पढिरहेकी छु।

तपाईं पढाइबाहेक पेन्टिङ पनि गर्नुहुन्छ। कस्तो किसिमको पेन्टिङ बनाउन मन पर्छ ?  

मलाई के लाग्छ भने जीवनमा सबै कुरा गर्नुपर्छ। त्यसैले मैले पेन्टिङ पनि बनाएँ। त्यो बनाउँदा मलाई निकै खुसी लागेको थियो। मलाई जुन सुकै चिजको पेन्टिङ बनाउँदा पनि खुसी लाग्छ। किनभन आफ्नो हातले बनाएको चित्र जे बनाएपनि त्यो राम्रो हुनेरहेछ।

तपाईं पढाइबाहेक पनि ‘सेल्फ डिफेन्स’ सम्बन्धी तालिम पनि लिनुहुन्छ। तपाईंलाई किन यस किसिमका तालिम लिनुपर्छ जस्तो लाग्यो ?  

पहिले नै आफ्नो सुरक्षाका लागि कुनै न कुनै तालिम लिएको भए सायद मैले आफूलाई बचाउन सक्थेहोला। म एसिड आक्रमणमा परेपछि यो कुरा महसुस भयो। किनभने हामी आफैलाई थाहा हुँदैन कहाँ जाँदा के कस्ता कुराको सिकार हुनुपर्छ भनेर। अब मलाई मात्र होइन हरेक छोरीहरूलाई यस किसिमका तालिम दिन आवश्यक छ। सहर होस् वा गाउँघर हरेक बाबा आमाले छोरालाई बलियो बनाउनका लागि विभिन्न तालिमहरू दिने गर्नुहुन्छ। तर मेरो अनुरोध छ, अब छोरोलाई मात्र होइन छोरीलाई पनि त्यस किसिमका तालिमहरू दिनुहोस्। जसले गर्दा छोरीहरू पनि निर्धक्कसँग हिड्डुल गर्न सकुन। हाम्रोमा एउटै कोखबाट जन्मिएको छोरीलाई जसरी संस्कार दिएका हुन्छौँ, छोरालाई पनि त्यसरी नै संस्कार दिनुपर्छ। जसरी घरमा आमा, छोरी भनेर सम्मान गर्छौं, बाहिर पनि त्यसरी नै सम्मान गर्न आवश्यक छ। यस किसिमको सम्मान हुने गरेको भए सायद यस किसिमका घटना हुनेनै थिएनन्।

अनि यस किसिमका आक्रमण गर्ने अपराधीलाई कडा कारबाही होस् भनेर तपाईंले प्रधानमन्त्रीसँग पनि भेट्नुभयो। तपाईंको प्रधानमन्त्रीसँगको कुराकानी कस्तो रह्यो ?  

म अस्पतालको बेडमा पीडा र जलनले छटपटिँदै गर्दा पुरानो कानुनका बारेमा सुने। त्यो कानुनी व्यवस्थाका बारेमा सुन्दा मलाई आफूलाई लागेको घाउचोटको भन्दा पनि बढी पीडा महसुस भएको थियो। किनभन हाम्रो कुनै गल्ती नहुँदा पनि जीवनभर पीडा सहनु पर्ने तर अपराधीलाई किन यति थोरै सजाय भन्ने लाग्यो।

पहिलाको कानुनमा घाउचोट हेरेर सजायको व्यवस्था गरिएको थियो। तर मलाई अपराधीलाई पीडितको घाउचोट हेरेर होइन, अपराधीको सोच हेरेर सजाय दिनुपर्छ भन्ने लाग्यो। यस विषयमा मैले प्रधानमन्त्रीज्यूलाई चिठी पनि लेखेको थिएँ र धेरै ठाउँमा आवाज पनि उठाएँ। मैले संघर्ष गर्दै गर्दा प्रधानमन्त्रीज्यूले हाम्रो पीडा बुझेर बोलाउनुभयो। प्रधानमन्त्रीलाई भेटेर कानुनका बारेमा कुरा गर्ने अवसर मिल्यो। म त्यहाँ आफ्ना लागि मात्र गएको थिएन।

एसिड आक्रमणमा परेकाहरूको प्रतिनिधित्व गर्दै गएकी थिएँ। यो मेरो मात्र पीडा होइन। एसिड आक्रमणमा परेका हरेकको पीडा हेरेर कानुन बनाउन आग्रह गरेकी थिएँ। हाम्रो प्रधानमन्त्रीज्युले हाम्रो पीडा बुझेर एकदमै छिटो, १५ दिन भित्रमा कडा कानुन ल्याउनुभएको छ। तर कानुन कडा भएर मात्र हुँदैन, जनचेतना पनि जगाउन आवश्यक छ। र मैले जनचेतना फैलाउन पहल गर्नेछु। समाज सेवा गर्नेछु। आगामी दिनमा मेरो अरू पनि सपना छ। त्यो पनि पूरा गर्नेछु।
अर्को समाचार
शान्ता-उडान
१६ वैशाख २०८१
•
६ मिनेट पाठ
शान्ता-उडान
धरानमा हुर्कंदै गर्दा शान्ता नेपालीले कहिल्यै छोरीजस्तो हुनुपरेन। बुवा भारतीय सैनिकमा हुनुभएकाले घरमा ज्यादै अनुशासन थियो तर स्वतन्त्रता पनि उत्तिकै थियो। उनी पढाइमा पनि राम्रै थिइन्।




एसएलसीपछि उनले मोडलिङ अपनाइन्। त्यो बेला धरान मोडलिङका लागि तेस्रो ठूलो शहर थियो। त्यसपछि उनी पत्रकारितातर्फ आकर्षित भइन्। पत्रकारिता नै गर्ने भए किन सानो ठाउँमा बस्ने भन्ने लागेपछि उनी काठमाडौँ आइन् र एफएम रेडियोमा सक्रिय हुन थालिन्। पछि तराई टेलिभिजन (टिटिभी) मा उनले यात्रासम्बन्धी कार्यक्रमहरू बनाउन थालिन्।

यात्रासम्बन्धी कार्यक्रम उत्पादन गर्दा उनले क्यामेराका ट्राइपडहरू बोक्नुपर्थ्याे। त्यो देख्दा दूरदराजका मानिसहरू छोरी मान्छे भएर पनि यत्रो भारी बोकेको भनेर छक्क पर्थे। घाँस र दाउराका भारी बोक्न सक्ने महिलाले ट्राइपड बोक्नु कुन ठूलो कुरा होला र? तर पनि मान्छे आश्चर्यले हेर्थे।

सानैदेखि केटाहरूले पनि नआँट्ने काम उनलाई प्रयास गर्न मन लाग्थ्यो। एक त बुवाको हक्की स्वभाव, त्यसमाथि कठिन काममै उनको रुचि, यसले उनलाई अन्यको तुलनामा पृथक् सञ्चारकर्मी बनाइदियो।

आफ्नो पत्रकारिताको यात्रामा पर्यटनसम्बन्धी काम गर्न पाउनु उनी जीवनकै सबैभन्दा सुन्दर क्षण मान्छिन्। किनभने उनले त्यसै अवधिमा देश बुझ्ने अवसर पाइन्। नयाँ काम सिक्न पाइन्। नयाँ नयाँ अवसर उनलाई यही घुमाइले दियो।

१५ वर्षको यो घुमाइ र यसबाट आर्जित अनुभवले उनलाई देशकै चर्चित र विश्वासिलो फिल्म प्रोडक्सन हाउसमा परिणत गरेको छ। उनको कम्पनी शान्ता नेपाली प्रोडक्सनले संसारभरका कम्पनीसँग मिलेर फिचर फिल्म, डकुमेन्ट्री लगायतका प्रोडक्सनमा काम गर्ने गरेको छ।

उनले नेसनल जियोग्राफिक, डिस्कभरी लगायत संसारका कयौँ विदेशी टेलिभिजन च्यानलका लागि पर्यावरण, संस्कृति आदि विषयमा ‘लाइन प्रोड्युसर’का रुपमा काम गरेकी छन्।

नेपालकै कतिपय निर्देशकका लागि निर्माण गरिदिने वा सहनिर्माणमा भूमिका खेल्ने काम उनले गरिरहेकी छन्। यत्तिका वर्षको अनुभवले संसारका राम्रा फिल्म प्रोडक्सन कम्पनीहरूले उनलाई नै सम्झने गरेको छ।

नेपालमा गुपचुप काम गरिरहेकी भए पनि उनको चर्चा कति छ भने केही वर्षअघि हलिउडका प्रख्यात अभिनेता मोर्गन फ्रिम्यानसँग समेत काम गरिन्। एकताका फ्रिम्यानले नेपाली ढाका टोपी लगाएको तस्बिर निकै भाइरल भएको थियो। फ्रिम्यानले नेपालमै खिचेको डकुमेन्ट्रीको केही अंशका लागि लगाएको ढाकाटोपी भाइरल बनेको थियो।

यसबाहेक खुसखबर सुनाउन उनीसँग एउटा कथा छ। त्यो कथा के भने, हालै एउटा फिल्म ‘द सेमलेस’ले विदेशका विभिन्न चलचित्र महोत्सवमा चर्चा बटुल्न थालेको छ। यो फिल्मको कथा भारतीय कुनै क्षेत्रको भए पनि विषयको संवेदनशीलताका कारण फिल्म छायाँकनका लागि नेपाल छानिएको थियो। यसबाहेक पनि अन्य दुई डकुमेन्ट्रीहरू त विभिन्न महोत्सवमा पुरस्कृत समेत भएका छन्।

प्रतिभाशाली फिल्मकर्मीहरूको सानो समूह, अन्य देशको तुलनामा महँगो ठाउँ, बढ्दो प्रोडक्सन मूल्यका बाबजुद विदेशीहरू यहाँको कथा, यहाँका दृश्यहरू खिच्न आइरहेका हुन्छन्। उनको कम्पनीले ती कम्पनीलाई सहजीकरण गर्नेदेखि निर्माण सहयोगीको भूमिकासमेत खेलिरहेको हुन्छ। कतिसम्म भने उनले हलिउडका कयौँ कम्पनीसँग सहकार्यमा सानातिना कयौँ प्रोडक्सनहरू सम्हालेकी छन्।

मूलधारभन्दा अलग रहेर आफूलाई रुचि लागेका फिल्म, डकुमेन्ट्री उत्पादन तथा सहजीकरण गरेरै उनले नेपालमा पनि यत्तिको सक्षम जनशक्ति रहेछ भन्ने प्रभाव पार्न उनी सफल भएकी छन्। उनको जस्तो काम गर्ने कम्पनी नेपालमा निकै सीमित छन्, तीमध्ये उनी आफ्नो कम्पनी अब्बल बन्न पुगेकामा सन्तोष मान्छिन्।

त्यसो त उनले हातमा परेका सबै काम लिन्नन्। आफूलाई जँचेका विषय र फिल्महरू मात्र उनले निर्माणमा सघाउँछिन्। यसो गर्दा उनको प्राथमिकता पैसाभन्दा पनि सन्तुष्टि हुने गरेको छ। ‘म यत्रो वर्ष यस क्षेत्रमा टिक्नुका पछाडि सन्तुष्टि नै हो,’ शान्ता भन्छिन्, ‘नभए त म अर्कै पेसा छानिसक्थेँ होला!’

दलित परिवारबाट उठेर यो मुकाम फेला पार्नु शान्ताका लागि सजिलो पक्कै थिएन तर बुवाले दिनुभएको अनुशासनको आकारले उनलाई अप्ठेरो परिस्थितिसँग जुझ्न सजिलो बनाइदियो।

काम गरिसकेपछि इमान्दारीपूर्वक र प्रभावशाली तरिकाले गर्नुपर्छ भन्ने मान्यता राख्ने शान्ताले बनाएको ‘जातको प्रश्न’ टेलिभिजन कार्यक्रमले एउटा बहस छेडेको थियो। त्यति संवेदनशील विषयमा, त्यत्तिको प्रभावशाली टेलिभिजन कार्यक्रम अझै बन्न सकेका छैनन्। उनले निर्माण गरेका ती दुई सिजनको चर्चा अझै हुने गर्छन्।

यो यति प्रभावशाली शृंखला किन पनि भयो भने उनी स्वयं दलित परिवारबाट उठेकी थिइन् र कहाँ कहाँ समस्या छ भन्ने उनलाई थाहा छ। थाहा पाएको विषयमा पीडितवर्गबाटै कुरा उठ्दा यसको प्रभाव यति फराकिलो भएको उनको बुझाइ छ।

उनी भन्छिन्, ‘हेर्दा दलित र गैरदलितबीच उति धेरै समस्या छैन भन्ने लाग्छ तर भित्रभित्र यो ठूलो समस्या छ। अहिलेको २१ औँ शताब्दीमा पनि पुरातन सोचबाटै कसैमाथि विभेद हुनु लज्जास्पद कुरा हो। कम्तीमा अहिले यो छलफल हुन थालेको छ। पहिले त यति पनि हुन्थेन।’

शान्ता दलित तथा पिँधका जातिहरूका लागि फड्को मार्न ढिला भइरहेको बताउँछिन्। बिस्तारै विकास हुन्छ भन्ने उनी मान्दिनन् किनभने अहिलेको पुस्ता तुरुन्तै परिणाम चाहिएको छ। हिजोको दलन आज पनि भोग्न किन तयार हुनु? भन्ने उनको प्रश्न छ।

देशमा काम गर्ने वातावरण छैन भन्नेहरूका लागि उनले गरेका कामहरू ईष्र्यालाग्दा उदाहरणहरू बन्न पुगेका छन्। अझ त्यसमाथि एउटी महिला कार्यकारी प्रमुख भएको कम्पनीले छनोट गरेका प्रोजेक्ट, त्यसको सफल कार्यान्वयन र प्राप्त अन्तर्राष्ट्रिय ख्यातिले धेरै पुरुषहरूका लागि पनि उनी प्रेरक व्यक्तित्व बन्न पुगेकी छन्।

‘नेपालमा काम गर्न गाह्रो छ तर नेपालजस्तो अप्ठेरो देशमा काम गर्न सक्नेको भविष्य भने उज्यालो छ,’ उनी मुस्कुराउँदै भन्छिन्, ‘साना साना कुरामा पनि नेपालीले धेरै मिहिनेत गर्नुपर्छ। यसले समय भने धेरै लगाइदिन्छ। छोटो समयमै सकिने काम पनि लम्बिएको लम्बियै गर्छ।’

उनले एउटा अप्ठेरो उदाहरण सुनाइन्। सगरमाथा आधार शिविरमा एउटा दृश्य खिच्नुपर्ने थियो। नियमअनुसार, खिच्ने बेलामा एक जना लियाजो अफिसर पनि सुटिङ स्थलमा हुनुपर्छ।

आधार शिविरमा एक जना थप सदस्य हुँदा त्यसको खर्च यति बढ्यो कि शान्ताले दिएको बजेटभन्दा बढी हुन पुग्यो। यो खर्च उनको नजरमा अनावश्यक हो। यस्ता साना साना अप्ठेराहरूले बढाउने बजेटले देश सुटिङ हब बन्न नसक्ने उनको धारणा छ।

देशमा सरकार अलि बढी संवेदनशील हुने हो, यहाँ सुटिङ गर्न आउनेहरूलाई राम्रो वातावरण दिने हो भने नेपाल सुटिङ हबको रुपमा विकसित हुने सम्भावना भने उनी भरपूर देख्छिन्। यसका लागि नेपालको चलचित्र विकास बोर्डले सहजीकरण गर्नुपर्ने उनको बुझाइ छ।

कुनै फिल्म नेपालमा सुटिङ गर्न आउनु भनेको पैसा कमाउने बाटो मात्र होइन, विश्वस्तरको सीप सिक्ने अवसर पनि हो। त्यस्तो सीप नेपालको कुनै विद्यालयमा सिक्न पाइँदैन। केही वर्ष केही लाख वा करोड आम्दानीमा ध्यान दिनुभन्दा त्यसबाट सिक्न सकिने सीपमा जोड दिने हो भने करभन्दा बढी त्यो सीपबाट कमाइ हुनसक्छ भन्ने उनको बुझाइ छ।

सन् २०२३ को बेलायती संसद्ले देशमा फिल्म स्टुडियो विस्तारका लागि करोडौँ डलरको राहत प्याकेज, कर मिनाहाजस्ता विषयले महत्व पायो। नेपालमा भने कहिल्यै पनि यस्ता कुराले महत्व नपाएको उनले देखिरहेकी छन्। यसका बाबजुद एउटा स्वतन्त्र कम्पनीले विदेशी प्रोजेक्टहरू ल्याएर, समयमै काम सक्दा सन्तोष मान्नुपर्ने अवस्थामा भने उनी खुसी छैनन्।

उनी भन्छिन्, ‘मेरो निजी सफलताको कुनै अर्थ छैन, जबसम्म अर्को कुनै दलित या महिलाले काम गरने सहज अवसर पाउँदैनन्, एक जनाले पाएको सफलताको कुनै अर्थ छैन।’

त्यसैले पनि उनको कम्पनीले प्रायः दूरदराजका प्रतिभाशाली महिलाहरूलाई अवसर दिने काम गरिरहेको छ।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस