जर्मनी आम निर्वाचनको विश्व प्रभाव
०३ फागुन २०८१
•
१६ मिनेट पाठ
जर्मनी आम निर्वाचनको विश्व प्रभाव
जर्मनीमा यही २३ फेब्रुअरी २०२५ मा संघीय संसद् (बुन्डेस्टाग) का लागि मध्यावधि निर्वाचन हुँदैछ। यस निर्वाचनमार्फत कुल ६ सय ३० सांसद चयन गरिनेछन्। प्रारम्भिक रूपमा २८ सेप्टेम्बर २०२५ का लागि तय गरिएको चुनाव २०२४ मा गठबन्धन सरकार अल्पमतमा परेसँगै अगाडि सारिएको हो।




मध्यावधि निर्वाचनको कारण

नोभेम्बर २०२४ मा अर्थमन्त्री तथा स्वतन्त्र लोकतान्त्रिक पार्टी (एफडिपी) का नेता क्रिस्टियन लिन्डनरलाई चान्सलर ओलाफ सोल्चले पदमुक्त गरेपछि ‘ट्राफिक लाइट’ गठबन्धन (सोसल डेमोक्रेटिक पार्टी– एसपिडी, ग्रिन पार्टी र एफडिपी) भंग भयो।

अक्टोबर २०२४ मा एफडिपी नेता लिन्डनरले आर्थिक संकट समाधान गर्न खर्च कटौती, कर प्रणालीमा सुधार तथा प्रशासनिक नियमहरू खुकुलो बनाउने प्रस्ताव प्रस्तुत गरेका थिए। चान्सलर सोल्चले १७ अर्ब युरोको बजेट घाटा पूर्ति गर्न सरकार स्वामित्वका कम्पनीहरूलाई ऋण दिने प्रस्ताव गरे। तर एफडिपीले यी उपायहरूको संवैधानिकता र व्यावहारिकतामाथि प्रश्न उठाउँदै असहमति जनायो।

एफडिपीले गठबन्धन छोडेपछि सरकार अल्पमतमा पुग्यो। डिसेम्बर १६, २०२४ मा चान्सलर सोल्चले संसद्मा विश्वासको मत लिन खोजे तर बहुमत प्राप्त गर्न नसकेपछि सरकार ढल्यो। राष्ट्रपति फ्रांकवाल्टर स्टाइनमायरले प्रमुख दलहरूसँग छलफल गरेपछि २३ फेब्रुअरी २०२५ का लागि नयाँ संघीय निर्वाचनको घोषणा गरे।

चुनावी सर्वेक्षणअनुसार जर्मनीको राजनीतिमा क्रिश्चियन डेमोक्रेटिक युनियन सिडियुका नेता फ्रिडरिच मेर्च सम्भावित चान्सलर उम्मेदवारका रूपमा अग्रस्थानमा छन्। सर्वेक्षणहरूले देखाएअनुसार सिडियु÷सिएसयुको मत ३० प्रतिशत छ भने दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एएफडी २० प्रतिशत मतका साथ दोस्रो स्थानमा छ। सामाजिक लोकतान्त्रिक पार्टी एसपिडी र ग्रिन पार्टी भने समान रूपले १५–१५ प्रतिशत मतसहित प्रतिस्पर्धामा छन्।

चुनावी प्रतिस्पर्धामा हाल सिडियु/सिएसयु सबैभन्दा अगाडि देखिन्छ तर सरकार गठनका लागि अन्य दलहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ। सिएसयु पार्टी सिडियुकै भगिनी पार्टी हो। एसपिडी र ग्रीन पार्टी यसपालि कमजोर देखिए पनि गठबन्धनको समीकरणले तिनीहरूको भूमिका महत्त्वपूर्ण बनाउन सक्छ। दक्षिणपन्थी एएफडी दोस्रो स्थानमा रहनु मुख्य दलहरूसमक्ष चुनौतीका रूपमा आएको छ। आगामी सरकार कस्तो बन्ने भन्ने अझै स्पष्ट छैन तर सिडियु र एसपिडीको ग्रान्ड गठबन्धन एक सम्भावित विकल्पका रूपमा हेरिएको छ।

निर्वाचनका प्रमुख मुद्दाहरू

आर्थिक सुधारः बजेट घाटा कम गर्ने, कर नीति पुनरावलोकन गर्ने र सरकारी खर्च कटौती गर्ने विषयहरू।

महँगी नियन्त्रणः उपभोक्ता मूल्यवृद्धि रोक्ने र न्यून तथा मध्यम आय भएका नागरिकलाई राहत दिने उपायहरू।

आप्रवासन नीतिः शरणार्थी तथा आप्रवासी व्यवस्थापन, अवैध आप्रवासन रोकथाम, दक्ष कामदारहरूको आकर्षण।

रुस–युक्रेन युद्धमा जर्मनीको भूमिकाः सैन्य सहायता तथा कूटनीतिक पहलहरू।

प्रमुख चान्सलर उम्मेदवार र नीति

फ्रिडरिच मेर्च (क्रिश्चियन डेमोक्रेटिक युनियन/क्रिश्चियन सोसल युनियन

मेर्च क्रिश्चियन डेमोक्रेटिक युनियन (सिडियु) का नेतृत्वकर्ता हुन्। प्रमुख चान्सलरका उम्मेदवार बनेका उनले आर्थिक नीतिमा ध्यान केन्द्रित गरेका छन्। उनले आर्थिक नीतिमा परिवर्तन गर्दै आयकर दर घटाउने, कर्पोरेट कर ३० प्रतिशतबाट २५ प्रतिशतमा ल्याउने, सरकारी खर्च कटौती गर्दै ‘ऋण ब्रेक’लाई कडाइसाथ पालन गर्ने, कर्मचारीका लागि ओभरटाइममा लाग्ने कर हटाउने योजना अघि सारेका छन्।

आप्रवासन र शरणार्थी नीतिमा जर्मनीको सिमानामा कडा उपायहरू लागु गर्दै अवैध आप्रवासन नियन्त्रण गर्ने, शरणार्थी प्राकृतिककरण प्रक्रियामा कडाइ गर्ने, परिवार पुनर्मिलनमा सीमितता लगाउने, बेरोजगार भत्तामा कडाइ गर्दै ‘बुर्गरगेल्ड’ (नागरिक पैसा) हटाएर ‘आधारभूत बिमा’ प्रणाली लागु गर्ने, काम खोज्नेहरूका लागि कडा नियम बनाएर बेरोजगारहरूले काम खोज्न थप दायित्व पूरा गर्नुपर्ने, डिजिटलाइजेसन प्रवर्धन गर्दै प्रविधिमा लगानी वृद्धि गर्ने, गाजाको खुला बिक्रीमा कडाइ गर्ने एजेन्डा छन्।

मेर्चको अभियान मुख्य रूपमा कर कटौती, राज्यको खर्च घटाउने, आप्रवासन नियन्त्रण र रोजगारी सुधारमा केन्द्रित छ। विशेषगरी शरणार्थीसम्बन्धी प्रस्तावहरूमा पार्टीभित्र भने फरक मत रहेको छ।

ओलाफ सोल्च (सोसल डेमोक्रेटिक पार्टी– एसपिडी)

ओलाफ सोल्च जर्मनीका वर्तमान चान्सलर हुन् र सोसल डेमोक्रेटिक पार्टीका प्रमुख नेता हुन्। उनको राजनीति श्रम, कानुन, सामाजिक सुरक्षाका कार्यक्रम र आर्थिक स्थिरतामा केन्द्रित छ। सोल्चको नीतिगत प्राथमिकता सामाजिक सुरक्षाको मजबुती, श्रमिक अधिकारको प्रवर्धन र हरित ऊर्जा विस्तारमा केन्द्रित छ। उनी कर वृद्धि र ऋणमार्फत वित्त पोषणलाई समर्थन गर्छन्, जसले खर्च बढाए पनि समाजका निम्न तथा मध्यम वर्गलाई राहत दिने उद्देश्य राख्छ।

श्रमिकहरूको हितलाई ध्यानमा राख्दै न्यूनतम ज्याला वृद्धि गर्ने, धनी व्यक्तिहरूमा थप कर लगाएर आर्थिक असमानता कम गर्ने, पूर्वाधारमा लगानी गर्दै सार्वजनिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र डिजिटलाइजेसनमा ठुलो मात्रामा लगानी गर्ने, संवैधानिक ‘ऋण ब्रेक’लाई खुकुलो बनाएर सरकारी खर्चका माध्यमबाट आर्थिक सुधार र पुनर्निर्माण गर्ने, नवीकरणीय स्रोतहरूमा लगानी गरेर हरित अर्थतन्त्रको प्रवर्धन गर्ने र हरित रोजगारी सिर्जना गर्ने, साथै अवैध आप्रवासन नियन्त्रणका लागि सीमा नियन्त्रणलाई कडाइ गर्ने, दक्ष कामदारहरूको आप्रवासन प्रोत्साहन गर्दै विदेशी दक्ष कामदारहरूलाई जर्मनीमा आकर्षित गर्ने नीति ल्याउने यो पार्टीको प्रमुख लक्ष्य रहेको छ।

रोबर्ट हाबेक (ग्रिन्स– अलायन्स ९०/द ग्रिन्स)

रोबर्ट हाबेक ग्रिन पार्टीका सहनेता हुन्, जसको राजनीति वातावरणीय मुद्दा, नवीकरणीय ऊर्जा र सामाजिक न्यायमा केन्द्रित छ। उनको शैक्षिक पृष्ठभूमि साहित्य र दर्शनशास्त्रमा रहेको छ र उनी जलवायु परिवर्तन समाधान तथा आप्रवासन सुधारका पक्षमा वकालत गर्छन्। यो पार्टी विशेष गरी हरित ऊर्जा लगानी, आप्रवासन सुधार र सामाजिक सुरक्षा विस्तारका मामिलामा एसपिडीनजिक रहेको छ।

हाबेकको नेतृत्वमा पार्टीले जलवायु संकट समाधान र दिगो विकासलाई प्राथमिकतामा राखेको छ। कार्बन उत्सर्जन कटौती गर्दै जर्मनीलाई जलवायु अनुकूल अर्थतन्त्रतर्फ लैजाने, हरित ऊर्जा स्रोतहरूमा लगानी बढाउने, कोइला र अन्य प्रदूषणकारी ऊर्जास्रोतलाई प्रतिस्थापन गर्ने, कमजोर तथा निम्न आय भएका समूहहरूलाई विशेष समर्थन गर्ने, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सरकारको हस्तक्षेप बढाउने यसको मुख्य नीति रहेको छ। साथै शरणार्थी पुनर्मिलनलाई सरल बनाउने, राज्य–समर्थित समुद्री उद्धारलाई संस्थागत बनाउने, आप्रवासीहरूलाई समाजमा घुलमिल गराउने कार्यक्रमहरूलाई प्रवर्धन गर्ने एजेन्डा अघि सारेको छ।

एलिस वेइडेल (अल्टरनेटिभ फर जर्मनी– एएफडी)

डा. एलिस वेइडेल जर्मनीको दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एएफडीकी सहनेत्री हुन्। उनी अर्थशास्त्रमा पिएचडी गरेकी छन् र उनको राजनीतिक विचारधारा दक्षिणपन्थी राष्ट्रवादी धारमा केन्द्रित छ। उनका प्राथमिक मुद्दाहरू आप्रवासन नियन्त्रण, शरणार्थी पुर्नमिलन कार्यक्रममा रोक, युरोपियन संघ इयुबाट बहिर्गमन, हरित ऊर्जा कार्यक्रमहरू घटाउने र पारम्परिक ऊर्जा स्रोतको प्रवर्धन हुन्।

यो पार्टीको नीति अत्यन्तै दक्षिणपन्थी, राष्ट्रवादी र यथास्थितिवादी छ। एलिस वेइडेलको नेतृत्वमा पार्टीले अवैध आप्रवासन मात्र होइन, कानुनी आप्रवासनसमेत सीमित गर्ने नीति अँगालेको छ। एएफडीको नीति विवादास्पद मानिन्छ किनभने यसले बहुसांस्कृतिकता, इयुको एकता र जलवायु परिवर्तन नीतिहरूको कडा विरोध गर्छ।

साह्रा वागेनक्नेच (बुन्डनिस साह्रा वागेनक्नेच– बिएसडब्लु)

साह्रा वागेनक्नेच जर्मनीको नयाँ वामपन्थी पार्टी बुन्डनिस साह्रा वागेनक्नेच बिएसडब्लुकी संस्थापक हुन्। यसअघि उनी डी लिंके पार्टीकी सहनेतृ थिइन्। उनको राजनीति सामाजिक न्याय, आर्थिक समानता र राज्यको उच्च भूमिकामा केन्द्रित छ।

साह्रा वागेनक्नेचको नेतृत्वमा पार्टीले कमजोर वर्गका नागरिकलाई समर्थन गर्ने, धनीहरूमा कर वृद्धि गर्ने र सामाजिक सुरक्षालाई बलियो बनाउने नीति अघि सारेको छ। उनको आप्रवासन नीति एएफडीको जस्तो कठोर छैन तर सिडियु र एसपिडीभन्दा कडा देखिन्छ। उनको दल एकदमै नयाँ भएकाले आगामी चुनावमा यसले कस्तो प्रभाव पार्छ भन्ने विषय महŒवपूर्ण हुनेछ।

आम नागरिकहरूको आर्थिक स्थिति सुधार गर्न सरकारको भूमिकालाई बलियो बनाउने, न्यूनतम ज्याला वृद्धि गर्ने, उच्च आय भएका व्यक्तिहरूमा कर बढाउने, जबकि मध्यम वर्गलाई राहत दिने, सार्वजनिक स्वास्थ्य सेवाको सुधार गर्दै सबै नागरिकलाई पहुँचयुक्त र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, राज्यको हस्तक्षेप बढाएर शिक्षा र आधारभूत सेवाहरू सुधार्ने, बेरोजगारी भत्ता र पेन्सन प्रणालीलाई अझ मजबुत बनाउने, अवैध आप्रवासनलाई नियन्त्रण गर्ने तर कानुनी आप्रवासनलाई व्यवस्थित गर्ने, आप्रवासीहरूको समाजमा घुलमिल गराउन सहयोग गर्ने कार्यक्रमहरू ल्याउने यो पार्टीको नीति रहेको छ।

गत आइतबार ९० मिनेटको टेलिभिजन बहसमा एसपिडीका सोल्चले सिडियुका मेर्चमाथि विशेष गरी युक्रेन र आप्रवासन नीतिमा नीतिगत अस्थिरताको आरोप लगाए। उनले ४० हजार अवैध आप्रवासी फिर्ता पठाएको र आप्रवासनमा २०२४ मा एक तिहाइले कमी आएको दाबी गरे। तर मेर्चले सोल्चको कार्यकालमा दुई मिलियन अवैध आप्रवासी जर्मनी प्रवेश गरेको तथ्य प्रस्तुत गर्दै आप्रवासन नियन्त्रण कडा गर्नुपर्ने बताए।

सोल्चले मेर्चले एएफडीको समर्थन स्वीकार गरेको आरोप लगाए तर मेर्चले एएफडीसँग कुनै पनि सहकार्य नगर्ने प्रस्ट पारे।

कर नीतिमा मेर्चले कर कटौती र सरकारी खर्च नियन्त्रण जोड दिए भने सोल्चले धनीहरूमाथि कर वृद्धि र न्यून आय भएकाहरूलाई राहत दिने प्रस्ताव राखे। अन्तर्राष्ट्रिय मामिलामा दुवैले डोनाल्ड ट्रम्पको अनिश्चित नीतिप्रति चिन्ता व्यक्त गरे। युक्रेन युद्धमा सोल्चले टाउरस मिसाइल आपूर्ति अस्वीकार गरे भने मेर्चले सैन्य सहायता दिनुपर्ने पक्षमा वकालत गरेका थिए।

जर्मनीको मिश्रित चुनावी प्रणालीका कारण कुनै एकल पार्टीले बहुमत हासिल गरी सरकार गठन गर्नु प्रायः असम्भव हुन्छ। सरकार गठनका लागि गठबन्धन अपरिहार्य भएकाले चुनावपछि राजनीतिक वार्ताहरू लामो समयसम्म चल्न सक्छन्। यदि दक्षिणपन्थी पार्टी एएफडी सर्वेक्षणअनुसार दोस्रो स्थानमा आउँछ भने सरकार गठन अझै जटिल हुनेछ किनभने अन्य कुनै पनि दलले एएफडीसँग सहकार्य नगर्ने घोषणा गरिसकेका छन्।

त्यस्तै, न्यूनतम पाँच प्रतिशत मत वा तीन सिटको थ्रेसहोल्ड पार गर्न नसके एफडिपी र बिएसडब्लु संसद् प्रवेश गर्न सक्दैनन्, जबकि कम्युनिस्ट पार्टी डी लिंके करिब ६ प्रतिशत मतसहित सीमित प्रभाव राख्ने अनुमान गरिएको छ। यस्तो अवस्थामा, प्रमुख तीन दल सिडियु, एसपिडी र ग्रिन्स मिलेर सरकार गठन गर्नुपर्ने सम्भावना बलियो देखिन्छ।

चुनाव प्रणालीअनुसार ६ सय ३० सिटका लागि मतदाताहरूले दुई मत दिनेछन्। पहिलो मतले निर्वाचन क्षेत्रको प्रत्यक्ष प्रतिनिधि चयन गर्छ भने दोस्रो मत पार्टी सूचीका आधारमा समानुपातिक रूपमा सिट वितरण गर्न प्रयोग गरिन्छ। जर्मनीको संसद् (बुन्डेस्टाग) मा २०२३ मा कानुनी सुधार गरिएपछि सिट संख्या स्थायी रूपमा ६ सय ३० मा सीमित गरिएको छ।

अघिल्लो प्रणालीमा ओभरह्यांग म्यान्डेट्स (अधिमान सिट) र कम्पोनसेसन म्यान्डेट्स (सन्तुलन सिट) का कारण हरेक चुनावपछि संसद्को आकार बढ्दै गएको थियो। उदाहरणका लागि २०१७ मा सात सय नौ सिट थियो भने २०२१ मा सात सय ३६ सिट पुगेको थियो। यदि पुरानै प्रणाली कायम रहेको थियो भने २०२५ मा आठ सयभन्दा बढी सिट पुग्ने अनुमान गरिएको थियो।

नयाँ सुधारअनुसार अब कुनै पनि पार्टीले समानुपातिक भागभन्दा बढी प्रत्यक्ष सिट जिते पनि कुल सिट संख्या ६ सय ३० भित्रै सीमित रहनेछ। ओभरह्यांग सिट हटाइएसँगै सन्तुलन गर्न दिइने कम्पोनसेसन सिट पनि हटाइयो, जसले संसद्को सदस्य संख्या स्थिर राख्दै समानुपातिक प्रणालीलाई कायम राख्नेछ। अब संसद्मा प्रवेशका लागि पार्टीको दोस्रो मत पाँच प्रतिशतभन्दा बढी हुनुपर्छ वा कम्तीमा तीन प्रत्यक्ष सिट जित्नुपर्छ। यस परिवर्तनले सरकार गठन प्रक्रियालाई अझ स्पष्ट बनाउने छ।

जर्मनी राजनीति: गठबन्धन, तिनका रङ र सम्भावित सरकार गठन

जर्मनीको राजनीतिक प्रणाली बहुदलीय भएकाले कुनै एक दलले स्पष्ट बहुमत ल्याउन मुस्किल हुन्छ। त्यसैले सरकार गठन गर्न विभिन्न दलबिच गठबन्धन आवश्यक पर्छ। यी गठबन्धन प्रायः तिनमा समावेश दलहरूको प्रतिनिधित्व गर्ने रङबाट परिचित छन्।

हाल सर्वेक्षणअनुसार केन्या गठबन्धन (सिडियु/सिएसयु, एसपिडी र ग्रिन पार्टी) नै सबैभन्दा सम्भावित देखिन्छ, किनभने यसले करिब ६० प्रतिशत मत प्राप्त गर्न सक्छ। यदि यो असफल भयो भने जर्मनी गठबन्धन (सिडियु/सिएसयु, एसपिडी र एफडिपी) को सम्भावना पनि रहन्छ। अन्य गठबन्धन या त बहुमतका लागि अपर्याप्त देखिएका छन् वा गठबन्धन दलहरूबिच सहमति हुन गाह्रो देखिन्छ। आगामी निर्वाचनलाई ध्यानमा राख्दै मुख्य गठबन्धनहरूका सम्भावनाहरू निम्नानुसार छन्: 

ग्रान्ड गठबन्धन (ठुलो गठबन्धन): कालो–रातो

क्रिश्चियन डेमोक्रेटिक युनियन (सिडियु)/क्रिस्चियन सोसल युनियन (सिएसयु)– कालो, सामाजिक लोकतान्त्रिक पार्टी (एसपिडी)– रातो।

यो गठबन्धनले सन् २००५–२००९ र २०१३–२०२१ मा सत्ता सञ्चालन गरिसकेको छ। हालको सर्वेक्षणअनुसार सिडियु/सिएसयुले ३० प्रतिशत र एसपिडीले १५ प्रतिशत मत प्राप्त गर्ने देखिएको छ। यदि यस्तै नतिजा आयो भने ग्रान्ड गठबन्धनलाई बहुमतका लागि तेस्रो दलको समर्थन आवश्यक पर्नेछ।

जमैका गठबन्धन/कालो–हरियो–पहेँलो

सिडियु/ सिएसयु कालो, स्वतन्त्र लोकतान्त्रिक पार्टी (एफडिपी) पहेंलो र ग्रिन पार्टी हरियो।

जमैका झन्डाका रङहरूमा आधारित यो गठबन्धन २०१७ मा प्रयास गरिए पनि सफल हुन सकेन। यदि एफडिपीले थ्रेसहोल्ड पार गर्‍यो र सिडियु/सिएसयुले आफ्नो नीति परिवर्तन गर्दै उसलाई साथ लिएमा यसको सम्भावना रहन सक्छ। तर सर्वेक्षणहरूले एफडिपीको मत पाँच प्रतिशत नकट्ने देखाएको छ। साथै सिडियु र ग्रिन पार्टी एफडिपीसँग सहकार्य गर्न इच्छुक छैन, जसले गर्दा यो गठबन्धन कठिन देखिन्छ।

ट्राफिक लाइट गठबन्धन: रातो–पहेँलो–हरियो

एसपिडी रातो, एफडिपी पहेंलो र ग्रिन पार्टी हरियो। सन् २०२१ को चुनावपछि गठित यो सरकार चान्सलर ओलाफ सोल्चको नेतृत्वमा थियो तर एफडिपी बाहिरिएपछि गठबन्धन टुट्यो। हालको सर्वेक्षणअनुसार एसपिडी र ग्रिन पार्टीको १५–१५ प्रतिशत तथा एफडिपीको चार प्रतिशत मत देखिएको छ, जसले यो गठबन्धन असम्भव देखिन्छ।

कालो–पहेँलो गठबन्धन: सिडियु/सिएसयु र एफडिपी

यो परम्परागत गठबन्धन हो, जसले व्यवसायमैत्री नीति प्राथमिकतामा राख्छ। २००९–२०१३ को एन्जेला मर्केल नेतृत्वको सरकार यसै मोडलमा आधारित थियो। तर यसपटक एफडिपीको कमजोर स्थिति र सिडियुका उम्मेदवार फ्रिडरिख मेर्चको असहयोगी धारणाका कारण यो गठबन्धन सम्भव देखिँदैन।

रातो–हरियो गठबन्धन: एसपिडी र ग्रिन पार्टी

यो सेन्टर–लेफ्ट गठबन्धन हो, जसले सामाजिक न्याय र वातावरणीय नीतिलाई प्राथमिकता दिन्छ। सन् १९९८–२००५ सम्म चान्सलर गेरहार्ड स्रोडरको नेतृत्वमा यो सरकार थियो। तर हालको सर्वेक्षणअनुसार यी दुई दलहरूको संयुक्त मत बहुमतका लागि पर्याप्त देखिएको छैन, जसले गर्दा थप दलको समर्थन आवश्यक हुनेछ।

रातो–रातो–हरियो गठबन्धन: एसपिडी, डी लिंके र ग्रिन पार्टी

यो समाजवादी एवं वामपन्थी गठबन्धन संघीय तहमा नयाँ भए पनि २०१६–२०२३ मा बर्लिन राज्य सरकारमा रहेको थियो। हालको सर्वेक्षणअनुसार एसपिडी र ग्रिन पार्टीको १५–१५ प्रतिशत तथा डी लिंकेको ६ प्रतिशत मत मात्र देखिएकाले यो गठबन्धन सम्भावनाहीन देखिन्छ।

केन्या गठबन्धन: कालो–रातो–हरियो

सिडियु/सिएसयु (कालो), सामाजिक लोकतान्त्रिक पार्टी (एसपिडी) रातो, ग्रिन पार्टी हरियो।

यो गठबन्धन केन्याको झन्डाको रङबाट नामकरण गरिएको हो। यदि सिडियु/सिएसयु र एसपिडी मात्रले बहुमत नपुग्ने अवस्था आयो भने ग्रिन पार्टीलाई साथ लिएर यो सरकार बनाइने सम्भावना बलियो छ। हालको सर्वेक्षणअनुसार यी तीन दलले संयुक्त रूपमा करिब ६० प्रतिशत मत प्राप्त गर्न सक्ने देखिएकाले यो गठबन्धन संघीय सरकार बनाउन सबैभन्दा सम्भाव्य देखिन्छ।

जर्मनी गठबन्धन: कालो–रातो–पहेँलो

सिडियु/सिएसयु कालो, एसपिडी रातो र एफडिपी पहेँलो।

जर्मन राष्ट्रिय झन्डाका रङहरूबाट नामकरण गरिएको यो गठबन्धन संघीय स्तरमा कम देखिए पनि, साक्सोनी–एनहाल्ट राज्यमा २०२१ देखि हालसम्म कायम छ। यदि एफडिपीले थ्रेसहोल्ड पार ग¥यो र सिडियु/सिएसयु–एसपिडी गठबन्धनले यसलाई स्वीकार ग¥यो भने यो गठबन्धन सम्भव हुन सक्छ।

रातो–रातो गठबन्धन: एसपिडी र डी लिंके

यो गठबन्धन मुख्यतः पूर्वी जर्मनीका राज्यहरूमा लोकप्रिय छ। तर, संघीय स्तरमा यसको सम्भावना हाल निकै कमजोर छ।

ब्लू–ब्राउन गठबन्धन: एएफडी र स्वतन्त्र दक्षिणपन्थी समूहहरू

घोर दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) साना स्वतन्त्र दक्षिणपन्थी दलहरूसँग गठबन्धन गर्ने प्रयासमा रहन्छ। हालसम्म संघीय स्तरमा यो गठबन्धन देखापरेको छैन, तर पूर्वी जर्मनीका केही क्षेत्रीय निर्वाचनमा प्रभावशाली देखिएको छ।

जर्मनीमा आगामी निर्वाचनमा करिब पाँच करोड ९२ लाख मतदाताले भोट हाल्ने छन्, जसमा ७१ लाख आप्रवासी पृष्ठभूमिका नागरिक छन्। प्रत्येक आठमध्ये एक व्यक्ति आप्रवासी भए पनि यो समूह अन्य जर्मन मतदाताहरूका तुलनामा कम सक्रिय रूपमा मतदान गर्ने प्रवृत्तिमा रहेको डइचे वेल्ले पत्रिकाले उल्लेख गरेको छ।

इन्टेग्रेसन कन्फ्रेन्स हेसेन जर्मनीका सदस्य एवं फ्र्यांकफर्ट विमानस्थलका वरिष्ठ व्यवस्थापक शिव अधिकारीका अनुसार घोर दक्षिणपन्थी दलहरूलाई समर्थन गर्दा केवल आप्रवासीहरूलाई मात्र नभई समग्र राज्य नै असफल हुन सक्ने खतरा रहन्छ। उनले पार्टीहरूको चयन गर्दा आप्रवासन तथा एकीकरण नीतिहरूलाई राम्रोसँग बुझ्न आवश्यक रहेको बताउँछन्।

संघीय निर्वाचन ऐनअनुसार १८ वर्ष पुगेका जर्मन नागरिक, जो निर्वाचनको दिनसम्म कम्तीमा तीन महिना जर्मनीमा बसोबास गरेका छन्, संघीय तथा क्षेत्रीय निर्वाचनमा मतदान गर्न योग्य हुन्छन्। जर्मनीबाहिर बसोबास गर्ने जर्मन नागरिकहरूले पनि मतदान गर्न सक्छन्, तर तिनीहरूले पछिल्लो २५ वर्षभित्र कम्तीमा तीन महिना जर्मनीमा बसेको हुनुपर्ने सर्त पूरा गर्नुपर्छ। साथै, उनीहरूले ३ फेब्रुअरी २०२५ भन्दा अघि आफ्नो नामदर्ता गराइसक्नुपर्छ।

समाजशास्त्री फ्रेडरिके रोमरका अनुसार आप्रवासी मतदाताहरूको सबैभन्दा बढी झुकाव एसपिडी (सोसल डेमोक्रेटिक पार्टी) तर्फ देखिन्छ। तर, करिब २० प्रतिशत आप्रवासी मतदाताहरूले घोर दक्षिणपन्थी एएफडी (अल्टरनेटिभ फर जर्मनी) लाई पनि भोट दिन सक्ने सम्भावना रहेको छ यस्तै वामपन्थी दलहरू डी लिंके र जारा वागेनक्नेस्ट अलायन्स (बिएसडब्लु)ले पनि आप्रवासी मतदाताबाट उल्लेखनीय समर्थन पाइरहेका छन्।

व्यवसायी एवं गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले पनि जर्मनीको राजनीति नजिकबाट नियालिरहेका छन्। उनको बुझाइमा एफडिपीको प्रो–व्यवसायी नीति प्रभावशाली भए पनि हालको राजनीतिक वातावरणमा यसको सम्भावना न्यून देखिन्छ।

उनले पछिल्ला राजनीतिक घटनाक्रमले समाजमा आप्रवासीहरूलाई सकारात्मक सन्देश नदिएको भन्दै पहिलो पुस्ताका आप्रवासी मतदाताहरू एसपिडी र दोस्रो पुस्ताका आप्रवासी मतदाताहरू ग्रिन पार्टीतर्फ ढल्किन सक्ने बताउँछन्।

हाल जर्मनीको संसद् (बुन्डेस्टाग) मा करिब ११ प्रतिशत सांसदहरू आप्रवासी पृष्ठभूमिका छन् तर १६ राज्यीय सभाहरूमा यो संख्या जम्मा सात प्रतिशत मात्र छ। पूर्वी जर्मनीका केही भागमा त यो संख्या एक प्रतिशतभन्दा कम छ, जसले आप्रवासीहरूको प्रतिनिधित्व अझै कमजोर रहेको देखाउँछ।

आप्रवासी मतदाताका लागि प्रमुख चिन्ताका विषयमा उनीहरूको जर्मनीमा पहिचान, महँगी र आर्थिक अवस्था पर्छन्। राजनीतिशास्त्री रोहित जैसवालका अनुसार आप्रवासी जर्मन नागरिकले भेदभाव नगर्ने पार्टीलाई समर्थन गर्नुपर्नेछ, जसले जर्मन मूलवासी र आप्रवासीबिचको दुरी घटाउन मद्दत गर्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर आप्रवासन नीति र एएफडीलाई एलन मस्कको समर्थनले पनि जर्मनीको निर्वाचनमा असर पार्न सक्ने आँकलन गरिएको छ। करिब एक करोड गैरजर्मन नागरिक मतदान गर्नबाट बञ्चित हुनेछन्, जुन कुल वयस्क जनसंख्याको १४ प्रतिशत हो। गैरजर्मन नागरिकहरूको मतदान अधिकारबारे बहस जारी छ।

जर्मनीको राजनीतिक भविष्यमा आप्रवासी मतदाताहरूको भूमिका झनै निर्णायक हुँदै जाने सम्भावना छ। तर, मतदान अधिकार नपाउने करिब एक करोड आप्रवासी वयस्कहरूको अवस्था लोकतान्त्रिक समावेशिताका दृष्टिले चुनौतीपूर्ण देखिन्छ। यस परिप्रेक्ष्यमा आगामी निर्वाचनहरूले कस्तो दिशा लिन्छन् भन्ने कुराले जर्मनीको आप्रवासन नीति र सामाजिक संरचनामा महत्त्वपूर्ण प्रभाव पार्नेछ।

तस्बिर स्रोत: दी इकोनोमिस्ट
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस