उपकुलपतिमा भागबन्डाकै छनक
२१ पौष २०८०
•
४ मिनेट पाठ
उपकुलपतिमा भागबन्डाकै छनक
प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति छनोटका लागि प्रकाशन गरिएको सूचनाप्रति आपत्ति जनाएका छन्।




उपकुलपतिमा दाबी गर्न विश्वविद्यालयका पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्षको अनुभव हुनुपर्ने सर्तसहितको सूचना निकालिएपछि त्यसमा प्रधानमन्त्री दाहालले आपत्ति जनाएका हुन्।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले शुक्रबार दरखास्त आह्वान गर्दै प्रकाशन गरेको सूचनामा त्रिविका पदाधिकारी पदमध्ये कुनै एकमा कम्तीमा तीन वर्षको अनुभव हुनुपर्ने सर्त राखेपछि विरोध भएको छ।

दरखास्त भर्न इच्छुक उम्मेदवारले पेस गर्नुपर्ने कागजातका लागि सूचनामा ६ वटा व्यवस्था गरिएको छ। सूचनाको पाँचौं बुँदामा उपकुलपति हुने उम्मेदवारका लागि विश्वविद्यालयका पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको अनुभव खुल्ने कागजात पेस गर्नुपर्ने भनिएको छ।
यो सर्तको चौतर्फी विरोध हुन थालेपछि विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले तत्काल त्यो प्रावधान हटाएर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका हुन्।

समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारीलाई शुक्रबार प्रधानमन्त्री कार्यालयमा बोलाएर दाहालले सार्वजनिक सूचनाले अन्योल सिर्जना गरेको भन्दै हटाउन निर्देशन दिएका हुन्।

‘हामीले त्रिविलाई राजनीतिक दाउपेचबाट मुक्त पार्न खोजेका छौंं,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘तर प्रकाशित सूचनाले राजनीतिक भागबन्डामै उपकुलपति नियुक्ति गर्न लागेजस्तो देखियो।

विश्वविद्यालयका पदाधिकारीमध्ये कुनै एक पदमा तीन वर्ष काम गरेको अनुभव राख्दा फेरि पनि राजनीति भागबन्डामै नियुक्ति हुने देखियो। यसकारण यस्तो व्यवस्था हटाएर अर्को सूचना प्रकाशित गर्नुस्, जसले देशविदेश जतासुकैका विज्ञ नेपालीलाई उपकुलपति हुने बाटो खोलोस्।’

त्रिवि उपकुलपति छनोट समितिले शुक्रबार आह्वान गरेको सूचनामा उपकुलपति हुन चाहने उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने, प्राध्यापकको सुरु नियुक्तिपत्रको कपी बुझाउनुपर्ने, बढीमा तीन हजार शब्दसम्मको विश्वविद्यालयसम्बन्धी सोचपत्र पेस गर्नुपर्ने व्यवस्था पनि गरेको थियो। शिक्षामन्त्री राईका स्वकीय सचिव प्रकाश सापकोटाले प्रधानमन्त्रीको निर्देशनपछि सोहीबमोजिम शिक्षामन्त्रीले मन्त्रालयमा छलफल गरेको जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार त्रिवि उपकुलपति छनोट समितिले छलफल अघि बढाएको छ,’ उनले भने, ‘अब अर्को कार्यविधि बनाएर मात्र अगाडि बढ्ने विषयमा छलफल भइरहेको छ।
त्रिवि उपकुलपति छनोटबारे अब अर्को कार्यविधि बनाएर पुनः सूचना सार्वजनिक गर्ने तयारीमा समिति जुटेको छ।’

त्रिविका पूर्वउपकुलपति प्राध्यापक धर्मकान्त बास्कोटाको चार वर्षे कार्यकाल कात्तिकमै सकिएको थियो। त्यसलगत्तै त्रिवि ऐनअनुसार शिक्षामन्त्री राईको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट समिति गठन भयो।

समितिले दुई महिना बित्न लाग्दा बल्ल सूचना सार्वजनिक गरे पनि विवाद आएपछि प्रक्रिया पुनः रोकिएको छ। अघिल्लो सरकारले पनि त्रिविमा उपकुलपति नियुक्तिका लागि रोस्टर बनाएर आवेदन मागेको थियो। त्यतिबेला पनि रोस्टरलाई किनारा लगाएर भागबन्डाकै आधारमा बास्कोटालाई उपकुलपति नियुक्त गरिएको थियो।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री दाहालले सरकारको एक वर्ष कार्यकाल पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य गर्ने बताएका थिए। तर सत्ता गठबन्धनलदे दलगत स्वार्थ पूर्तिका लागि समग्र शिक्षा क्षेत्र नै अस्तव्यस्त बनाएको आरोप लाग्दै आएको छ। त्यस्तो आरोपलाई नै मलजल पुग्नेगरी सूचना प्रकाशित भएपछि प्रधानमन्त्री दाहालले सच्याएर अर्को प्रकाशन गराउन तदारुकता देखाएका हुन्।

रिक्त पदहरूलाई एउटै डालोमा राखेर भागबन्डा गर्न त्रिविका उपल्ला पदहरूको नियुक्तिमा ढिलाइ भइरहेको हालै रजिस्ट्रार पदबाट सेवानिवृत्त प्राध्यापक पेशल दाहालले बताए। ‘त्रिवि ऐनले पदाधिकारीमा पूर्वउपकुलपति, रेक्टर, रजिस्ट्रार, कार्यकारि निर्देशक, वर्तमान डिनहरूलाई मात्र समेटेको छ।

शुक्रबार सार्वजनिक गरिएको सूचनाले प्राज्ञलाई समेटेको देखिएन,’ दाहालले नागरिकसँग भने, ‘यसले त्रिविको उपकुलपति खुला र मेरिटका आधारमा हुन पाउने मर्मलाई दबाएको छ। पूर्वपदाधिकारीले मात्र दरखास्त हाल्न पाउने नियतले त्रिविको उपकुलपति नियुक्तिका लागि सूचना आह्वान गरेको बुझिन्छ।’
प्राध्यापक दाहालको चार वर्षे कार्यकाल पुस ८ गते सकिएको हो। यसअघि बास्कोटाको उपकुलपति पदको कार्यकाल कात्तिक १७ गते सकिएको थियो। उपकुलपति चयन हुन नसक्दा त्यसयता निमित्तकै भरमा त्रिवि चलिरहेको छ।

त्रिविमा शिक्षाध्यक्षमा पनि निमित्त नै छन्। कृषिका डिन प्राध्यापक भार्गव धिताललाई निमित्त शिक्षाध्यक्ष बनाइएको छ। उनी माओवादी केन्द्रनिकट मानिन्छन्। त्रिवि सेवा आयोगका एक सदस्यको मंसिर ८ गते नै पदावधि सकिए पनि नियुक्ति भएको छैन।

अब फागुनमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादव कोइराला, पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याल र सुदूरपश्मिाञ्चल विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको कार्याकाल सकिँदै छ। कोइराला एमालेनिकट तथा अर्याल र जोशी कांग्रेसनिकट हुन्। चैत ८ गते त्रिवि शिक्षाध्यक्षको पदसमेत रिक्त हुँदैछ।
अर्को समाचार
११ महिनासम्म परीक्षाफल नदिने नालायक त्रिवि
०३ चैत्र २०८०
•
४ मिनेट पाठ
११ महिनासम्म परीक्षाफल नदिने नालायक त्रिवि
त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतको बिपी कोइराला मेमोरियल कलेज चावहिल, काठमाडौंमा मानविकी तथा सामाजिक शास्त्रतर्फ स्नातक तह दोस्रो वर्षमा अध्ययनरत सिन्धुपाल्चोककी रेनुका नेपाल दोस्रो वर्षको परीक्षा दिने तयारीमा छन्।




उनले पहिलो वर्षको परीक्षा दिएको ११ महिना भए पनि नतिजा आएको छैन। उनले बेलैमा नतिजा प्रकाशन नहुँदा अवसर गुम्दै गएको बताइन्। घरबाट अध्ययनका लागि काठमाडौं आउँदा चार वर्षभित्र स्नातक तह पूरा गर्ने योजना र सोहीअनुसारको बजेट मिलाएकी उनी त्रिविको अस्तव्यस्त परीक्षा प्रणाली देखेर दिक्क छन्। यस्तै पारा हो भने चार वर्षे स्नातक तह पूरा गर्न ६ वर्ष लाग्ने र खर्च पनि सोचेभन्दा बढी हुने उनी बताउँछिन्।

‘२०७८ सालमा प्रथम वर्षमा भर्ना हुँदा चार वर्षभित्र कोर्स सकिने गरी आर्थिकलगायत सबै पक्षको व्यवस्था मिलाएकी थिएँ,’ सामाजिक कार्य र आम सञ्चार विषय लिएर स्नातक तह पढ्दै गरेकी २० वर्षीया रेनुकाले गुनासो गरिन्, ‘हेर्नुस् त, प्रथम वर्षको परीक्षा गत वैशाखमा दिएको हो। परीक्षा सकिएको ११ महिना बित्यो, नतिजा आएको छैन। दोस्रो वर्षको कक्षा पुसमा सकियो, घरमा बसेर परीक्षाको तयारी गर्दै छु। पहिलो वर्षको परीक्षाफल कहिले आउने हो अझै अत्तोपत्तो छैन।’

पहिलो वर्षको नतिजा नआउँदा विभिन्न अवसरबाट वञ्चित भएको र खर्चका लागि अभिभावकमाथि निर्भर हुनुपरेको उनले बताइन्। रेनुकाका अनुसार कोठाभाडा, खाना खर्चलगायत गर्दा मसिक ३० हजार रूपैयाँ खर्च हुन्छ र त्रिविले शैक्षिक पात्रोअनुसार काम गर्न नसक्दा विद्यार्थी अवसरबाट मात्र वञ्चित भएका छैनन्, खर्च पनि बढेको छ।

‘त्रिविको शैक्षिक क्यालेन्डर नै लयमा छैन,’ उनले भनिन्, ‘चार वर्षे स्नातक तह पूरा गर्न ५/६ वर्ष लाग्ने देखिन्छ। यसले गर्दा आर्थिक भार र परनिर्भरता बढ्दै गएको छ। कसलाई के भन्ने, के गर्ने?’

काठमाडौं ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा मानविकीतर्फ स्नातक तह दोस्रो वर्षमा अध्ययनरत मनीषा रेग्मी पनि त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न नसक्दा विद्यार्थी आर्थिकलगायत भारमा परेको बताइन्।

‘पहिलो वर्षको परीक्षा नतिजा ११ महिनासम्म पनि आएको छैन। दोस्रो वर्षको परीक्षा दिने बेला आउँदा पनि पहिलो वर्षको नतिजा नआउनु विडम्बना हो,’ गोर्खाकी मनीषाले नागरिकसँग भनिन्, ‘आर्थिक भार थपिएको छ। खर्च व्यवस्थापन गर्ने कि पढाइ, चिन्ता बढेको छ।’

उनले थपिन्, ‘अस्ट्रेलिया जान आइएलटिएस पनि पास गरें तर नतिजा समयमा नआउँदा शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउन सकिनँ। अवसर हातबाट खुस्क्यो।’

यो समस्या रेनुका र मनीषाको मात्र होइन, चार लाख विद्यार्थीको हो। त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन नगर्दा मानसिक तनावसमेत बढ्दै गएको मनीषाले बताइन्। मुलुककै पुरानो र ठुलो त्रिवि स्नातक तहका ४ लाख विद्यार्थी गत वैशाखमा दिएको पहिलो वर्षको परीक्षाको नतिजा कुरिरहेका छन्।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले भने नतिजा कहिले आउँछ भनेर विद्यार्थीलाई जवाफ दिन सकेको छैन।

जनशक्ति अभाव

त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा नतिजा समयमै प्रकाशन गर्न नसकेको बताउँछन्। समयमा नतिजा प्रकाशन गर्न नसक्दा हाल त्रिवि स्नातक प्रथम वर्षमा नयाँ र पुराना गरी दुइटा ब्याच छन्। दोस्रो वर्षमा पनि नयाँ र पुरानो गरी दुइटा ब्याच छन्। पुरानो दोस्रो ब्याचका विद्यार्थी पुसमै कक्षा सकेर परीक्षाको पर्खाइमा छन्। नयाँ दोस्रो वर्षको कक्षा भइरहेको नियन्त्रक जोशी बताउँछन्।

नियन्त्रक जोशी जनशक्ति कम हुँदा परीक्षाफल प्रकाशनलगायतका काम प्रभावित भएका छन्। ‘बल्खुमा २६६ जनाको दरबन्दीमा २२२ जना कार्यरत छन्। सेवा आयोग सात वर्षदेखि खुल्न नसकेका कारण कर्मचारी पदपूर्ति हुन सकेको छैन। १८ जना कर्मचारी साढे दुई दशकदेखि एउटै पदमा कार्यरत छन्,’ जोशीले नागरिकसँगको भेटमा भने, ‘एकातिर कर्मचारी अभाव अर्कोतिर त्रिविले साउनदेखि कर्मचारीको अतिरिक्त सेवासुविधा कटौती गरेपछि त्यसको मारमा परीक्षा नियन्त्रण कार्यालय परेको छ।’

उनका अनुसार त्रिविले कर्मचारकिो कार्यसमय १० देखि ५ तोकेपछि अतिरिक्त समयमा काम लगाउन सकिएको छैन। उनले भने, ‘यसैकारण वार्षिक प्रणालीमा नतिजा प्रकाशन ढिलाइ भएको हो।’

त्रिविका उपकुलपति केशरजंग बरालले त्रिविलाई लयमा फर्काउन निकै चुनौतीपूर्ण भए पनि आफू लागिपरेको बताए। निर्धारित समयमा कोर्स पूरा र नतिजा नआउँदा विद्यार्थी अध्ययनका लागि भारतमा जाने क्रम बढेको छ।

उपकुलपति बरालले परीक्षा सञ्चालन र नतिजा प्रकाशन प्रणालीमा सुधारलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने बताए। ‘त्रिविमा हरेक राजनीतिक दलसँग आबद्ध शिक्षक, विद्यार्थी र कर्मचारी संघसंगठन छन्। तिनले विभिन्न निहुँमा आन्दोलन र तालाबन्दी गर्दा चुनौती थपिएको छ,’ उपकुलपति बरालले भने, ‘सेवा आयोगमा चार महिनादेखि सदस्य पद रिक्त छ। आयोगले शिक्षक, कर्मचारी पदपूर्ति गर्न सकेको छैन। वैकल्कि व्यवस्था गरेर भए पनि परीक्षा व्यवस्थापन गर्ने नीति लिएको छु। शैक्षिक क्यालेन्डर कार्यान्वयन गरेर त्रिविलाई लयमा फर्काउने मेरो लक्ष्य छ।’
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस