२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दिनेशले भेटाए भुवनलाई

दिनेश प्रजापति बुधबार सूर्य नेपाल काठमाडौं ओपनमा भुवन नगरकोटीको एकल अग्रतालाई भेटाउँदै शीर्ष स्थानमा उक्लिएका छन्। सूर्य नेपाल गल्फ टुर २०२३–२४ को सातौं प्रतियोगिता काठमाडौं ओपनमा दोस्रो दिन मंगलबार दिनेश र भुवनले संयुक्त रूपमा अग्रता लिएका हुन्। 

रोयल नेपाल गल्फ क्लबमा दोस्रो दिनको खेल (३६ होल) सकिँदा समग्रमा दुवैको दुई अन्डर १३४ स्कोर छ। यी दुईभन्दा रवि खड्का दुई स्ट्रोकले पछि छन्। मंगलबार दिनेशले चार अन्डर ६४ को प्रदर्शन गरेपछि भुवनलाई भेटाए । भुवनले भने दुई अन्डर ६६ मा रहेर दोस्रो दिनको खेल पूरा गरे। यी दुईलाई पछ्याइरहेका रवि खड्का समग्रमा इभन–पार १३६ को कार्डमा छन् ।  रविले दोस्रो दिन एक अन्डर ६७ को प्रदर्शन गरे। 

रामे मगर, नीरज तामाङ र भुवनकुमार रोक्का संयुक्त रूपमा चौथो स्थानबाट पछ्याइरहेका छन् । यी तीनै जनाले समग्रमा एक ओभर १३७ स्कोर बटुले । रामेले मंगलबार चार अन्डर ६४ को उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो दिनको खेल सकाए । नीरज र भुवन भने इभन पार ६८ मा रहे । जयराम श्रेष्ठ र सञ्जय लामा संयुक्त रूपमा सातौं स्थानमा छन्। उनीहरूले समग्रमा दुई ओभर १३८ को स्कोर बनाएका छन्।

दुवै जना दोस्रो दिन इभन पार ६८ मा रहे । प्रोफेसनल कार्ड लिएपछि पहिलो पटक घरेलु प्रतियोगिता खेलिरहेका सुवास तामाङ नवौं स्थानमा छन् । दोस्रो दिन एक अन्डर ६७ सहित उनी समग्रमा तीन ओभर १३९ को स्कोरमा छन्।  पूर्णप्रसाद शर्मा र धनबहादुर थापाले समग्रमा चार ओभर १४० सहित संयुक्त दशौं स्थान बाँडे। दुवैले दोस्रो दिन दुई ओभर ७० मा खेल सकाए । ३६ होलको समाप्तिमा १७ ओभर १५३ सम्म स्कोर गर्ने २२ प्रोफेसनल र चार एमेच्योर गरी २६ गल्फर कट पार गर्न सफल भए। 

प्रोफेसनलतर्फ तोरणविक्रम शाही, टंकबहादुर कार्की, प्रदीपकुमार लामा, कृष्णमान राजवाहक, टासी घले, भीमसेन चौलागाँइ, वसन्तराज गुरुङ, रामकृष्ण श्रेष्ठ, पशुपति शर्मा, भूबहादुर गुरुङ र किसन कालीराज सुनारले अन्तिम ३६ होलका लागि स्थान बनाए।  

एमेच्योरतर्फ टासी छिरिङ युवा गल्फर सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा छन्। समग्रमा टासी २ ओभर १३८ को स्कोर कार्डमा रहे। उनले बुधबार २ अन्डर ६६ को स्कोर निकाले। सद्भावले समग्रमा तीन ओभर १३९ स्कोर खडा गरे। दोस्रो दिन उनको प्रदर्शन एक अन्डर ६७ को कार्डमा रह्यो। राहुल विश्वकर्मा समग्रमा १० ओभर १४६ सहित तेस्रो स्थानमा छन्। उनले खेल इभन पार ६८ मा रहेर दोस्रो दिनको खेल सकाए। यी तीन एमेच्योरसँगै भरत थापामगरले पनि कट बनाए।  

विजेताले एक लाख २० हजार, उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः ८२ हजार र ६६ हजार रूपैयाँ पाउनेछन्। चौथो हुनेले ५५ हजार र पाँचौं हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन्। प्रतियोगितामा ३६ होलको समाप्तिसँगै कट लागू हुनेछ र त्यहाँबाट शीर्ष २१ प्रोफेसनल गल्फरले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन् । शीर्ष २१ भित्र अटाउने गल्फरले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रकाशित: १३ वैशाख २०८१ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App