२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रकाश स्मृति भलिबलको तयारी पूरा

वैशाखको अन्तिम साता हुने प्रकाश स्मृति बाग्मती प्रदेश अन्तरनगरपालिका भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा आगामी २२ देखि २५ वैशाखमा ललितपुरको महाङ्काल गाउँपालिकामा उक्त प्रतियोगिता हुँदै छ। आयोजकले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै तयारी तीव्र पारिएको र अन्तिम चरणमा पुगेको जनाएको हो।

महाङ्काल गाउँपालिकाकी उपप्रमुख एवम् प्रतियोगिता संयोजक डोल्मामाया गोलेले प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न जिल्ला, पालिका र वडा तहमा विभिन्न समिति गठन गरिएको जानकारी दिइन्। ‘समितिले द्रुत गतिमा तयारी गरिरहेका छन्। केही काम अन्तिम चरणमा पुगेका छन्,’ गोलेले भनिन्।

राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा उक्त प्रतियोगिता हुन लागेको हो। नेपाल भलिबल संघको भने प्राविधिक सहयोग रहनेछ।

प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य तथा प्रधानमन्त्री कार्यालय निजी सचिवालयका सदस्य सन्तु दराईले युवाहरूमाध स्वास्थ्यसम्बन्धी चेतना फैलाउन प्रतिष्ठानले खेलकुदलगायत कार्यक्रम गर्दै आएको जानकारी दिए।

प्रतिष्ठानले स्थापनाकालदेखि नै खेलकुदलगायत कार्यक्रम गर्दै आइरहेको छ। प्रदेशका ११९ पालिकामध्ये ५० पालिकाबाट प्रतियोगितामा सहभागिता रहने आयोजकको अपेक्षा छ। प्रतियोगिताको विजेतालाई तीन लाख, उपविजेतालाई दुई लाख र तेस्रो हुने दुई टिमलाई समान १/१ लाख रूपैयाँ प्रदान गरिनेछ।

साथै उत्कृष्ट प्रशिक्षक तथा खेलाडी पाँच जनालाई जनही ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ। खेलहरू महाङ्काल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा हुनेछन्। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ। 

प्रकाशित: १२ वैशाख २०८१ ०९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App