५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

उर्वराशक्ति बढाउन ‘माटोको उपचार’

क्षय हुँदै गएको माटोको उर्वराशक्ति बढाउन बेनी नगरपालिका-२ ज्यामरुककोटमा कृषि चुन वितरण गरिएको छ।

माटोमा अम्लीयपना धेरै हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटोकाे उपचारका लागि कृषि चुन वितरण गरिएको हो।

बेनी नगरपालिका-२ ज्यामरुककोटका वडा अध्यक्ष यामबहादुर कार्कीले माटो तथा मल प्रयोगशाला पोखराको सहयोगमा किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गर्न लागिएकाे जानकारी दिए।

‘गत मङ्सिरमा तीन सय ८२ किसानको माटो परीक्षण गर्ने क्रममा दुई सय ६५ वटा नमुना माटोमा अम्लीयपना अत्यधिक भेटिएको थियो,’ उनी भन्छन् ‘प्रयोगशालाका प्राविधिकहरूको सिफारिसमा माटोको उपचार गर्न कृषि चुन वितरण सुरु गरेका हौँ।’

प्रयोगशालाले ज्यामरुककोटका लागि ६० हजार किलो कृषि चुन उपलब्ध गराएको छ। प्रतिकिलो १० मूल्य पर्ने कृषि चुनका लागि कृषकले २.५ तिर्नुपर्नेछ। रासायनिक विषादी र मलको अधिक प्रयोगका कारण माटोको अम्लीयपना बढेकाले कृषि चुनले माटो उपचार गर्न सिफारिस गरिएको प्रयोगशालाका प्राविधिक खुमराज बरालले जानकारी दिए।

‘उत्पादन छिटो र धेरै लिन रासायनिक मलको प्रयोग धेरै हुने गरेको छ। यसले कृषकलाई क्षणिक फाइदा दिए पनि माटोको गुणस्तरमा असर पुर्‍याएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा दीर्घकालीन रूपमा उत्पादनमा कमी हुने गर्दछ, प्रत्येक ३/३ वर्षमा कृषि चुन प्रयोग गर्नुपर्छ।’ 

बेनी नगरपालिका-२ खबराका अगुवा कृषक सोवित शर्माले रासायनिक मल र विषादीको प्रयोग घटाउन एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरिएको बताए।

गत वर्ष भकुण्डेमा सञ्चालन गरिएको आइपिएम कृषक पाठशाला यसपालि बगरफाँटमा सञ्चालन भएको उनले सुनाए। बेनी नगरपालिकाले वडा नं-३ भकिम्लीमा पनि हालै माटो परीक्षण शिविर सञ्चालन गरेको थियो। -रासस

प्रकाशित: २२ वैशाख २०८१ १४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App