१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

इटहरीमा ओलम्पियन्स पुनर्मिलन हुने

कोसी प्रदेशको सुनसरीस्थित इटहरीमा तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट–२०२४ हुने भएको छ।

प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशका सदस्यसचिव हंसराज वाग्ले र ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले उक्त कार्यक्रमका लागि सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार खेलकुद विकास बोर्ड कार्यक्रमको आयोजक रहनेछ भने ओलम्पियन्स संघले कार्यक्रमको संयोजन गर्नेछ। कार्यक्रम २०८१ को वैशाख २० गते हुनेछ। कार्यक्रमको पहिलो संस्करण काठमाडौं तथा दोस्रो गत वर्ष पोखरामा भइसकेको छ।

देशभर छरिएर रहेका ओलम्पियनलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले कार्यक्रमको सुरुआत गरिएको अध्यक्ष विष्टले बताए। विष्टका अनुसार यो पटकको कार्यक्रमको नयाँ पक्ष भनेको विदेशी ओलम्पियनका साथै विदेशमा रहेका नेपाली ओलम्पियनको पनि कार्यक्रममा सहभागिता रहनेछ।

 कार्यक्रमका दिन बिहान वाकाथन हुनेछ। वाकाथनमा कोसी प्रदेशमा रहेका खेलाडी र ओलम्पियनलगायतको सहभागिता रहनेछ। वाकाथनपछि त्यसै दिन एक भव्य समारोहबीच १९८८ को सिओल ओलम्पिकमा सहभागी नेपाली ओलम्पियनलाई सम्मान गरिनेछ।

१९८८ को सिओल ओलम्पिकमै तेक्वान्दोका विधान लामाले प्रदर्शनी खेलमा कांस्य पदक जितेका थिए। लामा पनि अमेरिकाबाट नेपाल आउने अध्यक्ष विष्टले जानकारी गराए। ओलम्पियन्स संघले विगतका दुई संस्करणमा १९६४ देखि १९८४ का दौरान भएका विभिन्न ५ संस्करणमा सहभागी नेपाली ओलम्पियनलाई सम्मान गरिसकेको छ। 

प्रकाशित: १५ चैत्र २०८० ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App