१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

दाजुभाइ भूपेन्द्र र चन्द्र सेमिफाइनलमा

भाइ चन्द्र (बायाँ) र दाजु भूपेन्द्र आआफ्नो तौलसमूहमा विजयी भएपछि। तस्बिर सौजन्य: विशाल पन्थ

थापा दाजुभाइ भूपेन्द्र र चन्द्रबहादुर छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा जित निकाल्दै बुधबार सेमिफाइनलमा पुगेका छन्।

भूपेन्द्र १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णविजेता हुन्। भूपेन्द्रका भाइ चन्द्रबहादुरले भने गत फागुनमा इटालीमा सम्पन्न विश्व ओलम्पिक क्वालिफायरमा खेलेका थिए। उनै दाजुभाइले बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको आआफ्नो तौलसमूहमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गरे। दुवै नेपाल पुलिस क्लबका हुन्।

भूपेन्द्रले पुरुष ६३ केजीमुनि सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दमाथि जित निकाल्दा चन्द्रले ५१ केजीमुनि कोसीका फुङलाङ काम्बाङलाई हराए। भूपेन्द्रको तौलसमूहमा गण्डकी प्रदेशका निश्चल गुरुङ र त्रिभुवन आर्मी क्लबका खगेन्द्र रोकामगरले सेमिफाइनलमा स्थान बनाएका छन्।

गण्डकीका निश्चलले एपिएफका सोनाम सार्कीमाथि जित रच्दा खगेन्द्रले मधेसका मुनाल जोशीलाई पराजित गरे। चन्द्रको तौलसमूहमा बाग्मती प्रदेशका लालप्रसाद उप्रेतीले लुम्बिनीका भरत पुन, आर्मीका विमल घर्तीमगरले कर्णाली प्रदेशका लक्ष्मण राई र मधेस प्रदेशका रविन थापाले एपिएफका प्रदीप महर्जनलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए।

पुरुष ५७ केजी तौलसमूहमा पुरन राईले प्रोटेस्टका कारण खेल्न नै पाएनन्। त्यससँगै उनका प्रतिद्वन्द्वी पुलिसका निकेश देसारले सहजै दोस्रो चरणको यात्रा तय गर्न पाए। आइबाको एमेच्योर बक्सिङको नियमअनुसार १९ देखि ४० वर्षसम्मका बक्सरले मात्र खेल्न पाउने प्रावधान छ।

पुरन १९८३ को डिसेम्बरमा जन्मिएकाले ४० वर्ष कटेपछि उनले खेल्न नपाएका हुन्। अघिल्लो दिन पुरनले मधेस प्रदेशका रबन अलीलाई हराएका थिए। प्रतियोगिताको टेक्निकल टिम प्रमुख पुष्करराज पन्तको गल्तीका कारण पुरनले खेल्ने अवसर पाए भने रबन पहिलो चरणबाटै बाहिरिनुपर्‍यो। तर, प्रोटेस्टका कारण पुरनमाथि छानबिन भएपछि दोस्रो चरणमा उनी खेल्न अयोग्य भएको पन्तले जानकारी दिए।

यो स्पर्धामा कर्णाली प्रदेशका सुलभ मालीले कोसीका डम्बरबहादुर श्रेष्ठ, सुदूरपश्चिमका विशाल जाग्रीले बाग्मतीका नीराजन मोक्तान र आर्मीका प्रेम चौधरीले लुम्बिनी प्रदेशका मन्सुब बस्नेतलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन्।

महिला ५० केजी तौलसमूहमा बाग्मतीकी रमिशा श्रेष्ठले सुदूरपश्चिमकी सोनिया सेट्ठी र आर्मीकी आरती ब्लोनले कोसीकी शिला राईलाई हराउँदै सेमिफाइनल यात्रा तय गरे। महिला ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले एपिएफकी शर्मिला तामाङ, पुलिसकी निशा तामाङले मधेसकी अन्शु केसीलाई हराउँदै अन्तिम चारमा स्थान बनाएका छन्।

महिला ६० केजीमा आर्मीकी ललिता महर्जनले मधेसकी निश्मा गुरुङ तथा कोसीकी जोनु लिम्बूले सुदूरपश्चिमकी कविता सिंहलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ७१ केजीमा एपिएफका विक्रम चौधरीले मधेसका सुजित पराजुली तथा बागमतीका अश्विनधीरन श्रेष्ठले लुम्बिनीका मनोज श्रेष्ठलाई पन्छाउँदै सेमिफाइनलमा पुगे।

पुरुष ८० केजीमा सुदूरपश्चिमका बालाजी रावलले प्रहरीका प्रदीप पार्की तथा आर्मीका दीपेश लामाले एपिएफका सुमन कार्कीको चुनौती समाप्त पार्दै सेमिफाइनलमा प्रवेश गरे। प्रतियोगिताको पुरुषमा सात र महिलामा ६ गरी १३ स्पर्धामा गरी कुल १०५ बक्सरले प्रतिस्पर्धा गरिरहेका छन्। प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने बक्सरले २५ हजार, १५ हजार ७.५/७.५ हजार नगद पुरस्कार पाउनेछन्। उत्कृष्ट पुरुष/महिला बक्सरले भने जनही ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: १५ चैत्र २०८० ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App