१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विराट गोल्डकप: बिहीबार भुटान र पुलिस भिड्दै

विराट गोल्डकप फुटबल प्रतियोगिताको ८ औं संस्करणको तयारी पूरा भएको छ।

बिहीबारदेखि विराटनगरको सहिद रंगशालामा हुन लागेको फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजक विराट गोल्डकप ट्रष्टले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।

‘हाम्रो शान, विराटनगरको पहिचान विराट गोल्डकप’ भन्ने मूल नाराका साथ चैत १५ देखि २४ गतेसम्म हुन लागेको फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए।

‘बिहीबार हुने उद्घाटन खेल पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) र विभागीय टोली नेपाल पुलिस क्लबबिच हुनेछ। यो गोल्डकपले नेपाली फुटबलको इतिहास बोकेका कारणले पनि महत्त्वपूर्ण तवरबाट हेरिने गरेको छ। विगत वर्षहरुमा ट्रष्टको कार्य समितिमध्ये वा अन्य व्यक्तिलाई संयोजक राखेर हुँदै आएको प्रतियोगितामा पद्धति परिवर्तन गर्दै कसैलाई संयोजक नतोकी ट्रष्ट आफैंले गर्न लागेका हौं।’ उनले भने।

काठमाडौंपछि मोफसलमा पहिलो पटक विराटनगरले रात्रिकालीन फुटबल प्रतियोगिताको सुरुवात गरेको बताउँदै, अध्यक्ष शाहीले भने, ‘पहिले अस्थायी संरचना हुँदा त रात्रिकालीन प्रतियोगिता भयो भने अब त स्थायी संरचना हुँदा नगर्ने भन्ने हुँदैन। बिहीबारदेखि हुने सबै खेलहरु रात्रिकालीन नै हुने छन्। आर्थिक मन्दीका बाबजुद पनि गोल्डकपको इतिहासको साख खस्न नदिनका लागि भए पनि प्रतियोगिता आयोजना गरिएको हो। विगतका वर्षको जस्तो देशको आर्थिक स्थिति छैन। सबै क्षेत्रमा आर्थिक मन्दीले पिरली रहेको अवस्थामा हाम्रो गोल्डकपमा पनि असर पुगेको छ। आर्थिक समस्याबाट गुज्रिरहेको हुँदा यस पटक बाध्य भएर पुरस्कार राशिमा कटौती गर्नु परेको हो।’

उद्घाटन खेलका दुवै टोली प्रतियोगिताको पूर्व विजेतासमेत हुन्। विभागीय टोली पुलिस क्लबले तीन पटक उपाधि चुमिसकेको छ। भुटानको थिम्पु एघारले २०३१ सालमा गोल्डकपको उपाधि चुमेको थियो।

प्रतियोगितामा २ वटा भारतीय, १ वटा भुटानी र ३ विभागीयसहित ७ वटा नेपाली टोली गरेर १० वटा टोलीको सहभागिता रहेको छ।

समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको (एपिएफ) र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड रहेको बताउँदै, ट्रष्टका सचिव तथा गोल्डकप प्रचार प्रसार समिति संयोजक ध्रुव सिग्देलले भने, ‘समूह ‘बि’ मा भारतको सिक्किम ड्रायगन्स, कोकाताको साउर्थन समिति, विभागीय टोली त्रिभुवन आर्मी क्लब, न्युरोड टिम, मच्छिन्द्र फुटबल क्लब छन्।

प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ खर्च हुने अनुमानित बजेट रहेको बताइएको छ। प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ राशि प्राप्त गर्ने छन्।

गत वर्ष विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख ५१ हजार राशि पुरस्कार प्राप्त गरेका थिए। व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही २१ हजार रुपैयाँ प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल र प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ दिइने प्रचार संयोजक सिग्देलले बताए।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२/०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालदेखि विराट गोल्डकपको नामबाट प्रतियोगिता हुँदै आएको छ। गत वर्ष विराटनगर सिटी फुटबल क्लब र भारत केरलाको लुका सकर क्लबबीचको खेलमा विराटनगरले उपाधि जितेको थियो।

प्रकाशित: १४ चैत्र २०८० १८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App