६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

एआई, नक्कली भिडियो, गलत सूचनाको प्रभावमा भारतीय चुनाव

भारतमा चुनाव भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीका दुई शीर्ष सहयोगीको भाषण तोडमोड गरिएको भन्ने विषयको अनुसन्धान र प्रतिद्वन्द्वी कांग्रेस आईका केही कार्यकर्ता पक्राउ परेको घटना अधिक चर्चामा छ।

यो चुनावलाई भारतको पहिलो कृत्रिम बौद्धिकता (एआई) भनिएको छ। यी सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीले गत साता भाजपाका नेताहरूको नक्कली भाषण बनाएर सामाजिक सञ्जालमा प्रवाह गरिएको बताएका थिए।  

बलिउड कलाकारले मोदीको आलोचना गरेका नक्कली भिडियोहरूका बारेमा यसअघि नै अनुसन्धान गरिरहेको भारतीय प्रहरीले अहिले संघीय गृहमन्त्री अमित साहले बोलेको भनिएको एक भिडियो क्लिपका विषयमा छानबिन अगाडि बढाएको छ।

एक चुनावी भाषणमा साहले ‘भारतका केही अल्पसंख्यकले हाल पाइरहेका सामाजिक सुरक्षाका ग्यारेन्टीहरू बन्द गरिने छ’ भनेको क्लिप सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। यो भनाइले लाखौं मतदातालाई प्रभाव पार्न सक्ने मानिएको छ।

सामाजिक सञ्जाल एक्समा साहले आफूले बोलेको र नक्कली भिडियो दुवै पोस्ट गरेका छन्। उनले यो बिषयको सत्यतथ्य बुफ्न प्रहरी अनुसन्धानका लागि निर्देशन दिइसकेको बताएका छन्।

यो मामिलामा प्रहरीले गत साता असम, गुजरात, तेलंगाना र नयाँदिल्ली राज्यबाट प्रतिपक्षी कांग्रेसको सामाजिक सञ्जाल टिमका ६ जनासहित कम्तीमा नौजनालाई उक्त नक्कली भिडियो सामाजिक सञ्जालमा फैलाएको आरोपमा गिरफ्तार गरेको छ। तीमध्ये कांग्रेसका पाँचजनलाई रिहा गरिएको छ।

भिडियो सेयर गरेको आरोपमा शुक्रबार कांग्रेसको सामाजिक सञ्जालका राष्ट्रिय संयोजक अरूण रेड्डीलाई गिरफ्तार गरिएको छ। कांग्रेस कार्यकर्ताले सामाजिक सञ्जालबाट गिरफ्तारीविरुद्ध अभियान थालेका छन्। कांग्रेस विधायक मनिकम टैगोरले राज्यसत्ताले शक्तिको तानाशाही हिसाबले दुरूपयोग गरेको बताएका छन्।

गलत सूचना प्रवाह

भारतमा विभिन्न चरणमा अप्रिल ९ देखि सुरु भएको निर्वाचन जुन १ मा सकिनेछ। भारतीय निर्वाचन विश्वकै सबैभन्दा ठुलो प्रजातान्त्रिक अभ्यास मानिन्छ। लगभग एक अर्ब मतदाता र ८० करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता प्रत्यक्ष रूपमा जोडिएको यो निर्वाचनमा गलत सूचना प्रवाहलाई सम्बोधन गर्नु चुनौतीपूर्ण छ।

गलत सूचना प्रवाह रोक्न प्रहरी र निर्वाचन अधिकारी चौबीसै घण्टा निगरानीमा जुटेका छन्। यी निकायले विवादास्पद पोस्टिङलाई फेसबुक र एक्सबाट तत्काल हटाउन आदेश दिएका छन्।

निर्वाचनका क्रममा चर्चाको शिखरमा उत्तर प्रदेशका मुख्यमन्त्री तथा मोदीका सहयोगी योगी आदित्यनाथले बोलेको भनेर राखिएको भिडियो पनि रहेको छ।

गत साता सार्वजनिक गरिएको सो भिडियोमा मुख्यमन्त्री योगीले सन् २०१९ मा भएको आतंकवादी हमलामा मृतकका परिवारजनको हितमा प्रधानमन्त्री मोदीले पर्याप्त हिसाबले काम नगरेको भनेर आलोचना गरेको देखाइएको छ।

प्रहरीले एआईको सहयोगमा नक्कली भिडियो बनाइएको जनाएको छ। योगीको मौलिक भनाइलाई तोडमोड गरेर उक्त भिडियो बनाइएको प्रहरीको कथन छ।  

इन्टरनेट प्रयोगकर्ताको ठेगानाका आधारमा प्रहरीले श्याम गुप्तालाई मे २ तारिखमा गिरफ्तार गरेको छ। प्रहरीले गुप्तामाथि जालसाजी र शत्रुतालाई बढवा दिएको आरोप लगाएको छ। आरोप प्रमाणित भएमा उनलाई सात वर्षसम्म जेल सजाय हुन सक्छ।

प्रहरी अधिकारीले पक्राउ गरिएका गुप्ता प्राविधिक व्यक्ति नभएको र उनीसँग यथेष्ट प्राविधिक ज्ञान भएको भए यति छिटो पक्राउ गर्न सम्भव नहुने बताएका छन्। –रोयटर्स 

प्रकाशित: २४ वैशाख २०८१ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App