५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भारतीय प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा

भारतीय प्रधानन्यायाधीश डा. डिवाई (धनञ्जय यशवन्त) चन्द्रचुड तीन दिने औपचारिक भ्रमणका सिलसिलामा नेपालमा छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी शुक्रबार नेपालको औपचारिक भ्रमणमा आएका हुन्। सर्वोच्च अदालतको निमन्त्रणामा औपचारिक रूपमा नेपाल भ्रमण गर्ने उनी नै पहिलो भारतीय प्रधानन्यायाधीश भएको दाबी गरिएको छ।

प्रधानन्यायाधीश चन्द्रचुडले सर्वोच्चको केन्द्रीय बाल न्याय समितिको आयोजनामा शनिबार भएको राष्ट्रिय बाल न्याय संगोष्ठीमा भाग लिए। मुख्य वक्ताका रूपमा उनले आर्थिक–सामाजिक विभेद र परिवारको विखण्डनलगायत विभिन्न कारणले बालबालिका झनै संकटमा परेको बताए। उनले नेपाली र भारतीय समाज उस्तै प्रकृतिका भएकाले बाल न्यायसम्बन्धी अनुभव र ज्ञान साटासाट महत्वपूर्ण हुने स्पष्ट पारे।

१८ वर्षमुनिका बालबालिकाले सही र गलत छुट्यााउन नसक्ने भएकाले कुनै अपराधमा संलग्न भएको खण्डमा सुधार र सामाजिक पुनःस्थापना महŒवपूर्ण हुने उनको भनाइ थियो। बालबालिकाको गल्तीमा दण्डसजायभन्दा पनि सुधारसहित सामाजिक पुनःस्थापना जरुरी हुने उनले स्पष्ट पारे।

उनले कुनै घटनाका कारण बालबालिकामाथि अनुसन्धान गर्नुपर्ने भए भिन्नै तरिकाले जानुपर्नेमा जोड दिए। बालबालिका अपराधको जोखिममा परेको खण्डमा संरक्षणको दायित्व हुने पनि उनले उल्लेख गरे।

साथै बालबालिकालाई बेलाबेलामा मनोवैज्ञानिक परामर्शको आवश्यकता पर्ने उनको भनाइ थियो। होटल र्‍याडिसनमा भएको बाल न्याय संगोष्ठीमा सरकारी सञ्चारमाध्यमलाई मात्रै समाचार संकलनका लागि अनुमति दिइएको थियो।

गत माघमा भारतीय सर्वोच्च अदालतको ७५औं वार्षिकोत्सव समारोहमा सहभागी हुन प्रधानन्यायाधीश श्रेष्ठ भारत भ्रमणमा गएका थिए। त्यहीबेला उनले समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। प्रधानन्यायाधीश श्रेष्ठ र भारतीय समकक्षी चन्द्रचुडबीच औपचारिक द्विपक्षीय वार्ता, रात्रिभोजलागयत कार्यक्रम रहेको सर्वोच्चले जनाएको छ। 

शुक्रबार साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका चन्द्रचुडलाई सर्वोच्चका वरिष्ठतम न्यायाधीश डा. आनन्दमोहन भट्टराई, मुख्य रजिस्ट्रारलगायतले स्वागत गरेका थिए। साथै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि स्वागतका लागि पुगेका थिए।

भारतीय प्रधानन्यायाधीश चन्द्रचुडका साथमा उनकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेशकुमार र कोर्ट मास्टर चेतन अरोरा पनि नेपाल आएका छन्।

प्रधानन्यायाधीश चन्द्रचुडले शनिबार पाटन, भक्तपुर र हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरे। उनले आइतबार मुक्तिनाथ दर्शन गर्ने कार्यक्रम छ। उनले अन्नपूर्ण आधार शिविर पुग्ने कार्यक्रम पनि तय गरेको बताइएको छ।

प्रकाशित: २३ वैशाख २०८१ ०८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App