२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सबैभन्दा गरिब बाजुरेली, धनी मुस्ताङे

फाइल तस्वीर

देशभरमा सबैभन्दा गरिब परिवार बाजुरेली तथा धनी परिवार मुस्ताङे रहेको पाइएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको गरिब पहिचान कार्यक्रमबाट यस्तो तथ्यांक तयार भएको हो।

मन्त्रालयले अहिलेसम्म ७७ जिल्लामा गरिब पहिचान कार्यक्रम पूरा गरेको छ। जसमध्ये ६४ जिल्लामा तथ्यांकसमेत विश्लेषण गरीसकेको छ। त्यसमध्ये ४९ जिल्लामा गरिब परिवारलाई परिचयपत्रसमेत वितरण गरिसकेको छ। बाँकी १३ जिल्लामा तथ्यांक संकलन भइसकेको र त्यसको विश्लेषण गर्ने काम भइरहेको मन्त्रालयको जनाएको छ।

तथ्यांक विश्लेषण गरिएको ६४ जिल्लामध्ये सबैभन्दा बढी गरिब परिवार बाजुरावासी देखिएका छन्। मन्त्रालयका अनुसार बाजुरामा रहेका कुल परिवार संख्या २१ हजार सात सय ११ मध्ये ६३ दशमलव ६३ प्रतिशत परिवार गरिब छन्। यसलाई संख्यामा निकाल्दा बाजुरामा १३ हजार आठ सय १५ परिवार गरिब छन्। यसमध्ये ६ हजार चार सय ९४ परिवार अति गरिब, चार हजार दुई सय ६२ मध्यम गरिब, तथा तीन हजार ५९ परिवार साामान्य गरिब छन्। बाजुरापछि गरिब परिवार भएको जिल्ला कालीकोट हो। कालीकोटपछि बझाङ हो। कालीकोटमा रहेको कुल परिवार संख्या १२ हजार ६ सय ८४ रहेको छ।

यसमध्ये ५७.६८ प्रतिशत परिवार गरिब छ। कालीकोटमा रहेका कुल गरिब परिवारमध्ये पाँच हजार नौ सय ८५ परिवार अति गरिब, तीन हजार नौ सय ५१ परिवार मध्यम गरिब तथा दुई हजार सात सय ४८ परिवार सामान्य गरिब छन्।

मन्त्रालयका अनुसार बझाङमा कुल परिवार सख्या १६ हजार चार सय ५८ छ। यसमध्ये त्यहाँ ५६.१९ प्रतिशत परिवार गरिब छ। बझाङमा रहेको कुल परिवारमध्ये असात हजार नौ सय ४४ परिवार अति गरिब, पाँच हजार १३ परिवार मध्यम गरिब तथा तीन हजार पाँच सय एक परिवार सामान्य गरिब रहेको पाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा कम गरिब परिवार रहेको जिल्ला मुस्ताङ हो।

मुस्ताङमा रहेको कुल परिवार संख्यमध्ये ५.०३ प्रतिशत परिवारमात्र गरिब छ। बाँकी परिवार धनी छ। मुस्ताङमा कुल परिवार संख्या दुई हजार दुई सय ६६ रहेको छ। यसमध्ये ३१ परिवार मात्र अति गरिब, ३४ परिवार मध्यम गरिब तथा ४९ परिवार सामान्य गरिब रहेको पाइएको छ।

मुस्ताङपछि सबैभन्दा कम गरिब रहेको जिल्ला मनाङ हो। मनाङमा कुल परिवार संख्या एक हजार एक सय ५२ रहेको पाइएको छ। यसमध्ये ५पाँच दशमलब १२ प्रतिशत परिवार मात्र गरिब छ। बाँकी परिवार धनी रहेको पाइएको छ।

मुस्ताङमा रहेको कुल परिवार संख्यामध्ये ६ परिवार मात्र अति गरिब रहेको पाइएको छ। यसैगरी, १४ परिवार मध्यम गरिब र ३९ परिवार सामान्य गरिब रहेको पाइएको छ। ‘तथ्यांक विश्लेषण गर्न बाँकी जिल्ला काठमाडौं उपत्यकालगायतका सहरी क्षेत्रका हुन्।

त्यसैले समग्रमा तथ्यांक आइसकेको र तथ्यांक विश्लेषण भइरहेका ७७ जिल्लाको सूची हेर्ने हो भने सबैभन्दा धेरै गरिब परिवार रहेका जिल्ला बाजुरा र कालीकोट नै हुने निश्चित छ,’ मन्त्रालयको गरिब पहिचान तथा मापदण्ड शाखाका प्रमुख झवीन्द्र पाण्डेले भने, ‘अहिलेसम्म हामीले ६४ जिल्लामा पहिचान गरिएको कुल गरिब परिवार संख्या १० लाख ५१ हजार पाँच सय १३ परिवारमध्ये पाँच लाख ८४ हजार ६ सय ९६ परिवार अति गरिब, दुई लाख ८३ हजार नौ सय ५० परिवार मध्यम गरिब तथा दुई लाख दुई हजार आठ सय ६७ परिवार मध्यम गरिब परिवार रहेको पाइएको छ।’

मन्त्रालययले गरिब पहिचान परिचयपत्र बाँड्दा रातो रंगको परिचयपत्र अति गरिब, पहिलो रंगको मध्यम गरिब तथा निलो रंगको परिचयपत्र सामान्य गरिब परिवारलाई बाड्ने गरेको छ।

गरिब परिवार पहिचान गर्ने नाममा गरिबी निवारण मन्त्रालयले ११ वर्षदेखि बर्सेनि करोडौं रूपैयाँ खर्च गर्दै आएको छ। २०७५ देखि २०७८ सम्म मात्रै झन्डै २ अर्ब रूपैयाँ खर्च भएको गरिबी निवारण मन्त्रालयले जनाएको छ। २०७० सालमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण समन्वय बोर्ड गठन गरेर गरिब परिवार पहिचान गर्न कार्यक्रम सुरु गरिएको थियो।

२०७५ सालमा सरकारले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण समन्वय शाखा खारेज गरी त्यसको ठाउँमा भूमि तथा गरिबी निवारण मन्त्रालयको मातहतमा गरिब पहिचान तथा मापदण्ड शाखा गठन गरिएको छ।

प्रकाशित: १४ वैशाख २०८१ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App