२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सगरमाथा चुम्दै सागर

सगरमाथा आरोहणको तयारीमा रहेका सागर सुनार (बाँयाबाट देस्रो)

‘हिमाल कसले चढ्छ?’ भन्ने सवाल उठ्यो भने जवाफमा एउटा विम्ब आउँछ, ‘हिम्मतिलो, साहसिक, आर्थिक रूपमा सम्पन्न र शारीरिक रूपमा सशक्त।’ अझ भनौं, शेर्पा समुदायका मानिसहरू। तर, शारीरिक रूपमा अशक्तता भएका सागर सुनार विश्वकर्मा त्यो प्रचलित भाष्य बदल्न चाहन्छन्। जसमा आँट र आत्मविश्वास हुन्छ, उसैले हिमाल चढ्न सक्छ भन्ने ध्याउन्नमा सागर सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा छन्।  

कास्कीको मादी गाउँपालिका–११ मकैखोलामा जन्मिएका ३० वर्षीय विश्वकर्माको उचाइ केवल तीन फिट सात इञ्च छ। तर, सर्वोच्च शिखर चुम्ने उनका चाहनामा त्यो उचाइ बाधक बनेको छैन। सगरमाथा आरोहणको अनुमति पाएसँगै शिखर चुम्न वैशाख ११ देखि उनको हिँडाइ सुरु भइसकेको छ।

सगरमाथा चुम्नु पहिले उनको गन्तव्य ६ हजार एक सय १९ मिटरको उचाइमा रहेको सोलुखुम्बुस्थित लोबुचे हिमालको आरोहण सकेपछि सगरमाथा प्रस्थान गर्ने उनी बताउँछन्। उनको सगरमाथा चढ्ने सानैदेखिको सपना पूरा हुँदैछ।

‘सगरमाथा आरोहण गरेर विश्वमा फरक क्षमता भएका व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन चाहेको हुँ,’ दार्शनिकझैं उनले भने, ‘समयले कैयौं कठिन परिस्थितिको सामना गरे सुनौलो सपनाको सत्मार्गमा पुग्न सकिन्छ। शारीरिक रूपमा सक्षम र अब्बल हुँदा पनि लक्ष्यहीन मानिसको जीवन व्यर्थ हुन्छ। मेरो एउटै सपना हो, सगरमाथा चढ्नु। म फेरि पनि सगरमाथा चढ्दैछु, अब चुचुरो चुमेर हिमाल आरोहण गर्ने पहिलो होचा व्यक्तिको विश्व कीर्तिमान राख्नेछु।’

उनले यस्तो गरिमामय उद्देश्य महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको यो पंक्तिभन्दा कम छैन, ‘के हो ठूलो जगतमा पसिना विवेक, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक।’

‘लुक्लाबाट लोबुचेको आरोहण चार/पाँच दिनमा सकिएलगतै सगरमाथाको चुचुरोमा पुग्ने तयारी हुन्छ,’ उनले भने, ‘मेरो मनले सगरमाथा चढ्न सक्छस् भन्ने आँट दिइसकेको छ। शारीरिक अवस्था सन्तुलन नभए पनि औषधि खाएर सबै ठिक गरिसकेको छु। अब मलाई डर भनेकै मौसमसँग हो। जति माथि गयो उति नै मौसमले चुनौती दिन्छ। मौसमले पनि साथ दिए सगरमाथा सहजै चढ्न सक्ने भित्रैबाट साहस आएको छ।’

सन् २०२२ मा उनले सगरमाथा चढ्ने प्रयास गरेका थिए। सगरमाथाको चुचुरोमा पुग्ने क्रममा आठ हजार दुई सयस्थित अन्तिम शिविरको उचाइसम्म पुगेको अनुभव उनको छ। ‘त्यो समयमा प्राकृतिक समस्या भएर चुचुरोमा नपुग्दै फर्किनुपर्याे,’ उनले भने।  

सन् २०२१ अक्टोबरमा दोलखा रोल्वालिङ उपत्यकास्थित पाँच हजार नौ सय २५ मिटर अग्लो रामदुङ हिमालको सफल आरोहण उनले गरिसकेका थिए। २१ पटक सगरमाथाको शिखर चुमेका पेम्बा दोर्जे शेर्पाले रोल्वालिङ र सगरमाथा दुवै शिखर चढ्दा साथ दिएको विश्वकर्माले बताए।

त्यतिबेलादेखि उनले सन् २०२४ मा दोर्जे शेर्पा वा लाक्पा शेर्पाको सहायताले सगरमाथा चढ्ने योजना बुन्दै आएका थिए। अब उनलाई सगरमाथा चढ्नमा साथ दोर्जे र लाक्पा नै नभए पनि नर्विङ मगरको नेतृत्वमा तीनजना शेर्पाहरूले सहायता दिने उनी बताउँछन्। आज उनको त्यो सपना पूरा हुन पाउँदा आफू भाग्यमानी नै रहेको बताउँछन्।

शेर्पाकै साथले रामदुङ हिमालको आरोहण गरेका उनलाई सगरमाथा चढ्न परिवार र साथीभाइको ठूलो साथ रहेको छ। ‘मलाई परिवारको राम्रो साथ मिलेको छ,’ उत्साहित हुँदै उनले भने, ‘मैले हिमाल चढ्ने आँट गरेको देखेर चिनेजानेकाले आर्थिक सहयोगसमेत गरेका छन्।’

बुकिङ ओन प्रालिमार्फत सगरमाथा आरोहणमा जान लागेको उनले अहिले आर्थिक जोहोलगायत तयारी गरिरहेको जानकारी दिए। साथीभाइ, परिवार र विशेष गरेर बुकिङ ओनकै नर्विङ मगरले आफूलाई हिमाल आरोहण गर्न आर्थिक सहयोग गरेको उनी बताउँछन्। करिब महिनादिनभित्र सगरमाथाको शिखर चुमेर फर्किसक्ने विश्वकर्माको अठोट छ।

सगरमाथाको चुचुरोमा पुगेर आफूजस्ता व्यक्तिलाई हौसला, आट र साहस दिनुका साथै विश्वभर सन्देश प्रवाह गर्ने उद्देश्यले सगरमाथाको चुचुरोतर्फ पाइला अगाडि बढाएको आरोही विश्वकर्माले जानकारी गराए। पारिवारीक जीवनमा सबै भन्दा बढी साथ, हौसला र माया दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्ने आँट आएको सागर सुनाउँछन्।

समाजमा फरक क्षमताका मानिसलाई हेर्ने दृष्टिकोण नराम्रो भएको अनुभव उनको छ। ‘हामीजस्तो मान्छेलाई कस्तो नराम्रो नजरले टाढैबाट हेर्ने गर्छन्। त्यसरी हेर्न मानिसले जीवनमा केही गर्न नसक्लान्। तर, मलाई मरेरै भए पनि सगरमाथा चढ्नु छ। आफ्नो ‘सागर’ नाम चिनाउनु छ। साथै अरूलाई पनि प्रेरणा दिनुछ। प्रतिनिधित्व गर्दै सगरमाथाको चुचुरोमा पाइला टेक्न हरदम तयारी गर्दैछु।’ सगरमाथासहित सात वटा महादेशका चुचुरोहरू आरोहण गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

दिदी उर्मिलाले भाइ सागरको आरोहण पूरा गर्न आर्थिक सहयोगका लागि ‘सागर शिखर संस्था’ स्थापना गरेर अभियान चलाइरहेको विश्वकर्माले बताए। सगरमाथाको चुचुरोमा पाइला राखेसँगै देशको झन्डा फरफराउँदै विश्व रेकर्ड राख्ने उनको ठूलो चाहना रहेको छ। एउटै सपना सगरमाथा चढ्न सफल भएको दिन साह्रै खुसी हुने उनी सुनाउँछन्।  

आफूजस्तो शारीरिक रूपमा अशक्त र होचा–पुड्काले पनि सगरमाथा चढ्न सकिन्छ भन्ने सन्देश सगरमाथा आरोहणको खास उद्देश्य रहेको उनले बताए। ‘हाम्रो समाजमा म जस्ता होचा–पुड्काले केही गर्न सक्दैनन् भन्ने सोचाइ छ। अझै समाजमा मानिस आफ्नै सोचाइमा सक्षम हुन सकेका छैनन्। तर, हरेक मानिस केही न केही कुरामा सक्षम हुन्छन्। त्यसैले आफु सक्षम नहुँदा अरू पनि अक्षम छन् भन्ने नराम्रो दृष्टिले समाजलाई उकास्ने होइन् भास्सिनेतिर लागेको छ।’

उनले थपे, ‘त्यस्तो समाजलाई प्रगतितिर लान र होचा–पुड्का साथीहरूमा हौसला र आत्मविश्वास बढाउन मैले फेरि पनि हिमाल चढ्ने साहस गरेको हुँ।’ सगरमाथा चुम्ने लक्ष्य राखेका विश्वकर्मा त्यस्तो सफलता हाँसिल गर्ने विश्वकै पहिला होचा–पुड्का व्यक्तिको कीर्तिमानी उनकै नाममा दर्ता हुनेछ।

१० वर्षअघिसम्म सुनपसलमा काम गर्ने क्रममा एक्कासि घाँटीको मूल नसा च्यापिएपछि उनको शरीर नचल्ने भयो। उनी औषधिको पोको बोक्दै हिँड्ने गर्छन्। ‘मेरो जिन्दगी भनेकै औषधि हो,’ उनले भने, ‘मलाई आजसम्म औषधिले नै बचाइराखेको छ। कक्षा ५ पढ्दादेखि नै बिरामी हुन थाले। रोग अझै ठिक भएको छैन। हड्डीको समस्याले शरीर पूरै काम्छ।’

बाँचुन्जेल विश्वसामु आफूलाई चिनाउन सगमाथा चढ्न लागेको उनले बताए। उनकी दिदी उर्मिला सुनार र पर्वतारोही कान्छीमाया तामाङ घनिष्ठ मित्र भएका कारण हिमाल चढ्ने अवसर पाएको उनले बताए। एकदिन कान्छीमायाले उर्मिलासँग शारीरिक रूपमा फरक क्षमता भएका मानिसहरूले पनि हिमाल आरोहण गरिरहेको उनले सुनाइन्। त्यसलगत्तै उर्मिलाले हिमाल चढ्न उत्प्रेरणा दिएकी सागर बताउँछन्।

प्रकाशित: १४ वैशाख २०८१ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App