३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

खेतीमा हाल्न मल नदिनेलाई कसरी मत दिने?

मल अभावमा यसपटक धानको उत्पादन कम भएपछि रौतहट गढीमाई–४ की सरितादेवी निराश छिन्। धान कम फलेकोमा भन्दा किन्दा पनि मल नपाएकाले उम्मेदवार देख्नेबित्तिकै उनी आक्रोशित हुन्छिन्। ‘तपाईंहरु पनि भोट माग्न आएको कि,’ हामीलाई देख्नेबित्तिकै उनले भनिन्, ‘मलाई त नेता देख्यो कि रिस उठ्छ ।’ पति वैदेशिक रोजगारीमा गएकाले सन्तानसहित खेतमा धान काट्दै गरेकी सरितादेवीले समयमा मल पाएको भए उत्पादन दोब्बर हुने सुनाइन्। ‘समयमा मल दिन नसक्नेहरू अहिले मत माग्दै आएका छन्,’ उनले भनिन्, ‘महँगो मल किन्न नसक्दा अहिले धान कम फलेको छ ।’ सामान्यतया प्रतिकट्ठा पाँच मन फल्ने गरेको खेतमा तीन मन पनि मुस्किलले पुग्ने उनले सुनाइन्।  

उनको जस्तै आक्रोश छ, दुर्गाभगवती गाउँपालिकाका आत्माराम शाहको पनि। पाँच मन फल्ने खेतमा दुई मन मात्र धान फलेपछि उनी पनि आक्रोशित देखिए। ‘खेतीको समयमा हामीले मलका लागि सबैलाई आग्रह गर्‍यौं, कसैले चासो देखाएनन्,’ उनले भने, ‘अहिले चुनावको बेलामा चाहिँ खेतमै आएर भोट माग्दैछन् ।’ चाहिएको बेला मल दिन नसक्नेले अहिले आश्वासन दिएर झुक्याउँदै गरेको उनले सुनाए।

विगतमा चुनाव जितेकाले विश्वास जित्न नसकेपछि उनीजस्तै यस भेगका थुप्रै मतदाता निराश र आक्रोशित देखिन्छन्। उम्मेदवार र तिनका कार्यकर्तालाई चुनाव लागे पनि सर्वसाधारणलाई यसले छोएको छैन। पुराना नेताप्रति आक्रोशित देखिए पनि सरितादेवी भोट भने हाल्न जाने सुनाउँछिन्। ‘खेतमा सिँचाइ र समयमा मल दिनेलाई भोट दिने रहर छ,’ उनले भनिन्, ‘तर अहिलेसम्म त्यस्तो उम्मेदवार ठम्याउन सकेकी छैन।’

उनको जस्तै धारणा राख्छन् पारस भण्डारी। ‘नेताहरू आश्वासन दिन्छन् तर पूरा गर्दैनन्,’ उनले भने, ‘अहिले त जुन जोगी आए पनि कान चिरिएजस्तो भएको छ।’ सिँचाइ, बिउबिजन, उचित मूल्य र कृषिबजारको अभावमा किसानले वर्षौंदेखि पीडा भोग्दै आएको उनले सुनाए। ‘बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको हुन्छ,’ उनले थपे, ‘तर यो व्यवहारमा कहिल्यै लागु भएन।’

दुवै गठबन्धनमा गडबड

चार निर्वाचन क्षेत्र रहेको रौतहटमा सत्तापक्ष र प्रतिपक्षबीचको दुवै गठबन्धनमा गडबडी देखिएको छ। वाम-लोकतान्त्रिक र एमाले-जसपा गठबन्धनभित्रका उम्मेदवार आफैं मात्र जित्ने दाउमा लागेकाले गठबन्धनको विश्वसनीयतामा प्रश्नचिह्न खडा भएको छ। रौतहटका चारवटै क्षेत्रमा माथिल्लो निकायबाट गठबन्धन भए पनि तल्लो तहमा फितलो देखिएको जानकार बताउँछन्।

‘हेर्दा गठबन्धन देखिन्छ तर यथार्थमा देखिन्न,’ देवाहीगोनाहीका नागरिक अगुवा मणिशंकरलाल निधि भन्छन्, ‘राजधानीमा शीर्ष नेतृत्वले बाँधेको गठबन्धनको गाँठो रौतहटमा फुकेको देखिन्छ, गठबन्धन प्रभावकारी नबन्दा कतिपय ठाउँमा उम्मेदवारहरू आफू मात्र जित्ने अभियानमा समेत लागेको उनले सुनाए।

नेकपा एसका अध्यक्ष माधव नेपाल उम्मेदवार भएको रौतहट क्षेत्र नम्बर १ मा उनी सुरक्षित देखिए पनि जिल्लाका अन्य क्षेत्रमा भने गठबन्धनमा व्यापक गडबडी देखिएको छ।

नेपाल आफ्नो चुनावी क्षेत्रमा पर्ने प्रदेशसभाका दुवै सिट नेपाली कांग्रेसलाई दिएर आफू सुरक्षित जोनमा बसेका छन्।

२०४८ सालदेखि नेपाली कांग्रेसको गढ मानिएको क्षेत्र नम्बर २ मा पूर्वमन्त्री अफ्ताव आलम राजपुर बमकाण्डमा मुछिएर जेल गएपछि कांग्रेसले विरासत जोगाउन आलमका जेठा छोरा डा. फिर्दोस आलमलाई वामलोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनाएको छ। कांग्रेसले फिर्दोसलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएपछि सो क्षेत्रको प्रदेशसभामा लोसपाका शेख जमसेद र माओवादी केन्द्रका अशोक जैशवाल उनीसँगै चुनावी मैदानमा छन्। क्षेत्र २ को प्रदेशसभामा कांग्रेसमा पूर्व प्रदेशसभा सदस्य नागेन्द्र सिन्हाले स्वतन्त्र र नेकपा एसका कनिश पटेलले पार्टीको तर्फबाट उम्मेदवारी दिएकाले उक्त क्षेत्रको समग्र गठबन्धनमा गडबडी देखिएको छ।

उक्त क्षेत्रमा एमाले-जसपाले प्रतिनीधिसभामा जसपाका तर्फबाट शैलेन्द्र साहलाई उम्मेदवार बनाएपछि एमालेका किरण साहले स्वतन्त्र उम्मेदवारी दिएर अप्ठेरोमा पारेका छन्। उक्त क्षेत्रमा सत्तापक्ष र प्रतिपक्षका दुवै गठबन्धनमा गडबडी देखिएकाले मतदाता अन्योलमा रहेका छन्।

प्रभुको लीला अपरम्पार

नोमिनेसनको समयमा एमालेलाई धोका दिएर स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमाओवादी नेता प्रभु साहका कारण रौतहट क्षेत्र नम्बर ३ को समीकरण नाटकीय ढंगले बदलिएको छ। वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट माओवादीको भागमा परेको यस क्षेत्रमा एमालेलाई धोका दिएर स्वतन्त्र उम्मेदवार प्रभु साहले गठबन्धनको समर्थन पाएपछि चुनावी समीकरण फेरिएको हो। गठबन्धनको शीर्ष नेतृत्वले साहलाई समर्थन गर्न उर्दी जारी गरे पनि स्थानीय तहमा त्यो लागु हुन सकेको देखिएन। गठबन्धन मध्येकै शीर्ष दल नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्र भन्ने सुनिल यादवले गठबन्धनलाई मानेको देखिएन।

प्रभु साहविरुद्ध नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका ओमप्रकाश साहले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनमा समस्या देखिएको छ। प्रभु साहको क्षेत्रमा प्रदेशसभा उम्मेदवार बनेका सुनिल यादवले समेत स्वतन्त्र उम्मेदवार ओमप्रकाशलाई लिएर चुनावी मैदानमा होमिएपछि प्रभु संकटकमा देखिएका छन्।

प्रभुबाट धोका पाएका एमाले पनि स्वतन्त्र उम्मेदवार ओमप्रकाशकै पक्षमा देखिएपछि यस क्षेत्रमा गठबन्धनको किचलो उत्कर्षमा पुगेको छ। प्रभु साहको निर्वाचन क्षेत्रमा पर्ने प्रदेशसभामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसमेत प्रभुलाई छाडेर स्वतन्त्र उम्मेदवारलाई सघाएको देखिएपछि गठबन्धन थप संकटमा परेको छ।

त्यस्तै क्षेत्र नम्बर ४ मा पनि सत्तापक्ष र प्रतिपक्षका दुवै गठबन्धनमा समस्या देखिएको छ। वामलोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका पूर्वसांंसद देवप्रसाद तिमल्सिना र एमाले-जसपाबाट उम्मेदवारी दिएका उद्धव रेग्मीबीच चुनावी प्रतिस्पर्धा रहेको यस क्षेत्रको प्रदेश सभामा भने किचलो देखिएको छ। वामलोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभाको ‘क’मा माओवादी केन्द्रका समीर भट्टराई र ‘ख’मा नेकपा एसका शेख सतारले उम्मेदवार बने पनि ‘क’ मा नेकपा एसका बालकृष्ण श्रेष्ठ उम्मेदवार बनेपछि वामलोकतान्त्रिक गठबन्धन संकटमा परेको छ।

त्यस्तै ‘क’ मा एमाले-जसपाका तर्फबाट एमालेका अखिलेश्वर र ‘ख’ अब्दुल कलाम ‘आजाद’ आधिकारिक उम्मेदवार छन्। तर एमालेका रवि जैशवालले ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएपछि प्रतिपक्षी गठबन्धनमा पनि ठुलो चुनौती थपिएको छ। 

प्रकाशित: १७ कार्तिक २०७९ ००:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App