४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले भक्तपुर अधिवेशन : तोडिएला बस्नेतको बोलवाला ?

एमाले भक्तपुरको नवौं जिल्ला अधिवेशन जति नजिक आउँंदै छ उति नै पार्टीका युवा नेता महेश बस्नेतको वर्चस्वबारे चर्चा चुलिन थालेको छ। आगामी जेठ ३ र ४ गते हुने अधिवेशन जति नजिकिँदै छ, अधिवेशनको पारो पनि त्यहीअनुरुप तात्दै जान थालेको हो।

यसअघिको जिल्ला अघिवेशनभन्दा फरक समीकरण बन्ने भएकाले पनि यो अधिवेशनले एमालेका कार्यकर्ता पंक्तिलाई उत्साहित पारेको छ। यसर्थ यसपटकको अधिवेशनमा नेतृत्वलाई लिएर फरक समीकरण बन्ने लगभग पक्का भएको एमाले एक नेताले बताए।

ती नेताका अनुसार यसअघि एमालेका युवा नेता एवं पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतले जिल्लामा जस्तो नेतृत्व ल्याउन खोजेको हो, त्यस्तै नेतृत्व हुँदै आएको थियो। उनले भनेका प्रायः कुरामा सहमति हुँदै आएको थियो।

यसपटक उनले कसैगरी पनि सूर्यविनायक नगरपालिकाका मेयर एवं जिल्ला पार्टीका उपाध्यक्ष वासुदेव थापाबाहेकको जिल्ला नेतृत्व निर्माणका लागि कसरत गरेपछि उनलाई मेयर थापाले ठाडै चुनौती दिएका छन्।

ती नेताका अनुसार नेता बस्नेतले खडा गर्ने नेतृत्वविरुद्ध उनले अर्थात् थापाले पनि प्यानल खडा गरेको चर्चा छ। अहिलेकै जिल्लाको टिमबाट नेता बस्नेतले थापालाई रिङआउट गर्न खोजेपछि थापाले बस्नेतलाई ठाडो टक्कर दिएका हुन्।  

स्रोतका अनुसार गत स्थानीय निकायको निर्वाचनदेखि नै बस्नेत र थापाका बीचमा सम्बन्ध बिग्रन थालेको थियो। बस्नेतले किरण थापालाई सूर्यविनायक नगरपालिकाको मेयरका लागि लबिङ गरेपछि थापा बस्नेतसँग चिढिएका थिए।

थापा चिढिएकै कारण पछिल्लो संसदीय निर्वाचनमा पनि नेता बस्नेत कांग्रेसका दुर्लभ थापासँग थोरै मतले मात्रै हारेका थिए। संसदीय निर्वाचनमा बस्नेतलाई हराउन मेयर थापाले भूमिका खेलेको आरोप लगाउनेहरुको पनि कमी छैन।  

यसअघि बिरलै एक ठाउँमा उभिएका नेतामाझ अच्चमकै धुवीकरण हुँदै छ यसपटक। बस्नेतसँग नेताहरु सोम मिश्र, निर्मल भट्टराई, राजेन्द्र राजथला, शशिजग थापाहरु छन् भने उता अध्यक्ष वचन देउजाले पार्टी जिल्ला उपाध्यक्ष वासुदेव थापालाई लिएर टिम निर्माणको कसरत गरिरहेको बताइन्छ।

नेता बस्नेत देउजाको पुनः नेतृत्वलाई स्वीकार्ने पक्षमा रहेको बताइन्छ, तर उनले उपाध्यक्ष थापाको साथ छाड्नुपर्ने सर्त राखेपछि अध्यक्ष देउजाले आफू थापाको साथ छाड्न नसक्ने बताएको स्रोतले जानकारी गरायो।  

स्रोतका अनुसार, यसपटक बस्नेतका साथमा देखिन लागेका नेताहरु सोम, निर्मल र राजथलाले भने वचनलाई पुनः अध्यक्ष बनाएर जान नसक्ने बस्नेतलाई बताउँदै आएका थिए। बस्नेतको तर्फबाट अध्यक्षमा अहिलेका सचिव मोहनवीर श्रेष्ठ, शम्भु दाहाल र नवराज गेलालमध्ये एकजना उम्मेदवार हुने बताइएको छ।

देउजा–थापाको टिमबाट पुनः अध्यक्ष र उपाध्यक्षमा वचन देउजा र वासुदेव थापा नै सचिवमा अनिल श्रेष्ठ, शिवराम तिमिल्सिना र गोविन्द चोलागाईंको चर्चा छ। सहसचिवमा रवीन्द्र सापकोटाको नाम सुन्नमा आएको छ।  

उता, बस्नेलले नेतृत्व गरेको टिममा उपाध्यक्षमा किरण थापा र उत्तरा नेपालको नाम आइरहेको छ। सहसचिवमा भने राजकुमार जोशीको सम्भावना छ। बस्नेतको टिमको अन्तिम समयमा मोहनवीर श्रेष्ठलाई अध्यक्षमा उठाउने सहमति भएमा शम्भु दाहाल सचिवमा लड्ने सम्भावना छ।

बस्नेतले मेयर थापा जुन पदमा उठे पनि त्यही पदमा किरण थापालाई उठाउने लगभग नेताहरुबीच सहमति भइसकेको एमाले कार्यकर्ता पंक्तिमा चर्चा छ, तर बजारमा चलेको चर्चाजस्तो व्यवहारमा त्यस्तो नहुने किरण थापालाई नजिकबाट चिन्ने जिल्ला कमिटीका एक नेताले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा दाबी गरे।

‘उनले भने कुनै पनि हालतमा किरण थापा वासुदेवसँग एउटै पदमा जुध्दैनन्, यो मेरो ठोकुवा हो’, उनले भने। जस्तै परिस्थिति आए पनि अन्तिम घडीमा आएर वासुदेवसँग किरणले आफू नलड्ने जुक्ति निकाल्ने छन् र यसमा बस्नेत नेतृत्वमा रहेका सबै नेतालाई उनले मिलाउने छन्।

उनीसँग अर्थात् किरणसँग एमालेका नेताहरु सबैलाई एकैसाथ साइजमा ल्याउने अद्भुत कला भएको बताए। त्यही कलाका कारण बस्नेतले एमालेमा निरन्तर फट्को मारिरहेका छन्।

प्रकाशित: २० वैशाख २०८१ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App