२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आशा दिलाएर फर्के अमिर

नेपाली श्रमिकको अवस्थाबारे ध्यानाकर्षण

राष्ट्रपति रामचन्द्र पौडेल कतारी अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलमा बिदाइ गर्दै। साथमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिर: रासस

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आएका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल र कतारबीच विभिन्न ६ वटा क्षेत्रमा सहकार्य र समझदारी गरेर बुधबार स्वदेश फर्किएका छन्।  

नेपाल र कतारबीच कला–संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता तथा समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच बुधबार सोल्टी होटलमा भएको भेटवार्तापछि कला–संस्कृतिका क्षेत्रमा सहकार्य, दुई देशका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदानसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो। यसैगरी युवा तथा खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा क्षेत्रमा सहयोग आदानप्रदान र तालिमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले दिए।

सरकारीस्तरमा भएका समझदारीपत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गरेको उनले बताए। त्यस्तै निजी क्षेत्रतर्फ नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच पनि लगानी आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्रमा नेपालका तर्फबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बर अफ कमर्सका तर्फबाट शेख खालिफ बिन जसिम अल थानीले हस्ताक्षर गरेका छन्।

कतारका अमिर थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री दाहालले बिदाइ गरे। उनी मंगलबार विमानस्थलमा अवतरण गर्दा पनि स्वागतका लागि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री त्यहाँ पुगेका थिए। त्यस अवसरमा नेपाली सेनाको टोलीले अमिर थानीलाई सलामी अर्पण गरेको थियो।

कतारी राजाले मंगलबार राष्ट्रपति पौडेललाई भेटेका थिए। प्रधानमन्त्री दाहालले भने बुधबार बिहान भेटेका थिए। उच्चस्तरीय भेटवार्तामा कतारी अमिर थानीले आफ्नो मुलुकको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको र आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। भेटमा उनले कतारको विकासमा नेपाली श्रमिकको योगदानको प्रशंसासमेत गरे।

विश्वव्यापी द्वन्द्व समाधानमा कतारले निर्वाह गर्दै आएको मध्यस्थताको प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन अमिर थानीलाई आग्रह गरेका थिए। कतारी अमिर थानी पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो।

राष्ट्रपति पौडेल र अमिर थानीबीचको भेटवार्तामा नेपाल र कतारबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो। नेपाल र कतारबीच सन् २००५ मा द्विपक्षीय समझदारी (बिएलए) भएको थियो।

कतारी राजाको नेपाल भ्रमणअघि नै नेपालले श्रम समझदारीमा संशोधनको इच्छा जाहेर गरेको थियो। अघिल्लो साता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र नेपालका लागि कतारी राजदूत मिशाल बिन मोहम्मद एलएई अन्सारीबीच यसै विषयमा भेटवार्ता भएको थियो। भेटमा मन्त्री अर्यालले श्रम सम्झौता गर्न नेपाल तयार रहेको सन्देश दिएका दिए। उनले कतारसँग १९ वर्षअगाडि भएको श्रम समझदारीलाई परिमार्जन गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि नेपाल तयार रहेको जनाउ दिएका थिए।

कतारमा हाल ३ लाख ६७ हजार ३ सय ८९ नेपाली श्रमिक कार्यरत छन्। करिब २० लाख नेपालीले कतार गएर काम गरिसकेका छन्। कतारमा कार्यरत नेपालीमध्ये अधिकांश अर्धदक्ष र अदक्ष सिप भएका छन्। श्रम मन्त्रालयको तथ्यांकअनुसार करिब ६० जना नेपाली श्रमिक कतारी जेलमा छन्। त्यस्तै आठ नेपाली श्रमिक कोमामा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

वैदेशिक रोजगारीका क्रममा कमाउन कतार पुगेका नेपाली श्रमिकले विभिन्न समस्या भोग्दै आएका छन्। कतारमा श्रमिकको हितमा कानुन बने पनि कार्यान्वयन फितलो छ। कतारमा कार्यरत नेपाली श्रमिकले समयमै तोकिएअनुसार तलब नपाउनेलगायत समस्या भोगिरहेका छन्। कतार सरकारले तोकेको मापदण्डअनुसार एउटा कोठामा चार जनाभन्दा बढी श्रमिक राख्न पाइँदैन। तर १०/१२ जनासम्म राख्ने गरिएको पीडितले बताउँदै आएका छन्।

नेपाली श्रमिकले गुणस्तरीय खानासमेत खान नपाएको गुनासो गर्दै आएका छन्। कतारमा श्रमिकले सामान्यतया आठ घण्टा काम गर्नुपर्ने हुन्छ। त्यसका लागि श्रमिक बस्ने ठाउँबाट कम्पनी पुग्न २/३ घण्टा गाडीको यात्रा हुन्छ। तर कम्पनीले काम सुरू गरेदेखि काम सकिने बेलासम्मको मात्रै बीमा गरेका हुन्छन्। बस्ने ठाउँबाट काम गर्ने ठाउँमा जाँदा केही भयो भने त्यसमा कम्पनीले वास्ता गर्दैनन्। समस्यामा परेका श्रमिकलाई रोजगारदाता कम्पनीले सहयोग गर्दैनन्। यो बिदेसिएका नेपाली युवाको ठुलो समस्या हो।

कतारी अमिर थानीसँगको उच्चस्तरीय भेटमा नेपाली पक्षले कतारमा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि पहल गरिदिन ध्यानाकर्षण गराएको स्रोतले बतायो।

कतारमा नेपाली श्रमिकको हितमा केही सुधारका काम पनि भएका छन्। कतार सरकारले नेपाली भाषा अनुवादक राख्ने, भाषा नबुझ्नेलाई बुझाइदिने, कल सेन्टरहरू राखिदिने जस्ता काम भने गरेको छ। 

प्रकाशित: १३ वैशाख २०८१ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App