२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रुसी सेनामा भर्ना भएका नेपालीका परिवार आन्दोलित

प्रदर्शनकारीलाई धरपकड गर्दै प्रहरी। तस्बिर: नागरिक

रुसी सेनामा भर्ती भएका आफन्तलाई स्वदेश फर्काउन सरकारसँग हारगुहार गरिरहेका परिवारहरू माग सुनुवाइ नभएपछि आन्दोलित भएका छन्। रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानको संयोजनमा बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको हो।

रुसी सेनामा भर्ना भएका आफन्तलाई फर्काउन माग गर्दै आएका परिवारहरूले बिहान अभियन्ता कृतु भण्डारीको नेतृत्वमा निषेधित क्षेत्र तोडेर सिंहदरबारको दक्षिण गेटअघि प्रदर्शन गरे। प्रदर्शनमा अभियन्ता भण्डारीबाहेक अरू सबै रुसी सेनामा भर्ना भएका नेपाली नागरिकका परिवार तथा आफन्त थिए।

उनीहरूले एकाएक निषेधित क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गरेपछि प्रहरीले धरपकड गरेको थियो। प्रहरीले अभियन्ता भण्डारीसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई आठ घण्टापछि साँझ ७ बजे प्रहरीले छाडेको छ।

भण्डारी, कास्कीकी राजकुमारी मगर, रुकुम पूर्वका सिरानी घर्तीमगर र सुविता मगर, नुवाकोटकी चिनीमाया तामाङ, उदयपुरकी मैयाँ साइँली, सुर्खेतका किसन थापा, काठमाडौंका सञ्जय श्रेष्ठ, अछामका टेक बटाला, तेह्रथुमका अपिल घिसिङ, ललितपुरका बुद्धिमाया ब्रामु र विज्ञान ब्रामुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। विज्ञान आठ वर्षका हुन्। उनीहरूलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको थियो।

प्रहरी नियन्त्रणबाट बाहिरिएपछि उनीहरूले राति पौने ८ बजेतिर माइतीघर मण्डल पुगेर अनशन बस्ने प्रयास गरेका थिए। तर प्रहरीले बल प्रयोग गरी त्यहाँबाट हटायो। उनीहरूले शुक्रबारदेखि वैकल्पिक स्थानमा भए पनि अनशन बस्ने जनाएका छन्।

‘नजानु हाम्रा परिवारका सदस्य रुसी सेनामा गए। यसमा गल्ती होला तर राज्य त नागरिकको अभिभावक हो नि,’ रुकुम पूर्वकी सिरानी घर्तीमगरले भनिन्, ‘अभिभावकले जनताका कुरा सुन्नुपर्छ कि पर्दैन? हाम्रा गुनासा सुनाउन खोज्दा राज्य दमनमा उत्रिएको छ। अब हामी आन्दोलनमा उत्रियौं।’

अभियन्ता भण्डारी सरकार आफ्ना नागरिकको हारगुहारप्रति असंवेदनशील बनेकाले आन्दोलनमा उत्रिनुपरेको बताउँछिन्। ‘आफ्ना नागरिकको जीवनरक्षा गर्ने दायित्वबाट सरकार पन्छिरहेको छ,’ उनले भनिन्, ‘रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा मृत्यु र घाइते भएका तथा सम्पर्कबिहीन नेपालीका परिवारले आफन्तको अवस्था पत्ता लगाइदिन अनुनय गर्दा पनि सरकारले सुनेन।’

प्रकाशित: ७ वैशाख २०८१ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App