१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

उदयपुर एमाले अध्यक्षमा राउत निर्वाचित

एमाले उदयपुरको नवनिर्वाचित पदाधिकारी।

नेकपा (एमाले) उदयपुरको नवौँ अधिवेशनले भागवत राउतको अध्यक्षतामा नयाँ जिल्ला कमिटी चयन गरेको छ। नयाँ नेतृत्वका लागि सर्वसम्मत नभएपछि चुनावी प्रक्रियामा गएको एमालेले सिङ्गो कमिटी राउतको अध्यक्षतामा गठन गरेको थियाे।

बिहीबार बिहानदेखि सुरु भएको गणनाको मत परिणाम अनुसार राउत ३ सय ४४ मत लिएर अध्यक्ष पदमा विजयी भएका हुन्। पराजित प्रतिद्वन्द्वी प्रमेश्वर घिमिरेले २ सय ३० मत पाए। ९ मत बढी ल्याएर उपाध्यक्षमा बाजी मारेका कालु लामाले १ सय ९२ मत पाएका छन् भने प्रतिस्पर्धी दिलबहादुर तामाङलाई १ सय ८३ मत प्राप्त भयो। अर्का पराजित प्रतिस्पर्धी भरत थापाले १ सय ३७ मत पाएका छन्।

त्यसैगरी उपसचिवमा पुरुषतर्फ हेम खड्काले १ सय ९४ मत पाएर जितेका छन् भने जीव्नाथ दाहाललाई १ सय ८ मत परेको छ। उपसचिवका अन्य स्पर्धीहरु मन्दिप राई ९३, दुर्गानन्द चौधरी ५३ र धर्म तामाङले ४६ मतमा चित्त बुझाउनु परेको छ।

महिलातर्फ उपसचिवमा गङ्गा राई २ सय ६० मत पाएर जितेकी छिन्। दुई प्रतिस्पर्धी महेश्वरी राई र गीता खड्काले क्रमशः १ सय ४९ र१ सय २५ मत पाएका छन्।

निर्वाचन अधिकृत गणेश सापकोटाका अनुसार अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटीको निर्वाचन प्रक्रियाबाटै टुंगो लगाएको छ। ५ सय ३५ मतदातामध्ये खसेको ५ सय ८० मतको छिनोफानोबाट निर्मित कमिटीका भूगोल र आरक्षणबाहेक कोटामा भने अधिकतर सदस्य निर्विरोध चयन भएको सापकोटाले बताए।

अध्यक्षमा पराजित घिमिरे यसअघिका अध्यक्ष हुन् भने विजयी राउत जिल्ला कमिटीमा सचिवालय सदस्य थिए। सदरमुकाम मोतिगडास्थित होटल इमपायर इनमा सम्पन्न अधिवेशनमा अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको थियो।

सर्वसम्मत नभएपछि पूर्व उपाध्यक्ष बिमल कार्की, सचिवालय सदस्य गोपाल खत्री र पूर्व जिल्ला समन्वय प्रमुख खड्ग परियारले अध्यक्षको उम्मेदवारी फिर्ता लिँदा घिमिरे र राउतबीच प्रतिस्पर्धा भएको हो।

केन्द्रले प्यानल बनाउन निषेध गरेपछि राउत र घिमिरे विना प्यानल उम्मेदवारी दर्ता गरेका थिए। केन्द्रको ह्वीवपछि भित्रभित्रै प्यानल सक्रिय गराएर मत माग्ने काम भएको कार्यकर्ताहरू बताउँछन्।

केन्द्रमा विष्णु पौडेल र शंकर पोखरेल प्यानल देखा परे पनि उदयपुरमा भने त्यसको प्रभाव खासै नपरेको तर, प्रदेश नेतृत्वको प्रभावबाट भने अछुत रहन नसकेको नेता कार्यकर्ताहरुकै स्वीकारोक्ति छ।

प्रदेश कमिटीका वर्तमान अध्यक्ष र पराजित अध्यक्ष पक्षको प्रभाव उदयपुरमा प्रष्ट देखिएको कार्यकर्ताहरू बताउँछन्। पछिल्लो प्रदेश अधिवेशनको प्रभावकै कारण घिमिरे सर्वसम्मत हुने सम्भावना टरेर चुनावमार्फत पराजित हुनु परेको कार्यकर्ताहरूको भनाई छ।

प्रकाशित: १५ चैत्र २०८० २०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App