३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

‘कुशको राजा’सँग तर्सेको ‘कमजोर’ गणतन्त्र!

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजाको जेठो छोरामात्रै राजा हुने भन्दै ज्ञानेन्द्र शाहलाई कुशको बाहुनको संज्ञा दिए। ओली आइतबार आफूले अभिनय गर्ने फिल्म ‘नमेटिने घाउ’ को पत्रकार सम्मेलनमा तत्कालीन दरबार हत्याकाण्ड दीपेन्द्रले गरेको भन्ने आरोप वाहियात भएको जिकिर गर्दै खाटा बसेको घाउ कोट्याउने प्रयत्न गरे।

पछिल्लो समय पूर्व राजा विभिन्न बहानामा देश दौडाहामा रहँदा ओलीको यो भनाइ आएको थियो। दलका कार्यक्रममा नगन्य उपस्थिति देखिनु अनि पूर्व राजाको कार्यक्रममा सर्वसाधारणको भिड देखिनुले कतिपयले यसलाई गणतन्त्रवादीको ‘डर’को संज्ञा पनि दिएका छन्।

‘कुशको राजा भए गणतन्त्रवादीमा किन यति धेरै डर किन  नि,’ सामाजिक सञ्जालमा  विनय सिम्खडा लेख्छन्, ‘कतै गणतन्त्रका  कमजोरी छोप्न राजतन्त्र विरुद्ध खेलिएको नयाँ खेल त हैन यो।’

ओलीको  पछिल्लो भनाइ पूर्व राजाको वीरगञ्जको सम्बोधन पछि आएको हो। पूर्व राजाले देशलाई झन्झन् बरबादीको बाटोमा लान नहुने भन्दै सोच्ने बेला आएको बताएका छन्। वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले देशलाई अब बर्बादीतिर लान नहुने भन्दै सबैले सोच्नुपर्ने भनेपछि ओलीको यस्तो प्रतिक्रिया आएको हो।

राजाको सक्रियतासँगै ओलीले ‘दरबारी तुरुप’ खेलेको कतिपयले सुनाए। ओलीले आफ्ना काम भन्दा पनि दरबार हत्याकाण्डलाई फेरी उछाल्न खोजेर राजाको सक्रियतालाई जवाफ दिन खोजेको देखियो।

त्यसैले होला ओलीले दीपेन्द्रले दरबार हत्याकाण्ड गराएको कुरा वाहियात भन्दै निशाना अन्त कतै लगाए। ‘दीपेन्द्रले आफैँ  मरेपछि हान्यो? एउटा राजा हुन लागेको मान्छे त्यसरी मर्छ?’, उनले भने, ‘अगाडिबाट पनि उसैले गोली हान्छ, पछाडिबाट पनि गोली हान्छ ?।’

ओलीले दरबार हत्याकाण्ड सन्देह घेरामा रहेको बताउँदै गर्दा  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रको कमजोरी छोप्न राजतन्त्रलाई दोष दिन खोजेको सङ्केत गरे।

अब राजालाई गाली गर्ने होइन गणतन्त्रको डेढ दशकमा देशले राष्ट्रियता, सुशासन, विकास, सेवा प्रवाह र रोजगारीजस्ता विषयमा के कस्ता उपलब्धिहरू प्राप्त गर्न सक्यो त्यो देखाउन सक्नु पर्‍यो भन्दै  लिङदेनले प्रश्न तेर्साएका छन्।

मौका मिले त्यही राजा ठिक हुने नमिले बेठिक हुने प्रवृत्ति दल र नेतामा रहेको उनको बुझाई छ। ‘राजा ठिक थिएनन् त, अनि त्यही राजालाई लाइन लागेर दाम चढाउन किन गएको? उनले प्रश्न गरेका छन्।  त्यति बेला नेकपा एमालेका नेता माधव नेपालले पूर्व राजा ज्ञानेन्द्रलाई दाम चढाएको तस्बिर लामो समय सम्म भाइरल बनेको थियो। 

यता ओलीले  राजतन्त्र भनेर ज्ञानेन्द्र शाहलाई ल्याएर सजाएर राख्ने काम त्यति बेलाको सरकारको कमजोरी  रहेको टिप्पणी गरे। त्यति बेला राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति त्यस्तो रहेको उनले बताए। ‘हाम्रा पार्टीका महासचिव माधवकुमार नेपाल आफैँ छानबिन समितिमा बस्नु भएको थियो,’ उनले भने, ‘हामीले फिर्ता गर्‍यौँ, यो ड्रामामा तिमी सामेल नहोऊ भनेर।’

उनले ज्ञानेन्द्र शाह साँच्चिकै राजा नभएको टिप्पणी समेत गरे। ‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर टपरीको चामलमाथि कुशको बाहुन राख्छ। ती त्यस्तै कुशको राजा हुन्।,’ उनले भनेका छन्, ‘कुशको बाहुन’। यस्तो कुरामा के बहस गरिरहने ?’

लिङदेन भने दलहरूले आफ्नो कमजोरी छोप्न राजालाई दोष दिन खोजेको उनको आरोप छ। ‘जहिले दरबार हत्याकाण्डको विषय तेर्स्याएर राजालाई बदनाम गर्न र राजाप्रति घृणा पैदा गर्न खोज्नेहरूले आफ्नो शासनको यो लामो समयमा राजालाई दोषी प्रमाणित गर्न किन नसकेको? सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन्, ‘जनतालाई सधैँ मूर्ख बनाउन सकिन्न भन्ने समयमै बुझौँ! लिङदेनले  दरबार हत्याकाण्डमा आफ्नो प्रियजन गुमाएर बाँचेका दर्जनौँ जीवितहरू छन् उनीहरूलाई किन नसोधेको? भन्ने प्रश्न पनि उठाएका छन्।

उता  पूर्व राजाको आफ्नै गुनासो छ। ‘अप्ठ्यारोमा देशको बरबादी नहोस् भनेर मैले त्यति बेला देशमा राम्रो काम गर्ने प्रयत्न गरेको  गरेको हुँ ’,उनले भने, ‘तर हाम्रा विरुद्ध  नेपालीमा नकारात्मक भावना फैलाइयो। सत्य सधैँ सत्य हुन्छ। असत्यको विजय कहिल्यै हुँदैन।’ गरिमामय राज पाठबाट श्रीपेच बुझाएर हिँडे पनि राष्ट्र प्रेम, राष्ट्रियता, प्रजातन्त्रप्रति प्रतिबद्धता रहेको उनले बताए।

‘चिरकाल सुरक्षित होस् भनेर श्रीपेच राष्ट्रलाई सुम्पिएँ। देशमै छौँ।’, उनले भनेका छन्, ‘देशमा रहेर देशको गौरव गाथा गाइरहेका छौ। देशको सर्वाङ्गीण उन्नति होस्। देशवासीको विकास होस् भन्ने हाम्रो भावना छ।’

तर पछिल्लो समय मुलुक वरवादी तर्फ गइरहेको पूर्व राजाले सङ्केत गरे। ‘दुःखका साथ भन्नुपर्छ। हिमाल, पहाड र तराई, सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यतिर खस्किएको छ ,’ पूर्व राजाले वीरगञ्जमा भने, ‘यो अवस्थाको अन्त्य गर्नै पर्छ। यसको निम्ति अब सोच्ने बेला आयो।’

आफ्नो सक्रियतालाई दल र तिनका नेताले मन नपराइरहेको देखेरै होला पूर्व राजाले अब विखण्डनको, विग्रहको र निषेधको राजनीति नगरौँ  भन्दै यसमा हामी सबैको भलाई रहेको बताए।

प्रकाशित: १५ माघ २०८० ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App