२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘कांग्रेसलाई सघाउने दाहाल आश्वासन’

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका सम्बन्धमा पार्टी पदाधिकारीबाट निर्णय गर्नुअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। नयाँ राष्ट्रपतिका विषयमा आधिकारिक निर्णय लिन माओवादी केन्द्रले सोमबार दिउँसो ४ बजेका लागि पदाधिकारी बैठक बोलाएको छ। बैठकअघि आइतबार साँझ प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासहित पाँच शीर्ष नेतासँग बालुवाटारमा छलफल गरेका हुन्।

देउवासँगै नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र महामन्त्री गगनकुमार थापा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए। प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुग्नुअघि सभापति देउवा निवासमा पौडेल, खड्का र सिटौलाबीच छलफल भएको थियो। उपत्यकाबाहिर रहेका उपसभापति खड्का सोमबार काठमाडौं आउने कार्यक्रम रहे पनि देउवाले आइतबार नै बोलाएका हुन्।

दाहालसँगको भेटमा कांग्रेसले पुरानो गठबन्धनलाई निरन्तरता दिनेगरी राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न प्रस्ताव राखेका थिए। कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने तयारी गरेको बताउँदै नेताहरूले यसमा माओवादीको समर्थन र सहयोग खोजेको धारणा राखेका थिए। प्रधानमन्त्री दाहालले कांग्रेस प्रस्तावमा आफू सकारात्मक रहेको जनाउँदै सोमबार बस्ने पदाधिकारी बैठकमा छलफलका लागि उक्त विषय राख्ने आश्वासन दिएका छन्। पदाधिकारी बैठकबाट राष्ट्रपतिका विषयमा निर्णयमा पुग्ने आश्वासन कांग्रेस नेताहरूलाई दिएको स्रोतको दाबी छ। एमालेलाई राष्ट्रपतिमा सहयोग गरेर जान सक्ने अवस्था नभएको भन्दै माओवादी एक पदाधिकारीले भने, ‘भोलि (सोमबार) को बैठकले राष्ट्रपतिमा रहेको दुविधालाई अन्त्य गर्ने र पार्टीले नयाँ ढंगबाट अघि बढ्ने निर्णय लिन सक्ने सम्भावना छ।’

यसअघि शनिबार प्रधानमन्त्री दाहाललाई भेट्न कांग्रेस नेता विमलेन्द्र निधि बालुवाटार पुगेका थिए। त्यसक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा पार्टी पदाधिकारीबाट निर्णय लिनुअघि कांग्रेस सभापति देउवासँग उम्मेदवारसहितका विषयमा छलफल गर्ने बताएको स्रोतको दाबी छ। सोहीअनुसार दाहालले आइतबार कांग्रेस नेताहरूसँग छलफल गरेको जानकारी दिँदै माओवादी केन्द्रनिकट स्रोतले भन्यो, ‘केही दुविधा र आशंका कांग्रेससँग छन्। त्यसलाई हटाउने प्रयासस्वरूप यो भेट भएको हो।’ पुस २६ गते दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर कांग्रेसले निर्वाचनअघिको गठबन्धनलाई निरन्तरता दिने रणनीति अख्तियार गरेको छ। प्रधानमन्त्रीमा कांग्रेसबाट विश्वासको मत पाएका दाहालले पुस १० गतेको अवस्था फेरिएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सार्दै आएका छन्। पूर्वसहमतिबाट माओवादी केन्द्र पछि हटेको भन्दै सत्ता साझेदार एमालेले असन्तुष्टि जनाउँदै आएको छ।

कांग्रेसले राष्ट्रपति निर्वाचनमा नेता पौडेललाई अघि सार्ने तयारी गरेको जानकारी दिँदै एक नेताले पार्टी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिको उम्मेदवार बन्ने आकांक्षा राख्दै आएको बताए। ती नेताका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासहित केही पदाधिकारी तथा पूर्वपदाधिकारी पौडेललाई नै अघि सार्न एकमत देखिएका छन्। फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दिने मिति निर्वाचन आयोगले तय गरेकाले कांग्रेसले ११ वा १२ गते पदाधिकारी÷कार्यसम्पादन समितिको बैठकबाट उम्मेदवार टुंगो लगाउने तयारी छ। ‘राष्ट्रपति बन्न पार्टीमा धेरै नेता योग्य र सक्षम हुनुहुन्छ,’ ती नेताले भने, ‘तर हाम्रो (कांग्रेस) बाट पौडेलजीलाई उम्मेदवार बनाउने एक प्रकारको समझदारी छ।’

पौडेललाई राष्ट्रपतिका रूपमा अघि सार्दा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पनि सकारात्मक हुने कांग्रेस नेताहरूको बुझाइ छ। माओवादीले राष्ट्रपतिमा सहयोग गर्नेमा आश्वस्त देखिएका कांग्रेसनिकट एक नेताले भने, ‘प्रचण्ड (पुष्पकमल दाहाल) जीले कांग्रेसले उठाउने उम्मेदवारका विषयमा सभापतिसँग एकपटक छलफल गरेर पार्टीबाट निर्णय गर्ने पक्षमा हुनुहुन्छ।’  

माओवादी निर्णयको प्रतिपक्षमा रहेका कांग्रेसका अर्का नेताले भने, ‘माओवादी नेताहरूको अहिलेसम्म सकारात्मक कुरा छ तर निर्णय नगर्दासम्म यसै भन्न सकिँदैन।’

कांग्रेसले राष्ट्रपति उम्मेदवारमा आफूलाई अघि सार्ने बुझाइमा रहेका पौडेलले पार्टीबाट छिटो निर्णय लिएर सातै प्रदेशमा पार्टीका तर्फबाट प्रतिनिधि खटाउन पनि सभापति देउवासँग आग्रह गर्दै आएका छन्। यसैबीच कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन्। आइतबार सुर्खेतमा आयोजित कार्यक्रममा शर्माले पार्टीबाट राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता पौडेलको नाम पहिलो नम्बरमा रहेको भन्दै पूर्वमहामन्त्री सिटौला, जनजाति समुदायबाट गोपालमान श्रेष्ठ र दलित समुदायबाट मानबहादुर विश्वकर्मा पनि रहेको बताए। देउवालाई नै बनाउने हो कि भन्ने सोचिरहेको जनाउँदै शर्माले भने, ‘उहाँ राष्ट्रपति भए सम्मानजनक बहिर्गमन पनि हुनेछ।’ उपसभापति खड्कालाई कार्यवाहक सभापति र पौडेललाई संसदीय दलको नेता बनाएर जान सकिने शर्माको तर्क छ। तर देउवाले राष्ट्रपति बन्न नेताहरूको आग्रह यसअघि भने अस्वीकार गर्दै आएका छन्। माओवादी अध्यक्ष दाहालको चाहना पनि देउवालाई राष्ट्रपति बनाउने रहेको स्रोतको दाबी छ। ‘अहिलेसम्मको अवस्थामा उहाँ (देउवा) राष्ट्रपति बन्ने अवस्था छैन,’ निकट स्रोतले भन्यो। प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहाल पनि कांग्रेस सभापति देउवालाई राष्ट्रपतिको जिम्मेवारीमा पु¥याएर पाँच वर्ष सरकारको नेतृत्व सुनिश्चितता गर्ने पक्षमा रहेको निकटहरूले दाबी गर्दै आएका छन्।

देउवामा राष्ट्रपतिको जिम्मेवारीमा गए कांग्रेसले विधानतः ६ महिनाभित्र सभापतिको निर्वाचन गर्नुपर्ने हुन्छ। पार्टी सभापति पद कुनै कारणले रिक्त भए वरिष्ठ उपसभापति कार्यवाहक सभापति हुने र ६ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था विधानमा छ। देउवा राष्ट्रपति भए कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काको काँधमा पुग्नेछ।

माओवादीभित्र राष्ट्रपतिका लागि अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरासहित पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, देवेन्द्रराज पाण्डेलाई अघि सार्न सक्ने अनुमान गरिँदै आएको छ। राष्ट्रपतिमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको नाम पनि चर्चामा छ। माओवादीसँग पुस १० गते भएको समझदारी कार्यान्वयनको पक्षमा रहेको एमालेभित्र सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, महेन्द्रबहादुर पाण्डेसहितका नेताको नाम राष्ट्रपतिका लागि चर्चामा छ।

प्रकाशित: ८ फाल्गुन २०७९ ००:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App