३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

‘पर्यटक हैन, पथप्रदर्शक ठान्यौं’

फाइल तस्बिर।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ५ लाई पनि एमालेले निकै सुरक्षित ठानेको थियो। निर्वाचन मैदानमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका सामुन्ने नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको केही जोर नचल्ने एमालेको आन्तरिक आंकलन थियो। तर नतिजा एमालेको पक्षमा आएन, पोखरेलले हारे, पौडेल विजयी भए ।

तनहुँ स्थायी घर भएका पौडेललाई एमालेले ‘टुरिस्ट’ उम्मेदवार भनेर प्रचार गरे पनि उनी काठमाडौं ५ का जनताबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा अनुमोदित भए। ‘प्रदीप पौडेललाई पर्यटक हैन, पथप्रदर्शक ठानेर मत हालेका हौं,’ टोखाका प्रवीण श्रेष्ठले भने, ‘पौडेलको प्रस्ट विचार र बोलीले राजनीतिलाई नयाँ बाटो देखाउने आशा गरेका छौं।’ २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका पोखरेल यसपटक ५ हजार ४४ मतान्तरले पौडेलभन्दा पछि परेका हुन्। पौडेल १५ हजार दुई सय १२ मत ल्याएर विजयी भएका हुन्। पोखरेल १० हजार एक सय ६८ मत प्राप्त गरी दोस्रो भए।  

स्थलगत रिपोर्टिङका क्रममा काठमाडौं ५ का मतदाताले आफ्ना व्यक्तिगत समस्याभन्दा पनि मुलुकको हितमा बढी सोचेको पाइयो। ‘पुराना (पहिला जितेका) नेतामा भन्दा नयाँ उम्मेदवारमा नयाँपन पायौं, त्यसले हामीलाई केही आशावादी बनायो,’ हाँडीगाउँकी पूर्णलक्ष्मी महर्जनले भनिन्, ‘अब राम्रो हुन्छ भन्ने आशामा यसपटकको निर्वाचनमा हामीले मत परिवर्तन गरेका हौं। यहाँ पुरानै जात्रा दोहोरिने सम्भावना थियो, पुराना मान्छेले जित्नलाई निकै कोसिस गरेका हुन् तर जनताले परिवर्तन चाहेपछि केही जोर चलेन।’

जतिपटक मत खसाले पनि परिवर्तन नभएकोमा बालुवाटारका भाइकृष्ण महर्जन पनि निराश छन्। सांसद फेरिए पनि प्रधानमन्त्री फेरिए पनि जनताको अवस्था उस्तै रहेको उनले सुनाए। प्रधानमन्त्रीको सरकारी निवास नजिकै भएर पनि आफूहरूको क्षेत्र सडक र खानेपानीको समस्याबाट सधैं पीडित भएको उनले बताए। ‘यसपटक युवाले चुनाव जितेका छन्,’ उनले भने, ‘हामीले केही हुन्छ भन्ने आशा गरेका छौं।’ अन्यन्त्रबाट जितेर आएका मानिस बालुवाटार (प्रधानमन्त्रीको सरकारी निवास) मा आएर बसे पनि यस क्षेत्रको विकास नभएको उनको बुझाइ छ। ‘हामीलाई त यही क्षेत्रबाट जितेको मान्छे प्रधानमन्त्री भएर बालुवाटारमा बसेको देख्न पाए खुसी लाग्छ’, उनले हाँस्दै भने, ‘त्यो दिन पनि आउँला कि ?’

उमेरले ७० काटेका महर्जनले अब सबैतिर नयाँलाई ठाउँ दिनुपर्ने धारणा राखे। ‘हामीले घरको व्यवहार त छोराछोरीलाई जिम्मा लगाएर बसेका छौं,’ उनले भने, ‘अब बुढापाका नेताले देश चलाउने जिम्मा पनि नयाँलाई दिनुपर्छ, उनीहरू संरक्षक बन्नुपर्छ।’

काठमाडौं ५ का जनताबाट माया र मत पाएर विजयी भएका पौडेल पनि निकै खुसी छन्। जनताले आफूबाट परिवर्तनको अपेक्षा गरेको भन्दै उनले अब पार्टीभित्र पनि परिवर्तनको महसुस गराउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताए। ‘परिवर्तनको पक्षमा सबैसँग हातेमालो गरेर अगाडि बढनुको विकल्प छैन’, उनले भने, ‘तब मात्र राजनीतिले विश्वास आर्जन गर्न सक्छ।’  

मतदाताले परिवर्तन चाहेको भन्दै उनले जनताको त्यही भावनाअनुसार काम गर्ने बताए। ‘स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर स्थानीय समस्या समाधान गर्नेछौं,’ उनले भने, ‘मुलुकमा भएको बेथिति र निराशाको अन्त्य गर्न पनि पहल गर्नेछाैं।’

प्रकाशित: १७ मंसिर २०७९ ००:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App