१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रूससँग वाडा असन्तुष्ट

लुसाने – विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले रूसी अधिकारीहरूले देशको एन्टी डोपिङ एजेन्सीलाई अन्तर्राष्ट्रिय स्तरअनुसार उल्लेख्य  सुधार गर्न असफल भएको आरोप लगाएको छ।

रुसले क्रमिक रूपमा डोपिङका घटना न्युनीकरण गर्नुका साथै एन्टी डोपिङ एजेन्सीमा गरेको क्रमिक सुधारले हौसला बढाए पनि त्यसका लागि लामो समय लाग्नु दुखद भएको वाडाका प्रमुख क्रायग रेड्डीले बताए।

‘हामी रूसको एन्टी डोपिङ एजेन्सीले देखाएको सक्रियताको स्वागत गर्न चाहन्छांै । तर यसका लागि लामो समय लाग्नु सुखद पक्ष हो,’ रेड्डीले भने।

रेड्डीले केही महिनाअघि प्रकाशित म्याकक्लारेन प्रतिवेदनले रूसमा सरकारी अधिकारीको सहयोगमा डोपिङका घटना हुने देखाएपछि आफूहरूले रूसी अधिकारीलाई यसबारे सम्झाउन थुप्रै प्रयास गरेको उनले बताए। त्यसका बावजुद पनि उल्लेख्य गतिमा सुधार नहुँदा आफू निराश रहेको रेड्डीको भनाइ थियो।
रेड्डीको भनाइप्रति रूसले केही प्रतिक्रिया जनाएको छैन।

रूसले सरकारी मिलेमतोमै खेलाडीलाई नियतवश डोपिङका लागि उक्साएको प्रतिवेदन वाडाले पनि २०१५ मा सार्वजनिक गरेको थियो।

त्यसपघि वाडाले अन्र्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र क्यानाडाका खेलकुद वकिल रिचार्ड म्याकक्लारेनसँगको सहकार्यमा यस विषयमा थप अनुसन्धान गरेको थियो। उक्त प्रतिवेदनले १ हजारभन्दा बढी रूसी खेलाडी डोपिङमा मुछिएको र यसमा सरकारी अधिकारी प्रमुख दोषी भएको उल्लेख थियो।

रूसी खेलाडी डोपिङमा मुछिएसँगै आइओसीले विगत केही वर्षदेखि रूसी खेलाडीमाथि लगाएको प्रतिबन्ध कायम राख्दै आएको छ। आइओसीले गत महिना दक्षिण कोरियामा सम्पन्न हिउँदे ओलम्पिकमा समेत रूसी खेलाडीमाथिको प्रतिबन्ध कायम राख्दै डोपिङ परीक्षणमा सफल भएका करिब एक सय जना खेलाडीलाई मात्र आइओसीको झन्डामुनि खेल्ने अनुमति दिएको थियो।

‘रूसले डोपिङका घटनामा सुधार नगर्नु भनेको आफ्नै खेलाडीको भविष्य अन्योलमा राख्नु हो,’ रेड्डीले भने, ‘किनभने उनीहरूको अन्तर्राष्ट्रिय सहभागिता दुबिधामा छ। वाडाले रूस डोपिङको घटनाबाट अलग भएको प्रमाणित नगर्दासम्म हामीले हालसम्म गरेका मिहिनेतको कुनै अर्थ छैन।’

प्रकाशित: ८ चैत्र २०७४ ०५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App