१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चिनियाँ जहाज र कोपाइलटको विचल्ली

काठमाडौं – महिनाको १० लाख रुपैयाँ तलब लिएर नेपाल वायुसेवा निगममा चिनियाँ जहाज उडाउन आएका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा करिब दुई महिनादेखि सम्पर्क बाहिर रहेका कारण चिनियाँ जहाज र बाँकी पाइलटको विचल्ली भएको छ।

सानो आकारका चिनियाँ जहाजका प्रशिक्षक पाइलट शेर्पा गत माघ १७ गते अमेरिका गएका थिए । त्यसयता उनी निगम व्यवस्थापनको सम्पर्कमा छैनन् । उनकै भरमा रहेका आधा दर्जन बढी कोपाइलट र भर्खरै नियुक्त ११ जना कोपाइलट तथा चारथान चिनियाँ जहाजको विचल्ली भएको हो।

सम्बद्ध स्रोतका अनुसार शेर्पाले अमेरिका जानुअघि केही दिनअघि राजीनामा दिएका भए पनि व्यवस्थापनले हालसम्म सार्वजनिक गरेको छैन । प्रशिक्षक पाइलट शेर्पाबिना यहाँ रहेका कोपाइलटले जहाज उडाउन पाउँदैनन् ।निगमसँग १७ सिट क्षमतायुक्त चारथान ‘वाई१२–ई’ जहाज उडाउन प्रशिक्षक पाइलट शेर्पा, वरिष्ठ क्याप्टेनमा निपेन्द्र भट्टराई र सञ्जयबादे श्रेष्ठ तथा क्याप्टेनमा उद्धव घिमिरे छन्।

तीमध्ये राजीनामा दिएर हिँडेका प्रशिक्षक पाइलट शेर्पा करिब दुई महिनादेखि अमेरिकामा छन् । वरिष्ठ क्याप्टेन श्रेष्ठ बिरामी बिदामा छन् भने क्याप्टेन घिमिरेको उडान लाइसेन्स नवीकरण फेल हुँदा उडाउन पाएका छैनन् । अर्का क्याप्टेन अनिषमान शाक्यले भने राजीनामा दिएका छन् । त्यही भएर चारवटै जहाजको जिम्मेवारी वरिष्ठ क्याप्टेन भट्टराईको काँधमा छ।  

ती जहाज उडाउन कोपाइलटहरू लिबर्टी भण्डारी, श्रृजना रावत, प्रचण्ड खड्का, राकेशकुमार काफ्ले, विजय अवाले, रविन केसी र महेशराज पाण्डे छन् । तीमध्ये खड्काको ‘पाइलट प्रोफिसिएन्सी चेक’ (पिपिसी) पूरा भएको छैन भने केसी र पाण्डेको प्रशिक्षक पाइलट (आइपी) उडान अवधि पूरा नभएका कारण जहाज उडाउन पाउँदैनन्।  

‘प्रशिक्षक पाइलट शेर्पा नफर्केका कारण कोपाइलटहरूको पिपिसी र आइपी उडान हुन सकेको छैन,’ निगमका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने, ‘संस्थाकै ४० लाख रुपैयाँ लगानीमा प्रशिक्षक पाइलट बनेर आएका शेर्पाले धोका दिँदा संस्थालाई गम्भीर प्रभाव परेको छ ।’उनका अनुसार शेर्पा नभएका कारण हालै चीनबाट ल्याइएका दुईथान वाई१२–ई जहाजको परीक्षण उडानसमेत गर्न सकिएको छैन । त्यसबाहेक हालै नियुक्त ११ जना कोपाइलटले पनि प्रशिक्षक पाइलट शेर्पा नभई जहाज उडाउन पाउँदैनन्।

शेर्पा अमेरिकाबाट नफर्केका कारण उनकै प्रशिक्षक पाइलट नवीकरण फेल भइसकेको छ । यस्तो नवीकरण नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने गर्छ । अब शेर्पा नेपाल आए भने पनि चीन गएर पिपिसी तालिम नगरेसम्म जहाज उडाउन पाउँदैनन्।

निगम व्यवस्थापनका उच्च अधिकारीहरूको ‘मिलेमतो’ मा कर्मचारी विनियमावली विपरीत अमेरिकी ग्रिनकार्ड होल्डर शेर्पालाई विज्ञताको नाम दिएर प्रतिमहिना १० लाख रुपैयाँ तलब दिँदै चार वर्षका लागि नियुक्त गरिएको नागरिक दैनिकले गत साउन पहिलो साता खुलासा गरेको थियो ।त्यसपछि शेर्पाको नियुक्तिबारे निगमभित्रै व्यापक आलोचना भएको थियो । निगम सञ्चालक समितिले पनि उनको नियुक्ति र उनलाई दिइएको तलब सुबिधाको औचित्य पुष्टि गर्न व्यवस्थापनलाई निर्देशन दिएको थियो।

विज्ञ भन्दै नवौं तहको वरिष्ठ क्याप्टेन÷प्रशिक्षक पाइलटमा नियुक्त गरिएका शेर्पाले वाई१२–ई उडाउँदै आएका थिए । उनीजस्तै यही जहाज उडाउने अन्य पाइलटलाई भने निगमले महिनाको १ लाख ८० हजार रुपैयाँसम्म तलब दिएको छ।

तर, गत भदौ १२ गते काठमाडौंमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको भारतीय जेट एयरवेजको जहाजको अवतरणमार्गमा ‘जबर्जस्ती’ आफ्नो जहाज घुसाएपछि निगमका पाइलट शेर्पा जहाज उडाउन नपाउने गरी ‘ग्राउन्डेड’ भएका थिए । ग्राउन्डेड भएपछि शेर्पा अमेरिका भ्रमण गरेर फर्केका थिए ।
निगम व्यवस्थापनले शेर्पालाई मासिक ६ लाख रुपैयाँ तलब तथा प्रतिमहिना ७० घन्टा जहाज उडाए प्रतिघन्टा ६ हजार रुपैयाँ भत्ता दिने गरी नियुक्तिपत्र दिएको छ।

करार सम्झौता अवधि रहुन्जेल तलबभत्ता बाहेक शेर्पा, उनकी श्रीमती, छोराछोरी र अभिभावकलाई निगमका चिकित्सकले प्रमाणित गरे स्वास्थ्य उपचार खर्चवापत ५ हजार रुपैयाँ पनि उपलब्ध गराइने छ । त्यसबाहेक उनलाई दुर्घटना बिमा, निगम जाने जुनसुकै अन्तर्राष्ट्रिय गन्तव्यमा उनी र उनको परिवारलाई वर्षको दुईथान निःशुल्क हवाई टिकटलगायत सुविधा पनि दिइएको छ ।उनै शेर्पाले निगमको खर्चमा अमेरिका गई वाई१२–ई जहाजको प्रशिक्षक पाइलटको तालिम लिएर आएपछि २०७३ साउन तेस्रो साता राजीनामा दिएका थिए।

शेर्पाले त्यसबेला बुझाएको राजीनामा पत्रमा ‘अमेरिकाको ग्रिनकार्ड पाएकाले निगममा सेवा गर्न असमर्थ रहेको’ उल्लेख छ । निगमको नियमअनुसार पाइलटलाई विदेशमा तालिम दिलाएर ल्याएपछि ती पाइलटले न्यूनतम पाँच वर्षसम्म निगमकै जहाज उडाउनुपर्छ। यदि बीचैमा छाडेर गए तालिमबराबरको रकम जरिवाना स्वरूप बुझाउनुपर्छ ।त्यसरी छाडेर गएका शेर्पालाई जरिवाना पनि तिर्नुनपर्ने सुविधा दिएको निगम व्यवस्थापनले एक वर्षपछि फेरि महिनाको १० लाख रुपैयाँ तलब दिने गरी उनैलाई नियुक्त गरेको थियो । उनको यो नियुक्ति निगममा चौथो पटकको हो।

गत माघ दोस्रो साता अमेरिका जानुअघिसम्म शेर्पा करिब आठ महिनाजति जहाज उडाएका थिए । शेर्पा र निगमबीचको करार सम्झौताअनुसार उनले चार वर्षसम्म निगमकै जहाज उडाउनुपर्ने र तालिममा भएको ४० लाख रुपैयाँबराबरको खर्च चार वर्षभित्र तलबबाट कट्टा गर्दै लगिने छ।

‘तर, शेर्पाले कुनै पनि कोपाइलटलाई ‘क्लियर’ गरिदिएनन्,’ स्रोतले भन्यो, ‘जसका कारण अहिले सबैको विचल्ली भएको हो ।’  शेर्पा सम्पर्क बाहिर भएपछि निगम व्यवस्थापनले वरिष्ठ क्याप्टेन भट्टराई, क्याप्टेन घिमिरे र ६ जना कोपाइलटलाई पिपिसी तालिमका लागि चीन पठाउन लागेको छ । यसका लागि न्यूनतम ६० लाख रुपैयाँ खर्च लाग्ने छ । शेर्पा यहाँ भएका भए उनीहरूलाई चीन पठाउन पर्थेन।

 

 

प्रकाशित: ६ चैत्र २०७४ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App