देउकलिया – ‘भोलेबाबा’ भनिएका रामबहादुर चौधरीको घरमा दिनहुँ दुईतीन सय बिरामी आँगनमा निको हुने आशाले आइराख्थे त्यसैले सधैंजसो उनको आँगन भरिभराउ हुन्थ्यो । अन्तर्राष्ट्रिय नारी दिवसका दिन फागुन २४ गते पनि तीनचार सय मानिसको भीड जम्मा थियो । त्रिशूलले कोरेको ‘लक्ष्मण रेखा’ भित्र भोलेबाबा, उनका ‘पारवती’ र उनले बोलाएका मान्छेबाहेक जान निषेध थियो । बिहान ७ बजेतिर गोरुको गोबर फाल्न लागेका बेला भोलेबाबाका सहयोगी पाँच महिलाले करिब एक किलोमिटर बाटोमा राधा चौधरीलाई घिसार्दै यो आँगनमा ल्याइपुर्याए । भीडको बीचमा राखी बोक्सी भएको आरोप लगाउँदै भोलेबाबा र दुईतीन युवतीले निरन्तर कुटपिट गरिरहे ।
राधा चौधरीको टोलका बासिन्दालाई यो घटनाबारे थाहा थिएन । करिब १२ बजेतिर भोलेबाबाकी सहयोगी पारवती किस्मती चौधरीसहित १५ जना आएर राधाकै टोलमा घर भएका बालक चौधरीलाई पनि बोक्सा हो भन्दै लगे । बालक चौधरीलाई लगेको देखेपछि त्यस टोलका चार युवा भोलेबाबाको आँगनमा पुगे । उनीहरुले राधालाई बर्बर ढंगले कुटपिट गरेको देखे । ‘पहिले हामीलाई थाहा भएन । बालक चौधरी लगेपछि जाँदा बेहोस भएर भुइँमा ढलेकी राधालाई उफ्रीउफ्री लात्ताले हानिरहेका थिए । हामीले उद्धार गरेका हौं’, १८ वर्षीय दीपक सापकोटाले भने, ‘हामी त्यहाँ नपुगेको भए राधा उनीहरुको कुटपिटबाट मर्ने थिइन् ।’ दीपकसहित खुसीराम चौधरी, सुजन चौधरी र समिर चौधरीले राधालाई उद्धार गरेका हुन् । आफूहरुलाई हस्तक्षेप नगर्न भोलेबाबाका परिवारले धम्क्याएको खुसीरामले बताए । जम्मा भएका मान्छेले ताली पिट्दै कुटपिट गर्न भोलेबाबा र उनका सहयोगी महिलालाई हौस्याइराखेको उनले बताए।
पीडित राधाले पनि आफ्नो टोलका दाइहरु पुगेपछि मात्र उनीहरुले कुटपिट गर्न छोडेको बताइन् । ‘यसलाई अब नांगै पारेर गाउँ घुमाउनुपर्छ भन्दै भोलेबाबाले कुटिरह्यो’, उनले भनिन्, ‘मेरो टोलका दादाहरु नपुगेको भए त्यस दिन तिनीहरुले मलाई मार्थे होलान्।’
स्थानीय प्रत्यक्षदर्शी रेनुका बोहराले भनिन्, ‘राधा रुँदैकराउँदै मलाई बचाऊ भनिरहेकी थिइन्, राधालाई भोलेबाबाले म राधा होइन, हेमाको आत्मा (बोक्सी) हुँ भन् भन्दै कुटपिट गरिरहेका थिए । मलाई त्यो देखेर साह्रै दुःख लागे पनि सबैले ताली बजाइराखेकाले मैले केही गर्न सकिनँ ।’ राधालाई उत्तानो पारेर उसको छाती, पेटलगायत संवेदनशील अंगमा लात्ताले हानेको बताउँदै उनले भनिन्, ‘सयौं मान्छेका अगाडि युवतीमाथि भएको यो व्यवहार यौन दुव्र्यवहार पनि हो ।’ दुई वर्षअघि गाउँकै काल्सु चौधरीको कतारमा मृत्यु भएको थियो । भोलेबाबाले कालो बिरालोको भेषमा कतार गएर राधाले काल्सेलाई मारेको आरोप लगाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए।
युवतीलाई पूजा गर्न बोलाएर दुव्र्यवहार गर्थे भोेलेबाबा
भोलेबाबाले आफ्ना सहयोगी युवतीको सहयोगले १८–१९ वर्षका युवतीलाई आश्रममा बोलाई यौन दुव्र्यवहार गर्ने गरेको स्थानीयले बताएका छन् । पुजाआजाका बहानामा युवतीलाई बोलाएर भूत लागेको, बोक्सी लागेको भन्दै झारफुक गर्ने बहानामा संवेदनशील अंग समात्ने र चुम्ने गरेको स्थानीय नरेश कुँवरले बताए । ‘आफ्ना सहयोगी किस्मती चौधरी र स्मारिका चौधरी पठाएर युवतीलाई पूजाआजा गर्न बोलाउँथे । अनि चामल फुकेजस्तो गरेर संवेदनशील अंग समात्ने, रुमालले दुवैको टाउको ढाकेर चुम्बन गर्ने गर्थे’, उनले भने, ‘उनले एकपटक बोक्सी भएको भनेर चामल खुवाएपछि १५ दिनसम्म लगातार युवतीलाई आश्रममा आउन बाध्य पारिन्थ्यो ।’ रोग निको बनाउने, बोक्सी झार्ने बहानामा मन परेका युवतीलाई आश्रममा राखेर भोलेबाबाले ‘पारवती’ बनाउने गरेको कुँवरले बताए । स्थानीय युवतीले पनि भोलेबाबाले आफूहरुलाई पूजाआजा गर्न बोलाउने गरेको बताएकी छिन् । ‘किस्मती चौधरी आएर मेरो पिठ्युँमा पनि तीनचारपटक हातले हान्दै भोलेबाबाकहाँ पूजा गर्न जानुपर्छ भनेकी थिइन्’, कक्षा १० मा पढ्ने पार्वती बुढाले भनिन्, ‘मलाई बिश्वास लागेन र गइनँ ।’
पूजा गर्न नगएकाले राधामाथि कुटपिट
राधा चौधरीले भनेको नमानेकाले बोक्सीको आरोपमा भोलेबाबाले कुटपिट गरेको बुझिएको छ । ‘दिदीलाई भोलेबाबाले पूजा गर्न बोलाएको थियो । नगएकाले उसले कुटपिट गरेको हो’, पीडित राधाका भाइ रोशन चौधरीले भने । भोलेबाबाको व्यवहार मन नपरेकाले दिदी नगएको उनले बताए । ‘मेरी दिदीलाई पनि अरु युवतीलाई जस्तै १५ दिन आश्रममा आउनुपर्छ भनेको थियो’, उनले भने, ‘मलाई विश्वास छैन भनेर गइनन् ।’ राधाले पनि आमा, बहिनी र सहयोगी लगाएर भोलेबाबाले आफूलाई पटकपटक बोलाएको बताइन् । ‘मलाई बोलाउँथ्यो तर म गएकी थिइनँ’, उनले भनिन् ।
भनेको नमान्नेलाई बोक्सीको आरोप
भोलेबाबाले आफूले भनेको नमान्ने र विरोध गर्नेलाई बोक्सीको आरोपमा कुटपिट र दुव्र्यवहार गर्ने गरेको स्थानीयले बताएका छन् । केही दिनअघि ६५ वर्षीय वृद्धलाई बोक्साको आरोपमा गला जलाइदिएका थिए । बालक चौधरीलाई पनि बोक्साको आरोप लगाएर कुटपिट गरिएको स्थानीयले बताए । मसुरियाबाट पूजाआजा गर्न आएकी एक महिलालाई पनि दुव्र्यवहार गरेको प्रत्यक्षदर्शी रेनुका बोहराले बताइन् । ती महिलाई सबैका सामु भित्री बस्त्र देखाउन लगाएको उनले बताइन् । ‘उनले पनि डरले हो वा विश्वासले हो, सबैका अगाडि भित्री बस्त्र देखाइन्’, बोहराले भनिन्।
को हुन् रामबहादुर चौधरी
कक्षा ११ सम्म पढेका २३ वर्षीय रामबहादुर चौधरी माघ २३ गतेसम्म गाउँमै ठेलामा चाट बेच्थे । माघ २४ गते सपनामा शिव आएर मलाई समान जुटाएर काम गर्न भनेका छन् भनेर फलामको त्रिशूल बनाउन लगाए । आँगनमा शिवको फोटो राखेर आफूलाई भोलेबाबा भन्दै रोग निको पार्ने दाबी गर्न थाले । भोलेबाबाले सबै रोग निको पार्छन् भनी सहयोगीमार्फत प्रचार गराए । उनले चामल फुकेर सबैलाई दिने गरे । किस्मती चौधरी र स्मारिका चौधरी उनी भोलेबाबा बनेपछि आश्रममा ‘पारवती’ भएर बस्न आएका हुन् ।
तीनजना पक्राउ
बोक्सीको आरोपमा राधालाई कुटपिट गर्ने रामबहादुर चौधरी, किस्मती चौधरी र स्मारिका चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। रामबहादुर र स्मारिकालाई कैलाली जिल्ला अदलतबाट आइतबार म्याद थप गरिएको छ । आइतबार १२ बजे पक्राउ गरिएकी किस्मती चौधरीलाई सोमबार अदालतबाट म्याद थप गराइने प्रदेश ७ प्रहरी कार्यालयका प्रमुख माधव नेपालले बताए । घटनामा संलग्न एक युवतीको खोजी भइरहेको र घटनामा संलग्न अन्य व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ।
सई निलम्बित
घटनाबारे मिलापत्र गराउने इलाका प्रहरी कार्यालय सुक्खडका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक दिनेश बिष्ट निलम्बनमा परेका छन्। बोक्सीको आरोपमा कुटपिटजस्तो गम्भीर घटनालाई माथिल्लो निकायमा जानकारी नदिई मिलापत्र गरेकाले प्रदेश ७ प्रहरी कार्यालयको सिफारिसमा नेपाल प्रहरीको प्रधान कार्यालयले बिष्टलाई निलम्बन गरेको हो।
मेयर पनि छानबिन दायरामा
बोक्सीको आरोपमा युवतीमाथि कुटपिट भएको घटनामा रमिते बनेका र प्रहरी चौकीमा मिलापत्र गराउन सहयोग गरेको आरोप लागेका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि एमालेले छानबिन सुरु गरेको छ । मिलापत्र गराउन जनप्रतिनिधि संलग्न भन्ने कुरा आएकाले सत्यतथ्य बुझ्न विमल जोशी, छाया थापा र केवालाल चौधरी रहेको छानबिन समिति गठन गरेको एमाले कैलालीका सचिव रणबहादुर चन्दले बताए । मेयर चौधरी एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।
प्रकाशित: २८ फाल्गुन २०७४ ०१:५१ सोमबार