१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

डिपिएललाई श्रीको साथ

काठमाडौं – धनगढी प्रिमियर लिग(डिपिएल)को दोस्रो संस्करणलाई श्री एयरलाइन्सले १० लाख रुपैयाँ प्रायोजन गर्ने भएको छ।
डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र श्री एयरलायन्सका निर्देशक कुन्दन गिरीले आइतबार सह प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार श्री एयरलाइन्सले ७ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउनेछ भने २ लाख ५० हजार रुपैयाँ बराबरको शेवा प्रदान गर्र्नेछ । त्यसवापत आयोजकले प्रतियोगिताका हरेक प्रवद्र्धनात्मक कृयाकलापमा श्री एयरलाइन्सको लोगो प्रयोग गनुपर्नेछ।

श्री एयरलाइन्सका निर्देशक गिरीले पछिल्लो समय नेपाली क्रिकेटले पाएको सफलता र चासोका कारण आफूहरु यो प्रतियोगितासँग जोडिन पुगेको बताए । उनले थपे, ‘अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटले सफलता पाइरहेको छ । खेलाडीले पनि अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई प्रमाणित गरिरहेका छन् । क्रिकेट विकासमा सहयोग गर्न यस प्रतियोगितामा हातेमालो गर्न लागेका हौं।’

चैत १७ गतेबाट शुरु हुने प्रतियोगिताका लागि बुधबार खेलाडीको अक्सन हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनायो । आयोजका अनुसार बुधबार २ सयभन्दा बढी खेलाडीका बीचबाट बोलकबोल (अक्सन) हुनेछ । ती खेलाडीलाई चार समूहमा वर्गिकरण गरिनेछ । अक्सनमा एउटा टोलीले १२ खेलाडीका लागि अधिकतम ११ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्।

वैशाख ७ गतेसम्म ट्वान्टी–२० स्वरुपमा हुने डिपिएल–२ मा टिम चौराहा, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणमा सहभागी कञ्चनपुर आइकोनिकको स्थानमा यस पटक महेन्द्रनगरले अवसर पाएको हो।

‘नयाँ उचाईमा उड्ने श्री एयरलाइन्सको नारा छ ।  त्यस्तै उहाँहरुको साथले डिपिएललाई पनि नयाँ उचाईं प्रदान गर्ने हामीले विश्वास लिएका छौं,’ धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले भने, ‘इच्छाशक्ती हुने हो भने असम्भव केही छैन । नेपाली क्रिकेटको भविष्य राम्रो छ । आगामी दिनमा पनि यस्तै साथको अपेक्षा गरेका छौं।’

आयोजक धनगढी क्रिकेट एकेडेमीले एक महिनाअघि नै प्रत्येक टोलीका रणनीतिक खेलाडी सार्वजनिक गरिसकेको छ । सोमपाल कामी टिम चौराहा, राष्ट्रिय टोलीका कप्तान पारस खड्का विराटनगर, उपकप्तान ज्ञानेन्द्र मल्ल काठमाडौं गोल्डेन्स, विनोद भण्डारी महेन्द्रनगर युनाइटेड, यु–१९ राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी सिवाइसी अत्तरिया र शक्ति गौचन रूपन्देहीका रणनितीक खेलाडी हुन्।
 

प्रकाशित: ७ फाल्गुन २०७४ ०४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App