१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर ६ : बैठक नजिकियो, तयारी सुस्त

प्रदेशसभाको पहिलो अधिवेशनका लागि तयार गरिँदै सिंचाई विभाग डिभिजनको भवन। नगेन्द्र उपाध्याय

सुर्खेत- प्रदेशसभाको पहिलो अधिवेशन नजिकिँदै जाँदा ६ नम्वर प्रदेशको अस्थायी राजधानी सुर्खेतमा तयारी भने सुस्त देखिएको छ। प्रदेशसभाको पहिलो अधिवेशनका लागि अस्थायी केन्द्र तोकिएको सिंचाई विभाग डिभिजनको भवनमा बुधबारदेखि सजावटको काम सुरु गरिएको छ। ६ नम्वर प्रदेशको प्रदेश अधिवेशन आइतबार १ बजेका लागि तोकिएको छ।

‘हतारहतारमा हामीले काम गरिराखेका छौं’ डिभिजन सडक कार्यालयका इन्जिनियर झंक थापाले भने, ‘२० गतेसम्म रंगरोगन र सजावटको काम सम्पन्न गछौं ।’ थापाका अनुसार बिहीबारसम्म रंगरोगनको काम सकेर शुक्रबारदेखि कार्पेटिङको काम सुरु गर्ने तयारी छ । उनले अपेक्षा अनुसार काम नभएको भन्दै जनशक्ति थपेर भएपनि शनिबारसम्म सम्पन्न गर्ने बताए।

‘हाललाई सिंचाई विभाग डिभिजनको हलमै प्रयोग गरिएका कुर्सी र टेवुललाई मर्मत गरेर माननीयहरुका लागि बस्ने व्यवस्था मिलाउँछौं’ उनले भने, ‘हतार–हतारमा काम गर्नुपर्ने भएकाले नयाँ व्यवस्था गर्न सकिएन।’

एक सय जना क्षमताको हलमा प्रदेशसभाका ४० जना सांसदसहित ८० जना बस्न मिल्ने गरेर डिजाइन् गरिएको छ । सभामुख, सत्तापक्ष, प्रतिपक्ष, कर्मचारी, पत्रकार, दर्शक, मर्यादापकलका लागि एउटै हलमा छुट्टाछुट्टै व्यवस्था मिलाएको छ ।

प्रदेश मुख्यसचिव सुरेश प्रधानले प्रदेशसभाका लागि तीन–चार महिनाका लागि मात्रै सिंचाईं विभाग डिभिजनको हल प्रयोग हुने बताए । ‘प्रदेशसभाको स्थायी स्थल शैक्षिक तालिम केन्द्रको अडिटोरियम हल मर्मतका लागि तीन–चार महिना लाग्ने भएकाले सो अवधिका लागि मात्रै सिंचाई डिभिजनको हल प्रयोगमा ल्याएका हौं’ उनले भने, ‘अस्थायी प्रकृतिको भएकाले सोही अनुसार फिनिसिङको काम भइरहेको छ।’

कर्मचारी काममा खटिए

प्रदेशसभा बैठकका लागि केन्द्र सरकारले खटाएका कर्मचारीहरु मंगलबार वीरेन्द्रनगरमा आइपुगेका छन्। संसद सचिवालयका सहसचिव कृष्णबहादुर खड्काको नेतृत्वमा चार जना कर्मचारीहरु वीरेन्द्रनगर आइपुगेका हुन्।

प्रदेश सचिव भरत ढुंगानका अनुसार प्रदेससभाको आवश्यक तयारीका लागि कर्मचारीहरु खटिसकेका छन्। संसद सचिवालयका सहसचिव कृष्णबहादुर खड्काले आफूहरु काममा खटिसकेको बताए । ‘प्रदेशसभाको पहिलो बैठकका लागि आवश्यक तयारीमा हामी जुटेका छौं’ उनले भने, ‘प्रदेशसभा चलाउनका लागि आवश्यक पर्ने नीति, विधिलगायतका काम सुरु गरिएको छ ।’ उनले सबै राजनीति दलहरुसँग समन्वय गरेर नीति र विधि तय गरिने बताए।

 

 

 

प्रकाशित: १७ माघ २०७४ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App