१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

‘महिलालाई राजनीतिमा आउन गाह्रो हुने रैछ’

काठमाडौं निर्वाचन क्षेत्र– ८‘ख’प्रदेश सभाका लागि विजयी अष्टलक्ष्मी शाक्य (बोहोरा) ले प्रदेश–३ को मुख्यमन्त्रीको दाबी गरिरहेकी छन् ।उनै शाक्यसँग नागरिककर्मी हिमाल लम्सालले समसामयिक विषयमा गरेको कुराकानी :

प्रदेश सभामा भर्खरै निर्वाचित हुनुभएको छ, कस्तो अनुभव गर्नुभएको छ ?
काठमाडौं निर्वाचन क्षेत्र– ८ ‘ख’का जनताले धेरै नै माया गरेर मलाई निर्वाचित गर्नुभयो । निकै हर्षित छु । म माथि धेरै जिम्मेवारी र दायित्व बढेको छ । जनताले धेरै आशा र भरोसा राखेर मलाई जिताउनुभएको हो । त्यसैले मैले निर्वाचनका बेला गरेका सम्पूर्ण प्रतिबद्धतालाई इमानदारीपूर्वक निर्वाह गर्नेछु ।प्रदेश सभाको निर्वाचनसँगै अब मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउँदै अघि बढ्नेछौँ ।

प्रदेश सांसद जित्न महिलाका लागि कतिको चुनौतीपूर्ण हुने रैछ ?
महिलालाई राजनीतिमा आउन धेरै गाह्रो हुने रैछ । राणाकालदेखि नै महिलालाई राजनीतिमा आउन गाह्रो थियो। बहुदल आएपछिको खुला वातावरणमा समेत महिलालाई राजनीतिमा आउन सहज वातावरण छैन। महिलाले समाज, परिवार र पार्टीमा दोहोरो, तेब्बर जिम्मेवारी वहन गर्नुपर्ने बाध्यता छ । त्यसमाथि राजनीतिमा हुने चलखेल र अन्य गतिविधिले झनै मुस्किल बनाइरहेको छ। 

०५६ को प्रतिनिधिसभाको निर्वाचन जितेरै आएकी हुँ । पहिलाको निर्वाचन र अहिलेको निर्वाचनमा धेरै परिर्वतन आइसकेको रहेछ । पहिला थोरै खर्चले निर्वाचन जितिन्थ्यो, अहिले निर्वाचन निकै भड्किलो रखर्चिलो, भइसकेछ। अब त पैसा नहुनेले चुनाव जित्न नसक्ने देखिएको छ ।त्यसैले अब निर्वाचन भड्किलो बन्न दिनुहुँदैन।

मुख्य मन्त्रीको चर्चा तपाईंकै सुनिन्छ, के पार्टीले तपाईंलाई मुख्यमन्त्री बनाउला त ?
पार्टीले मलाई मुख्यमन्त्री बनाउनेमा कुनै विवाद छैन। पार्टीले संस्थागत निर्णय गरेरै मुख्यमन्त्री बनाउनेमा म पूर्ण विश्वस्त छु । यसअघि नेकपा एमाले प्रदेशसभा– ३ को संयोजक भएर काम गर्दै आइरहेकी छु । मेरो नेतृत्वमा यहाँ वाम गठबन्धनले सुविधाजनक बहुमत ल्यायो । पार्टीमा रहँदा पनि मैले राम्रो काम गरेकाले मुख्यमन्त्रीको हकदार नै म हुँ। पार्टीको स्थायी कमिटी सदस्यदेखि केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निभाइरहेकी छु ।त्यसैले बजारमा चर्चामा आएका प्रदेश सांसद मेरा प्रतिस्पर्धी नै होइनन्, त्यसैले अन्यले दाबेदारी गर्न मिल्लाजस्तो मलाई लाग्दैन। पार्टी नेतृत्वले सर्वसम्मत मुख्यमन्त्री बनाउला भन्ने अपेक्षा गरेकी छु। 

प्रदेश– ३ को मुख्य मन्त्रीभए के गर्नुहुन्छ ?
प्रदेश– ३ऐतिहासिक,सांस्कृतिक,धार्मिक, पर्यटकीय र प्राकृतिक सम्भावनाले भरिपूर्ण क्षेत्र हो । प्रशस्त सम्भावना हुँदाहुँदै पनि उचित व्यवस्थापन गर्न नसक्दा यो प्रदेश पछाडि परेको हो । यहाँ भएका स्रोत र साधनलाई भरपूर उपयोग गरेर विकासको बाटोमा लम्कनेछौँ । यसअघि ६–६ महिनामा सरकार फेरिँदा मुलुकले विकासको गति लिन सकेन। जसबाट मुलुक धेरै पछाडि परिरहेको छ ।भर्खरै स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा तीनवटै तहको निर्वाचन सम्पन्न भएको छ । तीनवटै सरकारमा वाम गठबन्धनले सुविधाजनक बहुमत ल्याएको छ । त्यसैले संघीय सरकार, स्थानीय सरकार र प्रदेशसरकारसँग समन्वय गरेर विकासको ढोका खोल्नेछौँ । प्रदेश– ३ मा १३ वटा जिल्ला पर्छन् । जहाँ सम्भावना नै सम्भावना छन् । जुन जिल्लामा जे सम्भावना छ, त्यसैलाई भरपूर उपयोग गरेर विकासको बाटोमा योजनाबद्ध अघि बढ्नेछौँ । यो प्रदेशमा देशकै राजधानी भएकाले पनिविकास निर्माणदेखि अन्य कार्यलाई नमुनाका रूपमा स्थापित गर्नेछौँ । कृषि र पर्यटनको विकास गरेर यहाँका बासिन्दालाई आर्यआर्जनमूलक र रोजगारी सिर्जना गर्नेछौँ ।

चुनाव अघि आफूले बाँडेका सपना कार्यान्वय नगर्न सक्नुहुन्छ त?
जनताले वामगठबन्धनलाई सुविधाजनक बहुमत दिएर पठाएका छन्। यस्तो वातावरणमा काम गर्न नसके, अब यस्तो अवसर कहिले आउला? जनताले आशा र भरोसा गरेर हामीलाई नेतृत्वमा पठाएका हुन् । त्यसैले इमानदारीपूर्वक काम गर्नेछौँ । मैले प्रदेशसभाको विकास कसरी गर्ने भनेर विज्ञ समूहसँग छलफल गरेर खाका तयार पारिसके । अब एकीकृत योजना बनाएर आफ्ना योजनालाई योजनाबद्ध रूपमा कार्यान्वयन गर्दै अघि लैजानेछौँ ।

तपाईंको विचारमा प्रदेश– ३ को राजधानी कहाँ हुनुपर्ला ?
प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषय अझै छलफलकै क्रममा छ । यहाँ १३ वटा जिल्ला रहेका छन् । प्रत्येक जिल्लावासीले आफ्नो ठाउँमा प्रदेश सभाको माग गर्नु अधिकार नै हो । तर, सबै जिल्लाका जनतालाई पायक पर्ने ठाउँमै प्रदेशको राजधानी राख्नुपर्ने हुन्छ । प्रदेश राजधानी भनेर मात्रै हुँदैन ।त्यसका लागि भौतिक पूर्वाधार अति नै आवश्यक हुन्छ । तत्कालको समस्या समाधानका लागि काठमाडौं उपत्यका भित्रै प्रदेश राजधानी बनाउँदा उपयुक्त होला ।तर, दीर्घकालीन समयका लागि घनीभूत छलफल गरेर मात्रै टुंग्याउँदा जाति हुन्छ । देशको राजधानी पनि काठमाडौं र प्रदेशको राजधानीपनि काठमाडौं गराउँदा उपयुक्त नहोला नि ! त्यसैले काठमाडौं बाहिरकै जिल्लामा गराउँदा राम्रो देखिनेछ।

प्रदेश सभामा खासै अधिकार दिइँदैन भनिन्छ नि?
संविधानले स्थानीय तह, प्रदेश सभा र संघीय सभाको तहको छुट्टाछुटै अधिकार र क्षेत्राधिकार किटान गरेको छ । हामीले त आफ्नो क्षेत्राधिकारअनुसार नै कार्य सम्पादन गर्ने हो ।जनताका जनचासो र गुनासालाई स्थानी यतहले समाधान गर्दै अघि बढ्ने हो । प्रदेशसभाले योजनाबद्ध खाका बनाएर प्रदेश सभाको काँचुली फेर्ने गरी कार्य सम्पादनगर्न लागेका हौँ । अब प्रदेश– ३ लाई विकास र समृद्धिको बाटोमा मात्रै होइन, सामाजिक न्यायपूर्ण समाज बनाउन लागिरहेका छौँ ।

काठमाडौं उपत्यका भद्रगोल र असरल्ल भइरहेको छ, समाधान गर्ने योजना के छ ?
काठमाडौं उपत्यका पछिल्लो समय भद्रगोल र असरल्ल भइरहेको छ । जसकारण उपत्यकावासीले खाल्डाखुल्डी र धुलाम्मे सडकको सामना गरिरहेका छन् । जनता सहजता पूर्वक सडकमा आउजाउ गर्न सक्ने अवस्था समेत छैन। जनता स्वच्छ र हराभरा वातावरणमा बाँच्न पाइरहेका छैनन्। अब स्थानीयतह, प्रदेश सरकार र संघीय सरकारबीच छलफल गरेर नै काठमाडौं उपत्यकाको भद्रगोल अन्त्य गर्ने प्रयास गर्नेछौँ। अबदेखि हरेक विकास निर्माणको काम गर्दा समन्वय गर्ने संस्कृतिको समेत विकास गर्नेछौँ । जसबाट सहजतापूर्वक काम अघि बढाउन सकिनेछ। 

भूकम्पले भत्किएका ऐतिहासिक सम्पदाको मौलिकता ख्यालै नगरी पुनर्निर्माण भइरहेको छ, त्यसलाई कसरी सुधार्नु हुन्छ?
काठमाडौं उपत्यका सम्पदा नै सम्पदाले भरिएको सहर हो । जहाँ ऐतिहासिक मठ–मन्दिरदेखि अन्यविविध सम्पदा छन्।त्यसैले हामीले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व बोेकेका सम्पदा जोगाउनुपर्छ । हामीले सम्पदान जोगाए कसले जोगाउँछ ? त्यसैले रानीपोखरी, वसन्तपुर दरबार स्क्वायरमा रहेका काष्ठमण्डप, गद्दी बैठक, स्वयम्भू लगायत ऐतिहासिक सम्पदा भूकम्पले लडायो । जुन सम्पदा क्षेत्र– ८ अन्तर्गत पर्छन् । त्यसैले अब हुने ३ नम्बर प्रदेशसभाले सम्पूर्ण ऐतिहासिक सम्पदालाई एउटै डालोमा राखेर संरक्षण र संवद्र्धनको काम अगाडि बढाउनेछ।

पाँच वर्षभित्रै उपत्यकामा मोनोरेल गुड्ला त ?
हाम्रो पार्टीले उपत्यकामा पाँच वर्ष भित्र गर्ने निर्माणको एकीकृत खाका बनाएको छ । पाँच वर्षभित्रै मोनोरेल गुडाउने खाकातयार भइसक्यो । अब त्यो खाकालाई व्यावहारमा कसरी उतार्ने भनेर विज्ञसँग परामर्श गरेर अघि बढ्नेछौँ ।भिजन नभइकन केही काम गर्न सकिँदैन । त्यसैले भिजनलाई एकीकृत योजना बनाएर चरणबद्ध रूपमा कार्यान्वय गर्दै अघि लैजानेछौँ ।

प्रकाशित: १० पुस २०७४ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App