देश धान्ने बाह्य नेपाल

मङ्गलबार, २१ कार्तिक २०७४, १० : २४ डा सुभाष पोखरेल


नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको नेपाल–अंग्रेज युद्ध सुगौली सन्धिले अन्त्य ग¥यो । सन् १८१४ देखि १८१६ सम्म भएको उक्त लडाइँमा संसार जित्ने बेलायतलाई हराउनु नेपालको काबुको विषय थिएन । तथापि उक्त लडाइँमा नेपाली पक्षले देखाएको युद्ध कौशल अभूतपूर्व रह्यो र त्यसलाई बेलायतीले मुक्तकष्ठले प्रशंसा गरे । तत्कालीन ब्रिटिस राजनीतिक दूत विलियम फेजर तथा सैन्य कमान्डर डेबिड अक्टरलोनीले नेपालसँग भविष्यमा अझ महँगो युद्ध लड्नु भन्दा त्यहाँका युवालाई सम्मिलित गरी एक छुट्टै सैन्य एकाइ गठन गर्दा लन्डनलाई आफ्नो साम्राज्य रक्षा गर्न सहज हुने सुझाव दिए । परिणामस्वरूप इडल्यान्डले सन् १८१५ मा नेपाली सम्मिलित बेग्लै गोर्खा रेजिमन्ट गठन ग¥यो । आफ्नो कर्तव्यमा नडगमगाउने गोर्खा रेजिमेन्टले छोटो अवधिमा नै व्रिटिस सेनामा उच्च मर्यादा स्थापित ग¥यो । नेपाली सोझा, बहादुर र इमानदार हुन्छन् भन्ने ट्रेडमार्क बन्यो । आफ्नो थलो छाडेर कतै नहिँडेका नेपालीका लागि २ सय वर्षअघिको उक्त विदेश यात्रा नवीन अनुभव थियो । राहदानी पाउन पार गर्नुपर्ने भिन्न छेकबारका कारण गोर्खा सैनिकदेखि अन्य सर्वसाधारणका लागि पञ्चायती शासन व्यवस्था कायम रहँदासम्म विदेश यात्रा सहज थिएन । बहुदलीय व्यवस्थाको आगमनपछि पासपोर्टमाथिको बन्देज हट्यो । लाखौँका संख्यामा नेपाली विदेश गए, बसे । योग्यताअनुसारको कामधन्दा गर्दैछन् उनीहरू ।

स्विजरल्यान्डमा गरिएको एक अनुसन्धानात्मक अध्ययनले दुई देशमा बसोबास अनुमति पाएका मानिस कुनै पनि देशप्रति पूर्ण बफादार हुँदैन भन्ने देखायो ।

राष्ट्रियताका सवालमा बिपी कोइरालाको सोच अन्य समकालीन नेताभन्दा फरक देखियो । शायद विश्वलाई नै कम्युनिस्टमय बनाउने प्रशिक्षण पाएका तत्कालीन वामपन्थी नेताका कारण बिपीका ‘राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना हो’ भन्ने अभिव्यक्ति दीर्घजीवी देखियो । निर्जीव माटोमा राष्ट्रियता नरहने भएकाले सजीव मानिसको मनमा देशप्रतिको ममता रहनुपर्छ भन्ने हो । गोर्खा सैनिकहरूले पोशाक भिर्दा नै बेलायती साम्राज्यको रक्षाको शपथ खान्थे । तर उनीहरू नेपाली राष्ट्रियताप्रति किमार्थ विचलित थिएनन् । आफ्ना शाखासन्तान नेपालमा छाडेर गएका जवानहरूमा देशप्रतिको मोह कम हुने कुरा भएन पनि । आफूले कमाएका धनमाल नेपाल ल्याए, लगानी गरे, निवृत्त भएपछि देशमै फर्किएर आफ्नो क्षमता खर्चन्थे । त्यतिमात्र होइन, प्रजातन्त्र स्थापनाका खातिर भएका आन्दोलनमा उनीहरूको सशस्त्र सहभागिताको स्मरणले मात्र पनि गोर्खाको राष्ट्रियता बुझ्न पर्याप्त छ । विदेशमा बस्नेमात्र होइन, परदेशको रक्षा गर्न कसम खाएका व्यक्तिसमेत झर्राे राष्ट्रवादी हुन्छ भन्ने देखियो ।

बेलायती उपनिवेश अन्त्यसँगै गोर्खा भर्तीका अवसर घटे । अन्तर्राष्ट्रिय श्रम बजारमा आएको परिवर्तनपछि अर्धदक्ष श्रमिकहरूले समेत विदेशमा रोजगारी पाउने अवस्था आयो । परिणामस्वरूप लाखौँका संख्यामा नेपाली श्रमिक रोजगारीका लागि विदेश गए । कतार, साउदी अरब जस्ता मुलुकमा सामान्यतः कडा परिश्रम गर्नुपर्ने भएकाले त्यहाँ कम पढे÷लेखेका मानिस कामका लागि जाने भए । नेपाली शिक्षाको ढाँचा हेर्दा गरिबले स्तरीय शिक्षा पाउन असम्भवप्रायः देखियो । स्तरीय शिक्षा महँगो भएकाले गरिबको पहुँच कठिन भयो । तसर्थ, अधिकांश अरबमा काम गर्नेहरू गरिबका सन्तान देखिए । सामान्य हिसावमा हेर्दा अर्धदक्षित युवाहरू अरब मुलुकमा गएको देखिन्छ भने अबल दर्जाका जनशक्तिको गन्तब्य विकसित मुलुक देखियो ।

साहूको ऋण काडेर जहाज चढेर विदेशिएका गरिबका सन्तानका लागि विदेशी भूमि टेक्नेबित्तिकै कसरी साहूको साँवा÷ब्याज भुक्तानी गर्ने भन्ने चिन्ताले सताउने नै भयो । परिणामस्वरूप त्यहाँ बस्ने नेपालीको चाहना अधिकतम रकम जोगाएर कसरी घर पठाउने भन्ने नै हुन्छ । अरब मुलुकमा अध्यागमन नीति कडा भएकाले श्रमका लागि आएका नेपालीले त्यहाँ स्थायी बसोबास गर्ने अवस्था रहेन । तसर्थ, अरबमा काम गर्ने दाजुभाइले पसिना काडेर जोगाएको रकम शतप्रतिशत नेपाल जाने गरेको देखिन्छ तर सम्पन्न मुलुकमा भासिएका नेपालीको कथा भने मरुभूमिमा रोजगारी गर्नेको भन्दा पृथक देखियो ।

केही मात्रामा अन्य विधिबाट भित्रिएको देखिए पनि अमेरिका, अस्टे«लिया, क्यानडा जस्ता सम्पन्न मुलुकमा आउने नेपाली अध्ययन तथा रोजगारीका लागि गएको देखियो । कठिन परिश्रम गर्नुपर्ने कामसमेत स्वचालित विधिबाट सहजीकरण गरिने भएकाले सम्पन्न मुलुकमा दक्ष जनशक्तिको खाँचो पर्ने हो । कामका लागि सम्पन्न मुलुक आउने नेपालीले समेत विषयगत दक्षता हासिल गरेकै हुनुपर्ने हुन्छ । आफ्नो देशको पढाइलाई बढी भरोसा गर्ने भएकाले सम्पन्न मुलुक आउने सहज विधि अध्ययन नै हो । अब विदेशिने विद्यार्थीको परिवेश हेरौँ ।

अन्तर्राष्ट्रिय मापदण्डको विषयगत परीक्षामा प्रतिस्पर्धी नम्बर ल्याएपछि मात्र विश्वविद्यालयको यात्रा सुरु हुन्छ । घनीमैत्री शिक्षा नीति भएका कारण नेपालमा गरिबका सन्तानले स्तरीय शिक्षा पाउने सम्भावना प्रायः असम्भव देखिन्छ । त्यसैले गरिबका सन्ततिले विदेशी विश्वविद्यालयमा भर्ना हुने अवसर प्रायः पाउँदैनन् । सम्भ्रान्त मुलुकमा शिक्षा प्राप्तिको अवसर हुनेखानेका लागिमात्र सहज देखियो । साथै, गैरकानुनी विधिबाट अमेरिका पस्ने बाटोसमेत निकै खर्चिलो हुने भएकाले निर्धाका सन्ततिको सम्पन्न मुलुक प्रवेश असम्भवप्रायः बन्छ । तसर्थ, हाम्रो परिवेश विचार गर्दा निमुखाका सन्तानको विदेश यात्रा अरब देशमा गएर टुंगन्छ भने सम्पन्न परिवारका सन्तति सम्पन्न मुलुकमा पुग्छन् ।

अरब मुलुकको तुलनामा अमेरिका, क्यानाडा जस्ता मुलुकमा अध्यागमन नीति खुकुलो छ । त्यसले गर्दा एक तहको अध्ययन तथा दक्षता हासिल गरेपछि विकसित देशमा स्थायी बसोबासको अवसर सहज बन्छ । स्वदेशमा देखिने दिनानुदिनको राजनीतिक खिचातानी तथा अनिश्चित भविष्यका कारण अध्ययन समाप्तिपछि समेत युवाहरूमा सरक्क नेपाल फर्कने चाहना देखिन्न । बरु सम्भव भएसम्म कुनै चाँजो मिलाएर विदेश बस्ने वातावरण मिलाउनु उनीहरूको बाध्यता बन्छ । क्षमताअनुरूपको पेशा पाउने अवसर छाडेर अनिश्चित भविष्यमा हेलिन आखिर कसलाई इच्छा हुन्छ र ?

सम्भ्रान्त मुलुकमा आएकाहरू सामान्यतः आर्थिकरूपले सम्पन्न हुने भएकाले आफूले कमाएको पैसा नेपाल पठाउनु उनीहरूको बाध्यता भएन । बरु, जीवनको उत्तरार्ध विदेशमा काट्नुपर्ने भएकाले नेपालमा रहेको नगद जिनिस पराया मुलुकमा एकठ्ठा गर्नु उनीहरूको लक्ष्य रह्यो । हाम्रो मौद्रिक नीतिले गर्दा नेपालबाट पैसा विदेश ल्याउन त्यति सहज छैन । त्यसले गर्दा सम्पन्न बाबु÷आमाका पढे÷लेखेका सन्ततिले नेपालमा रहेको आफ्नो सम्पत्ति गैरकानुनी बाटोमार्पmत विदेश लान्छन् भन्दा अन्यथा नहोला । अरबमा काम गर्ने गरिबका सन्तति आफूले कमाएको सम्पत्ति वैधानिक बाटोबाट नेपाल पठाउँछ भने सुशिक्षित समूहले नेपालमा रहेको नगद गैरकानुनी विधिमार्पmत विदेश ल्याउँछ । नेपालबाट पैसा ल्याएर विदेशमा व्यापार सुरु गर्ने तथा अचल सम्पत्ति जोड्नेको बढ्दो संख्याले अरु के भन्छ र ? त्यसमाथि, भ्रष्टाचार गरी एकत्रित गरेको रकम विदेशमा रहेका सन्ततिलाई पठाएर सुरक्षित भविष्यको कल्पना गर्ने नेताहरूको कुरै भएन । तसर्थ, सम्पन्न मुलुकमा रोजगारी गर्ने नेपालीले देशको अर्थतन्त्रमा कति सकारात्मक भूमिका खेलेका छन् ? विश्लेषण गरौँ ।

ब्रिटिस साम्राज्यको रक्षा गर्ने कसम खाएका गोर्खाहरूको नेपालको राष्ट्रियताप्रति अगाथ प्रेम थियो । त्यसो हुनुको कारण केबल उनीहरूका सन्तान नेपालमा रहनुमात्र हँुदै होइन बरु सेवा अवधि समाप्तिपछि उनीहरूले बेलायत बस्न नपाउने प्रावधान नै हो । गोर्खाली सेनाले अनिवार्यरूपमा नेपाल फर्कनुपर्ने बाध्यताका कारण स्वदेशका घटनाले उनीहरूको दिनचर्यामा प्रत्यक्ष प्रभाव पाथ्र्यो । त्यसले गर्दा उनीहरू राष्ट्रप्रति समर्पित थिए । पछिल्ला दिनमा बेलायती सेनामा कार्यरत गोर्खा पल्टनले निवृत्त भएपछि इंग्लेन्डमा बस्न पाउने भयो । त्यसले गर्दा अहिलेको पुस्ताले अग्रजहरूझैँ आफ्नो कमाई नेपाल पठाउँदैनन् बरु आफ्नो बचत बेलायतमै राख्न थाले । जन्मथलोमा फर्कनुपर्ने बाध्यता नभएपछि आफ्नो गाउँको विकास उनीहरूका लागि तपशिलको विषय बन्यो । देश तथा समाजप्रतिको उनीहरूको दायित्व न्यून भयो । जबसम्म आफ्नो भविष्य जन्मथलोको उतारचढावसँग प्रत्यक्षरूपले गाँसिदैन तबसम्म व्यक्ति समाजप्रति जवाफदेही हँुदैन भन्ने हो । कुनै पनि व्यक्तिमा राष्ट्रिय भावना विकास हुन उक्त नागरिकको भविष्य देशको उन्नतिमा प्रत्यक्षरूपले गाँसिनुपर्छ भन्ने देखिन्छ । त्यसैले अघिल्लो पुस्ताका गोर्खा पल्टनमा जति राष्ट्रियताको भावना वर्तमान पुस्तामा रहन्न भन्ने नै हो ।

अरबमा पसिना बगाउने युवाहरूले सेवा अवधिपछि अनिवार्यरूपमा नेपाल फर्कनैपर्ने हुन्छ । अझ चाखलाग्दो विषय त नेपालको अर्थतन्त्र विदेशमा काम गर्ने युवाहरूले पठाएको रकमले धानिएकोमात्र होइन, बरु गरिबका सन्ततिले अरबमा पसिना बगाएर जोहो गरेको रकममा अडेको देखियो । स्विजरल्यान्डमा गरिएको एक अनुसन्धानात्मक अध्ययनले दुई देशमा बसोबास अनुमति पाएका मानिस कुनै पनि देशप्रति पूर्ण बफादार हँुदैन भन्ने देखायो । उक्त अनुसन्धान पत्याउने हो भने सम्भ्रान्त मुलुकमा स्थायी बसोबासको अवसर पाएका भन्दा कतारमा कार्यरत नेपालीलाई नेपालको विकासप्रति अधिक चासो रहने देखियो । अर्को शब्दमा भन्ने हो भने अरबमा काम गर्ने नेपालीको राष्ट्रियता पश्चिमा मुलुकमा रोजगारी गर्ने नागरिकको भन्दा अधिक मजबुत हुन्छ भन्ने नै हो ।
आफ्नो कमाइको शतप्रतिशत रकम नेपाल पठाउने अरबमा कार्यरत युवा अनि आफ्नो पुख्र्यौली सम्पत्ति बेचबिखन गरी अमेरिकामा घरजम गर्ने दाजुभाइमध्ये कसलाई राष्ट्रवादी ठान्ने ? आफ्नो प्रौढ अवस्था नेपालमा बिताउनुपर्छ भन्ने हेक्का राख्ने साउदी अरवमा कार्यरत जवान र छुट्टी बिताउन काठमाडौँ जान्छु भन्ने क्यानाडामा बस्ने बौद्धिक व्यक्तित्वमध्य कसले देशलाई बढी माया गर्ला ? आफ्नो भविष्य नेपालको विकाससँग गाँसिएको ठान्ने नेपालीले मात्र देश विकासमा सच्चा योगदान गर्न सक्ने देखिन्छ । तसर्थ, प्रवासी नेपालीका सम्बन्धमा राष्ट्रिय नीति तर्जुमा गर्दा कतारमा कार्यरत नेपाली केन्द्रमा राख्न आवश्यक देखियो । देशको अर्थतन्त्रमा उल्लेख्य योगदान गर्ने अरबमा कार्यरत मजदुरहरू देशका निधि भएकाले उनीहरूको हक÷हित संरक्षणमा सबैको ध्यान जान आवश्यक छ । विगतमा गोर्खाले राखेको राष्ट्रिय स्वाभिमानलाई वर्तमान समयमा अरबमा पसिना बगाउने श्रमिकले कायम राख्ने वातावरण बनाउने काम सरकारलगायत सबै पक्षको रहेको कुरा हेक्का राख्नुप¥यो ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

दयाहाङ किराँत संग्रहालयको सद्भावना दूत

दयाहाङ किराँत संग्रहालयको सद्भावना दूत

अभिनेता दयाहाङ राईलाई खोटाङको ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा निर्माण सुरु गरिएको किराँत संग्रहालयको सद्भावना दूत बनाइएको छ। ...

सञ्जय दत्तको बायोपिक फिल्ममा विवाद

सञ्जय दत्तको बायोपिक फिल्ममा विवाद

बलिउडका अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक फिल्मको नाममा विवाद भएको छ। निर्देशक राजकुमार हिरानी र निर्माता विनोद चोपडा फिल्मको नाम...

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

गायक वीरेन्द्र जोहारी नयाँ देउडा गीतका साथ दर्शकश्रोता समक्ष आएका छन्। पेशाले नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक पदमा कार्यरत जोहारीले...

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन्। ...